केन्द्रीय संस्करण

एकेडेमीमा टिपेक्स प्रकरण

person explore access_timeपुस १२, २०७५ chat_bubble_outline0

नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञपरिषद् र सभाको नियुक्ति पूरा भएको छ । यस लेखकलाई  प्रसिद्ध संस्कृतिविद् तथा राष्ट्रिय चेतनाका उन्नायक डा. जगमान गुरुङ उपकुलपतिमा नियुक्त हुँदा प्रज्ञाको एउटा उचाइ बनेको लागेको छ  ।

 जात, भात, नाक र नश्लभन्दा धेरै माथिको समृृद्ध चेतना कुनै पनि देशको  राष्ट्रिय अखण्डता र एकताको सर्वोपरि पक्ष हो ।  किनभने  राष्ट्रवाद आधारभूत वाद हो । 

यसवादका अगाडि अरू दाहिने वा देब्रेलगायत सबै वाद डेब्रा हुन् ।  परोक्ष वा प्रत्यक्ष रूपमा  सन्तुलित राष्ट्रवादलाई परित्याग  गर्ने कुनै पनि वाद महत्वहीन हुन्छ । 

 तर उपकुलपतिमा डा. जगमान  गुरुङको नियुक्ति विषयमा पनि सीके राउतका मतियार एकाध बुद्धिजीवीले कटु कटाक्ष गरे । यही पुस ६ गते एक राष्ट्रिय स्तरको एक अखबारमा प्रसाईं थरका लेखकले ‘बौद्धिकताको बोन्साईं’ नामको एक लेखमा ओली केन्द्रित मनोगत भँडास खेलेका  छन् । 

 सर्पको  दाँतमा, झिँगाको टाउकामा, बिच्छीको पुच्छरमा विष हुन्छ भने दुष्ट मानिसको शरीरभरि विष हुन्छ भनेझैँ यस्ता  मानवीय व्यहोरा  बेलाबेला देखिन्छन् । 

प्रधानमन्त्री ओलीले थला पर्न सक्ने सम्भवनामध्येका एक बिखालु बुद्धिजीवी यही पुस १० गते पोखराको एक लिटिररी फेस्टेबल नामको सभामा फेला परे । तिनले आफ्नै जननीलाई आधा घण्टासम्म थुके, खकारे । वरिष्ठ लेखकको आवरणका सङ्ग्रौला थरका तिनी सीके राउतकै भाषा बोल्दै थिए । यस्तै गतियारी र मतियारीहरू सन् २०३० सम्ममा दुई नम्बर प्रदेशलाई नेपालबाट विखण्डित बनाउन देश र विदेशमा षड्यन्त्ररत रहेको वरिष्ठ विद्वान् प्रा.डा. युवराज सङ्ग्रौलाले डाँफे टीभीमा एक अन्तरवार्ता मार्फत् खुलासा गर्दै  थिए ।  

     तर कलुषित मानव भने सरकार र सत्ताभित्रै पनि थिए र छन् । फूलको सङ्गतले देउताका सिरमा चढे पनि कीराको व्यहोरा औँसाहा पार्नु मात्र हो । यस खालका व्यहोरोका लघु मानवहरूले दुःख दिइरहेको प्रधानमन्त्री कार्यालयका सूचना विज्ञ इर्फान अलीले मात्र होइन एक  सचिवालय सदस्यले बताएका थिए । 

प्रधानमन्त्री ओलीले भनेझैँ महँगा महँगा कोट काट्ने डुगुरे मुसा आफ्नै कोटमा रहेको  चाहिँ देखिएन भने झन्  ठूलो नोक्सान हुन्छ । यस्ता  तत्वहरू प्रज्ञाका आवरणमा पनि प्रवेश गरेका हुनसक्छन् । तिनले यसपालि पनि विधि र प्रक्रिया अनुसार प्राज्ञ परिषद्मा सिफारिस भएकी वरिष्ठ साहित्यकार गायत्री विष्टको नाममा टिपेक्स लगाएछन् ।

 यस्तो प्रवृत्तिका सिकार विषयविज्ञ व्यक्तित्व आदरणीय प्रा. भिक्टर प्रधानलाई  पहिले नै बनाइएको थियो । अहिले पनि तिनै   महामहिमले अनेक खेल खेलेर यस्तो कृत्य गरेगराएको पोल  खुल्न आएको छ । 
जनसाहित्यिक मञ्चका पूर्वमहासचिव तथा सशक्त युवा स्रष्टा विनोद मञ्जन तिनलाई जनसाहित्यिक क्षेत्रका कालकुट भन्न रुचाउँछन् । 

पद नपाउन्जेल मुसो हुने अनि पाएपछि बाघ हुनेले नै सरकारको मौन करणी गरेर धज्जी उडाउने खतरा टड्कारो देखिन्छ । 

सरकार र सरकार मातहत संस्थान र प्रतिष्ठनमा पक्षधर व्यक्तित्वहरू हुन्छन् र हुनुपर्छ । त्यसका लागि विज्ञताका विभिन्न तह, तप्का, व्यक्तित्व र कृतित्वलाई समेट्नुपर्छ तर त्यसको नेतृत्व र अगुवा नै पिँधबिनाको लोटा हुनुहुँदैन । 

प्राज्ञ र प्रज्ञाप्रतिष्ठान संस्कृतिको संवाहक हो । प्राज्ञिक ऐनअनुसार कला, साहित्य र सङ्गीत तथा अझ जनपक्षीय सिर्जनाका त्रिआयामिक विशेषताका विशिष्ट योग्य तथा वरिष्ठ व्यक्तित्वहरूले यस क्षेत्रको सेवा गर्ने अवसर पाएनन् भने दुर्भाग्य हुन्छ  । 

सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान जस्ता क्षेत्रमा पनि यस खालको विशेष ध्यान पुर्याउन सकिएन भने संस्कृति मन्त्रालयको सांस्कृतिक लक्षण उजागर हुनेछ । 

यस्तै चाला हो भने जन सास्कृतिक महासङ्घ विघटन गरिदिए हुन्छ भनेर यस लेखकले वरिष्ठ कलाकार तथा महासङ्घका पूर्वअध्यक्ष  खगेन्द्र राईलाई बताएको छ । 

एउटा प्राज्ञाको जवाफदेहिता देश र जनताप्रति हुनुपर्छ, स्रष्टा, सिर्जना तथा सर्जकप्रति हुनुपर्छ । अझ संविधानमा उल्लेख भए अनुसारको सांस्कृतिक रूपान्तरण केन्द्रित संस्कृति र सिर्जनामा केन्द्रित हुनुपर्छ ।
 नेकपा र यसको सरकारको नीति, विधि र पद्धतिसित सामान्य प्राज्ञिक तथा सिर्जनात्मक साम्य र समन्वय नराख्ने प्राज्ञबाट नकार मात्र प्रवाह हुने खतरा हुन्छ । 

उपयुक्त स्थानमा उपयुक्त प्राज्ञको उपस्थितिले मात्र सामयिक तथा सान्दर्भिक विचार  र सिर्जना स्रष्टा समाजमा प्रवाहित हुन्छ । 

यो प्रवाहित विचार अनि जनजनमा र आम जनतामा पुग्छ । अनि सामाजिक रूपान्तरणमा सघाउ पुर्याउँछ । प्राज्ञ सभाका मनानित प्राज्ञ     (पूर्वतिर पानी प्राज्ञ भनिने) लाई विषयगत वरिष्ठ अनुसन्धाता विज्ञ प्राज्ञ प्राध्यापक डाक्टरलाई भन्दा जहाँतहाँ विशिष्ट ठान्ने र औपचारिक  मञ्चमा प्रमुख अतिथिमा विराजमान गराउने सामान्य  कलाकूटनीति र मर्यादा विपरीतका काम हुन्छन् ।

 मोफसलमा यिनको महत्त्व आवश्यकताभन्दा बढी नै हुन्छ र हुनेगर्छ । यसरी  बोली बेच्ने ठाउँमा बोली नहुँदा अनि  बोली हुने तर बोल्ने स्थान नहुँदा परिवर्तित विचार, संस्कृति र कृति सन्दर्भ ओझेल पर्दोरहेछ । 

पहिलो कुरा सरकार र सरकार सम्बद्ध पार्टी, निकाय, संस्थान, प्रतिष्ठानहरूमा मुखकै अभाव देखिन्छ । त्यसमा पनि मौन र मुक मानवहरू जम्मा गरेर के प्रभाव दिन सकिएला ।

 माल असल भएर मात्र हुँदैन, बेच्ने कला त हुनुपर्यो नि । खास महत्त्वपूर्ण स्थानमा मात्र कुनै पनि बोलीको भाउ हुन्छ र मात्र होइन, बोली  विकाउ पनि हुन्छ । 

आफ्नै नगर, जिल्ला, अञ्चल र प्रदेशमा विषय, विधा, विचार, सिर्जना र विज्ञताको खासै पहिचान र प्रभाव नहुने प्राज्ञले सिर्जनात्मक तथा संस्कृतिगत प्रभावशाली  विचार कसरी प्रवाह गर्ला । 
अहिले पनि परिषद्मा नियुक्त  एकाध प्राज्ञले विगतमा अनेक तिकडम गरेर उन्नत स्तरको उच्च तहको देवकोटा पुरस्कार हात पारेर दुनियाँ हँसाएका थिए  । 

पुरस्कार र पद पाउनेभन्दा थाम्ने कुरा ठूलो हुन्छ, जसलाई हतारपतार भए जति  र भ्याए जति सबै पदक पुरस्कार हात पार्नु छ । भए  जति सबै पदको माला आफै लगाउने प्रवृत्ति घातक  छ ।  

अहिले त धेरै जसो गोष्ठीका लागि गोष्ठी गर्ने र कविताका लागि कविता लेख्ने गरिन्छ । सिर्जना र संस्कृतिसम्बन्धी सौन्दर्य शास्त्रीय विवेचनात्मक र समालोचनात्मक चिन्तन शून्य प्रायः देखिन्छ ।

 मृत आत्माको चीर शान्तिको कामना गर्ने प्राज्ञ, स्रष्टा र चिन्तकको बाहुल्य छ । परिवर्तित समाज अनुकूलको कला, साहित्य, सङ्गीत र संस्कृतिको दिशा र दृष्टि शून्य प्रायः देखिन्छ ।

 चिन्तन र विचार चुरो हो, यो कुरो मात्र होइन । जब यसमा खिया लाग्छ तब अग्रगमनको दिशा र दृष्टि स्खलित हुन्छ । 

समाजलाई गुणात्मक रूपमा फेर्ने सांस्कृतिक चेत  जब खस्किन्छ, अनि संविधानअनुसार समाजवाद उन्मुख नारा मात्र मुखौटो हुन्छ । 

कम्युनिस्टहरूको समस्या नै यही हो, तिनमा संस्कृति र सांस्कृतिक रूपान्तरण चेत अत्यन्त कमजोर छ । सामन्तवाद र पुँजीवादबाट प्रशिक्षित मनहरू उसको सरकार र सत्ताका लागि आफू मर्न र मिट्न तयार हुन्छन् ।

अहिले पनि साहित्य र कलाले समाजलाई गुणात्मक रूपमा परिवर्तन गर्न सक्ने सामथ्र्यको खोजी गरिएको छैन । देवकोटाले यात्री कवितामार्फत् धार्मिक रुढीलाई कलात्मक धक्का दिने कविता लेखे, दिल र दिमागले मानव महान् हुन्छ भन्ने मान्यता कवितामार्फत् देवकोटाले सशक्त रूपमा प्रवाहित गरे । 

प्रगतिशील तथा अग्रगामी लेखक र लेखनले आफूसहित समाजलाई रूपान्तरित काम गर्नुपर्छ । समाजका सबै कुरूप पक्षप्रति कलात्मक हस्तक्षेप गर्दे सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सत्ता मात्र साहित्य र संस्कृतिको महत्त्व स्थापित हुन्छ ।     

 स्रष्टाहरूमा सामन्तवादी सोच व्याप्त देखिन्छ । सामान्य आलोचनालाई बदलाको भावनाले हेरिन्छ । जनसांस्कृति र यससितको संस्थागत सम्बन्ध नकार्ने प्रज्ञा प्रमुख भएपछि तिनलाई जनसंस्कृतिको उत्थानसित साइनो र सम्बन्ध कसरी होला ?  

उच्च पदमा आसीन हुन बित्तिकै उच्च सर्जक बन्न सकिन्न । यस्ता व्यक्ति सडक छाप लेखकको सिर्जनात्मक राप, ताप र प्रतापबाट तर्सिन्छन् गायत्रीजी । सच्चा र इमानदार लेखकको पहिचान नै यही हो । 
 यही कुरालाई ध्यानमा राखेर प्रसिद्ध सर्जक तथा हालका पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उनको एउटा सांस्कृतिक महत्त्वको विशिष्ट पुस्तकमा यस लेखकलाई भूमिका लेखाएपछि प्रज्ञा प्रतिष्ठानका महामहिम प्राज्ञको अनुहार हेर्न लायक देखियो । के गर्नु र अमुक स्रष्टाको नाममा सजिलै टिपेक्स लगाए, जसरी सिर्जना सजिलो हुनसक्तैन । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...