शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण तत्काल नबन्ने भयो रानीपोखरी, ठेकेदार चिन्दैनन् पुरातत्वका हाकिम

बिहीबार, १२ साउन २०७४, १३ : ५६
बिहीबार, १२ साउन २०७४

काठमाडौं–रानीपोखरी पुननिर्माण कहिले होला ? अब कस्तो बन्ला रानीपोखरी ? काठमाडौंको जमल, रत्नपार्क आसपास पुग्नेहरुले पहिलेको पुरानो रानीपोखरी सम्झेर यस्ता प्रश्न गरिरहेका हुन्छन् । भूकम्प गएको झन्डै साढे २ बर्ष हुन लाग्दासम्म रानीपोखरी पुर्ननिर्माणको काम देखिने गरी अघि बढेको छैन् । रानी पोखरी निमार्ण गर्ने जिम्मा पाएका दुई सरकारी निकायलाई कुनै तातो लागेको छैन । 


रमाइलो कुरा त के छ भने रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर निर्माण गर्ने जिम्मा पाएको पुरातत्व विभागका हाकिमलाई ठेक्का कुन कम्पनीले लियो र काम कहाँ पुग्यो भन्ने जानकारी सम्म छैन । उता काठमाडौं महानगरपालिकाले जिम्मा लिएको पोखरीको पर्खाल र बगैँचा बनाउन ६ करोड ३९ लाख लागतको ठेक्का लिएको कम्पनी १ करोड लिएपछि काम रोकेर बसेको छ ।  


रानीपोखरीको मन्दिर कहिले बन्छ भन्ने रातोपाटीको प्रश्नमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले यो बहुवर्षिय ठेक्का प्रणाली अन्र्तगत रहेकोले २०७८ सालसम्म बन्ने बताए । उनले काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित रानीपोखरी बनाउन लागेपछि विभागले जिम्मा पाएको बताउदै ठेकेदार कम्पनीलाई २०७८ सालको असार मसान्तसम्म काम सक्ने जिम्मेवारी दिएको जानकारी दिए । तर ठेकेदार कम्पनी कुन हो आफूलाई थाहा नभएकोले प्रवक्तालाई सोध्न आग्रह गर्दै पन्छिए । 


विभागका प्रवक्ता रामबहादुर कुँवरले भने मन्दिर निमार्णकार्य १ बर्षभित्र सक्नेगरी टेन्डर गरेको जानकारी दिए । उनले १ करोड ६० लाखमा ठेक्का सम्झौता भएको बताउँदै रानीपोखरीको मन्दिर २०७५ असार भित्र सक्नुपर्ने बताए । तर विभागका प्रवक्ता कुँवरले समेत आफूलाई कुन कम्पनीले ठेक्का लिएको छ भन्नेबारे जनाकारी नभएको बताए । उनलाई पटक पटक सम्पर्क गर्दा यसबारे बुझेर जानकारी दिने बताए तर पनि सम्पर्कमा आएनन् ।   


रानीपोखरी पुनर्निमार्णको जिम्मा काठमाडौं महानगरपालिका र पुरातत्व विभागले लिएका छन् । काठमाडौं महानगरपालिकाले पोखरी, पर्खाल र बगैँचा निर्माणको जिम्मा लिएको छ भने पुरातत्व विभागले पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निमार्ण गर्ने जिम्मा लिएको छ  ।  


यता काठमाडौं महानगरपालिकाले भने पैसा लिएर पनि ठेकेदारले काम नगरेका कारण पोखरी छेउको पर्खाल र बगैँचा बनाउने काममा ढिलाई भएको बताएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले २ बर्षभित्र पोखरीको पर्खाल र बगैँचा निर्माण सम्पन्न गर्नका लागि ६ करोड ३९ लाखमा टेन्डर भएपनि ठेकेदार कम्पनीले १ करोड लिएर काम रोकेको बताए । 


प्रवक्ता कार्कीले भने–‘मन्दिर पुनर्निर्माण गर्ने जिम्मा त पुरातत्वले लिएको छ, महानगरपालिकालाई त्यसको मतलब भएन । तर रानीपोखरीको बाहिरी प्रारुप तयार पार्न पाए हुन्थ्यो भनेको काम रोकिएको छ ।’


ठेकेदार कम्पनीले विना जानकारी काम रोकेको उनले बताए । ‘ठेकेदार कम्पनीले पैसा लगिसकेपछि कि काम गर्नुप¥यो, कि समस्या देखाँउनुप¥यो ।’ प्रवक्ता कार्कीले भने ।  


पोखरी निर्माणका लागि छुट्टै टेन्डरः ४० फिट बालुवा भेटियोे   
रानीपोखरीको पुर्ननिमार्णका लागि पोखरीको छुट्टै टेन्डर आह्वान गर्नुपर्ने महानगरपालिकाले जनाएको छ । पोखरी कस्तो बनाउने भन्ने बारेमा छलफल भइरहेको र पोखरी निर्माणका लागि छुट्टै टेन्डर आवह्वान गर्नेबारे काठमाडौं महानगरपालिकाका जनप्रतिनिधीहरुले छलफल गरिरहेको प्रवक्ता कार्कीले जानकारी दिए । 


पोखरीमा अथाह बालुवा रहेको बताँउदै त्यसलाई हटाउन समय लाग्ने देखिएको उनले बताए । उनले भने–‘४० फिट गहिरो खन्दा पनि बालुवा भेटियो, पोखरीमा पानी आँउने प्राकृतिक मुहान पनि हराएको छ । पानी आउने स्रोत भएन भने जति पानी हाले पनि सुक्छ । अब पोखरीको पिँधमा टायल वा केही राखेर मान्छे पनि नडुब्ने खालको ५ फिट सम्म गहिराइको बनाँउनेबारे छलफल भइरहेको छ ।’


पोखरी निर्माणका लागि टेन्डर निकाल्नेबारे भर्खर छलफल भएकोले टेन्डर निकालेर निमार्ण कम्पनी छनौंट गरी काम थाल्न कति समय लाग्छ टुङ्गो छैन । 
२०७३ माग २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय भूकम्प दिवसको अवसरमा रानीपोखरीबाट पुनर्निर्माण महाअभियानको उद्घाटन गरेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप