शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सय वर्षको जीवन चाहिएको छ भने यो काम गर्नुहोस्

आइतबार, ०१ पुस २०७५, ०८ : १३
आइतबार, ०१ पुस २०७५

जेमी फेल्डमर/ बीबीसी

‘ब्लू जोन्स’ का लेखक डान ब्यूटनरले संसारका ती पाँच स्थानको अध्ययन गरे जहाँका मानिसहरु लामो जीवन बाँचेका कारण चर्चित छन् ।

ती हुन् – जापानको ओकिनावा, कोस्टा रिकाको निकोया, ग्रिसको इकारिया, क्यालिफोर्नियाको लोमा लिन्डा र इटलीका सर्डिनिया ।

यसका बासिन्दामा केही कुरा समान देखिए जस्तै सामाजिक सुरक्षा तन्त्र, दैनिकको व्यायाम र शाकाहार ।

यीमध्ये अर्को एउटा कुरा समान देखियो । यी सबै समूदायका मानिसहरु बुढेसकालसम्म खेतीपाती गर्छन् – ८० वर्ष, ९० वर्ष र योभन्दा बढी हुँदा पनि ।

के बोटबिरुवाको हेरबिचार गरेर तपाईं सय वर्षको जीवन पाउन सक्नुहुन्छ ?

शारिरिक श्रमसहित बाहिर घुम्ने–डुल्नेको सम्बन्ध लामो उमेरसँग जोडिएको हुन्छ । खेतीपाती यी दुबैलाई पूरा गर्ने सजिलो तरिका हो ।

ब्यूटनर भन्छन्, ‘यदि तपाईं खेतीपाती गर्नुहुन्छ भने तपाईं दिनभरी केही हल्का शारिरिक व्यायाम गर्नुहुन्छ र तपाईं नियमित रुपमा काम गर्नुहुन्छ ।’

खेतीपाती गर्ने मानिसहरु लामो वर्षसम्म बाँच्छन् र कम तनावमा रहने कुरा पुष्टि भइसकेको ब्यूटनर बताउँछन् ।

विभिन्न अनुसन्धानले खेतीपाती गर्ने व्यक्तिहरुको शारिरिक र मानिसक स्वास्थ्य दुबै चुस्त एवं दुरुस्त रहने बताइसकेको छ ।

नेदरल्याण्डमा हालै गरिएको एक अनुसन्धानमा सहभागीलाई एक मुश्किल काम गर्न अह्राइयो र यसका लागि दुईवटा समूह बनाइयो ।

एउटा समूहलाई ३० मिनेटसम्म घरभित्र पढिराख्न भनियो भने अर्को समूहलाई त्यति नै समयका लागि खेतीपातीका लागि बाहिर पढाइयो ।

जो मानिस घरभित्र बसेर पढिरहेका थिए उनीहरुको मुड खराब भएको देखियो । खेतीपाती गर्ने मानिसहरुको कार्टिसोल हर्मोनको स्तर त घट्यो नै उनीहरुको मुड पनि निकै राम्रो भयो ।

६० वर्षका पुरुष र महिलामाथि अध्ययन गरिरहेका अष्ट्रेलियाली अनुसन्धानकर्ताले नियमित रुपमा खेतीपाती गर्ने मानिसहरुमा अरुको तुलनामा डिमेन्शिया (स्मरणशक्ति घट्ने रोग) को खतरा ३६ प्रतिशतसम्म कम थियो ।

खेतबारीमा रहँदा हर्टिकल्चर थेरापीमार्फत डिमेन्शिया र अल्जाइमरजस्ता रोगबाट ग्रसित वृद्ध–वृद्धालाई फाइदा पुग्छ ।

सूर्यको किरण र ताजा हावाले वृद्ध–वृद्धालाई शान्त रहन मद्दत गर्छ । बोटबिरुवा र सागसब्जीको रंग र त्यसको बनावट हेरेर र छोएर स्मरणशक्तिलाई सुधार्न सकिन्छ ।

बुढेसकालका केही उपचार छैन तर पनि विज्ञानले भन्छ कि खेतीपाती गरेर जीवनलाई सुधार्न सकिन्छ ।

खेतीपातीको असर तपाईंको स्वास्थ्यमा मात्र पर्दैन । यसको सामाजिक फाइदाले पनि उमेरलाई लामो बनाउन सक्छ ।

हवाई युनिभर्सिटीका डाक्टर ब्रेडले विल्कक्सले ओकिनावामा सय वर्ष पूरा भइसकेका मानिसमाथि अध्ययन गरेको छ ।

ओकिनावामा सय वर्षका मानिसहरुको अनुपात संसारमा सबैभन्दा धेरै छ । हरेक एक लाख जनसंख्यामा करिब ५० मानिस सय बढी उमेरका छन् ।

यहाँका थुप्रै मानिसहरु बुढेसकालमा पनि एउटा सानो नीजि बगैंचाको रेखदेख गरिरहेका हुन्छन् । विल्काक्सका अनुसार खेतीपाती अन्य आवश्यक कारकसँग मिलेर उमेर बढाउनमा मद्दत गर्छ ।

उनी भन्छन्, ‘ओकिनावामा मानिसहरु भन्छन् कि स्वस्थ वद्ध–वृद्धालाई बाँच्ने एक कारण चाहिन्छ । खेतीपाती हरेक बिहान उठ्नका लागि प्रेरित गर्छ ।’

विल्काक्सका अनुसार ओकिनावाका मानिसहरु सामाजिक साझेदारीको अवधारणलाई पनि निकै महत्व दिन्छन् ।

‘सँगैसँगै बजार जानु,  आफूले फलाएको खानेकुरा ल्याउन, खेतको नयाँ कुरालाई साझा गर्नु निकै ठूलो सामाजिक गतिविधि हो । यसले मानिसहरुबीच जरैदेखि जोडिएको महसुस हुन्छ ।’

अन्य व्यक्तिसँग जोडिएको महसुस हुन अत्यावश्क छ । त्यति नै महत्वपूर्ण प्रकृतिसँग जोडिनु पनि हो ।

हार्वर्ड युनिभर्सिटीको एक अनुसन्धानमा जो मानिसहरु हरियालीबीच बस्छन्, उनीहरुको उमेर लामो हुन्छ भन्ने तथ्य पत्ता लागेको छ । त्यस्ता व्यक्तिमा क्यान्सर र सासको रोग हुने खतरा पनि कम हुन्छ ।

स्कटल्याण्डका डाक्टर रक्तचाप र चिड्चिडापनसमेत विभिन्न रोग हटाउन र खुसी बढाउनका लागि प्राकृतिक हरियालीबीच घुम्न सल्लाह दिन्छन् ।

खेतीपाती, शहरको कुनै सानो जग्गामा मात्र किन गरिएको नहोस्, आफ्नो दैनिक जीवनमा प्रकृतिलाई समावेश गर्ने एक सजिलो उपाय हो ।

लामो उमेरका लागि आहार पनि निकै महत्वपूर्ण छ जसमा खेतीपातीले सहयोग गर्न सक्छ ।

सागसब्जी, फलफूल, गेडागुडी, माछा, जैतुनको तेलले बुढ्यौलीको गती कम गर्ने गर्छ ।

विल्कक्स भन्छन्, ‘खेत र बजारका ताजा सागसब्जी भरपुर मात्रामा खानु लामो उमेरकमा लागि निकै महत्वपूर्ण छ । ’

ओकिनावामा धेरैजसो मानिसहरु आफ्नो खेतमा तरबूजा र शख्खरखण्ड उब्जाउँछन् ।

‘जब तपाईं आफैंले फलाएको सागसब्जी, फलफूल खानुहुन्छ यसले सबैकुरा परिवर्तन गरिदिन्छ । ती निकै स्वादिला हुन्छन् र निकै गुणकारी पनि ।’

आफैंले खेतमा उब्जाएको सागसब्जीमा रोग बढाउने फाइटोएक्टिव कम्पाउन्ड कम हन्छ ।

ब्लू जोन्सका विशेषज्ञ ब्यूटनर खानामा ९० प्रतिशतसम्म शाकाहार विशेषगरी सागसब्जी र गेडागुडी समावेश हुनुपर्ने सल्लाह दिन्छन् । उनी भन्छन्, ‘खेतीपाती गर्ने मानिसहरु सागपात नै लगाउँछन् जुन उनीहरुले खाने गर्छन् ।’

गाउँघरमा खेती किसानी गर्नेहरुका लागि यो सामान्य कुरा हो । खेती सबैभन्दा स्वस्थ राख्ने पेशामध्येको एक हो । यसबारे केही प्रमाणले संकेत दिएका छन् ।

अष्ट्रेलियामा भएको एक अनुसन्धानमा किसानलाई गम्भीर रोग लाग्ने आशंका एक तिहाई कम हुने बताइएको छ । गैर–कृषि श्रमिकको तुलनामा कृषकहरु ४० प्रतिशत कम अस्पताल जान्छन् ।

अमेरिकामा अनुसन्धानकर्ताले किसान र अन्य व्यक्तिको मृत्युदरको तुलना गर्दा किसानलाई क्यान्सर, हृदयरोग वा मधुमेहबाट मृत्यु हुने सम्भावना निकै कम रहेको पाइयो ।

स्विडेन र फ्रान्समा भएको एक अध्ययनले पनि किसान गैर–किसानभन्दा स्वस्थ हुने निष्कर्ष निस्कियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप