बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुकिली दमाईको मृत्यु : एक भोकको अन्त्य (कथा)

शनिबार, १४ पुस २०७५, १२ : ०४
शनिबार, १४ पुस २०७५

दीपक सञ्जेल

दिनको १ बजेको आसपासमा घुमिरहेको थियो । एकाबिहानै एक गाँस भात टिपेर काल्टी हिँडेका चन्द्रमणि भोक र प्यासले रन्थनिएपछि बाटै छेउको  पसलभित्र छिरे । साहुजीले उनलाई चाउचाउ बनाइरहँदा चन्द्रमणिका आँखा आँगनीको पल्लो छेउमा बसिरहेकी अधबैंसे आइमाई र  किशोरीमाथि पर्छ, जो पानी र नुनसँग मकैको रोटी खाइरहेकी थिइन् । चन्द्रमणिले त्यो दृश्य हेरिरहन सकेनन् । साहुजीलाई थप दुई प्याकेट चाउचाउ बनाउन लगाए । चाउचाउ तयार भएपछि उनले त्यो चाउचाउ ती अधबैंसे आइमाई र  किशोरीलाई दिन अनुरोध गरे तर साहुजी एकछिन अकमकाए र ती आइमाईको नजिकै गएर सोधे, “खाने भाँडो ल्याएकी छ्यौ ?” 

एकछिनपछि ती किशोरीले खुराको कोच्चिएको थाल लिएर आइन् र साहुजीले ओरैबाट अलग्गै त्यसमा चाउचाउ हालिदिए । केही नबोली ती किशोरी पहिल्यैको ठाउँमा गएर बसिन् र बाँकी रोटीसँग चाउचाउ खान थालिन् ।

नास्ता खाइसकेपछि चन्द्रमणि त्यहाँबाट हिँडे । बाटोमा उनको आँखामा अघिको दृश्य फनफनी नाच्न थाल्यो । ती किशोरीलाई साहुजीले त्यसरी अलग्गै उनकै भाँडोमा किन चाउचाउ हालिदिए ? अनि आफूलाई पसलभित्रै बसालेर ससम्मान किन  खुवाए ? यस्तै प्रश्नहरू उनका दिमागमा खेल्न थाले । बाटो अलिअलि उकालो थियो अलि माथि पुगेपछि दोबाटो आयो । नयाँ मान्छे नयाँ ठाउँ उनलाई कुन बाटो जाने भन्ने थाहा थिएन । कोही त आउला अनि सोधौँला भन्ने सोचेर त्यही बसिरहे । एकछिन पछि तिनै आइमाई र किशोरी आइपुगिन् । एकछिन त उनी अकमकाए र सोधिहाले, “कोल्टी जाने बाटो कुन हो ? थाहा छ तपाईहरूलाई ?” 

अधबैंसे आइमाईले मधुर स्वरमा भनिन्, हप्पल्लो (माथिल्लो), हामी पनि  कोल्टी नै जाने हौँ चामल लिन । कोल्टी नै पुग्ने मान्छे भेटिएपछि अब चन्द्रमणिलाई अलि सहज भयो ।
अघिअघि  अधबैंसे आइमाई र ती किशोरी पछिपछि चन्द्रमणि अलि बाटो हिँडेपछि उनले दुवैका खुट्टामा जुत्ता देखेनन् । 

कौतुहल लाग्यो उनलार्ई र गएर सोध्न खोज्य तर  यतिकैमा अधबैंसे आइमाईले उनलाई नै सोधिहालिन्, तपाईंको घर मधेसतिर हो ? हाम्रा गाउँमा पनि पहिला मधेसतिरका मास्टर बस्दा थियो । 
चन्द्रमणिले हो भनी टाउको हल्लाए हुन नि उनी कालो वर्णका लामो दारी पालेका वर्ष चौबीस पच्चीसका तराईतिरकै बासिन्दा थिए । 

अनि चन्द्रमणिले नि सोधे, तपाईंहरूको घर कहाँ हो ?

अधबैंसे आइमाईले भन्न थालिन्, के घर छ भन्नु सर, नाननानु (सानो) झुपडी छ । त्यही अघि चाउचाउ खाएको ठाउँबाट तीन चार बेल (धण्टा) हिँड्नु पर्छ । गोत्री भन्छन् सर ठउरको (ठाउँको) नाम ।
 उनले फेरि सोध्छन्, अनि यसरी खाली खुट्टै किन हिँड्नु भएको ? घरबाट भागेर आउनुभएको त होइन ?

सुस्केरा हाल्दै भन्न थालिन् भागेर नि जाने ठाउँ काँ छ र सर ? हामी गरिबकन पेटउदो हाल्ने चारो नाई खुट्टाउरा जुत्ता क्या चाइने छन् । 
 

 एकछिन पछि भक्कानिँदै ती आइमाई आफ्नो बेथा पोख्न थाल्छिन्, मकन (मलाई) सबै सुकिली दमाई भन्दा छन् । अहिले एक बिसै एघारकी (३१) वर्षकी भया होउला । यो मेरी भाउ (छोरी) हो । मेरो ब्या (विवाह) भयाको पन्ध्र वर्ष भयो ।  यसका बा (बुबा) बम्बई (भारत) गएर कमाएर ल्याउँदा थियो । अरूबेला यही घर लाउने मिस्त्री काम गर्दा थियो । जसोतसो छाक टरिरहेको थियो । गाउँभरी अलि बलिया यसैका बा थिया सकेसम्म सबैको काम गदो थियो । 
   

  एकरात अबेर चार पाँच जना टाउकोमा राता कपडा बाधेका (माओवादी) आएर यसका बालाई पल्लो गाउँ चिठ्ठी पुर्याइदिनु पर्यो भने । यसका बाले यति राति यो पुस माघको चिसोमा कर्णाली तर्न सकिँदैन भोलि छकालै (बिहानै) जाउला भने तर कहाँ मान्थे र ती टाउकोमा राता टाला (कपडा) बानेका मान्छेहरूले लिएर गए यसका बालाई । रातभरी ढुलेई (निन्द्रा) लागेन । त्यो पारि गाउँ जान नि अहिलेको जस्तो पुल थिएनन् सर बाबियाको लडामा (डोरी) सुर खेलेर जानुपथ्र्याे ज्यान हत्केलामा राखेर । 

दुई दिनसम्म यसका बाको हरिखबर (खबर) भएन, अर्काे दिन माथि बावनवडा बडाजु (मुखिया)का खलावनी (आँगनमा) मस्तै (धेरै) मान्छे जम्मा भएका थिए । क्या भएको रहेछ भनी म यो दुधे भाउ (छोरी) छोडेर गए । यसका बालाई डोरीले बाँधेर खलामा (आँगनमा) लडाएका थिए । तिनै टाउकोमा राता टाला बाँधेका मान्छेले (माओवादी) हात  हातमा मुसल (धान कुट्न प्रयोग गरिने डण्डा) लिएर उभिएका थिए । म त्यहाँ पुग्दा तिनीहरूले यसका बालाई पेली (कुटी) सकेका रहेछन् । तिनै माओवादीमध्ये एकले भन्यो, हामीले  भनेको नमान्नेको यस्तै हालत हुन्छ, बुझ्नुभयो । 

  एकछिनपछि फेरि तिनीहरूले पेल्न (कुट्न) थाले । खलाभरि (आँगन) रगत थियो । म त्यहीँ बेहोस भएँछु । होस आउँदा कोही थिएनन् त्यहाँ । यसका बालाई पनि कहाँ लगेर गएछन् । पछि बाहुनवडाका एकजना गोसी (देवर)ले सुनाए  तम्मा पोइकन (श्रीमन) माओवादीले अधमर्दाे बनाई खाल्डो खनेर जङ्गलमा पुरिदिए । काइथि (कहाँ) पुरेका छन् भनेर मैले पूरै जङ्गलमा खोजेँ । चल्ला, बाघ, भालुले खोर्सेको ठाउँमा नि यही पो हो कि भनी खनेर हेरँे । दुई तीन दिनसम्म भोकै त्यही जङ्गलमा यसका बालाई खोजे, अरूबेला घास दाउरा जादा बाघ भालुको डर मान्ने म त्यसबेला केहीको डर लागेन । यसरी यसका बालाई माओवादीले मारेर कहाँ फाले था नाई । न लास पाइयो न सास । एक आँखा त मैले भागेर बम्बई गया हुन्ना सोचेँ, केही वर्षपछि युद्धविराम कि के भयो अरे । अरूका श्रीमान् घर आए यसका बा आएनन् । काहाँ पो हो सबैले रुपैयाँ पाएछन्, द्वन्द्वपीडितको नाममा यसका बाको नाम नै थिएन रे त्यहाँ । भए पनि टाठाबाठा ठालुले निकालेर खाया हुन्ना सर, म लाटीकन केई था नाई ।

सुकुली दमाईले आफ्नो व्यथा पोखिरहँदा उनको भन्दा चन्द्रमणिका आँशु बढी बगे । उनको मन सायद हलुङ्गो भयो, वर्षाैंदेखि गुम्सिएर रहेका व्यथा पोख्दा तर चन्द्रमणिको मन भारी भएर आयो । खुट्टाहरू चल्न छाडे र त्यही थचक्क बस्न पुगे । उनलाई बसेको देखेर ती किशोरीले सरलाई गाह्रो भए जस्तो छ । झोला म बोकी दिउँला भनेर चन्द्रमणिको झोला बोकेर उनीभन्दा अघिअघि हिँड्न थालिन् । अलिकति हिँडेपछि चन्द्रमणिले फेरि सोध्छन्, अनि तपाईंहरूलाई कसैले सहयोग गरेनन् ?

को छन् र सर हाम्रा ? सासूससुरा मेरो ब्या (विवाह) गर्नुभन्दा पहिलै भिड्दै लोटी मरिगया । एक गोसी (देवर) थियो, नानै (सानो छँदै) बम्बई गएका हुन्, अहिलेसम्म केही खबर नाई । बाँचेका छन् कि मरिगया ती पनि । मैले गाउँलेको जुठो खाईकनै यसकन पाले  अर्काको बर्षिको (पुरानो) टाला लाया । गाउँलेको पोर्साे (मल) बोके मेलापात गरे । घर खाने एक गेडो अन्न नाई सर, त्यही भएर कोल्टी चामल दिदा छन् अरे । ल्याउन जान लागेकी हामी आमाछोरी । 
 
 कोल्टी पुग्नपुग्नै लाग्दा छोरीचाहिँले चन्द्रमणिलाई झोला दिदै भनिन्, ‘सर तम्मो घर काँ हो ? का जाने होऊ ?’ चन्द्रमणिले मन गह्रुँगो पार्दै भने, ‘धनगढी जाने होउ, भोलि पेलेनबाट । छोरी चाहिँले फ्याट्ट भनिहाली प्लेन मैले पनि देखेकी छु, हप्प (माथि) आकाशउरो उड्डो छ । हाम्रा घरका पाखाउरो जाँदो छ ।
 

चन्द्रमणिले गोजीबाट केही पैसा निकालेर सुकिली दमाईतिर  बढाउँदै साँझ बसेको ठाउँमा भात खानु भने । तर सुकिलीले पैसा लिनै मानिन र भन्न थाली, ‘नाई सर, आजसम्म यत्रो पैसा देखेकी नि नाई तेई नि या कोल्टीमा हामीकन कोई भात दिदैनन् । या सबै हामीकन नछुने मान्छे बस्दाछन । हामी यही कही गोठ बसैला सर एक रात । 
चन्द्रमणि भावविह्वल भए । त्यसो भए भोलि चामल किनेर घर लानु भनेर फेरि पैसा उनीतिर बढाए । तर सुकिलीले पैसा लिन मानिन । साझ पर्नै लागिसकेको थियो, सुकिलीका आमाछोरी चन्द्रमणिबाट छुट्टिए । उनी पनि एयरपोर्ट नजिकैको होटलतिर लागे । 

कोठा छ बस्ने ? चन्द्रमणिले मगर मगर जस्ता देखिने होटलका साहुलाई सोधे । भात खाने भयापछि ढुल्ने (सुत्ने) ठाउँ छ, नत्र नाई । उनले हुन्छ भात खाने हो भने । घर कहाँ हो, कुन जातका होउ इत्यादि प्रश्न गरे । चन्द्रमणिले नि ठट्यौली पारामा भने नाक हेरी चिनेनै, धनगढी जाने होऊ । ए त्यसो भए कर्मचारी पो होउ ? साहुले उनलाई पाड (घरको माथिल्लो तला) लिएर गए र खाट देखाउँदै, कर्मचारी परेछ्यौ, यहीँ सुत या भुइँमा पछि हटेउरु (भरिया) आउँदा छन् सुत्न । 

उनले यसो हेरे भुइँमा पाल मात्र फालिएको थियो र खाटमा पातलो पाखी (कम्मल) ओछ्याइएको थियो । ओड्नका लागि कपास सबै एकै ठाउँमा खेडिएको सिरक रहेछ । अझ त्यसको बास्नाको कुरै नगरौँ । चन्द्रमणि त्यहाँ सुतेका थिए या त्यसको बास्नाले मूर्छा परे,  उनी आफैलाई थाहा छैन । 

बिहानपख जिउमा केले चिले जस्तो महसुस भएछ चन्द्रमणिलाई । जुरुक्क उठेर टर्च बालेर हेर्छन्, ओहो ! ओछ्यानभरी उडुस । उनको जिउभरि रातै दाग थिए । उज्यालो भइसकेको रहेछ । उनी सरासर प्लेनको टिकट लिन हिँडे । टिकट घरमा आठ दस जना पालो कुरेर बसेका थिए तर काउन्टरबाट त्यहाँको कर्मचारी कराइराखेको थियो ३, ४ दिनसम्मलाई टिकट छैन, जानुहोस् तपाईंहरू । चन्द्रमणि होटलतिर लागे उनलाई देखेर साहुजीले मुसुक्क हाँस्दै भने, टिकट पाउनुभएन ? उनले नाइको सङ्केतमा मुन्टो हल्लाए । यहाँ त फ्याट्ट भनेको बेला टिकट कि त जिविसको कर्मचारीले पाउँछन कि त संस्थाका हाकिमले । हामी बाजुरेलीले त हेरेर चित्त बुझाउने हो सर । 

साहुजीले गज्जबको कुरो सिकाए । कुनै संस्थाको हाकिम होउ भन्नुहोला सर टिकट फ्याट्ट दिन्छन् । चन्द्रमणि फेरि टिकट लिन सरासर भित्रै गए । धनगढी मिटिङमा जानुपर्ने भयो, एउटा टिकट मिलाउनुहोस् भनी काउन्टरमा बसेका कर्मचारीलाई भने । अकमकाएर ती कर्मचारीले उनको हातमा टिकट थमाउँदै  सोधे सर जिविसबाट कि ? चन्द्रमणिले होइन, खाद्यबाट भने र त्यहाँबाट निस्किए । टिकट पाइसकेपछि उनले एक फन्को बजार घुम्ने विचार गरे । घुम्दै जाँदा उनले सुकिली दमाई र उनकी छोरीलाई देखे । उनीहरू चामल लिन खाद्य गोदामतिर जाँदै थिए । चन्द्रमणि पनि उनीहरूसँगै उतै लागे । जाँदैगर्दा उनले सुकिलीकी छोरीलाई सोधे, हिजो राति के खायौ, काँ सुत्यौ ?

एक रोटो घोगाको (मकैको) थियो । त्यही खायौँ, तलन (तल) ओध्याको (भत्किएको) घर थियो, त्यहीँ रातभरी आगो तापी बस्यौँ । त्यसपछि चन्द्रमणिले प्रश्न सोध्ने आँट गरेनन् । हिजो बाटोमा भेटिएका दाउराका टुक्राहरू आमाछोरीले किन जम्मा गर्दै हिँडेकी थिइन् भन्ने कुरा उनले बल्ल बुझे । 

खाद्य संस्थानमा चामल लिनेको लाइन थियो । सुकिलीकी आमाछोरी नि लाइनमा बसे । 

त्यहाँ सुकिली जस्तै कैयौँ सुकिलीहरू थिए, एक हातमा तमाखु र अर्काे हातमा डोरी लिएर बसेका । कोहीकोहीका खुट्टामा  हरिया जुत्ता थिए अरू सबैको हालत उस्तै थियो । चरचर्ती फुटेका पैताला र जिउमा टालोमाथि टालो हालिएका लुगा । सबैले अलिअलि चामल पाए । सुकिलीकी आमाछोरीले नि पाए र बराबर कुम्लोमा हालेर हिँड्न तयार भए । उनीहरू त्यति खुसी थिएनन्,  सायद सोचेजति चामल नपाएर होला । छोरी चाहिँले आमालाई भन्दै थि ‘यत्ति चामलले कति दिन बाचिएला र ?’ उनीहरू हिजो आएको बाटो फर्के, चन्द्रमणि पनि एयरपोर्ट तिर लागे । प्लेन उडेपछि उनले एक पटक नियालेर  हेरे । कोल्टी, अलि तल शान्तसँग बगिरहेको कर्णाली र हिजो आफै हिँडेर आएको कर्णालीको छालैछालको बाटो । 

  चन्द्रमणि घर पुगेर  खाना खाई सुत्ने तरखरमा थिए । छेउको रेडियोमा समाचार आइरहेको थियो । उनी एकाएक छाँगाबाट खसे जस्तो भए, समाचारमा भन्दै थियो– कोल्टीबाट चामल लिएर आएकी आमाछोरीलाई कर्णालीले बगाएर बेपत्ता । उनले मनमनै सोचे जो मान्छे असारको भेलमा कर्णाली तरेर आफ्नो गुजारा गर्थिन्, त्यही मान्छेलाई पुस माघको कर्णालीले बगायो ? उनले पत्याएनन् । त्यो हत्या थियो, गरिबीले गरेको हत्या ।

यो  समाजले गराएको हत्या । अब यसको जिम्मेवार को ? यस्तै प्रश्नहरूको खिचडी पाक्दै थियो चन्द्रमणिको दिमागमा । सुकिली दमाईको मृत्यु एक भोकको अन्त्य थियो । त्यही भोकसँग लडिरहेका कैयौँ सुकिलीहरू छन्, ती सुदूर बस्तीहरूमा । तिनीहरूको न्यायका लागि लड्नु छ, कलम चलाउनु छ ताकि बाँकी सुकिलीहरू  भोक र गरिबीका कारण आत्महत्या गर्न बाध्य नहुन् । यस्तै यस्तै सोच्दै चन्द्रमणि निदाउन पुगेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप