मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकको सल्यान शाखा खलङ्गामा

बुधबार, ११ साउन २०७४, १८ : ५१
बुधबार, ११ साउन २०७४

खलङ्गा (सल्यान) – यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा मेगा बैङ्क नेपाल लिमिटेडले सल्यानको खलङ्गामा आफ्नो नयाँ शाखा खोलेको छ । 

मेगा बैङ्क सञ्चालक समितिका सदस्य सीएन पाण्डे र सक्षमका टोली उप–प्रमुख निर्मल दाहालले बुधबार शाखाको औपचारिक उद्घाटन गरेका थिए ।  मेगा बैंकको यो ४८ औं शाखा हो । 

सल्यान, खलङ्गामा आफ्नो शाखा खोल्ने मेगा बैंक दोस्रो निजी वाणिज्य बैङ्क भएको छ । खलंगामा सानो बजार रहेको छ जसले यहाँ स्थापना भएका धेरै सरकारी तथा निजी कार्यालयहरूको आवश्यकताहरूलाई परिपूर्ति गर्दै आएको छ । त्यसैगरी, यस क्षेत्रमा साना तथा मझौला आकारका उद्योगहरूको संख्या पनि वृद्धि हुँदै गइरहेको छ जसले गर्दा खलङ्गाका स्थानीयलाई सेवा प्रदान गर्नेगरी औपचारिक बैङ्किङ सेवाको थालनी गर्न आवश्यक परिरहेको थियो । मेगा बैङ्कले यस क्षेत्रमा २०७४ जेष्ठ १६ मा आंशिक सेवा (सफ्ट लञ्च)को प्रारम्भ गरेयता ४५० भन्दा बढी बैङ्क खाता खोल्न सफल भइसकेको छ । 

‘यो त केवल शुरुवात हो । हामीले आगामी वर्षभरीमा करिब २ हजार ग्राहकसम्म पुग्ने लक्ष्य राखेका छौं ।’ मेगा बैङ्कका सञ्चालक समितिका सदस्य पाण्डेले भने, ‘हाम्रो लघु कर्जा यस क्षेत्रमा साना किसानहरूप्रति लक्षित छ जसको जीविकोपार्जन कृषि र पशुपालनमा निर्भर छ । यसको अतिरिक्त, पछि गएर हामीले यस शाखाबाट सबै किसिमका विप्रेषण सम्बन्धित सेवाहरू पनि प्रदान गर्नेछौं । 

सक्षम – मेगा साझेदारीको हिस्सा स्वरूप, हामीले विद्यालय तथा कलेजका विद्यार्थीहरूका लागि वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई थप बचत गर्न र बजेट बनाउने सीपको बारेमा आफ्ना परिवारका सदस्यहरूलाई पनि सिकाउन प्रोत्साहन गर्ने पनि हाम्रो योजना रहेको छ ।’

सक्षम–मेगा बैङ्क साझेदारी सन् २०१५ मा शुरु भएको हो । यस साझेदारीका लक्ष्यहरू ४ वटा नयाँ शाखा र ३० वटा नयाँ शाखारहित बैङ्किङ सेवाविन्दुहरूको स्थापना गर्ने र ‘ट्याब बैङ्किङ’ को अवधारणा ल्याएर अछाम, दार्चुला, डडेल्धुरा, दाङ, कैलाली तथा सल्यान गरी छ जिल्लामा रियल टाइम मोबाइल वित्तीय सेवाहरू प्रदान गर्ने रहेका छन् ।

साझेदारीको हालसम्मको सफलताको बारेमा बोल्दै सक्षमका टोली उप–प्रमुख दाहालले भने, ‘यस साझेदारीमार्फत नवीनतम वितरण प्रणालीहरू प्रयोग गरेर हामीले अछाम, दार्चुला, डडेल्धुरा, दाङ र कैलाली जिल्लाका दुर्गम समुदायहरूसम्म लघु–बैङ्किङ उत्पादन तथा सेवाहरूको विस्तार गरिसकेका छौं । खलङ्गा साना तथा मझौला उद्योगहरूको लागि वृद्धिउन्मुख बजार हो र हामीले यस क्षेत्रमा विद्यमान वित्तीय संस्थाहरूबीचको प्रतिस्पर्धालाई बढावा दिने मात्र नभएर सेवा नपाएका जनसंख्यालाई वित्तीय सेवा तथा उत्पादनहरू पुर्याउने उद्देश्यले पनि मेगा बैङ्कसँग साझेदारी गरेका हौं ।’  

सक्षम यूके एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप