शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा स्थायी कमिटी बैठक– कस्तो आउँला ओली–प्रचण्डको जवाफ ?

मङ्गलबार, १० पुस २०७५, १७ : ००
मङ्गलबार, १० पुस २०७५

काठमाडौँ । मंसिर २९ देखि पुष ८ सम्म बसेको नेकपाको स्थायी कमिटी बैठक अझै सकिएको छैन । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्ताको कारण देखाउँदै दुई दिनको अवधिलाई बैठक स्थागित गरिएको थियो । बुधबार विहान नेकपाको बैठक पुनः बस्दै छ । 

पार्टी एकतापछि गम्भिर बहस हुने गरी बसेको नेकपाको यो पहिलो बैठक हो । बुधबार बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने छन् । नेकपा अब कसरी जान्छ भन्ने कुरा अध्यक्षद्वयको जवाफमै धेरै कुरा निर्भर हुने केही नेताहरु बताउँछन् ।

अध्यक्षद्वयले पार्टी भित्रका नेताहरुको असन्तुष्टिहरुको सम्बोधन गर्न नसकेको हकमा त्यसको असर नेकपाको आन्तरिक जीवन र सरकार सञ्चालनमा पर्ने ती नेताहरुको बुझाइ छ । 

मुलतः यो बैठकबाट पार्टीभित्र देखिएको आन्तरिक विवाद सुल्झाउने, पार्टी एकताका बाँकी काम टुङ्ग्याउने र सरकारका कामको समीक्षा गरेर सरकारलाई जनपक्षीय काम गर्न लगाउने निर्णयको अपेक्षा नेकपाका धेरै नेता–कार्यकर्ताको छ । बैठकमा स्थायी कमिटीका सबै सदस्यले आफ्ना धारणा राखिसकेका छन् । 

तर, आठ दिन लामो चलेको बैठकको ‘इन्साइड पिक्चर’ ले भने संकेत राम्रो देखिदैँन । 

यो बैठकपछि नेकपामा विवाद सुल्झिनुको सट्टा थप बल्झिँदै जाने देखिन्छ । बैठकबाट गुटले संस्थागत रूपमै प्रवेश पाएको छ । पार्टी र सरकारका काम कारवाहीलाई लिएर नेतृत्वको सबैभन्दा धेरै आलोचना भएको छ । 

बैठकमा उठेका प्रश्न, आक्रोश, आलोचना साथै असन्तुष्टिहरुहरु प्रधानमन्त्री ओली केन्द्रीत छन् । अर्का अध्यक्ष प्रचण्डले बैठक अवधिभर न त गाली पाए न त तालीनै । आलोचना वा समर्थन जे भएपनि त्यसको केन्द्रमा प्रधानमन्त्री ओलीनै देखिए । 

नेकपाका नेता कार्यकर्ताहरु सरकारको बचाउमा नउत्रिएको भन्दै प्रधानमन्त्री ओलीको असन्तुष्टि बेला–बेला बाहिर आउने गरेको छ । त्यही समयमा आफ्नै पार्टीका नेताहरूले सरकार र खासगरी प्रधानमन्त्रीको विरोध गरेपछि ओलीमाथि थप दबाब बढेको छ । यस्तोमा प्रधानमन्त्री ओलीको जवाफ कस्तो आउँला त ? यसको लागि भोलिको दिन पर्खिनै पर्ने हुन्छ । तरपनि नेकपा नेताहरुले एक खालको आँकलन गरिसकेका छन् । 

बैठकमा मुख्यतः तीन समूहहरु देखिए । पूर्व एमाले भित्रका दुई समूह र पूर्व माओवादी अर्को समुह । बैठकमा पूर्व माओवादीका नेताहरु नत खुलेर असन्तुष्टि व्यक्त गरे नत खुलेरै समर्थन गरे । असन्तुष्टि भएपनि अहिले प्रधानमन्त्री ओलीलाई नचिढाउने पक्षमा यो समूह देखियो । पूर्व एमालेको एउटा समुहले भने खुलेरै असन्तुष्टि व्यक्त गर्यो । 

बैठककै अवधिमा संस्थापन पक्षका नेताहरुको भनाइले प्रधानमन्त्री ओली असन्तुष्ट पक्षलाई समेटेर जान्छन् भन्नेमा शंका उत्पन्न भएको छ । यद्यपि प्रधानमन्त्रीको जवाफ आउन बाँकीनै छ । यसबीच नेकपामा पूर्वमाओवादी समुह भने निर्णायक देखिएको छ । 

के भन्छन् नेताहरु ?

बामदेव गौतम

अध्यक्षद्वयको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै आफ्नो छुट्टै प्रतिवेदन पेश गरेका नेता बामदेव गौतम भने अध्यक्षद्वयको भूमिका सकारात्मक हुने बताउँछन् । 

‘अध्यक्षहरुले के निष्कर्ष निकाल्नु भएको छ । भोलि त्यो सुनाउनु हुन्छ । सम्भवतः प्रतिवेदनलाई परिमार्जन वा पुनर्लेखन गरेरनै सबै हामी मिलाउछाँै भन्नुहुन्छ होला । त्यसो गरे भने राम्रो हुन्छ ।’

‘यदी त्यस्तो जवाफ आएन भने के हुन्छ ?,’ भन्ने प्रश्नको जवाफमा नेता गौतमले भने, ‘पार्टीभित्र यस्तो आलोचना भएको छ । एउटा कम्युनिष्ट पार्टीका नेतृत्वले होइन हामी कसैको कुरा सुन्दैनौँ वा मान्दैनौँ, यही प्रतिवेदन पास गरौँ भनेर त नभन्नु होला ।’

नेता गौतमले अध्यक्षद्वयसँग दुई वटा विकल्प हुन सक्ने बताए । 

‘दुई वटा विकल्प हुन सक्छ । एउटा विकल्प सबैका असन्तुष्टि समेटेर जाने स्थिति हुन्छ । यदी त्यस्तो भएन भने त्यो प्रतिवेदन जस्ताको तस्तै पास हुन सक्छ,’ नेता गौतमले रातोपाटीसँग भने, ‘पूर्व माओवादीका साथीहरु मत विभाजनमा सहभागी हुनुभयो भने सोझै पास हुन्छ ।’ 

‘उहाँहरुले दीर्घकालीन सोचाईका साथ सबैका विचारहरुलाई समेटेर जानुपर्छ भन्ने किसिमले प्रस्तुत हुनुभयो भने फेरि फरक किसिमले जान्छ,’ नेता गौतमले भने, ‘होइन यही प्रतिवेदन पास गरौँ भन्नु भयो भने अध्यक्षद्वयले पेश गरेको प्रतिवेदन जस्ताको तस्तै पास हुनसक्छ । अन्य असन्तुष्टि कायमनै रहन्छन् ।’

नेता गौतमले नेतृत्वले कमी–कमजोरी स्वीकार गर्दै त्यसलाई सुधारेर जाने हो भने पार्टीको भविष्य राम्रो हुने बताए । 

‘त्यो दस्तावेजमा कमी–कमजोरी छन्, त्यसलाई सच्याएर जानुपर्छ भन्ने धेरै साथीहरु हुनुहुन्छ । प्रतिवेदन पास नगर्ने भन्ने पक्षमा कोही कमरेडहरु हुनुहुन्न, नेता गौतमले भने, ‘सबै कमरेडहरुका असन्तुष्टिको सम्बोधन गर्दै प्रतिवेदन परिमार्जन गरेर जानु नै नेकपाको भविष्य राम्रो छ ।’ 

योगेश भट्टराई

नेता योगेश भट्टराई भने अध्यक्षद्वयले सबै असन्तुष्टिहरुलाई समेटेर जान्छन् भन्नेमा शंका व्यक्त गर्छन् । ‘बैठक अवधिभरको दृश्य हेर्दा एक अध्यक्षको जवाफ सबैलाई समेट्ने खालको आउँला भन्नेमा शंका छ,’ नेता भट्राईले भने, ‘अर्का अध्यक्ष सबैलाई समेटेर जाउँ भन्ने जस्तो गरी जवाफ आउँला ।’

तर, यो बैठकबाट अध्यक्षद्वयको प्रतिवेदनलाई परिमार्जन गर्दै सबै असन्तुष्टिहरु समेट्नु पर्ने उनको भनाई छ । ‘आज नै भन्न सकिँदैन कस्तो जवाफ आउँछ भनेर तर पनि अध्यक्षद्वयबाट सकारात्मक जवाफ आउँला भन्ने लाग्छ । भोलिनै सवै कुरा छर्लङ्ग होला ।’ 

अष्टलक्ष्मी शाक्य

नेता अष्टलक्ष्मी शाक्यले अहिलेको अवस्थाबाट पार्टी अगाडि बढ्न नसक्ने भन्दै नेतृत्व सच्चिएर आउनुपर्ने बताइन् । ‘बैठक अवधिभर पार्टी र सरकारका विषयमा जतिपनि सवालहरु उठेका छन्, ती विषयमा अध्यक्षद्वयले एक एक गरी जवाफ दिनुपर्छ,’ नेता शाक्यले भनिन्, ‘हामीले पार्टी र सरकारलाई प्रभावकारी ढंगले अगाडि बढाउनकै लागि कुराहरु राखेका हौँ । त्यसलाई अध्यक्षद्वयले सकारात्मक लिँदै सबै प्रश्नको जवाफ वा समस्या समाधानको बाटोमा जानुपर्छ ।’ 

अध्यक्षद्वयले आफ्नो जवाफसँगै संगठन एकीकरणका वाँकी कामहरु टुंगाउन अव बस्ने बैठकमा प्रस्ताव ल्याउनुपर्ने नेता शाक्यले बताइन । 

‘बैठकमा उठेका प्रश्न वा सवालको जवाफ त अध्यक्षहरुले दिनैपर्छ । त्योसँगै पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, संगठन एकीकरणका बाँकी काम टुङ्गाउन प्रस्ताव पनि ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यस अघि प्रदेश कमिटी बनाउँदा मापदण्ड उल्लङ्घन भएको छ, त्यसलाई पनि सच्चाउनु पर्छ । एक व्यक्ति एक जिम्मेवारी लागु गुर्नपर्छ ।’

पूर्व माओवादी नेताका नजरमा तीन विकल्प

नाम नखुलाउने सर्तमा पूर्व माओवादीका एक नेताका अनुसार अव प्रधानमन्त्री ओलीसँग तीन विकल्प छन् । ती नेता भन्छन्, ‘प्रचण्डसँग मिलेर बहुमतका आधारमा प्रतिवेदन पारित देखि संगठनका अन्य निर्णय गर्ने विकल्प देखिन्छ । यसो गर्दा पार्टीभित्रका असन्तुष्टिहरु झन् बढ्न सक्छन् ।’ 

त्यस्तै असन्तुष्ट नेताका चासो र फरक प्रतिवेदनलाई समेत समेटेर राजनीतिक प्रतिवेदन पुनर्लेखन गर्ने ओलीको अर्को विकल्प हुन सक्ने ति नेता बताउँछन् । यसो गर्दा पार्टीभित्रको अन्तरविरोध कम हुने सम्भावना रहन्छ । 

तर, पार्टी महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेको स्थायी कमिटी सदस्य रिमालका धारणालाई आधार मान्ने हो भने प्रतिवेदन परिमार्जनको सम्भावना कम छ । तर अहिलेसम्म प्रचण्ड प्रतिवेदन परिमार्जनको पक्षमा देखिन्छन् । 

त्यस्तै, मध्यमार्गी प्रस्ताव लिएर पनि अहिलेको बैठक टुङ्ग्याउने विकल्प हुन सक्ने ति नेता बताउँछन् । यसका लागि तत्काल केही विषयमा आत्मआलोचनासहित भविष्यमा परामर्श गरेर जाने आश्वासन नेतृत्वले दिए तत्काललाई अहिलेको विवाद टुङ्गिन सक्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप