बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै हाँगाबिँगाको सेपमा नपरोस् काँग्रेस

मङ्गलबार, ०३ पुस २०७५, १५ : ५७
मङ्गलबार, ०३ पुस २०७५

चिजकुमार श्रेष्ठ

काँग्रेसीजनले आदर्श मान्ने बीपी कोइराला भन्नुहुन्थ्यो– यदि लोकतान्त्रिक शक्तिले ठीक हिसाब र सोचविचार गर्न सकेन भने देशको भविष्य अन्योल हुन्छ । चार दशक लामो राजनीतिक जीवनमा अहिले सबैभन्दा बढी यही कुराको महसुस हुन थालेको छ ।

दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारको गतिविधि हेर्दा नागरिकहरू वाक्कदिक्क छन् । यही सन्दर्भमा, ६ वर्षपछि काँग्रेसको महासमिति बैठक बसिरहेको छ । बैठकमा आफ्नोभन्दा अरूकै आलोचना गर्न नेताहरूले समय खर्चिरहेका छन् । मलाई लाग्छ, यतिबेला सच्चा काङ्ग्रेसीजनले आफ्नै अरूकोभन्दा बढी काङ्ग्रेसकै समीक्षा गर्नुपर्छ । काँग्रेसले देशको यो अवस्थामा पुग्न आफ्नो पनि भूमिका छ भनेर जिम्मा लिन सक्नुपर्छ । बीपीले भन्नुभएजस्तै हामीले ठीक हिसाब र सोचविचार गर्न नसक्दा पनि यस्तो अवस्था आउन सम्भव भयो । यसैले महासमिति बैठकले यसलाई राम्रोसँग समीक्षा गर्न आवश्यक छ । 

बीपी कोइरालाको ‘प्रत्येक नेपालीको १५ वर्षभित्रमा मेरोजस्तै एउटा घर होस्, जग्गा होस्, गाई होस्, बच्चाबच्ची पढ्न स्कुल होस्, औषधिमूलो गर्न सकियोस्’ भन्ने भनाइले मलाई राजनीतिमा आकर्षण गर्यो । राजनीति जनताले नबुझ्ने दर्शनहरूबाट सुरु गर्नेहरूको भीडमा बीपी अलग्लै लाग्छन् । हाम्रो पुस्ता बीपीको राजनीतिक आदर्श, किसुनजीको सत्चरित्र र गिरिजाबाबुको अभ्यासमा आसपास हुर्कियो । काँग्रेसमा अहिलेसम्म यही पुस्ताको बोलवाला छ । हाम्रो जमानामा राजनीति भनेकै त्यागको पर्याय थियो । किसुनजीको नाम लिएपछि सादगी र सदाचारको लम्बेतान् कहानी भन्नै पर्दैन ।

महात्मा गान्धी भन्नुहुन्थ्यो– मेरो जीवन नै मेरो सन्देश हो । उहाँको तात्पर्य हो– सन्देश बोलीलेभन्दा बढी व्यवहारले दिन्छ । गान्धीको जीवनबाट सिक्ने नै त्यही हो । हाम्रा नेताहरू आदर्शका हजार पाठ पठाउँछन् । तर व्यवहार ? हामीले देखे भोगेकै छौं । के बोल्छन् ? के गर्छन् ? हामी सबै अवाक भइसकेका छौँ । समाजवादको नारा दिन्छन्, शिक्षा र स्वास्थ्यमा निजीकरण गर्छन् । सदाचारको कुरा गर्छन्, राजनीतिक प्रणालीको मेरुदण्ड नै भ्रष्टाचारमय छ । राष्ट्रवादी भन्छन्, राष्ट्रिय गौरवको योजना बुढीगण्डकी अँध्यारो कोठामा सम्झौता गरेर विदेशीलाई बनाउन दिन्छन् । सच्चा राष्ट्रवादीहरूको देशमा अन्तर्राष्ट्रिय व्यापार घाटा आकाश छुने गरी बढ्छ र ? 

म बीपी र किसुनजीको कुरा गर्दै थिएँ । मेरो जीवनमा उहाँसँगका केही प्रसङ्ग र सिकेका पाठहरूले अहिलेसम्म मार्गदर्शन गरिरहेका छन् । पञ्चायतको निरङ्कुश अँध्यारोलाई छलेर राजनीतिमा क्रियाशील भएर लाग्नु अप्ठ्यारो थियो । जोखिमका पहाडहरू छिचोलेर रोपेको काङ्ग्रेसको बीउ आजसम्मै सप्रिरहेको छ । स्याहारसुसार र गोडमेल पाए त झन् कति फैलँदो हो ! आफ्नै हाँगाबिँगाको सेप लागेर बिग्रनुबाहेक त्यहाँको सङ्गठनलाई बाहिरको घुन पुत्लाले छोएको छैन । आफू उभिएको माटोलाई छोएर आज यी स्मृतिका पन्नाहरू पल्टाउदा पनि अपार हर्षले मन सन्तोषको उचाइमा पुगेजस्तो भएर फुलिरहन्छ ।

प्रजातन्त्रको पुनस्र्थापनापछि चुनाव भयो । म धादिङको क्षेत्र नं. २ बाट उम्मेदवार भएँ । पार्टीभित्रैको अन्तर्घातका कारण चुनावमा पराजय भोग्नुपर्यो । ०५१ सालमा मलाई निर्वाचन क्षेत्र नं. ३ पठाइयो । जहाँ काङ्ग्रेसको सङ्गठन असाध्यै कमजोर थियो र उक्त क्षेत्रसँग मेरो अन्तर्घुलन र उठबस पनि पातलो थियो । मैले टिकट बुझिनँ, विरोध जनाएँ । किसुनजीलाई भनेँ, ‘पहिले मलाई किन सतर्क गराइनस्’ भनेर झण्डै गालामा हिर्काए । त्यही हात ताके मात्रै । उहाँले सच्याइदिन तारानाथ रानाभाटलाई भनिदिन्छु भन्नुभयो । तर क्षेत्र नं. २ को टिकट हरि अधिकारीले लगिसकेको हुँदा त्यो टिकट फिर्ता गर्नुपर्ने कुरा आयो । हरि अधिकारीसँग भेट भएन ।

भोलिपल्ट तारानाथ रानाभाटलाई दिउँसो १० बजे भेट गरेँ अफिसमा । दिउँसो आउनु भन्नु भएकाले म फर्कें । दिउँसो जाँदा उनी त पोखरा गइसकेछन् । त्यसबखत उहाँ पार्टीमा महामन्त्री हुनुहुन्थ्यो । मलाई झुक्याएका रहेछन्, पछि बुझ्दा उनको पनि मिलोमतो रहेछ जस्तो लाग्यो ।

त्यसको भोलिपल्ट किसुनजीले मलाई सम्झाउनु भयो । उहाँले भन्नुभयो, ‘यो राजनीति हो । राजनीतिमा चुनाव जित्नु वा हार्नु मात्रै ठूलो हुँदैन । तिमी आफ्नो विचार लिएर जाऊ, आफ्नो एजेन्डा लिएर जाऊ । प्रजातन्त्रमा एक दुईवटा चुनाव जित्नु वा हार्नु ठूलो कुरा होइन ।’

पार्टीभित्र गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्नेहरूको बीचमा दूरी थियो । म भट्टराईजीको अनुयायी भएँ । मैले त्यसैको सजाय पाएँ । उहाँ स्वयम्ले पनि कतिधेरै अपमानित हुनुपर्यो, हामीले देखेसुनेकै कुरा हो । महासमिति बैठकमा शेरबहादुर देउवा भन्दै हुनुहुन्थ्यो– ‘हिजो किसुनजी र गणेशमान सिंहले काङ्ग्रेस छाड्नुपर्यो । अब काँग्रेसमा त्यस्तो हुँदैन ।’ के काँग्रेसका नेताहरूले मनैदेखि यो प्रण गरेर यसलाई व्यवहारमा बदल्न सक्छन् ? सभापति देउवा नै यसमा प्रतिबद्ध हुनुहुन्छ ?  

त्यतिबेला किसुनजीलाई देशले आदर्श मान्न सकेन । गणेशमानजीलाई आदर्श मान्न सकेन । आदर्श नमान्नुपर्नेलाई मानियो । देशले अहिलेसम्म सही बाटो पक्रन सकेको छैन ।

राजनीतिक नैतिकताको कुरा ससाना कामबाट सुरु हुन्छ न कि ठुल्ठूला अर्ती र उपदेशबाट । यो व्यक्तिबाट सुरु हुन्छ न कि ठूलो ठूलो भीडबाट । लोकतन्त्र भनेको भीडतन्त्र होइन । भीडले जेभन्दा ताली बज्छ, त्यही बोलेर नेता हुने कुसंस्कृति हाम्रोमा मौलाएको छ ।

लोकतन्त्र भनेको कार्यकर्तातन्त्र पनि होइन । राजनीतिक परिवर्तनका खातिर भएको अति राजनीतिकरण हाम्रोमा समस्या भइरहेको छ । केही पार्टीका सीमित कार्यकर्ताहरू राजनीतिक बजारमा बिचौलियाको भूमिकामा छन् । उनीहरूले सिङ्गो राष्ट्रलाई लुट्छन् । कार्यकर्ताहरूमध्ये पनि केही बलिया बाङ्गाहरू ऐँजेरुको भूमिकामा छन् । यस्तो अवस्थामा राजनीतिक नैतिकताको कुरा गर्नेहरू अल्पमतमा पर्छन् । कमजोर हुन्छन् । हेर्दा केही नैतिकताको कुरा गर्ने नेताहरू कमजोर भएको जस्तो लाग्ला । तर यो भयानक अवस्था हो किनकि यसबाट सिङ्गो देश नै कमजोर भइरहेको हुन्छ ।

राजनीतिक नैतिकता भन्ने कुरा के ठीक के बेठीक छुट्याएर ठीकको पक्षमा उभिने कुराबाट सुरु हुन्छ । कार्यकर्तातन्त्रमा त कार्यकर्ताहरू आदेशपालक हुन्छन् । उनीहरू अनुशासित हुँदैनन् । आदेशपालकहरूले आफ्नो मष्तिष्क अर्थात् विवेकको प्रयोग गर्दैनन् । उनीहरूले त केवल आदेश मान्छन् । यो देश केही यस्तै आदेशपालकहरूको बलमा केही नेताहरूद्वारा शासित छ । यहाँ कुनै पार्टीले पनि शासन गरेको छैन । पार्टीभन्दा त्यसका गुटहरू बलिया छन्, गुटभन्दा गुटका नेताहरू । अनि लोकतन्त्र भन्ने चिज कहाँ भेटिएला ?

किसुनजीहरूलाई सम्झेर अहिलेको राजनीतिको विश्लेषण गर्दा आँखा रसाउँछन् । कस्तो विडम्बना छ यहाँ । यहाँ त लोकतन्त्रको नारा लगाउनेबाटै लोकतन्त्र बलात्कृत छ । राजनीतिक नैतिकता अपहरित छ । 
विधिगत र नीतिगत नैतिकताको समष्टि हो राजनीतिक नैतिकता । न आज नीतिको सर्वोच्चता छ न त विधिको । विचौलियाको भूमिकामा देखिएका सीमित सम्भ्रान्तहरूको मुट्ठीभित्र निसास्सिइरहेको छ यो आजकल ।

आफ्नो लागि सम्मानले हाम्रो नैतिकतालाई मार्गनिर्देश गर्छ भने अरूप्रतिको सम्मानले हाम्रो शिष्टाचारलाई मार्गनिर्देश गर्छ । मलाई कहिलेकाहीँ शक्तिशाली प्रश्नहरूले लखेट्छन्– के हाम्रो देशका नेताहरू आफूलाई नै सम्मान गर्छन् ? आफ्नो बोलीलाई सम्मान गर्न सक्छन् ?

भनिन्छ– संसारलाई ढाँट्न सके पनि आफूलाई ढाँट्न सकिन्नँ । यसरी नाप्दा त हाम्रा नेताहरू आफूले आफूलाई नै पत्याउँदैनन् । किनकि उनीहरू हजार झुटहरूको अदृश्य जेलमा छन् । उनीहरू आफैसँग हारिरहेका हुन्छन् । तर विडम्बना ! नैतिकताको धरातल छाडेका नेताहरूका लागि ज्यान फाल्न तयार छन् यहाँ कार्यकर्ताहरू । लाग्छ, यो देश केही कार्यकर्ताहरूले चलाइरहेका छन् । जहाँ कार्यकर्ताको हालीमुहाली हुन्छ, त्यहाँ नागरिकको भूमिका नै नहुने पो हो कि ?

राजनीतिमा नैतिकताको प्रश्नसँग आर्थिक सवाल पनि जोडिन्छन् । राजनीति दुई प्रकारबाट गरिँदो रहेछ । कोही राजनीतिलाई नै पेसा बनाएर आर्थिक समस्या समाधान गर्ने र अर्कोथरी आफूसँग भएको पैसा सकेर राजनीति गर्ने गर्छन् । अर्थात् कसैको राजनीति गरेपछि आर्थिक सुधार हुँदै जाने, कसैको राजनीति गरेपछि आर्थिक हैसियत बिग्रँदै जाने ।
मैले कहिल्यै पनि राजनीतिबाट आर्थिक सुधार गर्ने सोच बनाइनँ । त्यसैले पेसा पनि साथसाथै लैजानुपरेको थियो । पेसा व्यवसायबाट कमाएको पैसा राजनीतिमा खर्चिन्थेँ, पार्टीका साथीभाइहरूलाई सहयोग पुर्याउँथेँ । त्यसैले होला मलाई राजनीतिकर्मी मात्र नभई व्यवसायीका रूपमा पनि चित्रण गर्छन् । विना व्यवसाय आर्थिक स्रोत जुट्दैन ।

मेरो परिवारको भरणपोषणको साथसाथै राजनीति गर्नका लागि आधार हुँदैनथ्यो । विरोधका लागि विरोध गर्नेहरूले मलाई ठेकेदार भन्न रुचाउँथे । मलाई भने ठेकेदार भनेको पटक्कै मन पर्दैनथ्यो । त्यसैले यो पेसा छोड्नु नै मैले उत्तम ठानेँ र मेरो ‘क’ वर्गको ठेकेदारी इजाजतपत्र नै खारेज गरिदिएँ ।
मैले आजसम्म कुनै पनि नेतासँग खर्चका लागि पैसा मागेको छैन । हात थापेको छैन । कुनै एक कार्यक्रम गर्न धेरै नेतासँग खर्च जुटाएर नाफा गर्ने उद्देश्य मैले कहिल्यै लिइनँ । ‘मसँग खर्च छैन, बेखर्ची भइयो’ भन्दै नेताको घरदैलो चहारेको भए नेताको नजिक पनि भइने रहेछ, पैसा पनि पाइँदो रहेछ । अनि नेताले पनि यो मेरो पक्का मानिस भन्ने सोच्दा रहेछन् तर यसो चाहिँ गर्न सकिएन । यसै कारण कुनै पनि नेताको नजिकको प्रिय पात्र म बन्न सकिनँ । यसैमा मलाई सन्तोष छ । मैले आफ्नो स्वाभिमानलाई कहिल्यै बन्धक बनाइनँ ।

आन्दोलन, सङ्घर्ष, समर्पणमा हाम्रो पुस्ताले बिताएका ती दिनहरू प्रजातन्त्रकै लागि निष्ठामय त्यागका क्षणहरू थिए । राजनीतिमा क्रियाशील बन्दै गर्दा म आफूभित्र लाभको पद धारणा गर्ने कुनै लोभ पलाएन । कसैले सङ्गठनमा आफूभन्दा माथि पुगेर केही गर्ला कि भन्ने ईष्र्याको तापले पनि म कहिल्यै जलिनँ । राजनीति त मेरो जीवनसँग गाँसिएको प्रथम प्रेमिका जस्तै बन्यो, जसलाई मैले कहिल्यै त्याग्न सकिनँ र मैले निरन्तरता दिई नै रहेँ । त्यहाँबाट केही लिएको छैन । यसैमा मेरो सन्तोष र गौरव पनि छ ।

धादिङमा सम्पन्न पछिल्लो नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशनमा मलाई प्रमुख अतिथिको रूपमा बोलाइयो । म सहभागी पनि भएँ र अधिवेशनको उद्घाटन पनि गरेँ । उद्घाटन मन्तव्यमा मैले अबबाट कुनै पनि पदमा दाबी नगर्ने प्रतिबद्धता व्यक्त गरेँ । अहिले हाम्रोमा राजनीति गर्न पद नै चाहिन्छ भन्ने छ । समाजको सेवा गर्न कुनै पनि पदमा बस्नुपर्दैन । मेरो आशय यही हो ।

नैतिकता, समानुभूति, मूल्य–मान्यता, दया जस्ता कुराहरू विद्यालयमा वा राजनीतिक दलको प्रशिक्षण कार्यक्रममा पढाइने कुरो होइन । यो त कामले पढाउने कुरा हो । चुरोट खाने मानिसले अरूलाई ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ’ भनेर पढाएर कसले पत्याउँछ ? यसकारण, असल राजनीति गर्न राजनीतिकर्मी आफै नैतिकवान हुनुपर्छ । 
काङ्ग्रेसको महासमिति बैठक चलिरहेछ । यो पार्टीमा मैले पनि आफ्नो जीवनको उर्जावान समय बिताएको छु, पसिना खर्चिएको छु । बाहिरबाट हेर्दा हामीले आदर्श मान्नुपर्नेगरी पार्टी पुनर्संरचना हुन आवश्यक छ । मुर्झाउनु आवश्यक छ । राजनीतिमा कहिलेकाहीँ प्रतिकूलताहरू आउँछन् । अनुकूलताहरू आफ्नै मिहिनेतले पनि सिर्जनुपर्छ । रूख सुक्दै गइरहेको बेवास्ता गर्ने तर फल कसले खाने भनेर झगडा गर्ने मूर्खता नेताहरूले प्रदर्शन नगरून् । 

जाँदाजाँदै बीपीलाई सम्झन चाहेँ– ‘नेतृत्वको सबभन्दा ठूलो गुण त्यसको यस पारखमा रहन्छ कि आन्दोलन कुन–कुन क्षणदेखि पतनोन्मुख हुन थाल्छ । त्यो क्षण पुग्नुभन्दा पूर्व नै नेताले जनतालाई नैराश्यबाट बचाउँछ ।’ उहाँलाई मनन् गरौँ । गुट र सङ्कीर्णता लोकतन्त्रको बाई प्रोडक्ट हो । यसलाई न्यूनीकरण गरौं । लोकतान्त्रीकरणको अभिभारालाई पूर्णता दिँदै मुलुकलाई समृद्धीकरणमा लैजान सक्ने काङ्ग्रेस पार्टी बनाऔँ । महासमितिका सदस्य साथीहरूलाई शुभकामना । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप