केन्द्रीय संस्करण
सन्दर्भ : माओ जयन्ती

नेपालका शिक्षाशास्त्रीहरुबीच माओ त्से तुङ : शिक्षक बन्न चाहन्छौं भने हामी शुरुमा विद्यार्थी हुनुपर्दछ

person explore access_timeपुस ११, २०७५ chat_bubble_outline0

(चिनियाँ क्रान्तिका नेता माओ त्से–तुङले सन् १९६४ मा चीन पुगेको नेपालका शिक्षाशास्त्रीहरुको प्रतिनिधिमण्डलसँगको संवादका क्रममा दिएको यो मन्तव्यमा समाजवादी शिक्षा प्रणालीको अन्तर्यलाई चिनियाँ परिप्रेक्ष्यमा चर्चा गरिएको छ । चीनले आर्थिक र प्राविधिक विकासमा गति लिइरहेको तत्कालीन समयमा व्यक्त प्रस्तुत विचारमा शिक्षालाई व्यवहारसँग गाँस्ने विषयलाई जोड दिइएको छ । अर्थात् शिक्षालाई तत्कालीन चिनियाँ आवश्यकता पूरा गर्न कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा माओले आफ्ना भनाइ राखेका छन् । यो लेखमा शिक्षा फगत बौद्धिक विलासको माध्यम मात्र बन्ने समस्यालाई हल गर्ने विषयमा पनि केन्द्रित छ । सांस्कृतिक क्रान्तिको सापेक्षतामा पनि यो लेखको अध्ययन गर्न जरुरी छ ।)
    
हाम्रो शिक्षामा धेरै थरीका समस्या छन् । तीमध्ये सबभन्दा ठूलो समस्या भनेको कोरा सिद्धान्तवाद (dogmatism) हो । हामी हाम्रो शिक्षा प्रणालीमा सुधारको प्रक्रियामा छौं । विद्यालय जानुपर्ने वर्ष निकै लामो भयो, पढ्नुपर्ने पाठ्यक्रम पनि धेरै भए र शिक्षणका विभिन्न तरिका पनि चित्तबुझ्दो भएनन् । केटाकेटीले पाठ्यपुस्तक र पाठ पढ्ने त भए, तर ती कुरा पाठ्यपुस्तक र पाठमा मात्रै सीमित भएका छन् । केटाकेटीहरुले केही जानेका भने छैनन् । उनीहरुले आफ्ना चार हात–खुट्टा पनि चलाउने जानेका छैनन् । न त उनीहरु पाँच थरी अनाज पनि चिन्न सक्ने भएका छन् (कन्फुससको Analectsको उद्धृत) । धेरै केटाकेटीलाई त गाई, घोडा, कुकुर र सुंगुर के हुन् र कस्तो हुन्छन् भन्ने समेत थाहा छैन । न त उनीहरुले धान, पिँजडाको चरालाई खुवाउने अनाज, मकै, गहुँ, कोदो र फापर चिन्न सकेका छन् (तीन पात्रको कथा नामको बालसाहित्यबाट उद्धृत) । 

एक जना विद्यार्थीले विश्वविद्यालयको पढाइ सक्याउने बेलासम्ममा ऊ बीस वर्षको भइसकेको हुन्छ । विद्यालयमा जानुपर्ने समयावधि धेरै लामो भयो, पाठ्यक्रम पनि अचाक्ली बढी भयो र शिक्षण प्रणाली पनि कल्पनाशीलभन्दा पनि जबर्जस्ती घोकाउने प्रकारको छ । परीक्षा प्रणाली पनि परीक्षार्थीलाई शत्रुजस्तै व्यवहार गर्ने र उसलाई धरापमा पार्ने खालको छ (हाँसो) । 

तसर्थ म तपाईंहरुलाई चीनको शैक्षिक प्रणालीमाथि अन्धविश्वास नगर्न सल्लाह दिन चाहन्छु । त्यसलाई राम्रो प्रणालीको रुपमा नलिनु होला । धेरै मानिसले विरोध गर्ने भएकाले कुनै पनि ठूलो परिवर्तन एक्कै पटक गर्न गाह्रो हुन्छ । अहिलेको परिस्थितिमा नयाँ तरिका लागू गर्ने कुरामा थोरै मानिस तयार हुन सक्छन्, तर धेरै असहमत हुने छन् । मैले तपाईंहरुका अपेक्षामाथि चिसो पानी खन्याएको हुन सक्छु । तपाईंहरु के कुरा ठीक हो भन्ने कुरा जान्न खोज्दै हुनुहुन्छ, तर म तपाईंहरुलाई के कुरा नराम्रो हो भन्ने कुरा मात्र भन्दैछु । 

यसको अर्थ मैले यहाँ केही राम्रो काम भइरहेको छैन भन्न खोजेको होइन । उदाहरणका लागि उद्योग र भूगर्भबारे कुरा गरौं । पुरानो समाजले हामीलाई जम्मा २ सय जना भूगर्भशास्त्रीहरु छोडेर गएको थियो । तर आज हामीसँग दुई लाखभन्दा बढी भूगर्भशास्त्री छन् । 

सामान्यतः भन्नुपर्दा इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेका बुद्धिजीवीहरु राम्रा हुन्छन् । किनभने उनीहरु वास्तविकताको धरातलमा उभिएका हुन्छन् । वैज्ञानिक, सैद्धान्तिक विज्ञानका ज्ञाताहरु राम्रा हुँदैनन्, तर उनीहरु कलाशास्त्रका विषयमा विशेषज्ञता हासिल गरेकाहरुभन्दा राम्रा हुन्छन् । मानविकीका विषयहरु त पूर्ण रुपमा  यथार्थभन्दा अलग हुने गर्दछन् । इतिहास, दर्शनशास्त्र र अर्थशास्त्रका विद्यार्थीलाई यथार्थको अध्ययनबारे कुनै चासो नै हुने गर्दैन । उनीहरु संसारबाट कुराभन्दा सबभन्दा बेखबर हुने गर्दछन् । 

हाम्रो शक्तिको स्रोत भनेको जनता हुन् । यदि कुनै कुराले जनताको भावना प्रतिनिधित्व गर्दैन भने त्यो राम्रो भएन । हामीले जनतासँग सिक्नुपर्दछ, त्यहीअनुसार नीति तर्जुमा गर्नुपर्दछ र जनतालाई शिक्षित बनाउनुपर्दछ । त्यसकारण यदि हामी शिक्षक बन्न चाहन्छौं भने हामीले शुरुमा विद्यार्थी हुनुपर्दछ ।

मैले अघि पनि भनिसकेको छु, हामीसँग त्यस्तो केही विशेष कुरा छैन । हामीसँग हामीले साधारण जनतासँग सिकेका कुरा मात्र छन् । निसन्देह, हामीले थोरै माक्र्सवाद–लेनिनवाद पढेका छौं, तर माक्र्सवाद–लेनिनवादले मात्र भने पुग्दैन । हामीले चिनियाँ विशेषता र चिनियाँ तथ्यहरुबाट शुरु गरेर चिनियाँ समस्याहरुबारे अध्ययन गर्नुपर्दछ । हामीले साम्राज्यवाद र तिनका पिछलग्गुहरुविरुद्ध लड्नुपर्छ भन्ने कुरा हामीले जान्यौं, तर हामीले कसरी लड्ने भन्ने कुरा जानेनौं । तसर्थ हामीले चीनको परिस्थितिबारे अध्ययन गर्नुप-यो, जसरी तपाईंहरुले आफ्नो देशको परिस्थितिबारे अध्ययन गर्नुभएको छ । हामीले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनादेखि सम्पूर्ण देशको मुक्तिसम्म चिनियाँ परिस्थितिअनुसार पाइला पाइलामा नीति निर्माण गर्दै पूरा २८ वर्षको लामो समयावधि बितायौं । 

हाम्रो शक्तिको स्रोत भनेको जनता हुन् । यदि कुनै कुराले जनताको भावना प्रतिनिधित्व गर्दैन भने त्यो राम्रो भएन । हामीले जनतासँग सिक्नुपर्दछ, त्यहीअनुसार नीति तर्जुमा गर्नुपर्दछ र जनतालाई शिक्षित बनाउनुपर्दछ । त्यसकारण यदि हामी शिक्षक बन्न चाहन्छौं भने हामीले शुरुमा विद्यार्थी हुनुपर्दछ । कोही पनि शिक्षकले आफ्नो वृत्तिविकासको शुरुवात शिक्षकको रुपमा गरेको हुँदैन । एकजना शिक्षक भएर आफूले कसरी सिकें भन्ने कुरा बुझ्न उसले जनताबाट सिक्ने कामलाई निरन्तरता दिनुपर्दछ । त्यही भएर शिक्षक तालिमको पाठ्यक्रममा मनोविज्ञान र शिक्षा विषयहरु पनि समावेश हुने गरेका छन् । कसैले आफूले सिकेको कुराबाट यथार्थसम्म पुग्न सक्दैन भने उसले सिकेको कुरा निरर्थक हुने गर्दछ ।

सिन्ह्वा विश्वविद्यालय (पेकिङको दक्षिणी भागमा अवस्थित)को विज्ञान तथा इन्जिनियरिङ संकायअन्तर्गत एउटा कारखानाको बन्दोबस्त गरिएको छ । विद्यार्थीहरुले पुस्तक र कामबाट पनि सिक्न सकोस् भनेर त्यस्तो बन्दोबस्त गरिएको हो । तर हामी मानविकी संकायको लागि कुनै कारखानाको स्थापना गर्न सक्दैनौं, जस्तै साहित्य कारखाना, इतिहास कारखाना, अर्थशास्त्र कारखाना वा उपन्यास कारखाना । ती संकायले आफ्नो सम्पूर्ण समाजलाई नै आफ्नो कारखानाको रुपमा लिनुपर्ने हुन्छ । ती संकायका शिक्षक र विद्यार्थीले किसान र शहरी मजदुरका साथै कृषि तथा उद्योगहरुसँग सम्पर्क राख्नुपर्दछ । 

उनीहरुको योग्यताको अरु कसरी–कसरी उपयोग गर्न सकिएला ? उदाहरणको लागि कानुनका विद्यार्थीहरुलाई लिउँ । यदि उनीहरु समाजमा भएका अपराध बुझ्न सक्दैनन् भने उनीहरु कसरी कानुनका असल विद्यार्थी हुन सक्छन् र ? कानुनको कलकारखाना बनाउने त कुरा आउँदैन, आफ्नो समाज नै उनीहरुको कारखाना हो । 

तुलनात्मक रुपमा भन्नु पर्दा हाम्रा कला विषयहरु यथार्थसँगको सम्पर्कको अभावका कारण ज्यादै पछाडि परेका छन् । विद्यार्थी र शिक्षकहरु कक्षाकोठाभित्र मात्र काम गर्छन् । दर्शनका कुरा दर्शनका पुस्तकका ठेलीहरुमा मात्र सीमित छन् । यदि दर्शनको अध्ययन समाज, जनता र प्रकृतिसँग जोडेर गरिँदैन भने त्यो दर्शनको के काम ? त्यस्तो दर्शनको अर्थ केही अस्पष्ट विचारको सङ्ग्रह मात्र हुनेछ । तर्कशास्त्रको सन्दर्भमा पनि कुरा त्यही हो । एक पटक पाठ्यपुस्तक पढेको भरमा कसैले दर्शनका धेरै कुरा बुझ्न सक्दैन । प्रयोगबाटै कसैले क्रमशः त्यसलाई बुझ्ने गर्दछ । तर्कशास्त्र पढ्दा मैले धेरै कुरा बुझेको थिइनँ । जब म प्रयोगमा गएँ अनि बुझ्दै गएको हुँ । 
म तर्कशास्त्रको विषयमा कुरा गर्दैछु । 

व्याकरण विषय पनि कसैले पढेर मात्र बुझ्न सकिने विषय होइन । वाक्य गठनको कुरा आफैले वाक्य रचना गरेपछि मात्र बुझ्ने सकिन्छ । हामी हाम्रो दैनिक चलनचल्तीअनुसार लेख्ने र बोल्ने गर्दछौं र व्याकरणको अध्ययन गर्न वास्तवमा जरुरी छैन । व्याख्यान (rhetoric) विद्या त ऐच्छिक विषय हो । महान लेखकहरु सधैँ व्याख्यान विद्याका ज्ञाता हुने गर्दैनन् । मैले पनि व्याख्यान विद्या पढेको थिएँ, तर मैले केही पनि बुझ्न सकिनँ । के तपाईं लेख्नुअघि व्याख्यान विद्याको अध्ययन गर्नुहुन्छ र ? 

स्रोतः माओ त्से–तुङको सङ्कलित रचना भाग– ९ Marxist Internet Archive
अनुवादः नीरज लवजू

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha