शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भत्कियो कमल थापाको सरकारमा जाने प्लान

बिहीबार, १२ साउन २०७४, ११ : ५९
बिहीबार, १२ साउन २०७४

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अब सरकारमा सहभागि नहुने बताएको छ । 


शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ५० दिनसम्म सरकारमा जान निकै जोडबल गरेको भएपनि सत्तारुढ दलले चासो नदिएपछि  राप्रपाले रुष्ट बन्दै अब सरकारमा नजाने बताएको हो ।   राप्रपा नेता दीलनाथ गिरीले सत्तारुढ दलको व्यवहारले गर्दा अब पार्टी सरकारमा जाने सम्भावना सकिएको प्रतिक्रिया दिए । 
देउवाले बुधबार १९ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेसँगै रुष्ट बन्दै राप्रपाले यसअघि गठन गरेको तीन सदस्यीय वार्ता टोली समेत भंग भएको घोषणा गरेको छ  । 


 राप्रपाले अब  संसदमा विचाराधीन संशोधन प्रस्तावमा समर्थन नगर्ने  गरी पार्टीभित्र छलफल अघि बढाएको एक नेताले बताए । यसबारे  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने ती नेताको भनाई छ ।  


यसकारण राप्रपा सरकारमा  जान पाएन

असार २३ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुँदा  संसदमा ३७ सिट रहेको राप्रपाले   देउवाको पक्षमा मतदान गरेको थियो ।  सरकारमा सम्मानजनक सहभागिता गराउने सहमतिअनुसार राप्रपाले देउवालाई मतदान गरेको थियो । तर,  राप्रपाले उपप्रधानमन्त्रीसहित ५ मन्त्रालय माग्दा सत्तारुढ दलले अस्विकार गरिदियो  ।


संविधान संशोधनमा सघाउने स्पष्ट आधारसहित विगतको जस्तो अवसरवादी चरित्र नदेखाउने राप्रपाको प्रतिबद्धता सत्तारुढ दलले चाहेको थियो । तर राप्रपाले न प्रतिबद्धता नजायो न त सत्तारुढ दलले सो प्रतिबद्धता नआएसम्म  सरकारमा सहभागिता गराउने विषयमा चासो नै थियो । बरु राप्रपाले सत्तारुढ दलको सर्त मानेर सरकारमा नजाने बतायो । 

अर्को तर्फ कांग्रेस नेता विमलेन्द्र निधि र कमल थापाबीचको पुरानो द्धन्द्धले पनि काम गरेको बताइन्छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा थापा–निधिबीच बरियताको विवाद थियो भने सो विवाद यतीसम्म उग्रबनेको थियो कि निधिले शीर्ष बरियता नपाउँदा क्याबिनेट बैठक नै बहिस्कार गरेका थिए । 
पुरानो ‘इगो’ साँध्न निधिले  राप्रपालाई सरकारमा सहभागि नगराउन लबिङ गरेको   राप्रपा बृत्तमा चर्चा छ । 

आन्तरिक विवाद मिलाउन कमल थापालाई मौका


केहि समययता राप्रपाभित्रको  विवाद उत्कर्षमा छ । पार्टी अध्यक्षबाट मनोमानी भएको तथा एजेण्डा छाडेकोलगायतका आरोप लगाउँदै केन्द्रीय सदस्य सहित दर्जनबढी सांसदले पार्टी विभाजन गर्नेसम्मको तयारीसम्म गरेको समाचार बाहिर आएको थियो । सोही सुईँको  बुझेर संस्थापनले ४२ केन्द्रीय सदस्य मनोनयन गरेपछि वरिष्ठ नेता पशुपति शमशेर राणा चिढिएका थिए ।

उनले थापालाई मनपरी गर्ने पार्टीमा भयानक संकट आउने चेतावनीमात्रै दिएनन् त्यसयता विवाद झन् सतहमा आएको छ ।  यस्तो अवस्थामा राप्रपाको सरकारमा जान ब्रेक लागेको तथा संशोधनमा पनि नसघाउने तयारी गरेको भनिएको बेला कमल थापालाई पार्टीभित्रको विवाद मिलाउने अवसर मिलेको कतिपयको भनाई छ ।

राप्रपा  अध्यक्ष कमल थापाले असन्तुष्ट पक्षसँग छलफल गरेर सहमति खोजिने यसअघि नै बताइसकेका छन् । थापा अब  आन्तरिक विवाद मिलाउन तिर लाग्छन् कि फेरि सत्ताकै लबिङतिर जुट्नछन् त्यो समयले नै बताउने छ । किनकी विगतमा थापाले देखाउने गरेको दोहोरो चरित्रका उदाहरण प्रशस्तै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप