शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरको टिप्स : यसरी गर्नुस् दाँतको ख्याल

शनिबार, १४ पुस २०७५, १२ : ५५
शनिबार, १४ पुस २०७५

काठमाडौं– कतिलाई झट्ट सुन्दा ‘मुख स्वास्थ्य’ शब्द अनौठो लाग्न सक्छ । मुख स्वास्थ्य भन्नाले धेरैले दाँतलाई मात्रै सोचिरहेका हुन्छन् । तर मुखभित्रको दाँत, जिब्रो, गिजा र  तालु समेतलाई मुख स्वास्थ्यभित्र समेटिने गरिएको छ । 

अन्य स्वास्थ्यको तुलनामा मुख स्वास्थ्यलाई कमै महत्व दिइन्छ र मुख स्वास्थ्यबारे हामीले सामान्य कुराहरुमा ख्याल नगर्दा ठूलो समस्या पनि आइपर्छ सक्छ । साधारण कुरालाई ख्याल गर्न हो भने मुख स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मुख स्वास्थ्यबारे त्रिवि शिक्षण अस्पतालकी डाक्टर सामरिका दाहालले जानकारी गराएकी छिन् । 

मुख स्वास्थ्यको रुपमा दाँतलाई मात्रै महत्व दिने र ब्रस गर्ने चलन धेरै छ तर मुख स्वास्थ्यमा अन्य धेरै कुराहरु गर्नुपर्ने हुन्छ । 

 

ब्रस गर्दा दाँत र गिजाको बीचमा पनि सफागर्नु पर्ने हुन्छ । धेरैले दाँतको मात्रै ख्याल गरेको देखिन्छ । दाँतको परीक्षण गर्दा गिजाको पनि परीक्षण गर्न एकदमै आवश्यक छ । दाँत र गिजा एक अर्काको परिपूरक हुन् ।

यसकारण झर्छ दाँत
अस्पतालमा आउने व्यक्तिहरुको मुख स्वास्थ्यको कुरा गर्नु पर्दा गिजाबाट रगत आउने गिजा सरेको र दाँत किराले खाएको जस्ता समस्या बोकेर आउनेको संख्या धेरै रहेको छ । भनाईमा दाँत हल्लेर झरेको भने पनि बास्तवमा दाँत झरेको नभई गिजाले ठाँउ छाडेको हो । जसलाई दाँत झरेको भनेर बुझ्ने गरिन्छ । दाँतलाई गिजाले बाधेर राखेको हुन्छ दाँत र गिजाको बिचमा पनि फोहोर जम्दै गएपछि गिजाले दाँतलाई छोड्छ र दाँत हल्लिने,झर्ने समस्या हुन्छ ।

दाँतमा किरा लाग्नु अर्थात दाँतकालो हुनुको मुख्य कारण खानपाननै हो । गुलियो पदार्थ धेरै खाएर दाँतमा टासिए पछि किटाणुहरुले एसिड बनाउँछन्  र एसिडले दाँतलाई खियाउँदै लैजान्छ । 

दाँत किराले खायो भन्ने चलन छ तर दाँतकिराले खाएको हुँदैन । दाँत र गिजामा जमेको फोहोरले गर्दा किटाणु बस्छ र एसिडले दाँतलाई गलाए पछि दाँतमा खाल्डो पर्छ । त्यसैले बिहान बेलुका खाना खाए पछि दाँत ब्रस गर्नुपर्छ । बिहान उठ्दा दाँतमा सेतो लियर जस्तो बसेको हुन्छ,त्यसलाई हटाउनको लागि ब्रस र फ्लसिङ गर्नुपर्छ ।

६/६ महिनामा दाँत सफा सफा गर्नु जरुरी
दाँतलाई स्वास्थ्य राख्नको लागि अर्को महत्वपूर्ण कुरा भनेको ६÷६ महिनामा दाँत सफागर्नुपर्ने हुन्छ । दाँत र गिजाको बीचमा रहेको फोहोरलाई सफा गरेर फाल्दा दाँत बलियो हुन्छ । दाँत र गिजाको बीचमा फोहोर ढुङ्गा जस्तै पदार्थ जम्दै आएको हुन्छ जसले गर्दा दाँत गिजाबाट छुट्टिने सम्भावना हुन्छ । दाँत र गिजाको बीचमा रहेको ढ्ङ्गा जस्तो फोहोर एकदमै कडा हुन्छ ।  घरमा सफा गर्दा निकाल्न सकिन्न त्यसैले डेन्टिस्ट कहाँनै गएर मेसिनको माध्ययमबाट निकाल्नु पर्ने हुन्छ ।

 सफा गर्दा दाँत बाहिरको इनामेल गयो भने दाँत सिरिङ÷सिरिङ गर्ने समस्या हुन्छ ,त्यसैले चिकित्सकबाट मात्रै दाँत सफागर्दा राम्रो हुन्छ । 

नून र तातो पानी अचुक औषधि
मुख स्वास्थ्यमा दाँत र गिजा महत्वपूर्ण अङ्ग हुन् । दाँत सफागर्दा ब्रस गरे पछि दुर्ईवटा दाँतको बिचमा धागो हालेर तलमाथि चलाएर गिजा सफागर्न सकिन्छ जसलाई फ्लसिङ भनिन्छ । बेलुका तातोपानीमा नून राखेर कुल्ला गर्दा गिजा सुन्निएको छ भने निको हुन्छ । 

सामान्य मुख स्वास्थ्यको बिरामीहरुलाई मेडिकलको औषधि भन्दा पनि घरेलु उपचार लाभदायक हुन्छ । जुन कुरा एकपटक जानकारी भयो भने जिन्दगीभर काम लाग्छ । तातो पानी र नून मुख स्वास्थ्यको लागि धेरै राम्रो औषधि हो । त्यसैले सकिन्छ भने बेलुका नून र तातो पानीले कुल्ला गर्दा राम्रो हुन्छ ।

दाँतको ख्याल यसरी गर्नुस् 
— खाना खाएपछि बिहान—बेलुका ब्रस र फ्लसिङ गर्ने ।

— गुलियो खानेकुरा खाएपछि दाँत सफागर्ने ।

—मकै, छुर्पी जस्तो सारो कुरा खादा दाँत क्रयाक हुने सम्भावना हुन्छ यस्ता कुरामा ख्याल गर्ने ।

—दाँतको परीक्षण नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकबाट गराउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप