केन्द्रीय संस्करण

सङ्कटमा पूर्वलडाकुको जीवन

person explore access_timeपुस ७, २०७५ chat_bubble_outline0

केही हप्ता अगाडि एकजना पूर्वलडाकुले सिंहदरबारमा विष सेवन गरेको घट्ना सार्वजनिक भयो । अहिले माइतीघर मण्डलामा माओवादी युद्धका घाइते अपाङ्ग योद्धाहरू अनसनमा बसिरहेका छन् तर सरकार भने मौन छ । जीवन हत्केलामा राखेर गणतन्त्र स्थापनामा अग्रिम भूमिका निर्वाह गरेका पूर्वलडाकुको यस्तो अवस्था देख्दा सबैको मन पिरोलिनु स्वभाविक हो । यी घटनाक्रमले सरकारमाथि गम्भीर  प्रश्न सिर्जना गरेको छ ।

अहिले जनमुक्ति सेनाको सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड दुई तिहाई सरकारको हर्ताकर्ता नेतृत्व हुन् । उहाँले चाहेको खण्डमा जनयुद्धका योद्धाहरूको व्यवस्थापन सहजै गर्न सकिन्छ । तर यसलाई राजनीतिक रङ्गका रूपमा उपेक्षा गरिँदै छ । यो दुःखद् विषय हो ।

तिनै लडाकुको बलमा प्रचण्ड प्रचण्ड बन्न सफल भए । नेपाली नागरिकले संविधानसभामार्फत गणतन्त्र, सङ्घीयता, धर्मनिर्पेक्षता, समानुपातिक समावेशितालगायतका बहुआयामिक सम्पत्ति प्राप्त गरे तिनै जनमुक्तिसेना रोडमा देखापर्नु मुलुकै लागि अभिशाप हो ।

यो कुनै दुई चार जना लडाकुको समस्या होइन, सिङ्गो मुलुकको समस्या हो । यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । समस्या सामाधानको नाममा अगाडि आएका समस्याहरूको निराकरण मात्र गर्नु पनि दीर्घकालीन समस्याको सामाधान होइन । दीर्घकालीन समस्या समाधानका लागि राज्यले दीर्घकालीन निर्णय लिनुपर्छ । नभए जनयुद्धकालीन यस्ता समस्याहरू बल्झिने समस्या रहिरहनेछ ।

जनयुद्धमा आफ्ना सर्वस्व गुमाएकाहरूको अवस्था र व्यवस्था जति कमजोर हुँदै जान्छन्, उति नै राज्यमाथि सङ्कट थपिने खतरा रहन्छन् । इतिहासले यो कुरा पुष्टि गरिसकेको छ । इतिहासको पुनरावृत्तिलाई रोक्न र नयाँ ढङ्गबाट इतिहासलाई स्थापित गर्न राज्यबेलैमा सचेत हुनुपर्छ । असह्य भएपछि आज जसरी जनमुक्ति सेनाका योद्धाहरू रोडमा अनसन बस्न बाध्य भए । त्यसरी नै जनयुद्धका अरू थप अंशहरू रोडमा छताछुल्ल भएर आउने सम्भावना प्रबल छ । यसबाट नेकपा पछि हट्ने कुनै आधार रहँदैन ।

तत्कालीन जनयुद्धकालीन सरकारका हिमायती र सत्ताधारी शक्ति एक ठाउँमा उभिएर दुईतिहाईको सरकार चलाउँदैछन् । दुवै शक्तिको बल प्रयोगले आज अनसनमा बसेका योद्धाहरूको जीवन कौडीको मूल्य बराबर पनि छैन । यसको दोषी अहिलेको सरकार नै हो ।

माओवादी युद्धमा होमिएका थुप्रैले आफ्ना जीवन व्यवस्थित गरिसकेका छन् । कतिपय जनयुद्धका जोडीहरू समाजमा पुनस्र्थापन हुन नसक्दा सम्बन्धविच्छेद हुन पुगेका छन् । यही युद्धका कारण  कतिपय बालबच्चा टुहुरा बनेका छन् । 

हिजोका सुप्रिमो प्रचण्डलाई समेत यस्ता कुरा थाहा नहुन सक्छ । आफ्नै नेताकार्यकर्ता र शुभचिन्तक कति थिए भन्ने तथ्याङ्क उनीसँग नहुन सक्छ । खोलामा बगाएको हतियारसँगै बगाइदिए । अब उनीसँग केवल सता मात्र छ, जुन सत्ता र व्यवस्थाविरुद्ध उनी लडेका थिए । प्रचण्डले हजारौँलाई बलिदान र जिउँदो सहिद बनाएर कर्मपथमा उतारेका थिए । आज उनका लागि सबथोक छ तर यो प्राप्ति गरिदिनेहरूकालागि केहि पनि छैनन् । शरीरमा संस छ तर आस छैन । मृत्यु पर्खेर बाँचेका छन् ।

त्यसैले सरकार ! लोकतन्त्रको महसुस लोकतन्त्र ल्याउनेलाई छैन भने त्यो लोकतन्त्रको के अर्थ ? अनसनमा बसेका यी योद्धाका ठाउँमा आफूलाई उभ्याएर एक पटक त्यो जीवनको महसुस गर्नुस् । तपाईंले महसुस गरेको जीवन र यी योद्धाले भोगेको जीवनमा पक्कै अन्तर छ ? यिनीहरूको माग अविलम्ब सम्बोधन गर ।

सबै जनमुक्ति सेनाका योद्धाहरूलाई राजनीतिक रङ हालेर अपमान नगर । जीवन बाँच्न सक्ने भरणपोषणसहित गणतन्त्र प्राप्तिको राष्ट्रिय सम्मानको प्रमाणपत्र देऊ । राज्यका सबैखाले सेवा सुविधामा सम्माजनक पहुँचको व्यवस्थापन गरियोस । यो अभियानमा नलागेका भए यी नेपाली आमाका छोराछोरी पनि सम्मानजनक ढङ्गले डाक्टर, इन्जिनियर बनेर कुनै न कुनै रूपमा देशलाई सेवा गरिरहेका हुन्थे । यो कुरा महसुस गरेर माग उनीहरुको माग सम्बोधन गरियोस् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...