बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओ त्से–तुङ र चे ग्वेभाराबीच संवादः शुरुमा माओका विचारको महत्व पहिल्याउनै सकिन

बुधबार, ११ पुस २०७५, ११ : ५०
बुधबार, ११ पुस २०७५

सन् १९६० को नोभेम्बरमा क्युबाली क्रान्तिका नेता चे ग्वेभारा पहिलो पटक चीन पुग्नुभएको थियो । त्यस क्रममा उहाँले चिनियाँ क्रान्तिका नेता एवं अध्यक्ष माओ त्से–तुङसँग भेट्नुभएको थियो । त्यही बेला दुई क्रान्ति–नायकबीच भएको कुराकानीको अंशः

चेः चीन र क्युबाबीच दुई वटा कुरा झण्डै झण्डै उस्तै छन् । यो कुराले मलाई निकै प्रभावित बनाएको छ । तपाईंहरु जब क्रान्ति गर्दै हुनुहुन्थ्यो, च्याङ काई शेकले तपाईंहरुमाथि गरेको हमलालाई ‘घेरामा पार र दबाऊ’ भनेर व्याख्या गर्नुभएको छ । यी दुवै शब्द प्रतिक्रियावादीहरुले हाम्रोतिर पनि प्रयोग गरे । उनीहरुले प्रयोग गरेको रणनीति उही रहेछ । 

माओः हाम्रो शरीरमा जब कुनै बहिरिया तत्व प्रवेश गर्छ, सेतो रक्तकोषले त्यसलाई घेर्ने गर्छ र दबाउने गर्दछ । च्याङ काई शेकले हामीलाई ब्याक्टेरियालाई जस्तै व्यवहार ग¥यो र खत्तम गर्न खोज्यो । हामीले २२ वर्षसम्म उनीविरुद्ध विभिन्न किसिमबाट लड्यौं । दुई पटक हाम्रो सहकार्य भयो र दुई पटक हाम्रो विग्रह भयो । स्वाभाविक रुपमा त्यसले धेरै लामो समय लियो । पहिलो पटकको सहकार्यमा दक्षिणपन्थी अवसरवादीहरुका पछि लागेर गल्ती ग¥यौं । पार्टीभित्र दक्षिणपन्थी समूहको उदय भयो । परिणामतः च्याङ काई शेकले पार्टीभित्र खेल्ने मौका पायो, साम्यवादको विरोध भयो र युद्धमार्फत् दबाउने काम भयो । उत्तरी अभियानको क्रममा त्यसो भएको थियो । सन् १९२४ देखि १९२७ सम्मको दोस्रो चरणमा युद्ध सिवाय केही भएन । हामीलाई जान कुनै पनि बाटो राखिएन । तपाईंहरुलाई जसरी बातिस्ताले कुनै पनि ठाउँ छोडेको थिएन, बरु जनता मार्ने काम मात्र गरिरह्यो । बन्दुक बोकेर लड्नु बाहेक अरु कुनै विकल्प छैन भन्ने कुरा च्याङ काई शेकले हामीलाई सिकायो । जसरी क्युबाली जनतालाई बातिस्ताले त्यो कुरा सिकाएको थियो, चिनियाँ जनतालाई पनि च्याङ काई शेकले सिकायो । हामीलाई कसरी लड्ने भन्ने कुरा थाहा थिएन, न त हामी लड्ने तयारीमै थियौं । प्रधानमन्त्री र म त बुद्धिजीवी थियौं, (उपप्रधानमन्त्री ली सेनेनतिर सङ्केत गर्दै) उहाँ त मजदुर हुनुहुन्थ्यो । तर हामीसँग बाँकी अर्को विकल्प नै के थियो र ? च्याङ काई शेक हामीलाई मार्न चाहन्थ्यो । 

अध्यक्ष माओले क्युबाली जनताको क्रान्तिको सफलताको लागि र प्रतिनिधिमण्डलका सबै सदस्यको सुस्वास्थ्यको कामना गर्दै गिलास उठाएर टोस्ट प्रस्ताव गर्नुहुन्छ । 

माओः एकचोटि युद्धको शुरुवात भए पश्चात त्यो कम्तीमा दश वर्ष चल्ने गर्दछ । हामीले आधार क्षेत्र त बनायौं, तर हामीबाट दक्षिणपन्थी अवसरवादी गल्ती भए । जब हामीले अतिवामपन्थी नीतिमा झुकाव राख्न थाल्यौं, परिणामतः हामीले आधार क्षेत्रहरु गुमाउँदै गयौं । अनि हामी अन्यत्र जान बाध्य भयौं । लामो अभियान त्यसैको परिणाम थियो । ती गल्तीले हामीलाई सिकाए । मूलतः हामीले दुई वटा गल्ती ग¥यौं– एउटा वामपन्थी र अर्को दक्षिणपन्थी गल्ती । तिनै गल्तीबाट हामीले पाठ सिक्यौं । जब जापानले चीनविरुद्ध हमला शुरु ग¥यो, हामीले च्याङ काई शेकसँग मोर्चा ग¥यौं । त्यस्तो कालखण्ड तपाईंहरुको इतिहाससँग मिल्दैन ।

चेः धन्य, हाम्रो इतिहासमा त्यो घटना छैन । 

माओः बातिस्तासँग मोर्चाबन्दी गर्ने तपाईंहरुको सन्दर्भमा सम्भावना नै थिएन नि । 

चेः अमेरिकीहरुसँग बातिस्ताको कुनै द्वन्द्व थिएन । 

माओः च्याङ काई शेक बेलायत र संयुक्त राज्य अमेरिकाको कुकुर नै थियो । जापानले जब चीनमाथि कब्जा जमायो, त्यो च्याङ काई शेकलाई मान्य भएन । आठ वर्ष लामो तेस्रो चरण (सन् १९३७–४५)मा हामीले जापानविरुद्ध लड्न च्याङ काई शेकसँग सहकार्य ग¥यौं । त्यो सहकार्य राम्रो खालको थिएन, किनभने च्याङ काई शेकले दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गरेको थियो । ऊ बेलायत र संरा अमेरिकाको दलाल बनेको थियो ।

चौंथौ चरणमा जापानलाई भागिसके पश्चात च्याङ काई शेकले हामीमाथि हमला ग¥यो । एक वर्ष त हामीले उसको प्रतिरोधमा बिताउनुप¥यो । त्यसपछि हामी आक्रामक बन्यौं र साढे तीन वर्षसम्म उसलाई पराजित गर्न लाग्यो । सन् १९४९ मा हामीले समग्र विजय हासिल ग¥यौं । च्याङ काई शेक ताइवान भाग्यो । हाम्रो हातमा ताइवान टापु रहेन । 

प्रधानमन्त्री चाओ एन–लाईः तपाईंहरुको पनि व्युनो टापु (द आइल्स अफ पाइन) छ नि । बातिस्ता यो टापु छोडेर नभाग्दासम्म त उनीहरुले त्यसमाथि कब्जा जमाएका थिए । 

माओः त्यसमाथि कब्जा जमाउनु निकै राम्रो हो । 

चेः तर फेरि पनि अमेरिकाले हमला गर्ने खतरा भने रहिरहेको छ ।

चाओ एन–लाईः अमेरिकीहरुले द आइल्स अफ पाइन्समा हमला गर्ने प्रयास गरेका थिए । 

माओः त्यसको अर्थ अमेरिकी साम्राज्यवाद हाम्रो साझा दुश्मन हो । साथै संसारका जनताको साझा दुश्मन भए । तपाईं त निकै युवा देखिनुहुन्छ । 

चेः तपाईंले क्रान्ति शुरु गर्दा मेजर सुनोल बाहेक अरु हामी त कोही पनि जन्मेका पनि थिएनौं । मेजर सुनोल अहिले ३५ वर्षको हुनुहुन्छ । उहाँ हामीमध्ये सबभन्दा पाको हुनुहुन्छ । 

माओः विगतमा हामीले युद्धको मैदानमा सङ्घर्ष ग¥यौं । आजभोलि हामी निर्माणमा सङ्घर्ष गरिरहेका छौं । 
कमाण्डर इड्डी सुनोलः क्रान्तिको रक्षा गरिरहनुभएको छ । 

चेः क्युबा र चीनबीच अर्को एउटा कुरा पनि मिलेको छ । सन् १९४५ मा भएको क्युबाली कम्युनिस्ट पार्टीको महाधिवेशनमा प्रस्तुत समसामयिक प्रतिवेदनमा भनिएको छः केही शहरीया मानिसहरु गाउँ भनेपछि नाक खुम्च्याउँछन् । हाम्रो सङ्घर्ष दुई भागमा विभाजित छ । पहिलो पहाडी क्षेत्रमा छापामार युद्ध चलाउनुपर्दछ र अर्कोतिर शहरमा हडतालहरु गर्नुपर्दछ । शहरमा हड्ताल गरिरहेका शक्तिहरुले पहाडी क्षेत्रमा छापामार युद्ध गरिरहेकाहरुलाई उपेक्षा गर्ने काम भइरह्यो । तर अन्तमा शहरी विद्रोहका पक्षधरहरु असफल भए । 

चाओ एन–लाईः धेरै मिल्दोजुल्दो । 

माओः बेकामका शक्तिहरुबाट फाइदा लिन खोज्नु दुस्साहसवाद हो । जब उनीहरुले गाउँहरुमा ध्यान दिन असफल हुन्छन्, शहरका जनतालाई किसानहरुसँग एकताबद्ध हुन त्यत्ति सजिलो हुने गर्दैन । 

चाओ एन–लाईः अक्टोबर ५ को तपाईंको लेख छापिएपछि मात्र मेरो दिमागमा यो कुरा खुल्यो । (चे ग्वेभाराले क्युबाली विचारधाराको अध्ययन गरी लेख्नुभएको उक्त लेख ‘भेर्दा ओलिभियो’मा छापिएको थियो ।) मैले त्यो लेखका उद्वरण पढेको छु र त्यसमा उठाइएका विषय अध्ययन गरेको छु । तपाईंलाई त बुद्धिजीवी मान्नुपर्दछ । 

चेः म बुद्धिजीवी भन्न सकिने तहमा पुगिसकेको छैन । 

माओः तपाईं त लेखक हुनुहुन्छ । मैले पनि त्यो लेखका अंश पढेको छु र म तपाईंका विचारसँग धेरै धेरै सहमत छु । त्यो लेखले समग्र ल्याटिन अमेरिकालाई प्रभावित बनाउन सक्दछ । 

चाओ एन–लाईः तपाईंले त्यो लेखको पूरा प्रति ल्याउनुभएको छ ?

चेः म तपाईंलाई त्यसको प्रति उपलब्ध गराउने प्रयास गर्ने छु । 

माओः त्यो लेखमा तपाईंले मूलतः तीन वटा सिद्धान्त अघि सार्नुभएको छ । जनताले प्रतिक्रियावादीहरुलाई पराजित गर्न सक्छन् । त्यसको लागि क्रान्तिका सबै परिस्थिति परिपक्व बनाउन जनताले उपयुक्त समय कुर्न जरुरी छैन । तेस्रो सिद्धान्त के हो रे ?

चेः तेस्रो सिद्धान्त ल्याटिन अमेरिकाको सन्दर्भमा प्रमुख कार्यभार ग्रामीण भेगमा आधारित रहने छ । 

चाओ एन–लाईः क्रान्तिलाई ग्रामीण भूभागसँग जोड्नु निकै महत्वपूर्ण छ । 

चेः हामी पनि यो बुँदामा निकै अडिग रह्यौं । 

चाओ एन–लाईः केही ल्याटिन अमेरिकी साथीहरु किसानहरुको भूमिका त्यत्ति महत्वपूर्ण मान्दैनन् । यो बुँदामा तपाईंहरु स्पष्ट हुनुभयो र सफल हुनुभयो । चिनियाँ क्रान्तिको सन्दर्भमा पनि त्यस्तै भयो । धेरै मानिसले किसानहरुको योगदानको उपेक्षा गरे, तर अध्यक्ष माओले त्यही बुँदामा जोड दिनुभयो । 

माओः हामीलाई शहरमा पस्न नदिएर शत्रुले नै हामीलाई यो रणनीति सिकाएका हुन् । च्याङ काई शेक जनता मार्न चाहन्थ्यो । त्यस अवस्थामा तपाईंले के नै पो गर्न सक्नुहुन्थ्यो र ?

चेः माओका रचनामा लेखिएका विचार फिडेल क्यास्ट्रोले निकै महत्वपूर्ण भएको पाउनुभयो । शुरुमा बरु मैले त्यो महत्वलाई पहिल्याउन सकेको थिइनँ । युद्धबन्दीहरुलाई आत्मीय व्यवहार गर्ने, उनीहरुका घाउ र चोटपटकको उपचार गर्ने र फिर्ता पठाउने विचार । हामीले यो विचार हाम्रो सङ्घर्षको क्रममा व्यवहारमा ल्यायौं र साँच्चै निकै महत्वपूर्ण भएको अनुभव ग¥यौं । 

माओः शत्रु सेनालाई विभाजित गर्ने यो उपाय हो । 

चेः यो व्यवहारलाई हामीले पछि मात्र व्यवहारमा ल्यायौं । त्यसअघि त युद्धबन्दीहरुका हामी जुत्ता र लुगा फुकाल्न लगाउँथ्यौं । किनभने हाम्रा लडाकुसँग जुत्ता र लुगाको अभाव थियो । तर पछि फिडेलले हामीलाई त्यसो नगर्न निर्देशन दिनुभयो ।

अध्यक्ष माओले आफ्नो गिलास उठाउनुभयो र फिडेलको सुस्वास्थ्यको कामना गर्दै टोस्ट प्रस्ताव राख्नुभयो । 

चेः छापामार युद्धको समयमा मानिसहरु राम्रोसँग खान समेत सक्दैनथे । हामीलाई बौद्धिक खानाको पनि अभाव थियो । हामी केही पढ्न पनि सक्दैनथ्यौं । 

प्रधानमन्त्री चाओ एन–लाईः जब अध्यक्ष माओ छापामार युद्ध लड्दै हुनुहुन्थ्यो, उहाँ पत्रपत्रिका ल्याउन प्रायशः मान्छे पठाउनुहुन्थ्यो । 

माओः पत्रपत्रिकालाई सूचनाको रुपमा लिनुपर्दछ । शत्रुका अखबारहरुले प्रायशः शत्रुका कामबारे सूचना चुहाउने गर्दछन् । ती आफैमा एउटा स्रोत हुन् । हामीले केही हजार मानिसहरुको साथ लिएर क्रान्तिको थालनी ग¥यौं । त्यसपछि हाम्रो फौजको आकार दश हजारको भयो । पछि त तीन लाखको फौज बन्यो । त्यही बिन्दुमा हामीले केही वामपन्थी गल्ती ग¥यौं । ‘लङ मार्च’पछि तीन लाखको फौज पच्चीस हजारमा खुम्चियो । शत्रु हामीसँग कम मात्र डराउन थाल्यो । जापानले चीन कब्जा गर्दा हामीले च्याङ काई शेकसँग सहकार्य गर्न चाह्यौं । हाम्रो सङ्ख्या कम भएकाले ऊ हामीसँग डराएन । अनि मात्रै ऊ हामीसँग सहकार्य गर्न तयार भएको हो । च्याङ काई शेकको इच्छा थियो जापानलाई लगाएर हामीलाई सिध्याउने । तर जापानविरोधी लडाइँको क्रममा हामी दुई हजारबाट दश लाखको सङ्ख्यामा पुग्यौं । त्यसो होला भनेर च्याङ काई शेकले अपेक्षा गरेकै थिएन । जापानले आत्मसमर्पण गरेपछि च्याङ काई शेकका चालीस लाख सेनाले हामीमाथि हमला गर्न थाल्यो, हामीसँग जम्मा दश लाख सेना थियो । आधार क्षेत्रमा दश करोड जनसङ्ख्या थियो । साढे तीन वर्षको अन्तरालमा हामीले च्याङ काई शेकलाई पराजित ग¥यौं । त्यो अवधिको युद्ध भने छापामार युद्ध थिएन । त्यो ठूलो आकारको लडाइँ थियो । तपाईंको लेखमा उल्लेख भएझैँ विमान, तोप, ट्याङ्क सबैले कुनै लछारपाटो लगाउन सकेनन् । च्याङ काई शेकसँग ती सबै हतियार थिए, तर हामीसँग ती कुनै पनि हातहतियार थिएनन् । पछि मात्र हामीले केही तोप कब्जामा लिएका थियौं ।

चेः यो प्रक्रियाले ल्याटिन अमेरिकामा भएको घटनाको झझल्को दिएको छ । सामन्तवादी शक्तिलाई ध्वस्त बनाउन साम्राज्यवादले राष्ट्रिय पुँजीपति वर्गलाई विकास हुन दिने गर्दछ । राष्ट्रिय पुँजीपति वर्गले निकै धेरै आयात करको माग पनि गर्न सक्छन् । तर उनीहरु राष्ट्रिय हितको पक्षमा उभिने गर्दैनन् । वास्तवमा उनीहरुको स्वार्थ साम्राज्यवादसँग मिलेको हुन्छ । 

माओः मेरो एउटा प्रश्न छ । पुँजीगत हिसाबबाट के ब्राजिलको स्पात कारखाना संयुक्त राज्य अमेरिकासँग जोडिएको छ ? 

चेः ब्राजिलका प्रमुख धातु कारखानाहरु अमेरिकी पुँजीले स्थापना गरेका हुन् । 

चाओ एन–लाईः अमेरिकी पुँजी कति प्रतिशत छ ? ब्राजिलले वार्षिक रुपमा १६ लाख स्पात उत्पादन गर्ने गरेको छ । 

चेः ब्राजिलका कारखानाहरुमा समग्रमा अमेरिकी पुँजी कति छ, त्यो त त्यत्ति स्पष्ट छैन । तर प्राविधिक रुपमा त्यो पूर्ण रुपमा अमेरिकामाथि निर्भर छ । ब्राजिल धेरै ठूलो देश हो, तर ल्याटिन अमेरिकाका अरु देश र ब्राजिलबीच तात्विक रुपमा कुनै अन्तर छैन । 

माओः मेरो अर्को पनि प्रश्न छ । शुरुमा क्युबाली भूमिमा टेकेदेखि विजय हासिल गर्दासम्म तपाईंहरुलाई दुई वर्षको समयावधि लाग्यो । तपाईंहरुले किसानहरुलाई संगठित गर्नुभयो र विजय हासिल गर्नुभयो । के ल्याटिन अमेरिकाका अरु देशमा त्यही तरिकाबाट काम गर्न सम्भव छ ?

चेः यो प्रश्नको जवाफ एकै किसिमबाट दिन सकिँदैन । वास्तवमा हाम्रो तुलनामा तपाईंसँग धेरै अनुभव र गहिरो विवेक छ । अरु ल्याटिन अमेरिकी देशको तुलनामा क्युबामा क्रान्ति गर्न निकै कठिनाइ सामना गर्नुप¥यो । तर त्यहाँ एउटा अनुकूलको वातावरण भने थियो । साम्राज्यवादीहरुको उपेक्षाको फाइदा उठाएर हामीले विजय हासिल गरेका थियौं । साम्राज्यवादीहरुले हामीमाथि दमन गर्न कुनै शक्ति केन्द्रित गरेको थिएन । उनीहरुले विजय हासिल गरेपश्चात फिडेलले आखिरमा आफैसँग ऋण लिन हात फैलाउनुपर्ने सोचेका थिए । आफूसँग सहकार्य गर्ने उनीहरुको अपेक्षा थियो । तर अरु ल्याटिन अमेरिकी देशमा क्रान्तिको शुरुवात गर्दा त्यस्ता खतराको सामना गर्नुपर्ने हुन्थ्यो । उदाहरणको लागि ग्वाटेमाला । आफ्ना जलसेना प्रयोग गरेर संरा अमेरिकाले त्यहाँ हस्तक्षेप ग¥यो । 

माओः ती ल्याटिन अमेरिकी देशका आन्तरिक परिस्थितिको सन्दर्भमा कुनै भिन्नता छन् त ?

चेः राजनीतिक भिन्नता छन् । तर सामाजिक रुपमा भन्नुपर्दा यी सबै देशलाई मात्र दुई वा तीन ठूला प्रकारमा विभाजन गर्न सकिन्छ । तीन वटा देशमा सैनिक संघर्ष चालू छ– पाराग्वे, निकारागुआ र ग्वाटेमाला ।
माओः संरा अमेरिकाले अब आफ्नो संगीनको तीर ग्वाटेमाला र निकारागुआतिर सोझ्याएको छ । 

चेः कोलम्बिया र पेरुमा जनताको महान् क्रान्तिको उदय हुने सम्भावना छ । 

माओः मैले भनेजस्तै पेरुमा बहुमत मानिसलाई जमिनको आवश्यकता छ । कोलम्बियामा पनि त्यही हो । 

चेः पेरुको सन्दर्भ रोचक छ । त्यहाँ जहिल्यै पनि आदिम साम्यवादको परम्परा छ । स्पेनियालीहरुले आफ्नो शासनको क्रममा सामन्तवाद र दास व्यवस्था ल्याएका हुन् । तर त्यहाँ त्यसबीच पनि आदिम साम्यवादको अवसान भएन । बरु त्यो व्यवस्था अझै पनि कायम छ । कुज्को क्षेत्रमा कम्युनिस्ट पार्टीले चुनाव जित्यो । चुनावमा कम्युनिस्ट विजयको लागि यो सङ्घर्ष जातीय सङ्घर्षसँग जोडिएको छ । पेरुमा धेरै आदिवासी जनता बस्छन्, तर गोरा, मेत्सिजो आदिवासीहरुले मात्र जमिनमाथि हक पाएका छन् र जमिन्दार बनेका छन् । 

माओः स्थानीय जनताको जनसङ्ख्या ९० लाखदेखि १ करोड छ । जबकि स्पेनियालीहरुको जनसङ्ख्या दश हजार मात्र । 

चेः यो तथ्याङ्क अतिरञ्जनापूर्ण हुन सक्छ । पेरुमा १ करोड २० लाख जनसङ्ख्या छ । तीमध्ये १ करोड आदिवासी छन् भने २० लाख जनता गोरा । 

माओः पेरुको अवस्था र दक्षिण अफ्रिकाको अवस्था उस्तै रहेछ । दक्षिण अफ्रिकामा ३० लाख मात्र बेलायती रहेछन् । 

चाओ एन–लाईः ३० लाख बेलायती, १० लाख डच, १० लाख मिसिएका, ८० लाख काला र ५ लाख आदिवासी छन् । काला र आदिवासीहरुको अवस्था सबभन्दा गएगुज्रेको अवस्था छ । गोराहरुलाई मात्र मताधिकारको बन्दोबस्त छ । 

चेः पेरुमा अझै पनि दास प्रथा छ । सामान्यरुपमै भूमिबापत मानिसको किनबेच हुने गरेको छ । 

चाओ एन–लाईः विगतमा तिब्बतमा जस्तै । 

चेः ती पिछडिएका ठाउँमा रैथानेहरुसँग पैसा छैन । केही कुरा बेच्नु पर्दा बिक्रेताले तराजुको एउटा पल्लामा बेच्न राखेको सामान र अर्को पल्लामा तामाका सिक्का राखेर तौलिने गर्दछन् । कागजको मुद्रा प्रयोग गर्दैनन् उनीहरु । 

माओः कोलम्बियाको अवस्था केही फरक छ नि होइन र?

चेः कोलम्बियामा सामन्तवाद कमजोर छ । तर त्यहाँ क्याथोलिकहरुको बलियो उपस्थिति छ । त्यहाँका सामन्त र क्याथोलिक चर्चहरु संरा अमेरिकासँग मिलेका छन् । त्यहाँका आदिवासीहरु गरिब छन्, तर उनीहरु दास भने होइनन् । कोलम्बियामा गुरिल्ला शक्तिहरु थिए तर आजभोलि उनीहरु लड्न छोडिसके । 

माओः के अरु ल्याटिन अमेरिकी देशसँग क्युबाको कूटनीतिक सम्बन्ध छ ?

चेः धेरै देश एकअर्कासँग जुधेका छन् र तिनले क्युबासँग सम्बन्ध तोडेका छन् । हाइटी, डोमिनिकन गणराज्य र ग्वाटेमाला यस्ता देशका उदाहरण हुन् । कोलम्बिया, एल साल्भाडोर र होन्डुरसले क्युबाली राजदूतलाई अयोग्य घोषणा गरे । ब्राजिलले पनि विनाकारण क्युबाली राजदूतलाई निकाला ग¥यो । 

चाओ एन–लाईः जम्माजम्मी सात वटा देश भए । 

माओः त्यसो भए ल्याटिन अमेरिकाका अधिकांश देशसँग क्युबाको कूटनीतिक सम्बन्ध छ । ल्याटिन अमेरिकाका १९ वटा देशमध्ये ७ वटा रहेनन् । बाँकी रहे १२ वटा । 

चेः शुरुका तीन वटा– हाइटी, डोमिनिकन गणराज्य र ग्वाटेमालासँग क्युबाको सम्बन्ध थिएन । कोलम्बिया, एल साल्भाडोर, होन्डुरस र ब्राजिलमा क्युबाका कूटनीतिक प्रतिनिधि छन् । तर क्युबाली राजदूत नै छैन । क्युबालीहरु ब्राजिलमा जानु भनेको तथाकथित फलामे पर्दाको अर्कोतिर जानुजस्तै हो । 

माओः ग्वाटेमाला र निकारागुआका युद्धको प्रकृति कस्तो हो ? के तिनीहरु जनताका युद्ध हुन् ?

चेः यसबारे म ठोकुवा गरी जवाफ दिन सक्तिन । मलाई पारेको प्रभावका आधारमा ग्वाटेमालाको लडाइँ जनताको युद्ध हो भने निकारागुआको लडाइँ सामान्य प्रकारको हो । ती देश क्युबाबाट टाढा छन् । त्यसकारण त्यहाँका लडाइँको प्रकारबारे कुनै धारणा छैन । मैले भर्खर भनेको जवाफ केवल आत्मगत जवाफ हो । 

माओः ग्वाटेमालामा जे भइरहेको छ, के त्यो ज्याकोभ अर्वेन्ज गुज्मानसँग जोडिएको छ ?

चेः चीनतिर हिँड्ने बेला मैले यो सन्दर्भमा अर्वेन्जको घोषणा हेर्ने मौका पाएँ । त्यहाँका क्रान्ति लोकप्रिय प्रकारको हुन सक्छ । 

माओः अहिले अर्वेन्ज क्युबामा छन् ?

चेः हो, उनी क्युबामा छन् । 

माओः उनी चीन र सोभियत संघ पनि आएका छन् । राम्रो मान्छे हुन् उनी । 

चेः म उनलाई विश्वास गर्छु । विगतमा उनले गल्ती गरे । तर उनी अडिग, अघि बढ्ने खालका र विश्वासयोग्य छन् । 

(अध्यक्ष माओले प्रतिनिधिमण्डलका सबै सदस्यलाई रात्रीभोजमा आमन्त्रण गर्नुभयो । त्यहाँ पनि कुराकानी भने चालू रह्यो ।)

प्रस्तुतिः नीरज लवजू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप