बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘पार्टी सभापतिमा अब मजस्तो मान्छे जानुपर्छ’

मङ्गलबार, १० पुस २०७५, १२ : ५७
मङ्गलबार, १० पुस २०७५

काठमाडौँ । चासोका साथ हेरिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महासमिति बैठक भर्खरै सकिएको छ । बैठकले सङ्घीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधान मस्यौदा, साङ्गठनिक, राजनीतिक, समग्र आर्थिक नीति र आन्तरिक आर्थिक प्रतिवेदन पारित गरेको छ ।

झन्डै १० दिन चलेको महासमिति बैठकले काँग्रेसमा अब कस्तो ऊर्जा ल्याउँछ ? करिब २ हजार पार्टीका अगुवा कार्यकर्ताको सुझाव काँग्रसले आगामी दिनमा कसरी सम्बोधन गर्छ ? महासमिति बैठकमा जोडतोडका साथ उठेको हिन्दु राज्यको विषय बैठकको अन्त्यतिर किन सेलायो, यिनै प्रश्नको जवाफ खोज्न काँग्रेस महामन्त्री डा. शशांक कोइरालासँग रातोपाटीका लागि लोकेन्द्र भट्टले कुराकानी गरेका छन् । 

महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा हेरिने महासमिति बैठकको विश्लेषण कसरी गर्नुभएको छ ? 
सबैभन्दा ठूलो उपलब्धि हामीले नयाँ विधान दिन सफल भयौँ । विधानले सबै जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्वका गराएको छ । पदाधिकारीमै संविधानमा उल्लेख भएको कलस्टरअनुसार सहमहामन्त्री ल्याउने कुरा विधानमा राखेका छौँ । साथै महिलाको हकमा पनि केन्द्रदेखि बुथसम्म ३३ प्रतिशत सहभागिता अनिवार्य हुनुपर्ने विधानमै उल्लेख गरेका छौँ । सबै ठाउँमा संविधानको मर्मअनुसार पार्टीको विधान बनेको छ । यो अति नै राम्रो पक्ष हो । अहिलेसम्म संविधानअनुसार विधान बनाउने नेपाली काँग्रेस एक मात्र पार्टी हो । नेपालका अन्य राजनीतिक दलले पनि नेपाली काँग्रेसको सिको गर्नेछन् ।

 साथै साङ्गठनिक, राजनीतिक, समग्र आर्थिक नीति र आन्तरिक आर्थिक प्रतिवेदन पनि आएका छन् । यसले वर्तमान अवस्थामा काँग्रेस आफ्ना मुद्दा के हुन् भनेर पनि प्रष्ट पारिएको छ । महासमिति बैठक निकै उपलब्धिमूलक रहेको मलाई महशुस भएको छ । यो बैठकमा दुरदराजबाट काँग्रेसलाई ऊर्जाशील बनाउन आएका पार्टीका अगुवा कार्यकार्ताहरूले केही महत्त्वपूर्ण सुझव पनि दिएका छन् । यो सँगसँगै १४आँै महाधिवेशनको सुरुवात पनि भएको छ भन्दा फरक पर्दैन ।

विधानमा सहमति जुटाउन पदाधिकारीको सङ्ख्या कति राख्ने भन्नेमा हम्मेहम्मे नै परेको थियो । अन्ततः पदाधिकारीको सङ्ख्या १४ सदस्यीय बनेको छ । कोषाध्यक्षबाहेका सबै निर्वाचित हुनुपर्ने भन्ने छ । यसले पार्टी सञ्चालन गर्न सभापतिलाई अप्ठ्यारो त पर्दैन ? 

पर्नसक्छ, त्यो सभापतिमा निर्भर हुन्छ । उहाँले सबैलाई मिलाएर राख्न  अथवा कति कन्ट्रोल गर्नुहुन्छ । यसका लागि  पार्टी सभापतिमा अब मजस्तो मान्छे जानुपर्छ, जसले सबैलाई मिलाएर राख्नसक्छ । यसका लागि म नै सभापति भएर जानुपर्ने हुन्छ । अरू भएर सक्दैनन् । किनभने म त्यस्तो कुनै गुटसँग  टाँसिएको व्यक्ति पनि होइन । तसर्थ जुनसुकै प्यानलबाट आएको पदाधिकारीले पनि मसँग काम गर्नसक्छ । जोसुकै आए पनि यो अवसर पनि म लिन चाहन्छु । 

होइन भने यो विधानले सभापतिलाई पङ्गु बनाउने काम गर्नसक्छ । मैले बारम्बार भनेको थिएँ, सभापतिलाई के–कति हुन्छ पदाधिकारी मनोनित गर्ने व्यवस्था गरौँ । अहिले नेताहरूलाई लागेको होला । शेरबहादुर देउवाजी फेरि पनि पार्टी सभापति भए पदाधिकारी मनोनित गर्ने व्यवस्था भैदिएको भए पार्टीमा हाम्रो प्रभाव कमजोर रहन्छ । उहाँ नै पार्टी सभापति बन्ने ग्यारेन्टी के छ ? त्यस्तो सोच्नु हुँदैन । पार्टी सभापतिलाई काम गर्न सहज वातावरण बनाउनु पर्नेहुन्छ । नभए त पार्टी सभापति पङ्गु भइगयो नि ? यसमा मेरो असहमति त होइन । तर यस्तो व्यवस्थाले भोलि समस्या पर्छ कि भन्ने मात्र चिन्ता हो । 

विधान संशोधन समितिले बुझाएको विधान र अहिले पारित विधानमा खासै फरक छैन । पदाधिकारीको सङ्ख्यामै लामो रस्साकस्सी हुनुमा कुन पक्षको के स्वार्थ रहेको थियो, प्रष्ट परिदिनुस् न ? 
पदाधिकारीको सङ्ख्यामा मात्र विमति थिएन । अन्य विषयमा पनि छलफल भएको हो । सबैको आफ्नो आफ्नो अडान थियो । मैले भनेको थिएँ  १ सभापति, १ उपसभापति, ३ महामन्त्री, ४ सहमहामन्त्री बनाउनुपर्छ । यसैमा दुई तीन दिन छलफल भएको थियो । छलफलकै क्रममा अन्य नेताहरूको पनि कुरा आयो । सबैको कुरा छलफलको विषय बनाउँदा निश्चय नै विधानमा सहमति जुटाउन विलम्ब भएको हो । म यसमा अन्य स्वार्थ देख्दिनँ । विलम्ब भए पनि राम्रै विधान भएको छ । यसमा विमति राख्ने कुरा हुँदैन ।

महासमिति सदस्यहरूले त तपाईंहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकसेको आरोप लगाएका छन् । महासमिति बैठकको समापनमा आधा सदस्यहरू पनि उपस्थित भएनन् नि ? 

सङ्ख्याभन्दा पनि निर्णय के भयो भन्ने महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ ।

समापनका दिन जेजति सदस्य रहे पनि सबै उत्साहित हुनुहुन्थ्यो । उत्साहित भएर उनीहरूले निकै नाराबाजी पनि गरेको देखियो । यसले काँग्रेसको अहिलेको अवस्थामा परिवर्तन भएको छ भनेर एउटा सन्देश पनि गयो । घर गएका साथीहरू पनि निरास भएर गएका होइनन् ।  बैठक लम्बिँदा उनीहरू काम विशेषले गएका हुन् । तर शीर्ष नेताहरूले सहमति गरे पनि केन्द्रीय कार्यसमितिले उल्ट्याउँदा हामी पनि निराश भएका थियौँ । अब कसरी अगाडि जाने त भनेर । बल्लबल्ल भएको सहमतिले पनि अन्तिम रूप नपाउँदा साथीहरू निराश हुन स्वाभाविक थियो । साथीहरू पनि यत्रो दिनसम्म बैठकको प्रमुख एजेन्डाका रूपमा रहेको विधानमै तपाईंहरूको केको किचलो हो भनेर सोधिरहेका थिए । तर अन्ततः हामीले सबै जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी विधानमा सहमति जुटाउँदा सबै खुसी नै रहेको मैले पाएको छु ।  अब नेपाली काँग्रेस नयाँ ऊर्जाका साथ गाउँतिर लाग्छ । मैले पूर्णविश्वस लिएको छु । 

विधानमाथिको भद्रगोल अवस्थालाई सुल्झाउन प्रमुख भूमिका ककसको रह्यो ? 
सबै साथीहरूले राम्रै भूमिका खेलेका थिए । त्यसमा पनि कृष्णप्रसाद सिटौला, म, विमलेन्द्र निधी, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाललगायतले सहमतिका लागि एक खालको वातावरण बनाएका हौँ । हाम्रो राम्रो भूमिकाले नै आज पार्टीलाई राम्रो स्थानमा पुग्ने विधान बनाउन सफल भएका छौँ । 

संसदीय बोर्ड र सुशाशन समिति मनोनितका माध्यमबाट ल्याउने व्यवस्थामा संस्थापनइतर पक्ष राजी भएपछि संस्थापन पक्ष पदाधिकारी बढाउन सहमत भएको भन्ने कुरा छ । यसबाट पार्टीलाई कस्तो असर पर्छ ?

विधान एकदमै उत्कृष्ट बनेको छ भनेर मैले भन्न सकेको छैन । राम्रो मात्र भन्ने गरेको छु । पार्टीलाई पर्ने असरका सम्बन्धमा  मैले पहिले नि भने यसले सभापतिलाई पङ्गु बनाउने काम गर्छ । अधिकांश पदाधिकारी निर्वाचनबाट आउने छन् । अहिले विभिन्न गुटमा टाँसिएका नेताहरू सभापति भए भने पार्टी सञ्चालनमा अप्ठ्यारो पर्छ । मजस्तो सबैलाई मिलाएर राख्नसक्ने र कुनै गुटमा नटाँसिएको व्यक्ति सभापति बन्नुपर्छ । अर्को कुरा सुशासन समिति मनोनित गरेर ल्याउने व्यवस्था राखेका छौँ । मनोनित गरेका व्यक्तिले पार्टीमा बोल्ड निर्णय लन सक्दैनन् । निर्वाचनबाट आएको व्यक्तिले कसैप्रति दयामाया गर्ने अवस्था हुँदैन । कसैले पार्टीको विधि विधान उल्लङ्घन गरेको खण्डमा निर्मम ढङ्गले कारवाही गर्न सक्थे । मानोनितबाट आएको सुशासन समितिले त्यो ढङ्गले काम गर्न सक्दैन भन्ने मेरो बुझाइ हो । 

साँठगाँठ गर्न यस्तो गरिएको त होइन तर पछि हामीले पनि महशुस गर्यौँ । सहमति गर्नु नै पर्छ । आज सहमति गरौँ भिलिका दिनमा अफ्ठ्यारो परेको खण्डमा फेरि यस व्यवस्थालाई परिमार्जन गरौँला भन्नेर भनेका हौँ । 

महासमिति बैठकमा पार्टी वरिष्ठ नेताले विधानलाई क्रमिक रूपमा कार्यान्वयनको दिशामा लिनुपर्ने भन्दै एउटा कार्यतालिका पेश गर्नुभएको थियो । कार्यान्वयनको पाटो त्यहीअनुसार अगाडि बढ्छ ? 
उहाँले (रामचन्द्र पौडेल) बैठकमा जुन कार्यतालिका पेश गरेका थिए । त्यसमा मेरो पनि सहमति छ । तर त्यही नै हुनुपर्छ भन्ने पनि छैन । त्यसलाई अलिकति परिमार्जित गरेर लिए पनि हुन्छ । विधान कार्यान्वयनका लागि कार्यतालिका त दिनैपथ्र्यो । उहाँले बैठकमै पेश गर्नुभएको छ । त्यसमा पनि छलफल गरेर अगाडि बढ्न सकिन्छ । 

जिल्ला सभापतिहरूले केन्द्रीय तहका नेताहरू पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै चुनिएर आउनुपर्ने र सम्बन्धित क्षेत्रको टिकट वितरणको काम पनि सम्बधित कार्यसमितिलाई दिनुपर्ने कुरा उठाएका थिए । त्यो कुरा विधानमा किन  उल्लेख हुन सकेन ?
अहिले विधानमा उल्लेख नभए पनि जिल्ला सभापतिको मागको सुनुवाइ हुने भएको छ ।  केन्द्रीय तहका नेताहरू पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै चुनिएर आउनुपर्ने व्यवस्था हुन्छ । साथै सम्बन्धित क्षेत्रको टिकट विरण सम्बन्धित कार्यसमितिलाई दिनुपर्ने मागको पनि सम्बोधन हुने भएको छ । केन्द्रको त केन्द्रले नै हेर्ने भइहाल्यो । जिल्लाको प्रदेश कमिटीले गर्छ, जसमा सम्बन्धित जिल्ला सभापतिको समन्वयमा प्रदेश कमिटीले टिकट वितरण गर्ने छ । यस्तै नगर र  वडाको पनि सभापतिको समन्वयमा ऊभन्दा एक तहमाथिको कमिटीले टिकट वितरण गर्ने व्यवस्था हुन्छ । यो कुरा विधानमा नआए पनि हिजो महासमिति बैठकको समापनमा सभापति र वरिष्ठ नेताहरूले केन्द्रीय कार्यसमितिको बैठक निर्णयमा बताइ सकिएको छ । आज पनि यस बारेमा छलफल भएको थियो । उहाँहरू सकारात्मक हुनुहुन्छ । केन्द्रले हिजोका दिनमा टिकट वितरणमा गरेको हस्तक्षपले समयमा टिकट विरतण गर्न सकेको थिएन । साथै चुनाव जित्न सक्ने मान्छेले टिकट पाएन नसकेको कुरालाई स्मरण गरेर यस्तो कुरा उठाएका हौँ । जिल्ला सभापतिले उठाएका यो माग शतप्रतिशत कार्यान्वयन हुनेमा म विश्वस्त छु । सबैलाई विश्वस दिलाउन चाहन्छु ।

जिल्ला सभापतिले उठाएको यो विषयमा सबै केन्द्रीय सदस्यको सहमति छैन । कतै उनीहरूका आँखामा छारो होल्न नेताहरू कार्यान्वयन गर्छ भनेका त होइनन् ? नभए त यतिबेलै विधानमै आउँथ्यो होला ?
त्यस्तो हुँदैन, हामी सबैले जिल्ला सभापतिका मागहरूलाई सम्बोधन गर्नुपर्छ भन्नेर एकमत राखेका छौँ । पार्टी सभापति र वरिष्ठ नेताहरूले नै प्रतिबद्धता जनाउनुभएको छ । केन्द्रीय तहका नेताहरू पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै चुनिएर आउनुपर्ने कुरामा केही केन्द्रीय सदस्यले विमति राखे पनि उनीहरूलाई मनाउन प्रयास गर्छौं । हिजो सभापतिले महासमिति बैठकको समापनका क्रममा पनि सबैलाई चुनाव जितेर आउने आत्माबलको विकास गर्न भन्नु भएको छ । यसले पनि के सङ्केत गर्छ भने केन्द्रीय तहका नेताहरू पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै चुनिएर आउनुपर्ने व्यवस्था बन्दैछ भन्ने हो । सभापतिले नै स्वीकार गरिसकेको कुरा अरूले स्वीकार नगर्ने कुरा नै भएन ।   

महासमिति बैठकपछि काँग्रेस जनतामाझ के सन्देश बोकेर जान्छ ? 
पहिले त हामीले काँग्रेसको साधारण सदस्यको सङ्ख्या बढाउनुपर्यो । त्यसपछि क्रियाशील सदस्य बढाउनतिर लाग्नुपर्छ ।  उनीहरूको अभिलेख राख्ने काम गर्नुपर्छ । अहिलेसम्म हामीले सदस्यहरूको अभिलेख राख्न सकेका  थिएनौँ । अब राख्ने व्यवस्था गर्नुपर्छ ।  अनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेका विभिन्न कर्तुतहरू जनतालाई छर्लङ्ग पारी बुझ्नुपर्छ । ओली सरकारको संरक्षणमा भएको भ्रष्टाचार, महँगी नियन्त्रणमा देखाएको उदासीनता, वाडबडी, बूढीगण्डकी प्रकरण, निर्मला पन्तको हत्यारालाई जोगाउन भइरहेको नौटङ्कीलगायतका विषयमा जनतालाई प्रष्ट हुने गरी बुझाउनुपर्छ । 

सरकारका गतिविधिबाट निराश जनतालाई नेपाली जनताको पार्टी नेपाली काँग्रेस हो । नेपाली जनताको जिउधनको रक्षाका लागि काँग्रेस सडकदेखि सदनसम्म सरकारलाई खबदारी गर्छ भनेर उनीहरूमा आशा जगाउनुपर्यो । निर्वाचनका बेला जनतालाई ठूलाठूलो आश्वासन दिएको ओली १० महिनामा विकासको खाका दिन सकेको छैन । गिरिजाबाबुले ल्याइदिएको उदारीकरणका कारण विभिन्न देशमा रोजगारीमा जाने अवस्था आएको हो । अहिले ओली सरकार विदेशबाट आएको रिमिटेन्सबाट अहिलेसम देश धानेको छ । १२ वर्षको जनयुद्धबाट थिलथिल भएको मुलुक उहाँले लिएको उदारीकरण नीतिका कारण असफल हुनबाट जोगिएको हो । कम्युनिस्टहरूसँग कुनै विकासको खाका दिनसक्ने क्षमता छैन । यी यस्ता विषयलाई जनतामा बुझाउनुपर्छ ।

आफूलाई लोकतन्त्रको हिमायति ठान्ने काँग्रेसले एक तिहाइ महासमिति सदस्यले हस्तारक्षर गरेको हिन्दु राष्ट्रका विषयलाई छलफलको एजेन्डा नै बनाउन सकेन किन ?
यो विषय अलि सेन्सेटिभ भएर गएको छ । धेरै साथीले हिन्दु राष्ट्र नै हुनुपर्छ भनेर हस्ताक्षर गरे । केन्द्रीय कार्यसमितिदेखि महासमिति बैठकको बन्दसत्रमा पनि हिन्दु राष्ट्रबारे कुरा उठेको थियो । हिन्दु राष्ट्रबारे ठोस रूपमा अहिले नै कसरी अगाडि बढ्ने भन्ने कुरामा हामी पुग्न सकेनौँ ।  त्यसैले छलफलको विषय बन्न सकेन । तर समयको अनुकूलता हेरेर हिन्दु राष्ट्रबारे जनमत सङ्ग्रह गर्नुपर्ने देखेको छु मैले । अहिले नै त्यो अवस्था आएको देखिँदैन ।

तर मेरो भनाइ स्पष्ट छ । म जहिले पनि धार्मिक स्वतन्त्रताको पक्षमा छु । हाम्रो संविधानमा धर्मनिरपेक्षता भनिएको छ । संविधानमा धर्मनिरपेक्ष शब्द हुनुहुँदैन । धर्म स्वतन्त्र हुनुपर्छ । हाम्रो पार्टीको चारतारे झण्डामा एक तारो धार्मिक स्वतन्त्रताको तारा हो । धर्मनिरपेक्षताको तारा होइन ।

हिन्दु राष्ट्रबारे जनमत सङ्ग्रह गर्नुपर्छ भनेर तपाईं भनिरहनुभएको छ । महासमिति बैठकमा छलफलको विषय बनाउन तपाईंको सक्रियता किन भएन, बोलेर मात्र हुन्छ ?
हिन्दु धर्मको बारेमा मैले केन्द्रीय कार्यसमितिदेखि महासमिति बैठकमा पनि कुरा उठाएको छु । तर, हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर सङ्कलनमा लागेका साथीहरूसँग गहन तरिकाले छलफल नै हुन सकेन । अहिलेको अवस्थामा धार्मिक स्वतन्त्रताको लाइनमा ल्याउन उनीहरूसँग मैले जुन संवाद गर्नुपर्ने थियो त्यो मबाट हुन नसकेको हो । भोलि समयको मागसँगै जनमत सङ्ग्रहमा पनि जान सकिएला तर काँग्रेस अहिले धार्मिक स्वतन्त्रताकै पक्षमा रहनुपर्ने देख्छु ।

सत्तारुढ दलका एक जना अध्यक्षले काँग्रेस धर्मनिरपेक्षताको खिलाफमा उभिए सकिन्छ भन्नु भएको छ । यसमा तपाईं के भन्नु हुन्छ ? 

पुष्पकमल दाहालले काँगे्रस धर्मनिरपेक्षका खिलाफमा उभिए सिद्धिन्छ भन्नुभएको छ । उहाँ आफै सिद्धिएर ओलीको पार्टीमा जानुभएको छ । 

अर्को कुरा उहाँहरूले सनातन धर्म संस्कृति परम्पराविपरीत गएर एउटा निश्चित धर्मको प्रचारमा सरकारका संयन्त्रको प्रयोग गर्नु भएको छ ।  एउटा धर्मको पछाडि प्रधानमन्त्री आफै पूर्णरूपमा लागिपरेका थिए । कार्यक्रम अवधिभर होटलमै होली वाइन खाएर बसे । कम्युनिस्टहरूले नेपालको धर्मसंस्कृतिका सन्दर्भमा राख्नुपर्ने गम्भीर हेक्का पनि राख्नुभएको छैन । उहाँहरूले हामीलाई सिद्धिन्छ भनेर कसले पत्याउला र ? धर्मको सन्दर्भमा कम्युनिस्ट नेताहरूले द्वन्द्वात्मक भौतिकवादको घोकाइबाट हुर्केका हुन् । उनीहरूले धर्मलाई अफिम हो भनेर अध्ययन गरेका छन् । दाहालले धर्म, कर्म र संस्कृतिका बारेमा हामीलाई सिकाइरहनु पर्छ जस्तो लाग्दैन ।

प्रतिपक्षी दलले सरकारलाई सशक्त दबाब दिन सकेन भन्ने जनगुनासो छ नि  ?
हो, तपाईंले भनेझैँ काँग्रेसले सशक्त ढङ्गले सरकारका गलत कामको प्रतिवाद गर्न सकेको छैन । सदन र सडकबाट काँग्रेस जसरी तात्नु पथ्र्यो, त्यो हुन नसको कुरा स्वीकार गर्छु । तर हामीले कुराहरू उठाउन छोडेका छैनौँ । सबै विषयमा हाम्रो खबदारी छ । हामीलाई जुन रूपले मिडियाले साथ दिनुपर्ने थियो त्यो दिएको देखिँदैन । पहिले पहिले त मिडिया पनि  सरकारको गुणगानमै रमाउन थालेका थिए । पछिल्लो समय सरकारले मिडियामाथि नै हस्तक्षप गर्दा अलि सरकारविरुद्ध बोल्ने र लेख्ने गरेका छन् । उनीहरू भएको भए त अहिलेसम्म जनजीविकालाई नै प्रभावित हुने गरी रेलिङ भाँच्नेदेखि टायर जलाउने कार्यमा लागिसक्थे । हामी त्यो संस्कारका होइनौँ । 

अन्त्यमा महासमिति बैठक सकेर गाउँ फर्केका अगुवा कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ? 
सबैभन्दा पहिले त काँग्रेसको विधानमा उल्लेख भएका राम्रो कुराको प्रचार गरेर पार्टी सदस्यता वितरणलाई जोड दिनुहोला भन्न भहान्छु । साथै काँग्रेसले जितेका स्थानीय तहहरूमा विभिन्न विकासका कामलाई प्राथमिकताका साथ उढाउन सुझाव दिनुपर्ने हुन्छ । अब केन्द्रीय तहका नेताहरू पनि महाधिवेशन प्रतिनिधि हुन बुथबाटै चुनिएर आउनुपर्ने व्यवस्था हुँदैछ । केन्द्रीय नेताहरू पनि जनताको घरदैलोमा पुग्ने अवसर मिल्ने छ । माघ १६ गतेपछि हामी विभिन्न टोली नै बनाएर सबै नेताहरू जनतामाझ जान्छौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप