शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामुद्रिक चक्रवातले बदलीः देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम २ डिग्री

सोमबार, ०२ पुस २०७५, ११ : ३०
सोमबार, ०२ पुस २०७५

काठमाडौँ – बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना औँल्याएको हो । साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एकरदुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना छ । 

चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्ह्तिर ल्याण्डफल हुने महाशाखले जनाएको छ । 

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार समुद्री आँधीले जमीनलाई छोएपछि त्यसलाई ल्याण्डफल भनिन्छ । ल्याण्डफलले वर्षा र हावाहुरी ल्याउने गर्दछ ।     

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । उपत्यकाको आकाशमा बदली रहेका कारण चिसो बढेको छ । 

आज काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । 

साता दिनअघि काठमाडौँको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो । पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उपत्यकाको आज भने २ डिग्रीमा झरेको हो । 

न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप