मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदले पठाए स्वास्थ्य मन्त्रीलाई सरुवा लिष्ट (नामसहित)

बुधबार, ११ पुस २०७५, १८ : २९
बुधबार, ११ पुस २०७५

बुटवल– कपिलवस्तुका सांसद सहसराम यादवले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कर्मचारी सरुवाको लिष्ट पठाएको खुलेको छ । स्वास्थ्य क्षेत्रका केही कर्मचारीले पार्टीको घोर विरोध गरेको र केही आफ्ना कर्मचारीलाई अपायकबाट पायक ठाउँमा ल्याउन भन्दै सांसद यादवले एक महिनाअघि २५ जना कर्मचारी सरुवाको लिष्ट तयार पारेका थिए । उक्त लिष्ट सहितको सिफारिश पत्र रातोपाटीले फेला पारेको छ ।

संघीय समाजवादी फोरम केन्द्रीय सदस्य तथा प्रदेश सांसद सहसराम यादवले पार्टीको विरोधी र सर्मथित स्वास्थ्य मातहतका कर्मचारीको सरुवा गर्न पार्टी अध्यक्ष तथा मन्त्री उपेन्द्र यादवलाई विवरणसहित पत्र पठाएका हुन् । प्रदेश सांसदकै लेटर प्याडमा यादवले कुन तहको, कहाँ भएको र कहाँ पठाउने सबै खुलाएर पत्रमा हस्ताक्षर गरि सोमबार स्वास्थ्य मन्त्रीका स्वकीय सचिवलाई इमेल पठाएका थिए । यद्यपि सरुवा लिष्टको पत्रमा चलानी नम्बर र मिति भने उल्लेख गरिएको छैन ।

संघीय समाजवादी फोरमको घोर विरोधी भएको भन्दै तौलिहवा जिल्ला अस्पतालका मेसु डा.किशोर बन्जाडे, बुद्धभूमि–१० धनकौली स्वास्थ्य चौकी इन्चार्ज सिद्र्धाथकाजी बज्राचार्यलाई अति दुर्गममा सरुवा गर्न माग गरिएको छ । यसैगरी पार्टी निकटका दुर्गम तथा अपायक परेकाहरुलाई माग अनुसारका स्थान तोकेर विशेष प्राथमिकता भन्दै सरुवा गर्न सिफारिश गरिएको छ ।

पाल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची मात्र नभई इलामदेखि दाङ वा रुपन्देही सरुवा गर्न भन्दै कर्मचारी संकेत नम्बरसहित स्वास्थ्यमन्त्री यादवलाई सांसद सहसरामले पत्र पठाएका छन् । अर्घाखाँचीमा कार्यरत अवधेश गुप्ता र सुखदेव नाउँको कपिलवस्तु, नुवाकोटमा कार्यरत बसन्त अधिकारीको काठमाडौं, पाल्पामा कार्यरत अनमी दिपा थापा रुपन्देही, एचए बेगपाल कुर्मी र सरिता गुप्ता कपिलवस्तु तथा वृजेश यादव नवलपरासी सरुवा भइसकेका छन् । तनहुँ जनस्वास्थ्य शाखा अधिकृत अनिरुद्र श्रीवास्तवको सरुवा भइसके पनि हाल सरुवा बदर गरि त्यहीँ खटाइएको छ ।

राजनीति नगर्दा लिष्टमा परे

पार्टीको घोर विरोधी भन्दै दुर्गममा सरुवा गर्न सिफारिशमा परेका तौलिहवा अस्पतालका डा.किशोर बन्जाडे मन्त्रालयले जता सरुवा गर्छ, त्यतै जाने बताउँछन् । ‘मैले अस्पतालको स्तरोन्नती गरे, गुणस्तरीय सेवा दिए, तर राजनीति गरिँन, त्यसैले लिष्टमा परे ।’ स्वास्थ्य सेवा विभागले सरुवा गर्ने बताउँदै राजनीतिक हस्तक्षेपमा हुने यस्ता क्रियाकलापले काम गर्ने हतोत्साहित हुने र राजनीति गर्ने स्वास्थ्यकर्मी गैरजिम्मेवार बन्दै जाने डा.बन्जाडेको भनाई छ ।

कपिलवस्तु प्रतिनिधिसभा १ (ख) बाट प्रदेशसभा निर्वाचित यादव संघीय समाजवादी फोरमको प्रदेश नं. ५ का संसदीय दलका नेता समेत हुन् । सांसद यादवले प्रदेश ५ बाहिरका कर्मचारीहरुको समेत सरुवा गर्न सिफारिश गर्नुले कर्मचारी सरुवामा आर्थिक लेनदेनको आशंका समेत उब्ज्याएको छ । सांसद यादवसँग यस विषयमा प्रतिक्रिया माग्दा नेता भएपछि सिफारिस पठाउने नियमित प्रक्रियानै भएको प्रतिक्रिया उनले दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप