बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सचिवको झमेलामा स्वास्थ्य मन्त्रालय : फाइल सदर गराउन कर्मचारीलाई सकस

शनिबार, १४ पुस २०७५, १० : ३९
शनिबार, १४ पुस २०७५

काठमाडौँ– हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुईजना सचिव छन् ।
 सामान्यतया २ जना सचिव भएपछि मन्त्रालयको काम छिटो छरितो ढङ्गले हुनुपर्ने हो तर दुई सचिव भएपछि मन्त्रालयका कामकारवाही थप लथालिङ्ग बनेको कर्मचारीहरूले बताएका छन् ।

मन्त्रालयमा २ जना सचिव खटाइए पनि एकजनालाई जिम्मेवारी दिइएको छ भने अर्कोलाई कुनै जिम्मेवारी तोकिएको छैन, जसका कारण आपसमा तिक्ततासमेत बढेको कर्मचारीहरूको भनाइ छ । 
मन्त्रालयमा सचिव केदारबहादुर अधिकारीले जिम्मेवारी पाए पनि अर्की सचिव डा. पुष्पा चौधरी जिम्मेवारीविहीन अवस्थामा छिन् ।

 मन्त्रीले अहिलेसम्म लिखित जिम्मेवारी नदिएकाले आफू त्यतिकै बस्नुपरेको उनको भनाइ छ । 

कर्मचारी नै अलमल 
दुई सचिव भएपछि अन्य कर्मचारीहरू पनि अलमलमा पर्ने गरेका छन् । धेरैजसो कर्मचारीहरू फाइल बोकेर सचिव चौधरीकोमा नै जाने गरेका छन् । तर चौधरीको कार्यकक्ष बाहिर बस्ने सहयोगी कर्मचारीले मुन्टो हल्लाउँदै अर्का सचिव अधिकारीको चेम्बरतिर पठाउँछन् । 

यसरी सुरु भएको थियो सचिवको लफडा 
डाक्टर चौधरीलाई ०७४ पुस १३ गते स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो । सो समयमा डाक्टर चौधरी मन्त्रालयको प्रमुख विशेषज्ञ रहेकी थिइन् । 

डा. चौधरीले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेको ९ महिनापछि ०७५ असोज २८ गते मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो । डा. चौधरी भने सरकारको उक्त निर्णयविरुद्ध ०७५ कात्तिक १५ गते सर्वोच्च अदालत गइन् ।

सर्वाेच्चले पुस २ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डाक्टर चौधरीलाई नै निरन्तरता दिने आदेश दियो । तर यता मन्त्रालयमा भने आदेश आउनुभन्दा ९ दिन पहिला नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका अधिकारीलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइसकेको थियो ।

सर्वाेच्चले स्वास्थ्य सेवाभन्दा बाहिरको सचिव पदमा मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै उक्त निर्णय गर्नुपरेको जनाएको थियो ।

पहिला पनि दुई सचिवकै लफडा 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वि.सं. २०४३ पुस १९ देखि मात्रै सचिवको लिस्ट राखेको देखिन्छ । ०४३ भन्दा पहिला ७ जना सचिवले आफ्नो जिम्मेवारी पूरा गरेका थिए । अहिलेसम्म यो मन्त्रालयले ३७ पटक सचिव नियुक्त गरिसकेका छ । स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिको मितिलाई नै आधिकारिक मान्ने हो भने ३२ वर्षको समयमा दुई पटक दुई सचिवको झमेलामा परेको कर्मचारीहरू बताउँछन् ।

८ वर्ष पहिला पनि यो मन्त्रालय दुई सचिवको झमेलमा परेको थियो । वि.सं. २०६७ /०१/२० देखि २०६७/१२/२७ गतेसम्म पहिलो पटक मन्त्रालयमा डा. सुधा शर्मा र डा. प्रवीण शर्मालाई जिम्मेवारी दिइएको थियो । तर सो समयमा डा. सुधा शर्मालाई जनसङ्ख्या र डा. मिश्रलाई स्वास्थ्यको जिम्मेवारी दिइएको थियो । 

०६७ वैशाख १ देखि ०७१/०४/०८ सम्म डाक्टर प्रवीण मिश्रले ३ पटक र ०७५/०७/०९, ०७१/०४/०८ सम्म डाक्टर सुधा शर्माले ४ पटक स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।   

२०६७ मा हालका सभामुखको जिम्मेवारीमा रहेका कृष्णबहादुर महरालाई सो समयमा स्वास्थ्य मन्त्रालय र उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । महराले सो समयमा विभागमा आफ्नो अनुकूल नयाँ निर्देशक नियुक्त गर्न नमानेका कारण स्वास्थ्य सचिवको जिम्मेवारी परिवर्तन गरेका थिए । 

०६७ मा स्वास्थ्य सचिवका जिम्मेवारी पाएका डा. प्रवीण मिश्रलाई जनसङ्ख्याको जिम्मेवारी र जनसङ्ख्याको जिम्मेवारी पाएकी डा. सुधा शर्मालाई स्वास्थ्यको जिम्मेवारी दिइयो । ०६८ मा पनि जिम्मेवारी परिवर्तनबाट असन्तुष्ट भएका डा. मिश्र एक महिना बिदा बसेका थिए । 

अहिले पनि दुई स्वास्थ्य सचिवको लफडा पुरानो कुरासँग मिल्दोजुल्दो नै देखिन्छ । उपप्रधान एवम् स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य सचिवले आफू अनुकूल काम नगरेको भन्दै गत असोज २८ गते डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्न सिफारिस गरेका थिए । 

जिम्मेवारी बाँडफाँड गरे राम्रो 
स्वास्थ्य मन्त्रालयले यसअघि पनि दुई सचिवको अभ्यास गरिसकेको छ । जिम्मेवारी बाँडफाँड गर्दा काममा सहज भएको कर्मचारीहरू बताउँछन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर सुशील प्याकुरेलले सचिवहरूको जिम्मेवारी बाँडफाँड गर्नुपर्ने उपयुक्त हुने बताए । 

‘दुई जना हुँदा सचिवले गर्नुपर्ने निणर्यमा कर्मचारीले फाइल कता लैजाने, कामको विषयमा कोसँग छलफल गर्ने भन्ने सवालमा अलमलमा हुने गरेको छ’, प्याकुरेलले रातोपाटीसँग बताए । डा. प्याकुरेल भन्छन्, ‘जिम्मेवारीको बारेमा लिखित जानकारी नदिँदा मैले गर्ने निणर्य किन गरिस् भन्ने विषयमा सचिव–सचिवबीच नै समस्या नहोला भन्न सकिन्न, त्यो समस्या आउन दिनुहुन्न ।’   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप