शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेयमारको गोलको मद्दतले बार्सिलोनाद्वारा युनाइटेड पराजित

बिहीबार, १२ साउन २०७४, ०९ : ४२
बिहीबार, १२ साउन २०७४

मेरील्याण्ड – नेयमारले फेरि एकपटक आफू विश्वकै महँगो खेलाडी बन्नको लागि सही दाबेदार भएको पुष्टि गरेका छन् । बिहिबार बिहान बार्सिलोनालाई म्यान्चेस्टर युनाइटेडविरुद्ध जीत दिलाउन नेयमारले महत्वपूर्ण भूमिका खेल्दै त्यसको औचित्यको पुष्टि गरेका हुन् ।

यतिबेला नेयमारलाई विश्वकिर्तिमानी २२.२ करोड युरोमा पेरिस सेन्ट जर्मेनले अनुबन्ध गर्ने चर्चा चलिरहेको छ । 

नेयमारको एक मात्र गोलको मद्दतले बार्सिलोनाले प्रिसिजन खेलाइने इन्टरनेसनल च्याम्पियन्स कपमा इंग्ल्सि क्लबलाई हराउन सफल रह्यो । पछिल्ला २ खेलमा नेयमारको यो तेस्रो गोल हो ।

मेरील्याण्डको फेडएक्स फिल्डमा भएको खेलमा युनाइटेडले प्रि–सिजन टुरमा पहिलो हारको स्वाद चाख्न बाध्य बन्यो ।

नेयमार र लियोनेल मेस्सीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एन्टोनियो भ्यालेन्सिाबाट बल खोस्दै खेलको ३१ औँ मिनेटमा नेयमारले निर्णायक गोल गरे ।

नयाँ प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा बार्साको लगातार दोस्रो जीत हो । यसअघि, बार्सिलोनाले युभेन्टसलाई २–१ गोलले हराएको थियो ।

उता, युभेन्टसले पनि क्लाउडियो मार्चिसियोको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनलाई रोमाञ्चक खेलमा ३–२ को गोलअन्तरले हराएको छ ।

इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गतको खेलको पहिलो हाफको अन्त्यमा गोन्जालो हिग्वाइनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको शुरुवातसँगै एन्जल डि मारियाको पासमा गोन्कालो गुइडेजले खेल बराबरी गरे ।
मार्चिसियोले खेलको ६२ औँ मिनेटमा गोलगर्दै इटालियन च्याम्पियनलाई पुनः अग्रता दिलाए पनि ह्याभियर पास्टोरेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलमा ८९ औँ मिनेटमा पेनाल्टीमा मार्चिसियोले पुनः गोल गर्दै युभेन्टसलाई जीत दिलाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप