शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दर्दनाक दाङ बस दुर्घटनाः यसरी निमोठिए कलिला मुनाहरु, परिवारमा रुवाबासी

शनिबार, ०७ पुस २०७५, १९ : २४
शनिबार, ०७ पुस २०७५

बुटवल ।  ‘बाबा म साँझ आउँछु’ भन्दै बाईबाईको हात हल्लाएका दाङ घोराई उपमहानगरपालिका–१४ का रामबहादुर जिएमका छोरा १७ वर्षीय एक मात्र छोरा विरेन्द्र जिएमको त्यो बाईबाईको हात हल्लाई सधैँका लागि अन्तिम बन्न पुग्यो ।
 
आज  विहान छोराको शव बुझ्न राप्ती अञ्चल अस्पताको शवगृहमा गहभरी आँशु पार्दै कुरिरहेका बाबु जिएम भन्छन्, ‘हिजो सल्यानको जंगलमा प्राक्टिकल गर्न जाँदैछौं बाबा भन्यो र मोटरसाईकलमा त्यस्तै साढे ६ बजेदेखि ४० मिनेटको बीचमा क्याम्पस नजिकै लगेर छाडेको हुँ, साँझ चाँडै आउँछु बाबा भन्दै थियो । अहिले यस्तो देख्नुप¥यो ।’

तीन छोरी र एक मात्र छोरा भएको रामबहादुरले आमालाई र दिदी बहिनीहरुलाई सम्हाल्न गाह्रो भएको बताए ।  ‘हिजो दिउँसो सल्यानबाटै काकालाई फोन गरेर अंकल म अहिले सल्यान आएको छु । साँझ चाँडै नै घर आउँछु है भनेर फोन समेत गरेको रहेछ ।’ 

मृत्यु हुनेहरुमध्ये शिक्षक र चालक बाहेक अधिकांश १६ देखि २२ बर्ष उमेरका कलिला मुनाहरु थिए  । सुन्दर भविश्यका कर्णधार मानिएका तिनै कलिला मुनाहरुलाई नियतिले कहिल्लै नपलाउने गरी निमोठेर लगेको छ । ती सबैले प्राविधिक शिक्षा अध्यान गरेर चाँडै रोजगारी हाँसिल गरी सुन्दर भविष्य सजाउने सपना साँचेका थिए । जुन अधुरै रह्यो ।

शुक्रवार बिहान सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट डिप्लोमा फरेष्टीको अब्जरभेसन गर्न हिँडेका ३४ जना विद्यार्थी, दुई जना शिक्षक र दुई जना चालक दल हिँड्ने बेलामा र दुर्घटनाको अघिसम्म निकै हाँसीखुसी गर्दै थिए ।  भ्रमणका क्रममा गीत गाउने नाच्ने गरेर रमाईलो गरिन्छ ।

शव राखिएको स्थान राप्ती अञ्चल अस्पालमा मृतकका आफन्तको रोदन र चित्कारले बाहिरबाट जाने मानिसहरुलाई समेत आँशु थाम्न गाह्रो परिरहेको थियो । 

‘हे अलछिने दैव.. बरु मै बुढोलाई लगेको भए हुन्थ्यो नि,  मेरो मुटु मेरो छोरालाई कलिलैमा किन खोसिस भनेर छोराको शवमा टाउको राखेर डाँको छाड्नेहरु थिए । मृत्यु भएका शिक्षक नरेश वलीकी श्रीमतीे रुँँदारुँदै बोल्न नसक्ने अवस्थामा पुगेकी छन् ।  

‘हे.. मेरो.. हजुर.. मलाई निक एक्लै पारेर जानुभयो, यो छोरीले अब बाबा कसलाई भन्ने...? उनको यस्तो विलौनाले सारालाई रुवाईरहेको थियो ।  शिक्षक वलीका दाजु सर्कबहादुर वली घुँडामा टाउको राखेर बुहारीलाई सम्झाउँदै थिए तर आफू नै थामिन सकेनन् । 

दाजु सर्कबहादुरका अनुसार दाङमै डेरा गरेर उनीहरुले दुई वर्षीया छोरीलाई पढाउँदै आएका थिए । अर्का शिक्षक पदमप्रसाद घिमिरे दाङ जिल्लाभर होनाहर युवाका रुपमा परिचित थिए । घिमिरेका आफन्तजन, साथीसंगीको रुवावासीको भीड प्रहरीलाई थेगी साध्य थिएन ।

कतिपय विद्यार्थीहरुको भर्खर विवाह भएको थियो भने कतिपय कोर्श सक्न साथ विवाह गर्ने तयारीमा थिए । कतिपयको प्रेमसम्वन्ध पनि धोगीझैँ छिनिएको छ । 

मृत्यु हुनेमा जुम्लाका मात्रै ११ जना रहेका छन् । दाङका ६ जना गरी १९ जना पुरुष र ४ जना महिला छन् । रोजगारीको ग्यारेन्टी सम्झेरै जुम्ला, डोल्पा जस्ता दुर्गम गाउँँका युवायुवतीहरु प्राविधिक शिक्षा पढ्न आएका थिए ।

केहि दिनअघि सम्पन्न नेपाल पत्रकार महासंघ दाङको साधरण सभामा  सहिद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले प्रभातफेरीमा साथ थिएका थिए । शिक्षालयको युनिफर्ममा सजिएका उनीहरु सेना प्रहरीमा तालिम प्राप्त जस्तै अनुशासित र लामबद्ध देखिन्थे । एकदेखि अर्कोसँग मुस्कान साटासाट गरेका थिए । 

दाङकी पत्रकार रिता लामाले फेसबुकमा आफूले त्यतिबेला खिचेका तस्वीर सार्वजनिक गर्दै लेख्छिन्– ‘दुर्घटनामा को–को पर्नुभयो को पर्नुभएन थाह पाउन सकिन तर मेरो क्यामेराले कैद गरेका यी फोटो । म यहि  फोटा हेरिरहेकी छु ।’

आज बिहानै गृहमन्त्री रामबहादुर थापा (वादल) ले फेसबुकमार्फत गहिरो दुख व्यक्त गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  अपरान्ह् राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका नेता तथा मन्त्रीहरुले शोक व्यक्त गरेका छन् । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल,  शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पहलमा १२ जना घाईतेहरुलाई हेलिकाप्टर मगाएर काठमाडौं पठाईएको छ ।  

दाङमा एक हप्ताभित्रै तीन सवारी दुर्घटना भएका छन । केहि दिनअघि मात्र जन्ती चढेको स्कारयियो गाडी दुर्घटना हुँदा बाँके सम्शेरगञ्जका बेहुलाका आमाबाबुसहित ६ जनाको ज्यान गएको थियो ।  

तस्बिरः एउटै कक्षाका हिजोसम्मका उनै विद्यार्थी आज विहान एउटै स्थानमा लहरै शवमा परिणत र केहि दिनअघि मात्र तस्बिरमा त्यसै शिक्षालयका विद्यार्थीहरु । केही तस्बिरहरु हामी तपाईंलाई देखाउन गएका छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप