केन्द्रीय संस्करण
सन्दर्भ: २०१७ पुस १ काे शाही कू

राजाले लिए सत्ता

person explore access_timeपुस १, २०७५ chat_bubble_outline0
जगत नेपाल

रातोपाटी

१ पुस, २०१७ बिहीबार । काठमाडौंमा धुम्म कुहिरो लागेको थियो, आकाश खुलेको थिएन । आईए दोस्रो वर्षमा अध्ययनरत गीतकार रत्न शमशेर थापा साइकल चढेर बिहान १० वजे त्रिचन्द्र कलेज पुगे । कक्षा सुरू नहुँदै सहपाठी नातिकाजीले भने, “प्रधानमन्त्री बीपी कोइरालाले तरूण दलको अधिवेशन उद्घाटन सत्रमा जोडदार भाषण दिने खबर छ, हिँड सुन्न जाऊँ ।” त्यो कार्यक्रमका लागि तयार पारिएको स्वागत गीतमा नातिकाजीले सङ्गीत भरेका थिए । देशभरका तरूण प्रतिनिधि सहभागी कार्यक्रम भव्य र आकर्षक थियो । दुईतिहाइ बहुमत प्राप्त काङ्ग्रेसको रापताप कम थिएन । ठुल्ठूला डेक्चीमा पुलाउ पाकिरहेको थियो । 

अपराह्न १२ बजे अध्यक्ष सिंहध्वज खड्काको अध्यक्षतामा सम्मेलन सुरू भयो । प्रधानमन्त्री बीपी, मन्त्री गणेशमान सिंह, सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री सूर्यप्रसाद उपाध्यायलगायत नेतासँगै नातिकाजीलाई पनि मञ्चमै बोलाइयो । 

बीपीले सम्मेलन उद्घाटन गरेलगत्तै साङ्गीतिक समूहले स्वागत गीत गाउन भ्याएको थियो । पार्टी महामन्त्री श्रीभद्र शर्मा बोलिरहँदा राजदरबारका कर्णेल समरराज कुँवर, सुरेन्द्रबहादुर शाह सैनिक पोसाकमै कार्यक्रमस्थल प्रवेश गरे । प्रधानमन्त्रीलाई सलाम गरे । बीपीले टाउको हल्लाउँदै सलाम फर्काए । त्यति बेलासम्म झन्डै तीन सयको सङ्ख्यामा आएको सेनाले पूरै कार्यक्रमस्थल घेरा हालिसकेको थियो । 

बीपीका अङ्गरक्षकलाई बाहिर लगेर समरराजले हतियार कब्जामा लिए । त्यसपछि सैनिक टुकडीका साथ कार्यक्रमस्थलमा प्रवेश गरेर भने, “कोही पनि आफू बसेको स्थानबाट यताउति नगर्नू, त्यसो गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ”ठट बीपी र गणेशमानलाई जिपमा चढाएर लगे । अरु नेता पनि समातिए । सहभागीहरु भागाभाग गर्न थाले । नेताहरुलाई पक्राउ गरिएको विरोधमा तरूण दलका नेता कमल चित्रकार नाराबाजी गर्दै थिए । उनलाई सेनाले कब्जामा लियो । 

त्यो सम्मेलनमा सहभागी काङ्ग्रेसका पूर्वमहामन्त्री केबी गुरूङ थापाथलीबाट उम्किएर असनबहालभित्र पट्टिको डेरामा पुगे । के गर्ने कसो गर्ने केही थाहा भएन । न कुनै नेताको निर्देशन पाउने अवस्था नै थियो । त्यसको केही दिनपछि विघटित प्रतिनिधिसभा सदस्य सरोजप्रसाद कोइराला एउटा रेडियो बोकेर गुरूङको डेरामै पुगे । 

संसद् सचिवालय सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिको कार्यकक्षमा गुरूङले लेखकलाई सुनाए, “सरोज दाइ भन्न थाल्नुभयो— कैयौं दिनदेखि सुत्न पाएको छैन । एकछिन सुत्छु, तीन बजेतिर उठाइदिनू ।” संयोग नै भनौं, त्यही दिन तीन बजे रेडियो नेपालबाट राजाले मन्त्रिपरिषद् गठन गरेको समाचार प्रसारण भयो । विश्वबन्धु थापा गृहमन्त्री बने । सरोज र विश्वबन्धु एकदमै मिल्ने साथी थिए । थापा नै पक्राउ हुनबाट जोगिएका माथिल्लो तहका नेता थिए । “उनैलाई बुझाउन भनेर सरोजले १३ पृष्ठ लामो चिठी लेखेका रहेछन् । थापा गृहमन्त्री भएपछि गुरूङको कोठामै सरोजले त्यो चिठी च्यातचुत पारे ।” अनि काठमाडौंमा बस्न उचित छैन भनेर उनी भारततर्फ लागे । 

उता, इलाममा त्यो दिन (पुस १) ठूलो हाट लागेको थियो र संयोगले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बैठक पनि चलिरहेको थियो । राजाले बीपीसहित नेताहरुलाई जेल हाले भन्ने हल्ला चलेपछि काङ्ग्रेस समर्थकहरुको ठूलो भीड जम्मा भयो, जसमा पूर्वसैनिक पनि थिए । काङ्ग्रेस कार्यकर्ताले विघटित संसद् सदस्य केबी भट्टराईलाई भने, “तपाईं एक्सनको नेतृत्व लिनुस्, इलाम अहिल्यै कब्जा गरौं ।” बडाहाकिम स्वयम्ले खबर पठाए, “मलाई पक्राउ गरी चाबी लेऊ, जिल्ला कब्जा भइहाल्छ । तर भट्टराईले तत्कालै निर्णय दिन सकेनन् । भोलिपल्ट बडाहाकिमको चाबी सरकारले लिइहाल्यो ।”ठड गुरूङले लेखकसँग भनेका छन्, “यातायातको सुविधा नभएको त्यो बेला सुरक्षाकर्मी पनि कम थिए । सहजै कब्जा गर्न सकिन्थ्यो । तर राजा महेन्द्रले काङ्ग्रेसको माथिल्लो तहका सबै नेतालाई कब्जामा लिएर रानोबिनाको मौरी जस्तो बनाइदिएका थिए । नेतृत्वको आदेशबिना सांसद भट्टराईले निर्णय दिन सकेनन् ।”

इलामकै जस्तो घटना विराटनगरमा पनि भयो । बीपीका माइलाभाइ केशवलाई कार्यकर्ताले “लौ एक्सन लिऔं” भनेका थिए । उनले पनि निर्णय दिन सकेनन् । बेलैमा निर्णय लिन सकेको भए विराटनगर तुरून्तै कब्जा गर्न सक्ने अवस्था थियो । देशभर सरकारी सुरक्षाफौजलाई कब्जामा लिएर राजाको मनोबल गिराउने क्षमता काङ्ग्रेससँग थियो । गुरूङले भनेका छन्, “सुरूको 
दिनदेखि प्रतिगामी कदमको प्रतिरोध थालिएको भए राजा छिट्टै गल्ने थिए ।”

(जगत नेपालद्वारा लिखित पुस्तक ‘विपिको विद्रोह’ को अंश)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...