शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली ‘र’को एजेण्ड यसरी परे प्रहरीको फन्दामा

बुधबार, ११ साउन २०७४, १९ : ०६
बुधबार, ११ साउन २०७४

रत्ननगर (चितवन) –भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका चार जनाको गिरोहलाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मुख्य योजनाकार मानिएका एक जना भने भगौडा सशस्त्र प्रहरीका जवान हुन् । अन्य तीनजना भने उनका सहयोगी रहेको अनुसन्धानमा खुलेको थापाले जानकारी दिए। 

उनीहरुलाई साउन ९ गते सोमबार राजधानीको बसपार्क नजिकै रहेको सिस्नेरी गेष्ट हाउसबाट पक्राउ गरिएको उनले जानकारी दिए। यसरी पक्राउपर्नेमा धादिङ ज्वालामुखि गाउँपालिका वडा नं २ बस्ने ३० वर्षीय ईश्वर बस्नेत, सोही ठाउँका २२ वर्षीय रोशन बस्नेत र २० वर्षीय मनोज श्रेष्ठ तथा सोही गाउँपालिका वडा नं १ का २२ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये मुख्य योजनाकार रहेको ईश्वर बस्नेत भने विसं २०६४ देखि २०६८ मा सशस्त्र प्रहरी बल सानो गौचरण काठमाडौँमा सशस्त्र प्रहरी जवानमा कार्यरत थिए । त्यसपछि जागिर छाडेका उनी गाउँमा ठेक्कापट्टामा काम गर्दै आएको प्रहरीले जनाएको छ । 

प्रहरीको मध्य क्षेत्रीय प्रहरी अनुसन्धान, महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ, जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोको विशेष टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । उनीहरुले चितवनमा कार्टुन र कागज उत्पादन गर्ने उक्त उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई रु ५० लाखसम्मको रकम माग गरेको प्रहरीले पत्रकारलाई जानकारी दिएको छ । उद्योगपतिको नाम भने खुलाइएको छैन । 

प्रहरीको अनुसन्धान टोलीले दिएको जानकारीअनुसार १५ दिनदेखि उनीहरुले सो उद्योगमा आई अनुसन्धान गरेर वस्तुस्थिति बुझेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप