शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनबी महर्जनका १० किस्सा : एक पन्चले भुवन केसीको नाकबाट रगत बरर

बिहीबार, १२ पुस २०७५, १० : ५८
बिहीबार, १२ पुस २०७५

हरेक मानिस सजिलो काम गर्न खोज्छन् । रुचाउँछन् पनि । यो मामलामा फरक देखिएका छन् एनबी महर्जन । उनी त्यस्ता व्यक्ति हुन् जो जहिले पनि जोखिम उठाउने काम गर्न रुचाउँछन् । त्यसैले पनि होला मनोरन्जन दुनियाँ अर्थात फिल्मी दुनियामा पनि उनले जोखिमले भरिएको एक्सनको पाटो सम्हाल्दै आएका छन् । 

एनबीले फिल्ममा एक्सन गर्न थालेको पनि तीन दशक पुगिसक्यो । पुराना हिरो भुवन केसी, शिव श्रेष्ठदेखि नयाँ पुस्ताका सविन श्रेष्ठसम्मलाई उनले एक्सन सिकाइसकेका छन् । यो यात्राको क्रममा उनले ‘बजार’, ‘हिरोज’लगायत करिब आधा दर्जन फिल्मसमेत निर्देशन गर्न भ्याए ।

बेलाबेलामा फिल्म निर्देशन गरे पनि उनको मुख्य काम भनेको फिल्मको एक्सन नै हो । करिब ३०० हाराहारी फिल्ममा एक्सनको जिम्मेवारी सम्हालेका महर्जनसँग काम गर्दाका थुप्रै तीतामीठा अनुभव पनि छन् । तीमध्ये १० किस्सा उनले यसरी सुनाए ।
  
ब्लास्टबाट हिरो बालबाल बाँचे
कुरो ०५० सालमा निर्माण भएको फिल्म ‘प्रेमपूजा’को हो । यो मेरो द्वन्द्वनिर्देशनमा डेब्यु फिल्म पनि थियो । यसको हिरो बिमल पौडेल  हुनुहुन्थ्यो । निर्देशकमा स्वर्गीय राजुध्वज राणा । फिल्मको क्लाइमेक्स सिनमा म काम गर्दै थिएँ । यो समय फिल्ममा ठूलाठूला ब्लास्टिङ गर्ने चलन चलेको थियो । हामीले पनि फिल्मको सटका लागि ठाउँठाउँमा ब्लास्टिङ बिछाएका थियौँ ।

हिरोइनलाई भिलेनले किडन्याप गरेर लगेपछि हिरोले त्यसलाई फलो गर्दै पछि लाग्ने सिन थियो । हिरो अगाडि बढ्दै जाँदा भिलेनले बिछ्याएको ब्लास्ट ठाउँ ठाउँमा पड्कनुपथ्र्यो ।  यसका लागि हामीले टाइमिङ मिलाएर काम गरिरहेका थियौँ । तर टेक लिँदा कहीँकतै टाइमिङ मिलेनछ । हिरोको क्रस हुनु र ब्लास्ट हुनु करिब सँगसँगै भयो ।

त्यो समय करिब एक सेकेन्ड मात्र छिटो ब्लास्टिङ र हिरोको चाल ढिलो भएको भए ठूलो दुर्घटना हुन्थ्यो । हिरो ब्लाटिङमा परेर जे पनि हुन सक्थ्यो । बाँच्ने चान्स कमै हुन्थ्यो । तर त्यस्तो ठूलो घटना हुन पाएन ।
यो मेरो जीवनको ठूलो घटना थियो । पाठ पनि भनौँ । यो घटनामा हिरोलाई केही चोट त लाग्यो नै । तर सुटिङ रोक्नुपरेन । यो दिन र घटना सम्झँदा अहिले पनि डर लाग्छ । 

एक पन्चले भुवन दाइको नाकबाट रगत बरर 

त्यस्तै २०५२/०५३ को होला । ‘राधाकृष्ण’ भन्ने फिल्मको काम गर्दै थिए । फिल्ममा नायक भुवन केसी दाइ हुनुहुन्थ्यो । खलनायक थिए पवन मैनाली । चावहिलको शङ्खपार्कमा फिल्मको सुटिङ लोकेसन थियो । हामी फाइटका दृश्यहरू हतार हतारमा खिचिरहेका थियौँ ।

फाइटको रियलसल पनि गरिएको थियो । रियलसल राम्रो भएपछि सट लिन थाल्यौँ । भुवन दाइ र पवनको पन्चको एक अर्काेलाई पन्च हान्ने सिन थियो । यो क्रममा मैले सिकाएको टाइमिङमा उनीहरूले हानेको पन्चको टाइमिङ नमिलेर पवनको पन्च भुवन दाइलाई लाग्यो । पन्च लागेपछि भुवन दाइको नाकबाट रगतको धारा छुट्यो । मुख पनि सुन्नियो । धेरै समय सुटिङ अवरोध भयो ।

पवनले भुवन दाइसँग माफी मागे । एक्सनमा कहिलेकाहीँ मिस्टेक लाग्छ । भुन दाइ भन्दै थिए । यो सबैले बुझ्नुपर्ने कुरो पनि हो । एकदमै राम्रो माहोलमा काम भइरहेको थियो । यो एक्सिडेन्टले माहोल नै धुलमिलियो । 

धेरै दुखे पनि करिस्माले रियाक्सन भने गरिनन् 
निर्देशक तीर्थ थापा ‘आन्दोलन’ भन्ने फिल्म गरिरहेका थिए । द्वन्द्वको जिम्मेवारी मेरो थियो । फिल्ममा हिरोइन र महिला भिलेनबीच फाइटको सिन पनि थियो । हिरोइनमा करिस्मा मानन्धर र भिलेनमा निलम केसी थिए ।

अहिले त धेरै अभिनेत्रीहरू एक्सन गर्छन् । तर त्यो समय हिरोइनको एक्सन नै हुँदैन थियो । उनीहरूको रियाक्सनमा मात्र एक्सन हुन्थ्यो । हिरोले हाने खुसी हुने । कुटाइ खाए दुःखी हुने उनीहरूको रियाक्सन हुन्थ्यो । 

निलम र करिस्माको पन्च फाइट खिच्दै थिए । फाइट गर्दै जाँदा निलमको पन्च करिस्माको नाकमा लागिहाल्यो । यो सिन फिल्म पनि रियल झैँ देखिएको थियो । निलमको पन्च लागेर करिस्माको नथ्री फुट्यो । रगत पनि बग्न थाल्यो । सुटिङ रोकियो । मेरा लागि यो सामान्य घटना थियो । किनभने फिल्मको एक्सन सुटिङमा यस्ता घटना भइरहन्छन् । तर पन्चले धेरै दुखे पनि करिस्माले रियाक्सन भने गरिनन् ।    

बाइक र म हावामा 
२०५० तिरकै कुरो हो । ‘दुस्मन’ भन्ने फिल्म छायाङ्कन भइरहेको थियो । म त्यसमा स्टन्ट गर्दै थिएँ । फिल्ममा पड्कने बममाथि मोटरबाइक कुदाउनुपर्ने सिन थियो । मेरो जोसको कुरै नगरौँ । बाइक, त्यतिकै पनि उडाइदिन सक्थेँ । दुर्घटनाबाट जोगिन बाइक कुदाउने र बम पड्काउने समय केही फरक गरेर मिलाइएको थियो ।

तर सट लिँदै गर्दा मेरो केटाहरूको खराबीका कारण हो वा के कारणले हो, बाइक हिँड्नु र बम पड्कनु एकसाथ भयो । म ब्लास्टमा परेँ । बाइकर म दुवै हावामा । यो घटनामा म धेरै घाइते भएँ ।

डेढ महिना अस्पताल बस्नुपर्यो । शरीरका धेरै भाग सुन्निए । अस्पतालको खर्च भने सबै निर्माताले तिरे । म फेरि सुटिङमा फर्किन दुई महिना लाग्यो । सो समय फिल्मसम्बन्धी नेपालमा कुनै सङ्घसंस्था थिए । फिल्मलाई बद्री अधिकारी दाइले निर्देशन गर्नुभएको थियो ।

सम्झँदा पनि डर लाग्छ
नेपाली फिल्ममा एक्सन गर्दा जोखिम धेरै छन् । किनभने सेफ्टी धेरै प्रयोग गर्न पाइँदैन । हाम्रो बजेटले पनि भ्याउँदैन । म ‘दोस्ती’ भन्ने फिल्मको काम गर्दै थिएँ । फिल्ममा अभिनेता अर्जुन कार्कीले मोटरबाइक उडाउनुपर्ने सिन थियो । 

यसअगाडि उनले अन्य केही फिल्ममा पनि बाइक उडाइसकेका थिए । फिल्मका निर्माता रोज राणा थिए । ‘दोस्ती’ फिल्ममा लामो बाइक उडाएर किक हान्नुपर्ने सिन थियो । यो सिनका लागि मिलेसम्मका सेफ्टीहरू प्रयोग गरिएको थियो । जब फिल्मका लागि टेक लिइयो । सिन दिँदै गर्दा अर्जुनको बाइक उछिट्टिएर सेफ्टी प्रयोग गरिएको ठाउँभन्दा बाँहिर पुग्यो ।

घटना लाइभ देख्दा सातो जाने थियो । तर यो घटनामा ठूलो क्षति भने भएन । यो घटनामा अर्जुनको शरीरका विभिन्न भाग भाँचिन पनि सक्थ्यो । तर भाग्यले भनौँ उनलाई केही भएन । उनी बजारिए पनि फिल्मको सट भने ओके भयो । तर पनि उसले रिटेक दिए । त्यो क्षण सम्झँदा अहिले पनि डर लागेर आउँछ । 

गालाबाट रगतको धारा छुट्यो 
मिति यही भन्ने अहिले याद भएन । ‘खलनायक’ भन्ने फिल्मको काममा थिए । निर्माता हुन् रोज राणा । रानीबारीमा विराज भट्ट र फाइटरहरूको एक्सन दृश्य फिल्मका लागि क्यामरामा कैद गर्दै थिएँ । 

फिल्ममा फाइटरले हिरोलाई तरबार हान्ने, हिरोले भने छल्नुपर्ने दृश्य थियो । उक्त सिन नजिकबाट छायाङ्कन गरिएकाले सक्कली तरबार प्रयोग गरिएको थियो ।

फाइटरले तरबार हान्ने क्रममा बिँड हातमै रहेर तरबार फुत्कियो । त्यो तरबार छेउकै रहेको रूखमा ठोकिएर सुटिङ हेर्न आउने मानिसको गालामा लाग्यो ।

तरबारले लागेपछि गालाबाट रगतको धारा छुट्यो । ती व्याक्तिलाई तुरुन्तै अस्पताल पुर्याएर टाँका लगाइयो । घाउ ठूलै थियो । यो पनि मैले बिसर्न नसकेको घटना हो ।

गोली लागेको चराझैँ भुइँमा झरे निखिल 
ललितपुरको श्रीकाली चौरमा ‘दाग’ भन्ने फिल्मको सुटिङ गर्दै थिएँ ।   फिल्मको हिरो एक्सन स्टार निखिल उप्रेती थिए । चौरमा स्काफेल्डर वाइर लगाएर सुटिङ भइरहेको थियो ।

धेरै बाइकहरूले लखेट्ने, निखिलले उडेर हान्ने फाइटको दृश्य म क्यामरामा कैद गर्दै थिएँ । फाइट खेल्दा निखिललाई उडाउने तार छोटो भएर अर्काे गाँसिएको थियो । सो समय अहिले जस्तो तार धेरै प्रयोग हँुदैन थियो । किनभने मेटाउन झन्झट थियो । खर्च धेरै लाग्थ्यो । प्रयोग भएका तार पनि छल्नुपथ्र्यो ।

यो पूरै फिल्म नेगेटिभमा खिचिए पनि फाइट भने हामीले तार मेटाउन डिजिटलमा काम गरिरहेका थियौँ । स्काफोल्डर लगाएर निखिललाई उडाएर फाइट खिच्ने काम भइरहेको थियो । 

धेरै एक्सन क्यामरामा कैद भइसकेका थिए । चर्को घाम लागेको समय भएकाले हतारहतार काम गर्दै थियौँ । उडेको अवस्थामा सुतेर निखिलले फ्लाइङ किक हान्नुपर्ने सट थियो । सो सट निखिलले दिँदैगर्दा गाँसेको तार फुत्किएर उडेको निखिल सिकारिको गोली लागेको चरा झै ९, १० फिट माथिबाट भुइँमा बजारिन पुगे । भाग्यको कुरा उनलाई केही भएन ।

त्यहाँ सेफ्टी केही प्रयोग भएको थिएन । सीधै चौरमा बजारिँदा पनि उनलाई केही भएन । निखिल स्पोट म्यान भएर पनि होला केही क्षति हुन पाएन । साधारण घाउचोट मात्र लाग्यो । नर्मल मानिस भएको भए ढाड भाँचिन्थ्यो ।

दुई युवतीसँग रोमान्टिक सिन थियो 

धेरै अगाडिको कुरो हो । ‘सोल्टिनी’ भन्ने फिल्म गर्दै थिए । भिलेन फिल्मका निर्माता चिरञ्जीवी बस्नेत आफै थिए । दुई युवतीसँग भिलेन स्विमिङ पुलमा पौडी खेल्दै मस्ती गर्ने सिन खिच्नुथियो । यो एकदमै रोमान्टिक सिन पनि थियो । 

भिलेन बनेका चिरञ्जीवीलाई पौडी खेल्न नआउने भएकाले म डुब्लिकेट बनेर सिन गर्दै थिएँ । डमी गर्दैगर्दा अरू केटी पनि मसँग पौडी खेल्नुपर्ने थियो ।

सुटिङ गोदावरीको स्विमिङ पुल भएको एक घरमा थियो । सिन सुरु नहुँदै दुईजना केटी स्विमिङ ड्रेसमा आए । एउटी केटीले पौडी खेल्न थाली । म क्यामरामा बुझाउँदै थिए । अर्काे केटी पनि पानीमा हाम फलिहाली । ऊ डुब्न लागी, कराउन थाली, पूरै डुब्न लाग्दा मैले गएर बचाएँ । बाहिर ल्याएँ । सोधेँ, ‘तिमीलाई पौडी खेल्न आउँदै । ‘आउँदैन’ उनले जवाफ दिइन् ।

बुझ्दै जाँदा कुरो के रहेछ भने । त्यो पनि एकदमै निलो देखिएको थियो । तल टायल बिछ्याइएको पनि थियो । हेर्दा गहिरो छैन झैँ देखिन्थ्यो । उनले पनि त्यही सोचर हाम फलेकी रहिछन् । ‘मैले यति गहिरो होला भनेर सोचेकी थिइनँ’ भनिन् । उनी कहिलै स्विमिङ नगरेको मानिस चलचित्र खेल्न भनेपछि एक्साइटेड भएर हामफलेकी रहिछन् । यो घटना अझै मेरो मानसपटमा ताजै छ । फिल्म खेल्न भनेपछि त्यो समय मानिस कति उत्साहित हुन्थे भन्ने यो एउटा उदाहरण हो । 

राजेशको हिरोइज्म देखाउनुथियो 
‘चाँदनी’ भन्ने फिल्म चलचित्र विकास कम्पनीको बालजु गोदाममा खिच्दै थियौँ । पर्खाल तोडेर हिरो इन्ट्री हुने सिन थियो । पर्खाल बाहिर मोटरसाइकल राखिएको थियो । रात्रिको समय सुटिङ भएकाले भित्र एचएमआई (चहकिला) लाइटहरू बालिएको थियो । 

पर्खाल तोड्न हिरो मोटरसाइकलमा फोर्सले आउनुपथ्र्यो । पर्खाल काठको बनाइएको थियो । हिरो राजेश हमाल थिए । हिरो जम देखाउने सिन पनि थियो यो । यस्तो सिनमा रियलसल हँुदैन । बनाएको पर्खाल भत्किएपछि  सकियो । त्यसैले हामीले दुईवटा क्यामरा सिनका लागि फोकस गरेका थियौँ ।

राजेशलाई तोडेको मात्र लिने । यति क्रस गरे पुग्छ भनेर चिनो राखेका थियौँ । रोएिको अलग्गै लिउँला भनेका थियौँ । त्यो सिनमा बाइकको स्पिड बढी भएर होला राजेश पर गएर बजारिए । सिन त हामीले भनेझैँ भएकाले ओके भयो । तर राजेश दाइलाई लडेकाले डर थियो, केही त भएन भन्ने । तर केही भएको रहेनछ । 

पछि राजेश दाइले लाइटले गर्दा केही नदेखेर रोक्ने ठाउँ थाहा भएन भन्नुभयो । यो समय पनि ठूलो घटना हुनसक्थ्यो । तर टर्यो । यो घटनाले मलाई सधैँ सजक गराउने काम गर्यो ।

रमेशले निकै दुःख पाए
‘घर संसार’ भन्ने फिल्म गर्दै थिए । रमेश उप्रेती त्यसको हिरो थिए । फिल्ममा कलेजको एक फाइट थियो । सो फाइटमा हिरोले स्प्रिङ बोडबाट उफ्रिएर उडेर आएर घुँडाले हानेर भिलेन ढाल्ने सिन थियो । म सिङ्गल सट लिइरहेको थिएँ । 

हिरोले ८ फिटभन्दा माथि जम्प गरेर हान्नुपर्ने थियो । हान्दै गर्दा संयोगबस सेफ्टीका लागि विछ्याइको फम भन्दा पर घुँडा परेछ । घुँडा भुइँको ढलानमा ठोक्कियो । यो क्रममा घुँडा फ्याक्चर भएछ । त्यसपछि धेरै सकसले त्यो फाइट जिनतिन सकियो । घुँडाका कारण रमेशले निकै दिन दुःख पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप