केन्द्रीय संस्करण

नेताहरुकोे स्मरणशक्ति कमजोर छ !

person explore access_timeपुस ७, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

१) ‘नेकपामा राम्रा मान्छे पनि छन् ।’ एक जना वयोवृद्ध बुद्धिजीवी साथी, जसको जीवनका अधिकांश वर्षहरु कम्युनिष्ट पार्टीमै काम गरेर बिते, वषौंसम्म एउटा कम्युनिष्ट पार्टीको कार्यवाहक नेतृत्वमै पनि हुनुहुन्थ्यो, एक पटक कुरैकुरामा उहाँले भन्नुभयो, ‘नेकपामा असल मान्छे पनि छन् ।’ 

यसलाई आशावाद भनौं अथवा सकारात्मकता, जे भए पनि मलाई यो भनाइ  मिठो लाग्यो । ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ !’ बालक उमेरदेखि सुनिआएको  कहावत पनि सम्झेँ ।

भर्खरै एक वैवहिक समारोहमा नेपाली कांग्रेसका एक जना प्रौढ नेता भेटिनुभयो । त्याग तपस्याको लामो पृष्ठभूमि भएपनि चुनावहरुमा कहिले पार्टीसँग टिकट किन्न नसकेर त कहिले मतदाताहरुसँग मत किन्न नसकेर सत्ताबाहिर पर्दै आएका ती नेताले मसँग आत्मीय भाव जनाउँदै भन्नुभयो, “नेकपामा माधव नेपाललाई म अलि गम्भीर र शिष्ट नेताका रुपमा मान्थेँ । 

क्रिश्चियनहरुसँग..बढी नै आउने जाने निकटताको सम्बन्ध बुझेपछि  र सोल्टी होटलमा गति छाडेर मुनबाट अभिषेक लिएको र पहेँलो पेय पिएको देखेपछि उहाँप्रतिको मेरो मोह भङ्ग भएको छ !”

अभिषेक थाप्ने र पहेलो पदार्थ पिउनेमा त्यहाँ माधव नेपाल मात्र हुनुहुन्थेन । यसै त प्रधानमन्त्री पनि तीन दिनसम्म त्यहीँ डेरा जमाएर बस्नुभएको थियो । का्रग्रेस नेताको टिप्पणीदृष्टि भने माधव नेपालमाथि नै केन्द्रित थियो ।  यो टिप्पणी सुन्दा मैले एक जना पूर्व सांसदको टिप्पणी झलक्क सम्झेँ । वहाँले भन्नुभएको थियो, ‘नेपालमा राजनेताहरु सस्ता छन् !’ यसमा मैले थपेको थिएँ, ‘ठमेलको बजारमा हामी सामान किन्न जाँदैनौं । त्यहाँ हाम्रो लागि महँगो छ । विदेशीहरुका लागि त्यही सामान सस्तो छ । 

उनीहरु डलरमा हिसाव गर्छन् । हाम्रा नेताहरु हाम्रा लागि ठमेलका सामान भन्दा पनि कैयौं गुना महँगा छन् । भेट्नै गाह्रो छ । तर विदेशी बजारमा यिनै नेताहरु सेलमा राखिएका सामानजत्तिकै सस्ता छन् । एक लाख डलरले प्रधानमन्त्री नै किन्न पाइने देश संसारमा अरु कुन छ ?!’

जनताका तर्फबाट आफ्नो लेखनमार्फत मैले पनि आवाज उठाएको थिएँ, ‘सोल्टी होटलमा आयोजित तीनदिने कार्यक्रमबाट नेताहरु र सरकार समेतले नेपाली जनताको भयङ्कर अपमान गरेका छन् । यिनीहरुले जनतासित सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’ हुन त कति अपराधहरु अक्षम्य पनि हुन्छन् । यहाँनिर दृष्टान्तका रुपमा उल्लेख गर्न सकिने एउटा प्रसङ्ग महाभारतमा छ , ‘युधिष्ठिरको न्याय ।’ यो प्रसङ्ग म आगामी लेखमा उल्लेख गर्नेछु, । यहाँनिर मैले अहिले सम्झेर लेख्न चाहेको कुरा के मात्र हो भने वयोवृद्ध बुद्धिजीवी साथीले भन्नुभएजस्तै नेकपाभित्र असल मान्छे पनि रहेछन् । अहले नेताहरु र सरकारको आयोजनामा भएको चर्चित सोल्टीकाण्डको जमेर आलोचना गर्नेहरु ‘नेकपाभित्रका असल मान्छेहरु’ हुन् । कमसेकम ‘यस मामिलामा’ ती असल मान्छेहरु हुन् । तिनीहरुले नेताहरुबाट आत्मआलोचना र जनसमक्ष्य क्षमायाचनाको आवश्यकता औंंल्याएका छन् । यो राम्रो कुरा हो । 

हुन त गाउँबस्तीका कति जनसामान्यले सोल्टीकाण्डलाई लिएर ‘सुनको काँगियोमा लोभिएको यात्री’ कथालाई दृष्टान्तका रुपमा सम्झेको पनि मैले सुनेको छु । कथा धेरै पुरानो हो । कथाको एउटा बुढो सिंह आफु सिकार गरेर आहारा जुटाउन नसक्ने भएपछि सूनको चमकदार काँगियो हातमा लिएर मूलबाटोनिर झाडीले छेलिँदै बस्छ । पशुहरुमा धनको लोभ छैन भन्ने उसलाई थाहा छ । यसैले उ कुनै लोभसम्पन्न बुद्धिमान् मानव यात्रीलाई पर्खेर बस्छ । एक जना बुद्धिमान यात्री सम्भवतः त्यो त्यति वेलाको कुनै समारोहमा भाषण दिन हिँडेको सांसद वा मन्त्री नै पनि हुन सक्छ, आफ्ना नोकरचाकरका साथ लमक लमक लम्कँदै सिंहनजिकै आइपुग्छ । बुढो सिँह प्रभुको नाम जप्दै बाटोतिर सर्कन्छ र विनम्र आवाजमा भन्छ, “म यो सुनको काँगियो दान थाप्ने पात्रको खोजीमा छु । मैले धर्मशास्त्रमा सुने अनुसार दान लिने पात्र एकदमै गरीव हुनुपर्छ । म गरीवको खोजीमा छु । बुढो भएँ । उपवासमा छु । यो दान दिएर म प्रभुको परमपदमा गइहाल्न चाहन्छु ।” सिंहका कुरा सुनेर र चमकिलो सुनको काँगियो देखेर बुद्धिमान् यात्रीले भन्छ, “म एकदमै गरिब छु । काँगियो मलाई दान दिनुहास् ।”

“ठिक छ । म दिन्छु । मैले त नुहाएँ । तपाइँ पनि त्यो अगाडिको तलाउमा गएर नुहाउनुहोस् र आउनुहोस्र । म दान दिइहाल्छु !” सिंहले भन्छ ।

बुद्धिमान् यात्री कसैसँग कुनै सल्लाह नगरी तलाउतिर लम्कन्छ । “यसरी बहकाउमा नपर्ने कि मालिक ?” अनुचरहरुले सावधान बनाउन खोज्छन् । बुद्धिमान्ले टेर्दैन । लुगा फुकालेर फटाफट तलाउमा पस्छ । तलाउमा दलदल त छ नैे । ए ए भन्दाभन्दै बुद्धिमान् यात्री दलदलमा फँस्छ । बुढो सिंह लस्कँदै जान्छ र त्यस बुद्धिमान् मनुवालाई आफ्नो पन्जामा समेट्छ । क्रमैसँग खान्छ । 

यो हाम्रो लोकजीवनमा पुस्तैनी सरुवा हुँदै आएको पुरानो नीतिकथा हो । सर्वसाधारण जनताले सुनेको यो कथा हाम्रा नेकपाका शीर्षनेता र प्रधानमन्त्रीले सुनेका थिएनन् । सुने पनि पत्याएका थिएनन् । कोरियाकी एक धर्मप्रचारक महिला आएर यिनीहरुलाई पहेँलो झोलमा लठया्इन् र..डलरको दलदलमा जाकेर गइन् । 

घटना नेपाली मात्रका लागि लज्जाजनक भइदियो !! यस घटनाबाट निधारमा छापिएको कलङ्कले हाम्रा पहेँलो पेयपायी शीर्ष कमरेडहरुलाई जीवनपर्यन्त नै साथ नछोड्ने सम्भावना छ ।

जनताको स्मरणशक्ति कमजोर छैन । 

२) बगैँचामा विषवृक्षहरु आजको नेपालको एउटा जटिलतम समस्या हो । छिटोभन्दा छिटो यस समस्याको उचित समाधान जुटाइनु आवश्यक भइसकेको छ । विषवृक्षहरु आफै उखेलिँदैनन् । तिनलाई उखेल्नु पर्छ । पाखा पन्छाउनुपर्छ । अनि मात्र बगैँचाको रुपान्तरण गर्न सकिन्छ । राम्रो रमाइलो बनाउन सकिन्छ ।

गाउँमा एक जना भाइले ठुलै प्लटमा सुन्तला लगाउनु भएको थियो । वहाँको मेहनत, रसिला सुन्तला र कुस्त आर्जनबारे सुनेको थिएँ । यस पटक गाउँ पुग्दा बगैँचामै हेर्न पुगेँ । पुगेपछि देखेँ । सुन्तला निखारमा थियो । भाई त्यहाँ श्रमिकहरु लगाएर सुन्तलाका बोटहरु कटाउँदै र पन्छाउन्दै हुनुहुन्थ्यो । अनौठो मान्दै सोधेँ, “किन भाई के गर्न लाग्नुभएको यो ?” 

भाइले भन्नुभयो, “पोहोरसम्म उत्पादन राम्रो थियो । गुणस्तरीय पनि थियो । यसपालि बोटहरुमा किरा पनि लागे । राम्रो फलेन । अव  मैले यी बोटहरु हटाएर किम्बु रोप्ने विचार गरेको छु । रेशम खेती गर्ने योजना बनाएको छु ।” 

यो सुनेपछि झलक्क संम्झेँ कुनै समय मेरा पिताजीले घरमुनि कुँडार बारीमा निबुआका बोटहरु रोप्नुभभएको थियो । माया ममता दिएर बडो मेहनतले हुर्काउनुभयो । फल्न थाल्यो । फल देखेपछि थाहा भयो निवुआ भनिएका रुखमा  निबुआ फलेनन् । बिमिरो फल्यो । यो देखेपछि पिताजीले ती रुखहरु भकाभक ढालेर दाउरा बनाउन लगाउनुभयो ।

भनेजति नफल्दा र नसोचेको फल फल्दा किसानहरु यसरी बगैँचाका रुखहरु ढालेर त्यस माटोमा अर्कै खेती गर्छन् भने अमृत भनेर रोपेका रुखहरुमा बिख फलिदियो भने त्यस्तो विषम अवस्थामा  किसानहर के गर्लान् ? रुखहरु पन्छाएपछि ठाउँ उजाड बन्ला कि भनेर ती प्रत्युत्पादक रुखहरु जोगाएर त किमार्थ राख्दैनन् । फटाफट फाँडेर पन्छाइदिन्छन् ।.आफुले चाहेका बिरुवा जुटाएर नयाँ खेती सुरु गर्छन् । यो स्वाभाविक प्रक्रिया नै हो ।

‘सर्वसाधारण .किसानहरुमा भएजति विवेक वुद्धि हाम्रा बडे बडे हाकिम र आयुक्तहरुमा किन छैन ?’ चुलीमा चढेर जगत् संसारले सुन्नेगरी चिच्याउँदै सोध्न मन लाग्छ । अख्तियारले मालपोत र नापीमा भ्रष्टाचार व्यापक छ ।

कार्बाही गर्ने हो भने मालपोत र नापीका कार्यालयहरु खाली हुन्छन् भन्यो भन्ने हामीले अखबारका पानामा पढ्यौंँ । विद्युतीय मिडियामा सुन्यौंँ । यो पढ्दा सुन्दा हामी जनतालाई दुःख लाग्यो । नेपालीहरु त्यति अबुझ र निर्बल छैनन् ।

आयोगले हिम्मत जुटाएर भ्रष्टाचारीहरुमाथि कार्बाही गर्छ भने खालि कार्यालयहरुमा लोकसेवाको प्रचलित विधिपूर्वक नयाँ कर्मचारी चयन गरेर नियुक्त नगर्दासम्म नेपाली जनता आफ्ना व्यावहारिक समस्या पचाएर पनि सहन सक्छन् , पर्खन सक्छन् ।..नापी र मालपोत मात्र होइन, सुरक्षा, निर्माण–विकास, न्याय, शासन प्रशासन हरेक निकाय वा क्षेत्रमा भ्रष्टाचारी पहिल्याएर कार्बाही गरिन्छ भने परिआएका समस्या आपसमा समाधान गरेर नेपाली जनता भ्रष्टाचार निवारण अभियानलाई साथ दिन सक्छन् । आवश्यक समय प्रतीक्षा गर्न सक्छन् । नेपाली जनतामा त्यो धैर्य र क्षमता छ ।

विभिन्न बहानामा विषवृक्षहरुलाई संरक्षण दिने सरकारी नीतिबाट जनता वाक्क दिक्क भइसकेकाछन् । जनताका चिन्ता र आकाङ्क्षालाई नबुझ्नु  र उचित दिशामा क्रियाशील नहुनु सरकारका लागि भयङ्कर प्रत्युत्पादक सावित हुन सक्छ ।.

साँच्चै नेपाल एक सुन्दरतम बगैँचा हो । विषवृक्षहरुका कारण आज बगैँचा भयङ्कर समस्यामा छ । विषवृक्षहरुको उन्मूलन साँच्चै  अनिवार्य बनिसकेको आजको जल्दोबल्दो आवश्यकता हो । यो आश्यकता पूरा गर्नु सम्बन्धित जिम्मेवारहरुको कर्तव्य हो । कर्तव्य पूरा गर्दैनन् भने सक्बन्धित जिम्मेवारहरुले जनताबाट क्षमा पाउने छैनन् । समयक्रममा उचित दण्ड पाउनेछन् । 

नेपाली जनताको सहनशीलता, दृढता र क्रान्तिकारिता कुनै पक्ष पनि  कमजोर छैन ।.यो इतिहासले पटक पटक प्रभाणित गरिआएको सत्य हो । 

इतिहासका मामिलामा नेपाली राजनेताहरुको स्मरणशक्ति अत्यन्त कमजोर छ । खाडलमा परेपछि डिङ्गो पनि चेत्छ । नेपाली राजनेताहरु चेत्दैनन् । सत्ता र सम्पत्तिको सपनाले नेताहरुलाई चेतनाहीन बनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ