केन्द्रीय संस्करण

भुुसालको ओलीलक्षित कटाक्षको अन्तर्य

person explore access_timeपुस ३, २०७५ chat_bubble_outline0

ने.क.पा. स्थायी समिति सदस्य घनश्याम भुसालले बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीविरुद्ध कटु कटाक्ष गरेको समाचार सञ्चार माध्यममा भाइरल भयो । 

गोप्य बैठकमा आफै उत्ताउलो गरी बोल्ने र सञ्चार माध्यममा प्रचार गर्दै  हिँड्ने अचम्मको बेहोरा नेकपाका एकाध नेतामा देखिन्छ । 

सुवास नेम्वाङले एक अन्तरवार्तामा वामदेव गौतमको फरक प्रस्तावका बारेमा आफूलाई जानकारी नभएको बताएका थिए तर गौतमले उक्त प्रस्ताव पहिले नै मिडियामार्फत् दर्ज गरेको थाहा भयो । 

भुसालले स्थायी समिति बैठकमा ओलीलाई थुक, रगत, खकार र वीर्य टेस्ट गरेर आफ्नो गुटको हो होइन भनेर पार्टीभित्र छुट्याउने ? यसैगरी गुटबन्दी गरिराख्ने ? भन्दै आफू तपाईंलाई नमान्ने मात्र होइन, तपाईंबाट शासित हुन चाहन्न र तपाईंलाई निन्दा गर्छुसमेत भुसालले भन्न भ्याएछन्  ।

 पार्टीमा मनोगत विप्लव, विद्रोह र विग्रह ल्याउनु पर्दा एकाध नेता पहिले पहिले पनि  यस खालका अराजक कृत्य र कथनी  गर्थे । एक समय सी.पी. मैनाली बोगटी प्रकरणमा जननेता मदन भण्डारीसित पाखुरा सुर्किएर व्यर्थको रडाको मच्चाउँथे ।

त्यति हुँदा हुँदै पनि मदनले मैनालीलाई स्थायी समितिमा आफू निकट नै राखे । यसको मूल गुह्य आफूसित मैनालीलाई दाँज्दा स्वयम् आम कार्यकर्ता नै स्पष्ट हुन्छन् र भिन्न विचारको सम्मान पनि जतिने हुन्छ भनेर नै हो । 

त्यतिबेला  मैनालीले मदनलाई सक्नुहुन्छ भने मलाई मात्र होइन, अरूहरूलाई पनि कारवाही गरेर देखाउन चुनौती दिए । मैनालीको मतलब आफूसहित धेरैलाई कारबाही गरेदेखि तुरुन्त अर्को  पार्टी नामको नाङ्लेपसल खोल्ने उनको नियत हो । 

अहिले घनश्याम भुसाल पनि मैनालीको भन्दा भद्दा आक्रमणमा उत्रिएको देख्दा वैचारिक र सैद्धान्तिक भनिने नेताको विचार सिद्धान्तको रित्तो पिँध देख्दा कुनै अचम्म लागेको छैन ।  

सक्नुहुन्छ भने आफूलाई कारवाही गर्न ओलीलाई चुनौती दिएको देख्दा भुसाल कुनै न कुनै बहानामा पार्टी परित्याग गर्ने गुरु योजनामा त छैनन् भन्ने आशङ्का छ ।  

अहिले मन्त्री बनेका लालबाबु पण्डित, रवीन्द्र अधिकारी आदि नेताहरू कुन कुन लबीका हुन् ? भुसाललाई थाहा भएकै हुनुपर्ने हो । प्रधानमन्त्री नै सरकारका सकार र नकारको जवाफदेही हुनु परेपछि उनले विभिन्न लबीका पनि असल र सक्षम नेता छानेर टिम निर्माण गर्नु कुनै अचम्म नै होइन । 

चिनियाँ पार्टी अध्यक्ष तथा राष्ट्रपति सी जिन पिङको नेतृत्वले  देशलाई भ्रष्टाचार र कुशासनबाट  मुक्त गरेको हो । नत्र चीन अहिलेसम्ममा धराशायी भइसक्थ्यो । शङ्कै
मात्र गरेर त हुन्न नि । 

ओलीले सरकार र मन्त्रालयका महत्त्वपूर्ण विषय र निर्णयमा आफूलाई केन्द्रीकृत गर्नु कुनै अचम्म नै होइन । यस खालको विचार र मान्यताका आधारमा अहिले सरकार सञ्चालन नभएको भए यो सरकारलाई नालायक बनाउने खतरा देखिने थियो । 

मेलम्ची प्रकरणमा अहिले उजागर भएको सङ्कट देशी विदेशीको प्रायोजनमा भएको  स्पष्ट हुन्छ । 

घनश्याम भुसालको राजनीतिक चरित्र, चिन्तन र दिनचर्या पहिले पनि स्पष्ट भएकै हो । उनले बाबुराम भट्टराईको पार्टी बहिर्गमन प्रकरणमा आफ्नै मान्यजनको मरणमा भन्दा बढी पीर गरेर लेख नै लेखेका थिए । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीका दुवै जिम्मेवारीका खासै सकारात्मक चर्चा पटक्क नगर्ने भुसाल सैद्धान्तिक वैचारिक दृष्टिले पिधँबिनाका लोेटा जस्ता लाग्छन् । भुसालले नवौँ महाधिवेशनका बेला जनताको बहुदलीय जनवादलाई आजका दिनसम्म कुनै पनि नेताले सिद्धान्त नबनाएको हुँदा यसलाई सिद्धान्तका रूपमा आफूले स्थापित गर्ने उद्घोष गरेका थिए । 

तर पार्टी एकीकरणपछि जबजको च्याप्टर क्लोज भएको उद्घोष गरे । छिनछिनमा विचार फेर्ने नेता वैचारिक हुनसक्तैन । 

यस विषयमा उनका विचारको स्वस्थ्य बौद्धिक आलोचनापछि भुसालले आफ्ना कुरामा  जिब्रो चपाएर दोधारे बोली बोले  । 

अहिले पनि पार्र्टी एकीकरणको राजनीतिक दस्तावेजमा जनताको जनवाद भनेर उल्लेख गरिए पनि  त्यसको व्याख्या विश्लेषणमा जबजको हुबहु चर्चा गरिएको देखिन्छ । 

हाल विवेकशील पार्टीका नेता रहेका लेखक मुमाराम खनालले पनि भुसालले पूर्वएमाले भित्र नेतृत्व हत्याउने प्रयोजनका लागि मात्र आफूसहितलाई समेल  गरेर बौद्धिक वितण्डा मच्चाएको उल्लेख गरेका थिए । 

प्रसिद्ध स्रष्टा नारायण ढकालले हालै एक दैनिक  पत्रिकामा ‘अर्ध आशावाद र नील वर्ण शृङ्खला’ शीर्षकको एक लेखमा भुसाललाई माक्र्सवादसम्मत आशावादविहीन नेता भनेका छन् । ढकालले बानेश्वरको अर्याल होटेलमा नियमित रूपमा हुने गरेका एमालेभित्रका अनेक नामका पार्टी विचार समूहका कृत्यको समेत पर्दाफास गरेका छन् ।  

 ढकाल जस्ता शुभचिन्तकहरूले भुसाललाई माक्र्सवाद नामको कुन उग्रवादी र अतिवादी भुङ्ग्रोमा हाल्ने हुन् हेर्न बाँकी छ । नत्र जनताको बहुदलीय जनवादका प्रकाशमा आज र अहिलेसम्म भएका संसारलाई चकित पार्ने अनेकन सकारात्मक पक्ष र पहलुहरूलाई अनदेखा गर्नेहरू देख्दा अचम्म नै लाग्छ । 

आफूले आफू, आफ्नै पार्टी र त्यसको प्रमुख नेतृत्वविरुद्ध भाँडबखान गरेपछि नेपाली काङ्ग्रेसले महासमिति बैठकमा कम्युनिस्टविरुद्ध गरेका  टिप्पणीप्रति  भुसालको रोइलो आवश्यक देखिएन । 
आफ्नै पार्टी अध्यक्षलाई आफै आवेशमा निन्दा र भत्र्सना गर्न थालेपछि तेस्रोले त्यही पार्टीको नेता भुसाललाई फूलमाला लाउला र ? 

भुसाललाई नेकाले महासमिति प्रतिवेदनमा विगत नाकाबन्दीलाई नकाबन्दी नभनेकामा चित्त दुखेछ । 

धनश्याम भुसालमा बौद्धिक घमण्ड उम्लिएर पोखिने अवस्थामा पुगेको देखियो  । उनले नेपाल राष्ट्रिय साप्ताहिक (आइतबार १६, वैशाख २०७५ ) पत्रिकामा हामीलाई छाडेर बाम एकताको वैचारिक पक्ष पूर्ण नभएको र यसमा समस्या आएको हो भनेका थिए । 

भुसालले ओली सरकारको विकास र समृद्धिलाई लक्षित गर्दै विकासका नाममा फासीवाद आउनेसम्मको शत्रुवत् आक्षेप लगाएका थिए । 

भुसाल ओलीका हरेक सकार पक्षका उग्र विरोधी देखिन्छन् । नवौँ महाधिवेशनमा माधवकुमार नेपाल समूहका प्रवक्ता बनेपछि आफ्नो उचाइ ह्वात्तै बढेको भुसालको आँकलन देखिन्छ । तर जति उठे पनि कसैले पनि भुइँ छाड्न हुँदैन । 

सी.पी. मैनाली आफै उचालिएर भीर र तीर नखोजेर थामिएर बसेका भए  यति विशाल पार्टीको एउटा मेरुदण्ड हुन्थे ।  

अशोक राईलाई अहमत्याइँ नलागेको भए उनी पनि आम कार्यकर्ताको आँखाको नानी भएर पार्टीको एउटा एउटा उचाइमा विजराजमान हुन्थे । 

धनश्याम भुसालले पनि यत्ति साह्रो नआत्तिई आफ्नो बौद्धिक, प्राज्ञिक  तथा क्रियाशील ऊर्जा खेर नफाले हुन्थ्यो । 

एउटा लेखकका नाताले अल्बर्ट आइन्टाइनले उपयोगी हुनुभन्दा भुसालहरू सफल हुनु राम्रो भन्ने सुझाव छ । भुसालका बारेमा भविष्यमा सकारात्मक लेख पनि लेख्न पाउन् भन्ने पनि रहेको छ । 
चिनियाँ उखान छ ‘एउटा मात्र फूलले वसन्त ल्याउँदैन सयबटा फूलले मात्र बगैँचामा वसन्त ल्याउँछ ।’   

अहिले नै आफूले चाहेको राजनीतिक र राजकीय कुनै पद पाइनँ भन्ने भुसाललाई लागेको छ भने एक जना सन्तले सत्य कुरा बोल्यौ भने  बनावटी कुरा सम्झिरहनुपर्दैन भन्ने सम्झना गराउन चाहन्छु ।  

पत्यारिला नेता मुकुन्द न्यौपानेले सरकारका कतिपय कामका कमजोरी उल्लेख गर्दा पत्यार लाग्न सक्छ तर बामदेव गौतम र अरूहरूले गरेका आलोचना नियतबस हुन् भन्ने अनभूति बढी हुन्छ । 
गौतमलाई त आए आँप गए झटारो मात्र हुने हो तर भुसालहरूको लामो राजनीतिक जीवन छ, यसलाई अहिले नै च्याँखे दाउ नलाउनु राम्रो हो । 

ओलीले सीके राउतका मतावलम्बी आफै थला परेका बुद्धिजीवीहरूको ओड लिन जरुरी देखिन्न । संसारमै अचम्म लाग्ने कम्युनिस्टको यस सरकारलाई आधारभूत रूपमा देश जनताको हितमा सकारात्मक दिशा दिन, दिलाउन यसलाई सफल बनाउन अपरिहार्य देखिन्छ । मैले के पाएँ भन्दा पनि देशले के पायो भन्ने ठान्नु उत्तम हो ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...