शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमएको प्रमाणपत्र दराजमा थन्क्याएर अटोरिक्सा !

बुधबार, ०४ पुस २०७५, १७ : ३०
बुधबार, ०४ पुस २०७५

बुटवल– उनले समाजशास्त्रमा एमए उत्तीर्ण गरेका छन् । उनी अर्थात  गुल्मीको रेसुङ्गा नगरपलिका–२ तम्घास धागीथुका ३४ बर्षिय सन्तोष पन्थी ।  एमए सकेर कुनै समय काठमाडौको एक क्याम्पसमा समेत पढाउँथे पन्थी । 

उनै पन्थी केही महिनादेखि सदरमुकाम तम्घासमा अटोरिक्सा चलाएर यात्रु ओसार पसार गरिरहेका छन् । 

नौ बर्षअघि मास्टर डिग्री सकेका पन्थी  काठमाडांैको एनएम कलेजमा पार्ट टाईम पढाउने गर्थे । क्याम्पस पढाउँदा प्रति पिरियड दुई सय ५० रुपैयाँ कममाइ हुन्थ्यो उनको । तर, त्यो कमाइले उनलाई खर्च चलाउन मुस्कील भयो । बरु उनलाई जिल्लामै केही गर्ने सोच आयो । घर फर्किए । 

साथीहरुसँग मिलेर करिव ७ बर्षसम्म तम्घास लाँकुरीमञ्मा फास्टफुड सञ्चालन गरे ।  स्थानीय तहको गठनपछि सदरमुकामका अन्य होटल, रेष्टुरेन्टजस्तै उनको रेष्टुरेन्ट पनि टाट पल्टियो ।  

व्यवसाय नचलेपछि फास्टफुड चलाउन बनाएको टहरो भत्काए । समानहरु बेचे । अव के गर्ने ? उनले उपाय खोजे । त्यसक्रममा स्थानीय बजारमा सवारी साधनकोे अभाव भएको देखे । त्यो अभाव पुरा गर्न अटोरिक्सा किनेर आफै चलाउने उनले निधो गरे ।

अन्ततः बुटवल पुगेर ५ लाख मुल्यको अटोरिक्सा किनेर केहि दिनसम्म सिके ।  पन्थी भन्छन, ‘तेल खर्च कटाएर पनि महिनाको ५० हजार चोखो कमाइ हुन्छ ।’

उनले स्कुले जीवनदेखि नै सरकारी जागिर खाने सपना नसाँचेका भने होइनन् । तर नमिलेपछि डिग्री गरेको सर्टिफिकेट दराजमा थन्काएर स्वरोजगारीतर्फ लाग्नु उनका सामु अर्को विकल्प थिएन ।  

‘हामी नेपालीहरु आफ्नो गाउँ–ठाउँमा काम गर्न लजाउने तर विदेशमा भने ट्यालेट पनि सफा गर्न तयार हुने भएका कारण बेरोजगारी बढेको हो  ।  काम गर्न लजाउनु हुँदैन, श्रमको सम्मान गरौ त्यसो गर्न सके कोही पनि बेरोजगार बस्नु पर्दैन’ उनको बुझाइ र सुझाव छ । 

पन्थीको मात्रै होईन, डेढ महिनाको अन्तरालमा तम्घासमा ९ वटा अटो रिक्सा चल्न थालेका छन् । ती मध्ये रेसुङ्गा नगरपालिकामा ७ वटा दर्ता भएका छन् । ती सबै अटोरिक्साका चालकहरु कम्तीमा कक्षा १२ सम्म पढेका छन् । 

अर्का रिक्सा चालक हुन् दयासागर पन्थी । उनले पनि स्नातक उत्तीर्ण गरेका छन् । दयासागरले पनि स्वरोजगारीका लागि माध्यम अटोरिक्सालाई नै रोजेका छन् ।    सिमलटारी, धुर्कोट, ईस्मा, मुसिकोट र ईन्द्रगौडा सम्मको सडक ग्राभेलिङ्ग भई कालोपत्रे हुने क्रममा रहेकोले अटोरिक्साको माग बढ्दो छ । 

बिदेश जाने खर्च अटोरिक्सामा लगाउन सके कम्तीमा महिनाको ५० हजार स्वदेश मै बसेर कमाउन सकिने दुवै युवाहरुको भनाई छ । 

बुटवललमा दर्जनौ महिलाहरुले अटोरिक्सा चलाएर मासिक ६० देखि ७० हजार सम्म कमाउने गरेका छन् ।  अर्घाखाँचीमा  २ सय भन्दा बढि ट्याक्सी र त्यति नै मात्रमा अटोरिक्सा सञ्चालन गरेर स्वरोजगार बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप