बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी १० नेपाली अभिनेत्रीः मंसिरमा लगन नजुरेसँगै कसले गर्लान् बिहे

मङ्गलबार, ०३ पुस २०७५, १५ : १२
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौँ– बलिउडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडाले १ डिसेम्बर अर्थात मङ्सिर १५ विवाह गरिन् । उनले अमेरिकी गायक निक जोनससँग विवाह गरेकी हुन् । प्रियङ्काभन्दा केही अगाडि अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणले विवाह गरेकी थिइन् । 

उनको विवाह बलिउड अभिनेता रणवीर सिंहसँग भएको थियो । कात्तिक २७ गते दिपिकाले रणवीरसँग विवाह गर्दैगर्दा गत मङ्सिरमा पनि केही कलिउड अभिनेत्रीको लगन जुर्ने अनुमान धेरैले गरेका थिए । मङ्सिर आएर गयो पनि । तर यी अभिनेत्री भने अझै अविवाहित छन् ।

‘विवाहका लागि लगन जुरेको छैन । सायद आउँदो मङ्सिरमा लगन जुर्छ कि’, केही पहिले आफ्नो निर्माण अभिनय रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ प्रचारको क्रममा अभिनेत्री केकीले भनेकी थिइन् ।
तर यो मङ्सिरमा पनि उनको लगन भने जुर्न सकेन । रियालटी सो हुँदै म्युजिक भिडियो र त्यसपछि फिल्ममा प्रवेश गरेकी केकी फिल्म अभिनयमा राम्रो जमेकी छिन् । थुप्रै फिल्म अभिनयपछि निर्माणमा होमिएकी उनको आगामी दिनमा निर्माण र अभिनय दुवै अगाडि बढाउने सोचाइ रहेको छ ।

त्यस्तै पछिल्लो समयकी सर्वाधिक डिमान्डेड अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पनि अविवाहित अभिनेत्री हुन् । उनी ‘लभ लाइफ’लाई मिडियामा ल्याउन नचाहने सेलिब्रेटीको कोटीमा पनि उनी पर्छिन् । 
तर जति गोप्य राखे पनि उनको प्रेम लुक्न सकेको छैनन् । मयंक खड्कासँग प्रेम सम्बन्ध टुङ्ग्याएपछि उनी अहिले देवांश जङ्गबहादुर राणाको प्रेममा छिन् ।

केही समय अगाडि राणाकै घरमा उनले आफ्नो जन्मदिनसमेत मनाएकी थिइन् । हालै घोषणा भएको फिल्म ‘मारुनी’को कार्यक्रममा पनि उनी देवांशसँग कार्यक्रम स्थल पुगेकी थिइन् । देवांशको गाडीमा अघिल्लो सिटमा बसेरै कार्यक्रममा पुगेकी उनले प्रेम लुकाउन हर कोसिस गरिन् ।

मिडियाका डरले भने उनी कार्यक्रममा देवांशको नजिकसमेत परिनन् । कार्यक्रममाबाट छुट्टाछुट्टै बाहिरिएका यी दुवैबीच बाटोबाट भने फेरि एउटै गाडीमा घरतिर लागेको देखियो ।

अभिनेत्री नीता ढुङ्गाना पनि अहिलेसम्म सिङ्गल नै छिन् । हाल नेपालको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा बनिरहेको फिल्म ‘साइनो’ अभिनयरत उनी एक समय अभिनेता आमेश भण्डारीसँगको प्रेममा थिइन् ।

तर यी दुवैको प्रेम लामो समय भने टिक्न सकेन । फिल्म अभिनयको अलवा म्युजिक भिडियो अभिनयमा पनि निकै व्यस्त रहने नीताले केही अगाडि आफ्नो जन्मदिनको अवसर पारेर फिल्म प्रोडक्सन हाउससमेत घोषणा गरिन् । तर उक्त प्रोडक्सन हाउसबाट कहिले फिल्म बन्छ अझै टुङ्गो छैन ।

यस्तै अभिनेत्री वर्षा राउत पनि अविवाहित छन् । उनको र अभिनेता संजोग कोइरालाको प्रेमको जानकारी कसलाई पो नहोला र ? आधा दशकभन्दा बढी समयदेखि यी दुई प्रेममा छन् । हिरो हिरोइनको प्रेम टुट्ने रोग बढेको समयमा वर्षा र संजोगको प्रेम एउटा उदाहरण बनेको छ ।

यी दुवैलेसँगै एक फिल्म पनि अभिनय गरेका छन् । वर्षा र संजोगले बिहे कहिले गर्लान् भन्ने प्रतीक्षा फ्यानलाई छ । वर्षा पछिल्लो समय म्युजिक भिडियो र फिल्म अभिनयमा निकै व्यस्त छिन् । विवाहको कुरामा अहिले बेला नभएको वर्षाले बताउँदै आएकी छन् । 

विवाहको कुुनै सुरसार नगरेकी अभिनेत्री पूजा शर्मा पनि हुन् । उनको र निर्देशक सुदर्शन थापाबीचको प्रेम विषयले केही पहिले मिडियामा राम्रो स्थान पाएको थियो । यी दुवैको प्रे्रेम र मित्रता अझै कायम छ । पूजालाई फिल्म अभिनयमा प्रवेश गरेदेखि नै थापाको साथ रहँदै आएको छ ।

पूजाले सुदर्शनबाहेक अरूको फिल्ममा काम गरेकी पनि छैनन् । अहिले त यी दुईले मिलेर फिल्म निर्माण गरिरहेका छन् । उनीहरूबीच प्रेम रहेको चर्चा चले पनि उनीहरूले अझै स्वीकारेका भने छैनन् ।
अविवाहित भए पनि कसैसँग प्रेमको कारणले नाम भने अभिनेत्री वर्षा सिवाकोटीको अहिलेस्म्म जोडिएको छैन । गतवर्षको चैतमा आफ्नो २४औँ जन्मदिन मनाएकी अभिनेत्री वर्षा सिवाकोटी म्युजिक भिडियो हुँदै ‘नाइँ नभन्नु ल २’ फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । 

उनले करिब ६ बर्से फिल्मी करियरमा पशुपति प्रसाद, लप्पन छप्पन, सुब्बा साब, कारखाना, भैरे, ‘जय शम्भु’लगायत थुप्रै फिल्म अभिनय गरेकी छन् । अहिले उनी फिल्म ‘वीरबिक्रम २’ अभिनयरत छिन् । 

अभिनेत्री आँचल शर्माको नाम सधैँ अभिनेता पल शाहसँग जोडिएर आउने गर्छ । म्युजिक भिडियोबाट जोडीको रूपमा देखिएका यी दुवैको अभिनय रहेको फिल्म ‘शत्रु गते’ केही पहिले रिलिज भएको थियो ।
आँचल र पलबीचको प्रेमको विषयले सिनेवृत्तमा चर्चा नपाएको पनि होइन । तर यी दुवैले भने यो कुरामा अहिलेसम्म आधिकारिक मुख खोलेका छैनन् ।

आँचलले अभिनय गरेका ३ फिल्ममा पल हिरो हुनुले पनि यो चर्चालाई बल पुगेको हो । आँचल भने अहिले ‘दाल भात तरकारी’ अभिनयमा व्यस्त छिन् । यो फिल्ममा पल भने छैनन् ।

प्रसाद अभिनेत्री नम्रता श्रेष्ठ पनि अविवाहित हुन् । उनी पछिल्लो समय ‘प्रसाद’को कारण चर्चामा छिन् । उनको अभिनय रहेको पछिल्लो फिल्म हो प्रसाद । निर्देशक दिनेश राउतको फिल्ममा मात्र लगातार देखिँदै आएकी उनको दावा शेर्पासँगको प्रेम मिडियामा छाएकै विषय हो । 

‘प्रसाद’को प्रिमियरमा पनि उनी दावासँग नै पुगेकी थिइन् । फिल्म ‘जाइरा’ अभिनयका लागि आफ्नो कपाल मुन्डन गरेकी उनले ‘प्रसाद’मा लगाएको बिग समीक्षकको समेत चर्चाको विषय बनेको थियो । विवाह गर्ने विषयमा उनले कही कतै बोलैकी छैनन् । 

सिङ्गल अभिनेत्रीको कुरा गर्नुपर्दा अभिनेत्री रजनी केसीको नाम छुटाउन मिल्दैन । उनको नाम प्रेमको कारणले अहिलेसम्म कसैसँग जोडिएको छैन । ‘लोफर’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी केसीलाई अभिनेत्रीका रूपमा सफलता भने ‘गोर्खा पल्टन’ले दिलायो । 

त्यसपछि उनका ‘लालजोडी’, ‘उल्झन’, ‘पटुकी’, ‘ब्रासलेट’ लगायत फिल्म आए । उनले अभिनय गरेका धेरै फिल्म असफल भए पनि नयाँ फिल्म अभिनयको भने उनको हातमा परिरह्यो । उनीसँग अहिले पनि केही फिल्म छन् ।

अभिनय मध्यम भए पनि सबैलाई राम्रो व्यवहार गर्ने उनको बानीले उनी एपीवानको केही शृङ्खलामा समेत देखिने गरेकी छन् ।

हुन त पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ पनि अविवाहित हुन् । उनको र अभिनेता सौगात मल्लको प्रेम मिडियामा छाएकै विषय हो । सौगातसँगको उनको लभ लाइफको विषय मिडियाले कैयौँ पटक समाचार बनाएका छन् ।  उनले ‘गाजलु’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । 

पहिलो फिल्मबाटै चर्चा र सफलता हात पारेकी उनको पछिल्लो फिल्म ‘रोमिय एन्ड मुना’ केही पहिले प्रदर्शनमा आएको थियो । यो फिल्म अभिनयबाट उनले चर्चा पाए पनि यसले भने राम्रो व्यवसाय गर्न सकेन ।

उनी अभिनित फिल्म ‘लाउरे’ प्रदर्शनमा आउन बाँकी छ । यो फिल्ममा उनले नरेन लिब्बुसँग रिल रोमान्स गरेकी छन् ।

यी त उदारण मात्र हुन् । खुस्बु खड्का, भावना गुरुङलगायत अन्य धेरै अभिनेत्री चलचित्र क्षेत्रमा सिङ्गल छन् । तर तीमध्ये कसैको पनि लगन यो मङ्सिरमा जुर्न सकेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप