शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र पौडेलको प्रश्नः ‘फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुँदैन ?’

शनिबार, २९ मङ्सिर २०७५, १८ : २०
शनिबार, २९ मङ्सिर २०७५

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताएका छन् । शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एकता देखाउनका लागि मात्रै नभई यथार्थमा पार्टी एकता हुनुपर्ने बताएका हुन् । 

उपसभापति विजय कुमार गच्छदारले हात उठाएर एकताको सन्देश दिन गरेको आव्हानप्रति लक्षित गर्दै उनले हात उठाएर मात्रै एकताबद्ध नहुने उल्लेख गरे । एकताको वैज्ञानिक आधार खडा गरि कार्यगत र ठोस एकता हुनुपर्नेमा उनले जोड दिए । 

युवा अवस्थादेखि सभापति देउवा र आफ्नो एउटै लक्ष्य र संघर्ष गरेका मान्छेका बीचमा मेल किन नहुने भन्दै उनले महासमिति सदस्यहरुलाई प्रश्न गरे, ‘फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुँदैन ? फेरी जिल्लामा गएर छिड्के दाउ खेल्नुहुन्छ कि हुँदैन ?’ 

अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भने जस्तो विगतमा पनि एकता भएको सन्देश दिएर पार्टी ठूलो दुर्घटनामा परेको उल्लेख गर्दे उनले भने, ‘यथार्थबादी बनेर विषय, कार्यशैली र पार्टी भित्रको कमजोरी हटाउन एकता गरौं ।’ 

नेपाली कांग्रेस धेरै ठूलो संकटमा भएको भन्दै उनले त्यसको सामना गर्नका लागि पार्टीभित्र एकता हुनुपर्ने उल्लेख गरे । विगतमा उम्मेदवारीको टिकट दिँदा गल्ती भएको भन्दै सही मुल्यांकन गरेर क्षमता र योगदानको कदर गर्नुपर्नेमा उनले जोड दिए । उनले आगामी चुनावमा ठुलो पार्टी बन्ने तयारीका साथ पार्टीले कार्यतालिका बनाई आफ्ना कार्यक्रमहरुलाई अघि बढाउनुपर्र्ने बताए । 

कम्युनिष्टकै लहै–लहैमा लागेर कार्यकर्ताहरुले पनि नेताहरुलाई विपीको बाटो छोडे भन्ने आरोप लगाउने गरेको भन्दै उनले नेतृत्वले विपीको बाटो नछोडेको दाबी गरे । बहुलवादमा आधारित संसदीय लोकतन्त्र, गाउँमा अधिकार पुर्याउने, ग्रामिण विकासदेखि मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनेलगायत काम विपीकै चाहाना अनुरुपका भएको दाबी उनले गरे । 

नयाँ शाषक जन्माउनेतर्फ सरकारका कामहरु अघि बढेको भन्दै उनले सरकारका गलत क्रियाकलाप विरुद्ध एकजुट हुनुपर्नेमा पनि उनले जोड दिए । सम्वृद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि सरकार त्यसको बाटोमा अघि नबढेको ठोकुवा गरे । आफ्नो नारा अनुसार सरकारका क्रियाकलाप केन्द्रीत नभएकाले जनताले कांग्रेसको प्रतिक्षा गरिरहेको दाबी पनि उनले गरे । 

असिमिति भोगको लालसामा नपर्न पनि उनले आग्रह गरे । कांग्रेस एक नभएसम्म सरकारको अधिनायवादी शैलि विरुद्ध लड्न नसकिने भन्दै उनले कार्यगत एकता हुनुपर्ने जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप