बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल–नारायणगढ सडक विस्तार : नयाँ प्रयोगका साथ अब यस्तो बन्नेछ सडक

सोमबार, ०२ पुस २०७५, ११ : ५८
सोमबार, ०२ पुस २०७५

बुटवल– १ सय २५ किलोमिटर दूरीको बुटवल– नारायणगढ सडकखण्ड स्तरोन्नति गरिने भएको छ । त्यसका लागि  अबको दुई साताभित्र चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ । 

दुईवटा प्याकेजमा विस्तार गर्न लागिएको यो सडकका लागि सडक विभागअन्तर्गतको एडीबी सडक निर्देशनालयले प्रविधिक रूपमा पास भएका कम्पनीको आर्थिक प्रस्ताव खोलिसकेको छ ।

सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले नै दुवै प्याकेजमा ठेक्काको सम्झौता गर्ने एडीबीका सडक निर्देशक सरोजकुमार प्रधानले रातोपाटीलाई जानकारी दिए । 

‘२८ दिनभित्र सम्झौता गर्न आउनुपर्ने हो । हामीले पत्रचार गरिसकेका छौँ, अबको दुई हप्ताभित्र उनीहरू आएर सम्झौता गर्ने छन्’ उनले भने ।  यो आयोजनामा प्राविधिक रूपमा सफल भएका ७ वटा कम्पनीहरू अन्तिम प्रतिस्पर्धामा रहेका थिए ।  

प्रधानका अनुसार आयोजनाअन्तर्गतको दुईवटै प्याकेजको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा कम रकम कबोल गरेको छ । 

एउटै प्याकेजमा काम गर्दा निर्माण ढिलो हुने भएकाले दुईवटा प्याकेज बनाएको प्रधानले बताए । पहिलो प्याकेज नारायणगढदेखि दाउन्नेसम्मको ६३ किलोमटिर दूरीमा रहेको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ ।

प्याकेज–१ मा ९ अर्ब १३ करोड रूपैयाँमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्काको प्रस्ताव गरेको छ । यो प्याकेजमा परेको सबैभन्दा कम कबोल रकम हो ।

यो प्याकेजमा लोङ्जियान ब्रिले सबैभन्दा बढी १० अर्ब ८९ करोड रूपैयाँसम्मको आर्थिक प्रस्ताव गरेको छ ।   

यस्तै साङ्घाई कन्स्ट्रक्सनले ९ अर्र्ब ३७ करोड, हुनान ब्रिज एन्ड रोड कन्स्ट्रक्सनले ९ अर्ब ६४ करोड, चाइना रेल्वे ब्युरोले १० अर्ब ४४ करोड, हुवेई छाङ्जाङले १० अर्ब ७० करोडको आर्थिक प्रस्ताव गरेको छ । 

हालसम्म सडक निर्माण गरेको १ वर्षसम्म सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन छ । तर अब बुटवल नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम ५ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने गरी नयाँ अभ्यास गरिएको छ । 

पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्याङ्कनममा असफल भएका थिए । विभागका अनुसार यो सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।  विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भइसकेको छ ।

प्याकेज–२ अन्तर्गतको ठेक्कामा कबैभन्दा कम कबोदको ७ अर्ब ८६ करोड रूपैयाँको आर्थिक प्रस्ताव परेको छ । यो प्याकेजमा सबैभन्दा धेरै टप इन्टर नेसनल इन्जिनियरिङको ९ अर्ब ५६ करोड रूपैयाँसम्मको ठेक्का रकम कबोल गर्दै प्रस्ताव गरेको विभागले जनाएको छ । 

प्याकेज–२ मा हुनान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले ८ अर्ब १६ करोड, साङ्घाई कन्स्ट्रक्सन रूपले ८ अर्ब २० करोड, लाङ्जिन ब्रिज एन्ड रोडले ८ अर्ब ५३ करोड, हुवेई छाङ्जाङ रोड एन्ड ब्रिजले ८ अर्ब ५५ करोड, चाइना रेल्वे ब्युरोले ८ अर्ब ९९ करोड प्रस्ताव गरेको छ ।

विगतको भन्दा नयाँ अभ्यास 

हालसम्म सडक निर्माण गरेको १ वर्षसम्म सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन छ । तर अब बुटवल नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम ५ वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्ने गरी नयाँ अभ्यास गरिएको छ । 

सडक विभागका पूर्वप्रोजक्ट इन्जिनियर केशव शर्माले अन्यभन्दा फरक अभ्यास गर्नका लागि यो सडकबाट सुरु गर्न लागिएको बताए । 

अब यस्तो बन्नेछ सडक

अहिले बुटवलबाट नारायणगढसम्म पुग्नका लागि तीन घण्टा लाग्छ । अब सडक विस्तारसँगै कम्तीमा १ घण्टा ३० देखि ५० मिनेटभित्रै सरर पुग्ने गरी तयार गरिने दाबी गरिएको छ । 

प्रधानले भने ‘हामी सरर डेढ घण्टा नारायणगढबाट बुटवल पुग्ने गरी सडक बनाउने छौँ, अहिले भन्दा गाडीको स्पट बढाउने गरी सडक विस्तार र हुँदैछ ।

अहिले नारायणगढ बुटवल सडकखण्ड दुर्र्ई लेनको छ, जसलाई विभागले अब ४ लेनको बनाउने छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रूपैयाँ खर्र्च हुने अनुमान गरेको थियो ।

सडकको दुई÷दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने छ । 

अबको ३ वर्षमा बुटवल नारायणगढ सडक विकाससित देशका सडकजस्तै बन्ने दाबी गरिएको छ । 

 यो सडकखण्डको छेउमा रहेका बस्तीहरूका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । 

२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ । इन्जिनियर शर्माले नेपालका अन्य राजमार्ग सडकभन्दा बुटवल नारायणगढ सडक फरक बन्ने  बताए । उनले भने ‘जसले यात्रुलाई सहज मात्रै हुुने छैन, राजमार्ग क्षेत्रमा सहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ ।’

 १ सय २५ किलोमिटरको यो सडकलाई दुर्र्ईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । जसअनुसार नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६३ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत निर्माण गरिनेछ ।

यो खण्ड विस्तार गरिसक्न  तीन वर्ष ३ लाग्ने छ । बुटवल–नारायणगढ खण्ड पूरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालो र ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ । त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलार्र्ई चार लेन बनाउन सम्भव देखिएको छैन ।

त्यसैले त्यहाँको प्राकृतिक संवेदनशीलतालाई ध्यानमा राखेर ३ लेन मात्रै बनाउन लागिएको हो । ३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । 

ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालेमा गाडीहरू सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोेग गर्न पाउनेछन् ।

यस्तै दाउन्ने पहाडमा ८ किलोमिटर सडक डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा  फुटपाथ र साइकल लेनसमेत राखिने गरी रिपोर्ट बनाइएको छ ।

अबको ३ वर्षमा बुटवल नारायणगढ सडक विकाससित देशका सडकजस्तै बन्ने दाबी गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप