शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध’

शनिबार, १४ पुस २०७५, २० : ४१
शनिबार, १४ पुस २०७५

दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति आवासीय माध्यमिक विद्यालयको ३१औँ वार्षिकोत्सव समारोहमा मन्त्री चुमानले प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्ने र गुणस्तरीय शिक्षा दिने सरकारको कर्तव्य रहेको बताए । 

शिक्षाले मानिसलाई अनुशासित र लगनशील बनाउने भएकाले कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिँदै मन्त्री चुमानले शिक्षाको पहुँच बाहिर रहेकालाई समेत विद्यालय क्षेत्रभित्र ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । शिक्षाको विकासका लागि अभिभावकको भूमिका समेत महत्वपूर्ण रहेको उनको भनाइ थियो । 

शिक्षा क्षेत्रको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय तह जिम्मेवार भएर लागिरहेको भन्दै मन्त्री चुमानले नयाँ आउन लागेको शिक्षा ऐनले सबै विद्यालयको हित गर्ने भएकाले नयाँ शिक्षा ऐनसँग डराउन नपर्ने बताए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले विद्यार्थीको पढाइप्रति शिक्षकले मात्रै नभई अभिभावकलेसमेत चासो दिनुपर्ने बताए ।

उनले भने, ‘आफ्ना छोराछोरीले विद्यालयमा कसरी अध्ययन गरिरहेका छन् भन्नेमा अभिभावकलेसमेत चासो देखाउनुपर्छ, तबमात्र छोराछोरी बिग्रन पाउँदैनन् ।’

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकाभित्र रहेका सबै विद्यालयको संस्थागत विकासका लागि गाउँपालिकाले सहयोग पु¥याउने बताए । 

विसं २०४४ मा स्थापना भएको उक्त विद्यालय विसं २०५० बाट प्रवेशिका परीक्षामा सहभागी हुन थालेको थियो । विसं २०७४ सम्म यस विद्यालयबाट ९८८ जना विद्यार्थीले प्रवेशिका उत्तीर्ण गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा राजाराम श्रेष्ठले जानकारी दिए । यस विद्यालय पाँच पटकसम्म संस्थागत विद्यालयतर्फ प्रवेशिका परीक्षामा पहिलो हुन सफल भएको छ । 

विद्यालयमा हाल ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले पढाइका अतिरिक्त विद्यार्थीलाई शारीरिक, मानसिक, बौद्धिक र सामाजिक कार्यमा समेत सहभागी गराउँदै आएको विद्यालयका प्रधानाध्यापक भगवानदास मल्लले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप