शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमल पोखरी जोगाउन सयौँ मध्यपुर बासिन्दा यसरी उर्लिए (हेर्नुस तस्वीर)

बुधबार, ११ साउन २०७४, २२ : ०२
बुधबार, ११ साउन २०७४

भक्तपुर – सयौँ वर्ष अगाडिदेखि सार्वजनिक पोखरीका रुपमा रहेको मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित धार्मिक तथा साँस्कृतिक महत्व रहेको कमल पोखरी जोगाऔँ भन्दै मध्यपुरथिमिका सयौँ बासिन्दा उर्लिएका छन् । 

भक्तपुर जिल्ला अदालतको आदेशअनुसार आज पोखरीको सर्जिमिन गर्न आएपछि स्थानीय बासिन्दाले परापूर्वकालदेखि धार्मिक कार्यका लागि प्रयोग हुँदै आएको उक्त पोखरीको अवैध दर्ता एवं किनबेच भएको भन्दै स्थानीयले पोखरी सार्वजनिक हुनुपर्ने माग गरेका थिए । 

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडे, नगदेशका बासिन्दाले व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिक रुप मै फर्काइनु पर्ने माग राखेका हुन् । 

कमल पोखरीमा फुलेको फूलले स्थानीय लायकू दरबारमा तलेजुलाई चढाउने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फूल चढाएर जात्रा चलाउने परम्परा सयौँ वर्षदेखि रहेको स्थानीय बासिन्दा एवं नेपाली काँग्रेसका भक्तपुर जिल्ला पूर्वअध्यक्ष गणेशमान चक्रधरले बताए । 

पोखरी किनबेच भएपछि चारवर्ष अगाडि केही व्यक्तिले पोखरी पुर्न माटो ल्याउँदा स्थानीयले लखेटेको बताउँदै उनले ऐतिहासिक पोखरीलाई पोखरी कै रुपमा कायम गर्ने बताए । 

नेमकिपाका निवर्तमान् जिल्ला अध्यक्ष एवं स्थानीय बासिन्दा रमेश थापा श्रेष्ठले भूमाफियाले सार्वजनिक पोखरी नै दर्ता गरेर बिक्री गरेको बताउँदै यसलाई सार्वजनिक पोखरी कै रुपमा फर्काइनु पर्ने माग गरे । 

मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफूहरु सानो छदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी सार्वजनिक रहेको बताए । स्थानीय ८१ वर्षका रामहरि मोय्ले आफू जन्मनु अघिदेखि नै पोखरीको रुपमा रहेको उक्त क्षेत्रमा आपूmहरुले पौडी खेल्नेदेखि कमलको फूल टिप्ने गरेको र निलबाराहीलाई चढाउने गरेको बताए । 

वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष देवकृष्ण मोय् श्रेष्ठले सार्वजनिक पोखरी बिक्री गरे पनि हाल पोखरी कै रुपमा रहेको उक्त स्थानमा भूमाफियालाई आउनै नदिने र पोखरी कै रुपमा विकास गर्ने बताए । 

२०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरि मनाङ घरभई काठमाडौँको ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको हो । 

जसमध्ये १३ रोपनी नौ आना ग्ल्याल्पोको नाममा, एक रोपनी तेन्जी शेर्पेनीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ । 

सार्वजनिक पोखरीलाई व्यक्तिका नाममा दर्ता गरेर ऐतिहासिक पोखरीमा कुनै पनि संरचना बनाउने सपना नदेख्न पोखरी खरिदकर्तालाई आग्रह गर्दै स्थानीय वीरेन्द्र जयनाले कमलपोखरीलाई कुनैपनि हालतमा स्थानीयले पोखरी कै रुपमा कायम गर्ने बताए । 

भक्तपुर जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको कमलपोखरीको आज स्थानीय बासिन्दा र थिमिका नगरप्रमुख श्रेष्ठ, उपप्रमुख अञ्जना मधिकर्मी र १० वटै वडाका वडाध्यक्ष एवं जनप्रतिनिधिले पोखरीको अवलोकन गरेको छ । रासस 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप