बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुट्यो ६२ लाख ब्लडमनि, छुट्ने भए जोगी

शुक्रबार, १३ पुस २०७५, १५ : ३४
शुक्रबार, १३ पुस २०७५

–विनोद श्रेष्ठ
युएई– बिगत साढे चार बर्षदेखि युएईको आबुधाबी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप,२ तेह्रथुम ओयाक्जुङका खड्कबहादुर जोगी  जेल मुक्त हुने भएका छन्।

उनको रिहाईको लागी आवश्यक पर्ने २ लाख दिराम अर्थात् (६२ लाख रूपैया) विभिन्न मुलुकमा रहेका दाताहरुको सहयोगमा जुट्न लागेपछि उनको रिहाई निश्चित भएको हो।

जोगी बचाउ अभियानका संयोजक देव बास्कोटाका अनुसार उनको उद्दारको लागि बैंक खातामा ५४ लाख रुपैयाँ जम्मा भैसकेको र इन्द्रेणी कार्यक्रम मार्फत ५ लाखको प्रतिबद्धता आएकोले जोगीको ब्लडमनी तिर्न आवश्यक रकम अभाव नहुने बताए। जोगीको सहयोगका लागि करिब ७७ लाखको प्रतिबद्धता विश्वभरिबाट आएको उनले बताए। 

जोगीको उद्दारको लागि आवश्यक रकम नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत छिट्टै नेपाली दूतावास युएईमा प्रक्रियागत रुपमा पठाइने संयोजक बास्कोटाले जानकारी दिएका छन् ।
               
आबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको साथीलाई बचाउन खोज्दा फसेको उनको परिवारहरू बताउँछन्। सन् २०१४ मे ६ मा जोगी चढेको गाडीबाट आफ्नै सहकर्मी फिलिपिन नागरिक अचानक खसेको र निजलाई उद्दार गरि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको परिवारको भनाई छ।  

सहकर्मीको निधनलगतै जोगीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान दिएका थिए । तर जोगीलाई युएईको उच्च अदालतले हत्याको  गरेको आरोपमा ५ वर्ष कैद र २ लाख दिराम अर्थात् करिब (६२ लाख नेपाली रुपैयाँ) मृतक फिलिपिन नागरिकको परिवारलाई ब्लडमनि बुझाउनु पर्नै फैसला सुनायो। 

यसै बिषयमा नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागरप्रसाद फुयालसँग सम्पर्क गर्दा जोगीले सन् २०१९ को  मार्च सम्म जेल बस्नुपर्ने र अदालतले निर्देशन गरे अनुसार २ लाख दिराम जम्मा गर्नुपर्ने बताए। उनले अदालतमा छुरा प्रहार गरि आफ्नै सहकर्मीको हत्या गरेको स्वीकार गरेको राजदूत बताउँछन्।

निम्न वर्गीय परिवारका जोगीको घरमा श्रीमतीसहित १ छोरा २ छोरी ८२ वर्षीया आमा छन् । बिहान बेलुकाको छाक टार्न समेत मुस्किल पर्ने यो परिवारले ६२ लाख रुपैयाँ जम्मा गर्न असम्भव भएकोले विश्वभरिबाट सहयोगको अपिल गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप