बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील र साझा पार्टीको एकताले बाबुरामलाई धक्का !

बुधबार, ११ साउन २०७४, १९ : ३८
बुधबार, ११ साउन २०७४

काठमाडौं– विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकता घोषणा गरिएपछि आफूलाई वैकल्पिक शक्ति बताउने डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई ठूलै धक्का लाग्ने संकेत देखा परेको छ । 

नागरिक समाजदेखि ब्युरोक्र्याट्ससम्मका ब्यक्तिलाई लिएर भट्टराईले नयाँ शक्ति पार्टीको ३५ सदस्यीय केन्द्रीय परिषद् गठन गरी अभियानको घोषणा गरेका थिए । जसमा तत्कालिन माओवादी नेता मुमाराम खनालदेखि पूर्व सचिव रामेश्वर खनाल समेतलाई केन्द्रीय परिषद् सदस्य बनाइएको थियो । जतिबेला आफ्नै समूहका नेताहरुले पनि तत्कालिन एमाओवादी पार्टी छाडेका थिएनन् । 

धेरैपछि माओवादी छाडेर देवेन्द्र पौडेल, बाबुरामपत्नीसहित भट्टराई पक्षका केही नेता नयाँ शक्तिमा आए । त्यसपछि चरणवद्ध रुपमा केन्द्रीय परिषद् विस्तार गरियो । एक वर्ष बढी आफूलाई अभियन्ता भन्दै आएका बाबुरामले गत वर्ष निकै ठूलो तामझामका साथ जेठ ३० गते नयाँ शक्ति पार्टी घोषणा गरेका थिए । 

गएको जेठ ३० मा वार्षिकी मनाइरहँदा नयाँ शक्तिका मुमारामदेखि रामेश्वरसम्मले पार्टी छाडिसकेका थिए । तिनै मुमाराम बुधबार मात्रै एकता घोषणा गरिएको विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्र र उज्वल थापाकै समकक्षीकै रुपमा उभिएर मुस्कुराइरहेका थिए । 

नयाँ शक्ति छाडेर रवीन्द्रलाई अघि सारेर साझा पार्टी बनाएका मुमारामले बाबुरामलाई मात्रै छाडेनन्, बाबुरामको पार्टीको दस्तावेजसमेत साझा पार्टीको बनाए । 

हेर्नुहोस् यो समाचार 
वैकल्पिक शक्तिको तालः नयाँ शक्तिको दस्तावेजसँग हुवहु मिल्यो साझा पार्टीको दस्तावेज

आफूलाई बैकल्पिक शक्ति दाबी गरेका डा.भट्टराईको पार्टीले स्थानीय तहको निर्वाचनमा झण्डै एक वर्ष मधेस आन्दोलनको अगुवाई गरेको संघीय समाजवादी फोरमसँग मिलेर पनि लज्जाजनक नतिजा ल्याएको थियो । 

तर स्थानीय तह निर्वाचन अगाडि मात्रै पार्टी गठन गरेका रवीन्द्र मिश्रको साझा पार्टीका किशोर थापाले काठमाडौं महानगरपालिकामा चौंथौ प्रतिष्पर्धी रहे भने बुधबार नै एकता भएको विवेकशील पार्टीकी रन्जु न्यौपानेले २३ हजार बढी मत तेस्रो पोजिशनमा आएकी थिइन् ।

स्थानीय निर्वाचनअघि नै एकताको पहल गरिए पनि पत्रकारिता छाडेर भर्खरै पार्टी बनाएका मिश्रलाई विवेकशीलका उज्वल थापाले नेता मान्न सकेनन् । त्यसैले उनी आफ्नो आफ्नो उम्मेदवार रन्जुलाई मेयर र किशोरलाई उपमेयर बनाउन प्रस्ताव गरेपछि निर्वाचन अघि एकता हुन सकेन । यद्यपी मेयरमा रञ्जुलाई उम्मेदवार बनाएको विवेकशीलले उपमेयरमा नयाँ शक्तिकी निरुपमा यादवलाई समर्थन गरेर नजिक हुन चाहेको संकेत दिएको थियो ।
 
यता, आफूलाई बैकल्पिक शक्ति दाबी गरेका बाबुरामको नयाँ शक्ति भने उपेन्द्र यादवसँग एकता घोषणा गर्ने अन्तिम तयारीमा रहेर पनि एकता हुन सकेको छैन । एकता घोषणा गर्ने अन्तिम तयारीमा रहेर पनि नेतृत्व कसले गर्ने भन्ने विवादले अल्झिरहेकाबेला विवेकशील र साझा पार्टीको एकताले ठूलै धक्का दिने जानकारहरु बताउँछन् ।  

यो पनि पढ्नुस्ः

साझा र विवेकशील पार्टीबीच एकता घोषणाः   केन्द्रीय समितिमा को–को ? (सूचिसहित)

पार्टी एकीकरण घोषणा गर्दै रवीन्द्र मिश्रले भने– लेफ्ट कल्याणकारी हाम्रो आइडोलोजी हो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप