बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र चीनबिच युद्ध भए रसियाले कसलाई समर्थन गर्ला ?

बिहीबार, १२ साउन २०७४, १० : २४
बिहीबार, १२ साउन २०७४

रजनीश कुमार / बीबीसी

सन् १९६२ मा भारत–चीनबिच युद्ध हुँदा रसियाले दुबै देशमध्ये कसलाई पनि समर्थन गरेको थिएन । त्यतिबेला सोभियत संघ पतन भएको थिएन र वैचारिक स्तरमा चीन–रसिया निकै नजिक थिए ।

अहिलेको समयमा एक पटक चीन र भारतबिच तनाबको स्थिती भइरहेका बेला सोभियत संघ थुप्रै देशमा बाँडिइसकेको छ ।

सन् १९६२ को युद्धमा पनि रसियाका लागि कुनै एक देशको पक्ष लिनु सहज थिएन र अहिलेको अवस्थामा पनि दुबै देशबिच तनावको स्थितीमा रसियाका लागि यी दुईमध्ये एकलाई छान्नु निकै अप्ठेरो भएको छ ।

जेएनयूको सेन्टर फर रसियनका प्राध्यापक संजय पाण्डेले बीबीसीसँगको कुराकानीमा सन् १९६२ को युद्धलाई रसियाले भाइ र साथीबिचको झगडाको उपमा दिएको जानकारी दिए । रसियाले चीनलाई भाइ भनेको थियो र भारतलाई साथी ।

यस्तोमा रसियाका लागि भाइ र साथीको पक्ष लिन सजिलो थिएन जसका कारण तटस्थ बसेको थियो । सन् १९६२ को युद्ध भएको ५५ वर्ष बितिसकेको छ । आज डोकलामको विषयमा भारत र चीनको सेना आमने–सामने भएको अवस्थामा के ५५ वर्षपछि पनि रसियाको व्यवहार त्यस्तै होला ? के रुस तटस्थ रहिरहनेछ ?

अमेरिकालाई चीनको चुनौतीः

जबसम्म सोभियत संघ रह्यो त्यतिबेलासम्म संसार दुई ध्रुवमा बाँडियो । आजको समयमा  अमेरिकालाई चीनले थुप्रै मोर्चामा चुनौती दिइरहेको छ । रसिया पनि सिरिया र युक्रेनमा आफ्नो भूमिकाबारे यूरोप र अमेरिकाको निशानामा छ । अर्कोतर्फ भारत पनि पछिल्लो १० वर्षमा अमेरिकाको नजिक भएको छ । यस्तोमा रसियाको व्यवहार कस्तो होला ?

संजय पाण्डे भन्छन्, ‘अहिलेको स्थितीमा रसियाले चीनको उपेक्षा गरेर भारतलाई साथ दिन सक्दैन । युक्रेनमा हस्तक्षेपका कारण रसिया अमेरिका र यूरोपको निशानामा छ भने अर्कोतर्फ साउथ चाइना सीमा सैन्य बिस्तारका कारण चीन निशानामा छ । यस्तो स्थितीमा चीन र रुस एक अर्कालाई मौन समर्थन दिने गर्दछ ।’

साउथ चाइना सीमा रसिया चीनविरुद्ध बोल्दैन र युक्रेनमा रुसी हस्तक्षेपमा चीन रुसको विरोधमा बोल्दैन । संजय पाण्डेका अनुसार रसिया र चीन आजको समयमा नजिकिएका छन् । सन् २०१४ मा दुबै देशबिच ४ सय बिलियन डलरको ग्याँस सम्झौता भएको उनले बताए ।

नजिकिएका छन् रसिया र चीनः

संजय पाण्डेले भने, ‘अब रसियाले चीनलाई त्यहाँको सेनाका लागि आवश्यक उपकरण उपलब्ध गराउँछ । पहिला यस्तो गर्न रसिया हिच्किचाउँथ्यो । अब रुसले अहिले चीनलाई उच्चस्तरीय हतियार पनि प्रदान गर्दै आएको छ । रुसबाट चीनले सैन्य प्रविधि पनि हाँसिल गरिरहेको छ । यद्यपी, रसियाले पटक–पटक भारतलाई जति अत्याधुनिक सैन्य उपकरण उपलब्ध गराउँदै आएको छ, त्यति आधुनिक चीनलाई नदिने बताउँदै आएको छ ।

पाण्डेका अनुसार रसिया र चीनबिचको सम्बन्ध २१ औं शताब्दिमा गहिरिएको हो ।

जेएनयूमा रसियाली सेन्टरका प्राध्यापक अर्चना उपाध्याय पनि संजय पण्डितको कुरामा सहमत छन् ।

अर्चनाले भनिन्, ‘सोभियत संघको पतनपछि संसारमा निकै परिवर्तन भइसकेका छन् । रसिया र चीनबिच निकै राम्रो सम्बन्ध स्थापित भइसकेको छ । अब त रसियाले पाकिस्तानसँग पनि आफ्नो सम्बन्ध बढाइरहेको छ । रसियाको मान्यता यो छ कि यदि भारत आफ्नो हितमा अमेरिका र इजराइलसँग सम्बन्ध बढाउन सक्छ भने रसियाले चीन र पाकिस्तानसँग किन सम्बन्ध स्थापित गर्न सक्दैन । उसले हतियार बेच्नु छ । यदि भारतले इजराइलसँग हतियार लिन्छ भने रसिया पनि पाकिस्तान र चीनसँग सम्झौताको लागि नजिकिन सक्छ ।’

आखिर कसको समर्थनमा उत्रनेछ रसिया ?

भारत र रसियाको सम्बन्ध नेहरुको समयदेखि नै भावनात्मक रहँदै आएको छ । प्राध्यापक अर्चना उपाध्यायका अनुसार रसियाले चीनलाई समर्थन गरेर आफ्नो गुडविल समाप्त गर्न सक्दैन । दुबै देशका नागरिकबिच भावनात्मक सम्बन्घ छ । आज पनि भारत रसियाबाटै ७० प्रतिशत हतियार खरिद गर्ने गर्दछ ।

अर्चना भन्छिन्, ‘रसियाले दुबै देशबिच युद्ध होस् भन्ने कहिले पनि चाहँदैन । उसले दुबै देशलाई कुराकानीमार्फत कुरा सल्टाउन आग्रह गर्नेछ । रसियाले न त चीनको खुलेर समर्थन गर्दछ न नै भारतको विरोधमा जान सक्छ । चीनलाई यो इलाकाको महाशक्ति बनोस् र संसारको शक्तिशाली देशको शीर्ष स्थानको बर्चस्वमा आफू एक कदम तल झर्न रसियाले नचाहेको उनले बताइन् । यूएनको सुरक्षा परिषद्मा आज पनि रसिया भारतको खुलेर समर्थन गर्दछ ।

यद्यपी, सन् १९६९ मा आमूर र उसुुरी नदीको तटमा रसिया र चीनबिच एक युद्ध पनि भइसकेको छ ।

प्राध्यापक पाण्डेका अनुसार उक्त युद्धमा रसियाले चीनमाथि परमाणु हमलाको धम्कीसमेत दिएको थियो ।

यसमा चीन पछि हट्नु परेको थियो । उनका अनुसार सन् २००४ मा दुबै देशबिच सम्झौता भयो र सेन्ट्रल एशियाको थुप्रै द्वीप रसियाले चीनलाई सुम्पियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप