मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा

शनिबार, २९ मङ्सिर २०७५, १६ : १७
शनिबार, २९ मङ्सिर २०७५

भरतपुर । सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला भएका छन् । प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे । 

कार्यक्रममा सभामुख महराले सङ्घीयता असफल भए मुलुक असफल हुने धारणा राखे । उनले सङ्घीयता बलियो बनाउन राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए । सरकारलाई सफल बनाउन ऐन, नीति नियम निर्माणमा सहयोग गर्न महराले आग्रह गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै प्रदेशमा आधुनिक किसिमको संसद् भवन निर्माण गर्नुपर्ने बताए । भौतिक संरचना बनेपछि काम कारवाही प्रभावकारी हुने उनको भनाइ छ । 

सङ्घीय संसद् र प्रदेशसभाका अधिकारबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने र त्यसपछि प्रदेशलाई कानून बनाउन सहज हुने अध्यक्ष तिमिल्सिनाले बताए । प्रदेशमा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापन मुख्य समस्या रहेको भन्दै त्यसलाई समाधान गरिने उनको भनाइ छ । 

प्रदेशसभाले गरेका काम र अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको प्रदेश नं ३ का सभामुख सानुकाजी श्रेष्ठले जानकारी दिए । उनले कानून निर्माणमा कसरी सहकार्य र समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताए । छलफलबाट निस्केका निष्कर्षसहितको चितवन घोषणापत्र जारी गर्दै भेला आजै सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप