लेक्स लिम्बु : एउटा ‘गे केटो’ जो बन्दैछन् लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको आवाज
जीवनमा केटी साथीको होइन केटा साथीको खोजीमा छन् लेक्स लिम्बु । आफ्नो मन मिल्ने केटा साथी पाएमा विवाह गर्ने दिनको पर्खाइमा बसेका लेक्स समलिङ्गी हुन् । नेपालकै चर्चित ब्लगर उनलाई ‘गे’ हुँ भन्दा आत्मसम्मान मिल्ने मात्रै होइन, आफूजस्तै अरू कोही भेट्दा प्रेरणा मिल्छ ।
‘आई एम गे’ भन्दै एक भिडियो नै सार्वजनिक गरेर चर्चा कमाएका लेक्स भर्खरै २६ वर्षका भए । बेलायतमा बसोबास गर्ने लिम्बु विशेष गरी मनोरन्जन क्षेत्रमा बढी ब्लगिङ गर्छन् । धरानमा जन्मेर नेपालमा चार वर्ष मात्रै बसेका लेक्सले आफ्नो बाल्यकाल ब्रुनाइमा बिताए भने विगत १८ वर्षदेखि लन्डनमा बसोबास गर्दै आएका छन् ।
विवाहका लागि साथीको खोजीमा रहेका उनी जस्तै अन्य समलिङ्गीहरू कानुनी उल्झनले लगाएको तगारो खुल्ने दिनको प्रतीक्षामा छन् । लेक्सको अर्को पनि चिन्ता रहेछ, त्यो हो सन्तान प्राप्तीको ।
१९९२ मा धरानमा जन्मिएका लेक्स ब्रिटिस लाहुरे बाबु र आमासँगै ब्रुनाइमा हुर्के । दुई दिदीका प्यारा भाइ लेक्सले नेपालमा भने जम्मा ४ वर्ष मात्रै विताउने मौका पाए । कर्म थलो विदेश बनाए पनि नेपालको जति माया उनलाई अन्य देशको कहिल्यै पनि लागेन ।
किङ्ग्स कलेज लन्डनबाट ‘टुरिज्म इन्भारोमेन्ट एन्ड डेभलपमेन्ट’मा मास्टर्स गरेका लेक्स ब्रिटिस रेडक्रसमा कार्यरत छन् र विदेशमा जन्मे हुर्केका नेपालीहरूलाई नेपाल घुमाउने काम पनि गर्दै आएका छन् । यसले विदेशिएका नेपालीको आफ्नो देशप्रतिको भावना जागृत गराउने विश्वास छ उनलाई ।
‘गे’ हुँ भन्दा
‘म समलिङ्गी हुँ’ भन्न त्यति सहज पक्कै थिएन । त्यसमा पनि नेपाली समाजले समलिङ्गीलाई गर्ने व्यवहारले पनि आफ्नो पहिचान सार्वजनिक गर्ने हिम्मत कमैले गर्छन् ।
आफ्नो ब्लगबाट सधैँ अरूको समाचार तथा गसिप ब्रेक गर्ने गरेका लेक्सलाई आफ्नै जीवनको वास्तविकता ब्रेक गर्नु पक्कै सहज थिएन । त्यसका लागि निकै होमवर्क गरेका थिए लेक्सले ।
गत वर्ष आफूलाई ‘गे’ हुँ भन्दै सार्वजनिक भएका चर्चित ब्लगर लेक्सलाई भने ‘गे’भन्दा गर्व महसुस हुन्छ । अनि आत्मसम्मान मिल्छ । सायद त्यसैले आफू गे हुँ भनेर परिवार अनि समाजमा खुलासा गर्दा त्यति असहज भएन उनलाई ।
त्यसमाथि नेपाली भएपनि विदेशमै हुर्किएको कारण पनि उनलाई केही सहज भयो । ‘यदि नेपालमै हुन्थे र यही परिवेशमा रहेर आफूलाई सार्वजनिक गर्नुपरेको भए भने त्यो मेरा लागि कठिन विषय पक्कै हुने थियो,’ उनी भन्छन् ।
त्यसो त लेक्ससँग आफू ‘गे’ हुँ भन्दा परिवारले स्वीकार नगरेको खण्डमा पनि जीवनको बाटो आफैले कोर्दै अगाडि बढ्ने अनि एउटा उदाहरण पेश गर्ने अठोट पहिल्यैदेखि थियो । उनको यही आत्मबल देखेर प्रेरणा लिने धेरै छन् आज ।
लेक्सलाई लाग्छ कि सबैभन्दा पहिले त म को हुँ भनेर स्वीकार्नु पर्छ अनि मात्र बाहिर आत्मविश्वासका साथ प्रस्तुत हुन सकिन्छ । उनी थप्छन्, ‘कसरी सार्वजनिक हुने र आफ्नो सार्वजनिक हुने तरिकालाई समाजले कसरी लिन्छ भन्ने बारे धेरै सोच विचार गरेँ ।’
उनले मोलेको जोखिम सफल पनि भयो । सोचेको भन्दा राम्रो प्रतिक्रिया पनि पाए लेक्सले । गे भएको खुलासा गरेसँगै आजसम्म पनि फोन मेसेज अनि इमेलबाट सकारात्मक प्रतिक्रियाहरू आउने क्रम जारी छ, जसले उनलाई हरेक दिन ऊर्जा मिल्छ ।
उनले धेरै प्रतिक्रिया एलजीबीटीआई समुदायबाटै पाए । सायद लेक्सको कदमले उनीहरूलाई एउटा प्रेरणा मिलेको हुनुपर्छ । उनीहरू पनि लेक्स जस्तै सार्वजनिक रूपमा आफ्नो अस्तित्व स्थापित गर्नका लागि आतुर रहेको उनले पाए । अहिले उनी अरूलाई पनि हिम्मत गरेर आफ्नो वास्तविकतामा जिउन सुझाव दिन्छन् ।
एलजीबीटीआई लेक्सको सुझाव
नेपालमा रहेका धेरै अल्पसङ्ख्यकहरूमा नैरास्यता भेटेका छन् लेक्सले । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहभित्र प्रवेश गर्दा लेक्सले एउटा ठूलो जिम्मेवारी बोध महसुस गरेका छन् ।
बाहिर आउन नसकेका एलजीबीटीआईहरूलाई लेक्सले आफ्ना नजिकका साथी, आफन्तलाई भनेर सहज रूपमा प्रस्तुत हुन सकिने उपाय सिकाउँछन् । उनी भन्छन्, ‘परिवार महत्त्वपूर्ण पाटो भएकाले अफ्नो परिवारलाई आफ्नोबारे बुझाउने क्षमता वृद्धि गर्नु जरुरी हुन्छ ।’ परिवारको साथ भयो भने अन्य कुनै पनि तत्वले छुन नसक्ने लेक्सको अनुभव छ ।
उनका अनुसार समाजले के भन्छ के गर्छ भनेर पछि लाग्नु ठीक होइन । समाजले त हरेक व्यक्तिलाई जिउन कठिन बनाइदिन सक्छ । त्यसैले आफ्नो अस्तित्वबाट समाजले केही सिकोस् भन्ने चेत हुनु जरुरी छ । अनि त समाजले आफूलाई पछ्याउन थाल्छ । आफ्नो स्वाभिमानमा विश्वास गरेर अगाडि बढ्ने हो भने हरेक व्यक्ति चाहे त्यो अल्पसङ्ख्यक होस्, महिला, पुरुष वा अन्य कुनै अवस्थाको व्यक्तिको जीवन सहज हुनेछ ।
सबैभन्दा पहिले आफ्नो पहिचान आफैले गर्नु अनि आत्मनिर्भरताको बाटो रोज्नुपर्छ, जसले भोलिको बाटो सहज बनाइदिन्छ । उनी अन्य अल्पसङ्ख्यकहरूलाई सुझाउँछन्, आत्मबलमा हरेक पक्षसँग जुध्ने सामर्थ हुन्छ ।
समान हैसियत र सम्मान पाउनुपर्छ
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई समाजले अझै पनि एउटा फरक कोटामा राखेको छ । राज्यका धेरै निकायमा एलजीबीटीआईले स्थान पाउन सकेका छैनन् । यो समुदायका केही व्यक्तिले आफ्नो हक तथा अधिकारका लागि पहल गरे पनि उनीहरूको आवाजले अझै राम्रो स्थान पाएको छैन । विभेदबाट थिलथिल छ, यो समुदाय ।
आफ्नो पहिचान मेटाएर नागरिकता लिनुपर्ने बाध्यताले पनि यो समुदाय चिन्तित छ । नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार प्रत्याभूति गरे पनि व्यवहारमा त्यो लागू हुन नसकेको देख्दा नीति निर्माता तहकै चेतना स्तरमा परिवर्तनको खाँचो देख्छन् उनी ।
दक्षिण एसियाकै पहिलो देश थियो नेपाल, जसले अल्पसङ्ख्यकहरूको अधिकारलाई कानुनी रूपमा मान्यता दिएको थियो । तर यसलाई व्यवहारमा नल्याएकोमा भने आश्चर्य मान्ने ठाउँ छ ।
त्यसैले राज्यको हरेक क्षेत्रमा आफ्नो पहिचानसहितको अधिकार स्थापित गर्ने लडाइँमा रहेका व्यक्ति अनि सङ्घ संस्थाहरूलाई आफ्नो साथ रहेको लेक्स बताउँछन् ।
चिन्ता सन्तानको
अर्को समस्या सन्तान प्राप्तिको पनि हो । एलजीबीटीआईहरूले सन्तान प्राप्तीको इच्छालाई पूरा गर्न सक्छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । बच्चाको चाहना हुनेहरूले एडप्ट गर्ने, टेस्ट ट्युव बेबी गर्ने अथवा विदेशतिर त सरोगेसीको माध्यमबाट पनि बच्चा जन्माइरहेको उदाहरण प्रशस्त छन् । नेपालमा एलजीबीटीआईलाई सरोगेसी र एडप्टबाट बच्चा लिन कानुनी मान्यता छैन । यसले गर्दा उनीहरू लुकीलुकी बच्चा जन्माउन बाध्य छन् । लेक्स भन्छन्, ‘यदि सरकारले यसलाई कानुनी मान्यता दिए समलिङ्गीहरू पूर्ण मानिस बन्न पाउँने थिए ।’
आफ्नो पहिचान आफै स्थापित गरौँ
पहिचानका लागि सरकारको मुख ताक्नुभन्दा आफै अग्रसर हुने हो भने परिवर्तन छिटो हुने विश्वास छ लेक्सको । वास्तवमा एलजीबीटीआई के हो र कस्ता मानिसको समूह हो भनेर बुझाउने काम हामी आफैले गर्नुपर्छ, जसले गर्दा बुझ्न र बुझाउन सहज हुन्छ । लेक्स थप्छन्, ‘हाम्रो आफ्नै प्रयासले समुदायमा परिवर्तन ल्याउन सकिन्छ ।’
सामान्य महिला वा पुरुषभन्दा आफू फरक भएको थाहा भएसँगै आफूलाई स्वीकार गरी आफ्नो कथा आफैले भन्नुपर्छ । आफ्नो जिन्दगीसँग इमानदार बनेर वास्तविक जीवन जिउन सिक्नुपर्छ । समाजको बारेमा सोच्नुअगाडि आफ्नो बारेमा सोच्नुपर्छ । सबैले सार्वजनिक रूपमा भन्नुपर्छ नै भन्ने पनि छैन । आफूलाई जे सहज लाग्छ, त्यो गर्ने हो ।
एलजीबीटीआईको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले उनीहरूको शिक्षाको अवस्थालाई मुख्य मुद्दा बनाउनुपर्छ । केही सङ्घ संस्थाले काम गरिरहेका छन् तर यो अपुग छ । यस्ता सङ्घसंस्थाले समाजमा खुलेर बहस गुर्नुपर्छ । एलजीबीटीआई पनि यही समाजको अङ्ग हुन् र उनीहरू मानव हुन् । यदि समाजमा मानवता छ भने लिङ्गको कुराले कसैलाई पनि विभाजित गराउन नसक्ने लेक्सको विश्वास छ ।
एलजीबीटीआईको आवाज बन्नेछन् लेक्स
मिडियाकर्मी लेक्स विगत ११ वर्षदेखि ब्लगिङ गर्दै आइरहेका छन् । उनका फलोअर्स १ लाखभन्दा धेरै छन् । आफ्नो ब्लगमार्फत हरेक पक्ष समेट्न उनी उद्यत देखिन्छन् । उनी एलजीबीटीआईको पक्षमा सधैँ आवाज बनिरहने बताउँछन् । वर्षमा एक पटक जसरी पनि नेपाल आउने र अल्पसङ्ख्यकहरूको विषयमा आफ्नो पक्षबाट कार्य गर्ने बताउँछन् ।
गत सेप्टेम्बरमा नेपालमै रहँदा एक केटा (गे) सँग उनले फोटो सुट गरे, जसले बजार तताएको थियो । उक्त फोटो सुटबाट समाजमा आफ्नो छवि स्थापित गर्न र सबैले स्वीकार्य बनाउनका लागि उदाहरण पेश मात्रै गरेनन् आफ्नो समुदायको प्रतिनिधित्व पनि गरे, जसको सबैले सहर्ष स्वीकार पनि गरे । यसले उनीमाथि थप जिम्मेवार बनायो र आफ्नो समुदायप्रति उदाहरणीय पनि ।
नेपालमा तेस्रोलिङ्गी भनेर अलि छुद्र शब्दको प्रयोग भएको पाइन्छ वास्तवमा तेस्रोलिङ्गी भनिनुभन्दा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, जसका आआफ्नै परिचय छन् । लेक्स भन्छन्, ‘म गे म्यान’ हुँ जो शारीरिक रूपमा केटा भए पनि भावनात्मक रूपमा केटा नै रोज्ने अनि केटाप्रति आकर्षित हुने मान्छे हुँ । त्यसैले पनि मेरो परिचय भनेको लेक्स लिम्बु ‘गे केटा’ हो ।
परिवर्तन सम्भव छ
लिङ्गको आधारमा नभई माया, सम्मान र आत्मीयताका साथ एकअर्कालाई चिन्ने कोसिस गरौँ । समाज बदल्न सामाजिक सञ्जालले पनि ठूलो भूमिका खेलेको छ अहिले । हामीले मनोरञ्जन मात्र होइन कि सूचनामूलक र ज्ञानवद्र्धक कुराहरूको खोजी गरेर केही सिक्ने प्रयत्न गर्नुपर्छ, जसले आफू र समाज बदल्न सहयोग गर्नेछ ।
त्यसैगरी, शिक्षा परिवर्तनको बाहक भएकाले अन्य विषयलाई जस्तै लैङ्गिक समानता र एलजीबीटीआई भनेका को हुन् भन्नेबारे पनि स्कुल तहदेखि शिक्षा दिने हो भने भोलि भेदभावपूर्ण समाजको अन्त्य हुनेछ । पाठ्यपुस्तकले समेट्न नसके पनि एलजीबीटीआईको क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई समावेश गराएर यसबारे शिक्षा दिलाउन सकिन्छ ।
लेक्स भन्छन्, ‘समाज परिवर्तन गर्ने हामी आफैले हो र पहिले आफूलाई बदलौँ । अनि एलजीबीटीआईहरूलाई हरेक क्षेत्रमा समावेश गराएर मिडिया, सचेत वर्ग अनि सङ्घसंस्थाहरू मार्फत सचेतना फैलाउन सकिन्छ । यो समय भनेको परिवर्तनको हो र आशा छ यो परिवर्तन छिट्टै आउनेछ ।’
तस्विरहरु : लेक्स लिम्बुको सामाजिक सञ्जालबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर