‘जब म पाँच मिनेटका लागि मरेकी थिएँ’
बीबीसी
‘मेरो ओठ निलो हुन थाल्यो, मैले सास फेर्न बन्द गरेकी थिएँ, मेरो मुटुको धड्कन रोकिएको थियो ।’
२७ वर्षे लोरा डालेसियो तीन वर्षअघि कामबाट घर फर्किने बेला अचानक बेहोस भइन् र भुइँमा लडिन् ।
व्यवसायिक रुपमा नर्स लोरालाई कार्डिएक अरेस्ट भएको थियो । उनले यसबारे बीबीसीसँग कुराकानी गरेकी छिन् ।
ब्रिटेनमा ८० हजार बढी मानिसहरुलाई थाहा छैन कि उनीहरु मुटु रोगसँगै बाँचिरहेका छन् । ब्रिटिश हार्ट फाउन्डेशनले यसबारे चेतावनी जारी गरेको छ । फाउन्डेशनका अनुसार जवान मानिसहरुका लागि मुटुरोग निकै खतरनाक हुनसक्छ ।
अन्य युवालाई झैं लोरालाई पनि थाहा थिएन कि उनी मुटुरोगसँग जुझिरहेकी छिन् ।
कार्डिएक अरेस्ट भएपछि उनकी साथीले उनलाई अस्पताल पुर्याइन् । इमर्जेन्सी सेवाका कारण लोराको ज्यान बच्यो ।
अस्पतालमा उनी तीन दिनसम्म कोमामा रहिन् । उनी भन्छिन्, ‘जब म होशमा आएँ, तब मैले केही पनि बुझिरहेकी थिइनँ । म निकै रोएँ ।’
परीक्षणपश्चात् थाहा भयो कि लोरा लंग क्यूटी सिन्ड्रोमबाट पीडित छिन् । यो एउटा आनुवांशिक रोग हो जसले मुटुको धड्कनलाई प्रभावित गर्छ ।
लोरा भन्छिन्, ‘त्यतिबेला मेरो उमेर २४ वर्षमात्र थियो । मैले सोचें, यो उमेरमा मलाई यस्तो रोग कसरी लाग्नसक्छ ?’
‘मैले वृद्ध–वृद्धाको मुटुरोगका कारण मृत्यु भएको देखेकी छु तर युवालाई यस्तो भएको कहिले पनि देखेकी थिइनँ ।’
ब्रिटिश हार्ट फाउन्डेशनको ताजा अनुसन्धानका अनुसार १५ देखि २५ वर्षको उमेरमा करिब ८३ हजार मानिसलाई आनुवांसिक कारणले मुटुरोग हुने खतरा हुन्छ । यसका कारण धेरैपटक कम उमेरमा नै मृत्यु पनि हुनसक्छ ।
यस्ता मानिसहरुमा त्यस्तो कुनै लक्षण पनि देखिँदैन । तर कतिलाई भने कार्डिएक अरेस्टका बेला समास्याबारे थाहा हुन्छ ।
सेन्ट जर्जको युनिभर्सिटी अफ लण्डनमा मुटुका डाक्टर प्राध्यापक एलिजाह बेहरका अनुसार निकै कम मानिसहरुलाई जन्मजात नै मुटुरोग हुन्छ । तर यदि हामीले यो रोगबाट पीडित सबै मानिसहरुलाई मिलाएर हेर्ने हो भने यसको संख्या धेरै छ ।’
डाक्टर बेहर भन्छन्, ‘यस्तो प्रकारको मुटुरोगका कारण ब्रिटेनमा हरेक वर्ष करिब एक हजार पाँच सय युवाको अचानक मृत्यु हुन्छ । यस्ता पीडितको पहिचान गरेर उनको ज्यान बचाउनु एउटा ठूलो चुनौती हो ।’
प्राध्यापक बेहर अब जन्मजात नै हुने हृदयघातबारे अनुसन्धान गरिरहेका छन् । उनलाई आशा छ कि यसले अचानक भइरहेको मृत्यु रोक्न मद्दत गर्नेछ ।
केही डाक्टरका अनुसार रोग पत्ता लगाउनका लागि युवाले अनिवार्य रुपमा स्क्रिनिङ गर्नुपर्छ । यस्तै, अन्य डाक्टर भने यो क्षेत्रमा थप अनुसन्धान गर्नुपर्ने बताउँछन् ।
सन् २०१६ मा बेरी र गिल विल्किंसनका छोरा डेन विल्किंसनको फुटबल खेलिरहेका बेला अचानक लडे र उनको मृत्यु भयो ।
त्यतिबेला डेनको उमेर २४ वर्ष मात्र थियो र उनको जीवनशैली निकै सक्रिय थियो । उनी हुल सिटीकी युवाको टिममा खेल्ने गर्दथे ।
ड्यानका बुवाले भने, ‘उसलाई मुटुको निकै गम्भीर रोग थियो तर हामीलाई यसबारे कहिले पनि थाहा भएन ।’
‘२४ घण्टाअघि मात्रै हामीले उनीसँग भिडियो च्याट गरेका थियौं र उनी सामान्य थिए ।’
पछि थाहा भयो कि ड्यानलाई एक प्रकारको मुटुरोग छ जसका कारण व्यक्तिको मुटु वरिपरिको भाग कमजोर हुन्छ र जसका कारण हृदयघात हुनेगर्छ ।
ड्यान खेल्दाखेल्दै अचानक बेहोस भएर लडेका थिए ।
ब्यारी याद गर्छन्, ‘उसको समूहका एक ले मलाई फोन गरे । उनले ड्यान अचानक बेहोस् भएको खबर हामीलाई दिए, उनले हामीलाई त्यहाँ आउन भनेका थिए ।’
‘उनलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।’
‘ड्यानकी आमा भन्छिन्, ‘यो हाम्रो लागि एउटा ठूलो झट्का थियो ।’ यति भन्दा नै ड्यानका आमा–बुवाको आँखा रसाए ।
ब्यारी र गिलले पैसा उठाएर फुटबल खेल्ने युवाका लागि डिफिब्रिलेटर खरिद गरे । यो उपकरणलाई कार्डिएक अरेस्टका बेला प्रयोग गरिन्छ ।
यो उपकरणको मद्दतले उनीहरुले १४ वर्षे एक किशोरको ज्यान बचाउन सफल भएका थिए ।
लोरा भन्छिन्, ‘म आफ्नो अनुभव साझा गरेर मानिसहरुमाझ जागरुकता फैलाउन चाहन्छु । ’
उनी थप्छिन्, ‘म युवाहरुलाई बताउन चाहन्छु कि यो उनीहरुमाथि पनि हुनसक्छ । मुटु रोग जसलाई पनि लाग्नसक्छ ।’
लोराको छातीमा एउटा डिफिब्रिलेटर र पेसमेकर राखिएको छ, चाहिएका बेला प्रयोग गर्नका लागि ।
लोरा भन्छिन्, ‘अब म आफ्ना साथीहरुसँग निकै घुम्छु । के थाहा कहिले यस्तो होला । दोस्रो पटक सायद म नबाँच्न पनि सक्छु ।’
‘अब म निकै खुलेर जीवनयापन गरिरहेकी छु । भाग्यमानी रहेछु, बाँचे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने
-
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
-
पर्यटन बोर्डको रिक्त तीन सदस्यको नाम टुङ्गियो, को–को भए नियुक्त ?
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा