केन्द्रीय संस्करण

पुराण, दन्त्यकथा र हामी

person explore access_timeमंसिर २९, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

                                                            
१) सत्ता महात्म्य

     सत्तामा पुगेपछि साधारण उडुसहरु रक्तपायी हात्ती बन्छन् । लामखुट्टेहरु नरभक्षी गरुड बन्छन् । उपियाँहरु रामायणका सुवाहु र मारिच बन्छन् । लङ्काबाट समुद्र फड्केर दण्डकारण्य आइपुग्छन् । यसै भएर हाम्रा पुराणहरुले मुक्तकण्ठले गाएकाछन् सत्ता महात्म्य ।
 

  ‘मद’बाट ‘मादकता’ बन्छ । यौवन पनि एउटा ‘मद’ हो । ‘धनसम्पत्ति’ अर्को ‘मद’ हो । ‘सत्ता’ त्यसभन्दा कैयौं गुना चर्को ‘मद’ हो । चारौं नम्बरको अझै ‘मोहान्धकारी मद’ हो ‘अविवेकिता’ । अर्थात् विवेकहीनता । सत्तामा छ , निर्णायक ठाउँमा छ, विवेक छैन, सल्लाह रुचाउँदैन, आलोचना सुन्दा बुरुक्क बन्छ, यो अवस्था भनेको रातो देखेर जाइलाग्ने मदोन्मत्त साँढेकोभन्दा हजाराँैं गुना खतरनाक अवस्था हो  ।

यस्तो अवस्थामा अरुलाई खाडलमा पार्छु भनेर उफ्रँदा आपैm खाडलमा जाक्किन पनि सकिन्छ । यसैले पुराणविद्हरु वेन लगायत अनेकौं राजाहरुकोे उदाहरण दिछन् र भन्छन्, ‘सत्तामा हुनु र विवेक नहुनु’ स्वयम्मा एउटा ‘विष्फोटक खतराको स्थिति’ हो । विवेकहीनताको विस्फोटमा पर्दा सत्तासीन व्यक्ति स्वयम्लाई भयङ्ंकर हानि हुनसक्छ । यसैले जीवनका साधनामध्ये सर्वाधिक महत्वपूर्ण साधना ‘विवेकसाधना’ हो ।

अध्ययन, मनन, चिन्तन र अभ्यासद्वारा गरिने विवेकसाधना भनेको जीवनमा ‘तेस्रो आँखा उमार्ने साधना’ हो । इमानदार एवम् विश्लेषण क्षमतायुक्त सल्लाहकारहरु र आफुमा उमारिएको विवेक नै शासकका अत्यावश्यक ‘अन्तर्नयनहरु’ हुन् ।

टल्ल हेर्ने आँखा होइन झललल्ल देख्ने आँखाहरु हुन् । तत्वदर्शी आँखाहरु हुन् । मदोन्मत्तहरुमा यस्ता आँखाहरु उम्रनै भ्याउँदैनन् । मदोन्मत्तहरु त जथाभावी भिड्ने मानसिकतामा हुन्छन् । शरीरले नसके मुखले भिड्छन् । वाचाल बोलीले भिड्छन् । घमण्डका उद्दण्ड अभिव्यक्तिले भिड्छन् । ‘ल आइज तँलाई म यहीँ ढालिदिन्छु ! । आइज म तँलाई दश वर्ष पढाइदिन्छु !’ .....आदि इत्यादि शव्दहरुले भिड्छन् । श्रोताहरु सुनेर हाँस्छन् । दर्शकहरु देखेर हाँस्छन् । हामी यस्ता पुराण र पुराकथाका धनी छौं ।
 

  कुनै समय थियो हाम्रो आजको थानकोटलाई शाोणितपुर भनिन्थ्यो । शोणितपुर राजा वाणासुरको राजधानी थियो । यस राज्यको सीमा कहाँसम्म थियो स्पस्ट छैन । पुराणविद्हरु भन्छन् काठमाडौको तत्कालीन देवपत्तननजिकै वाणासुरले स्थापना गरेको शिवलिङ्ग वाणेश्वर अद्यावधि छ । त्यस भूक्षेत्रको नामै वाणेश्वर अर्थात् बानेश्वर पनि अद्यावधि चल्तीमै छ । वाणासुर वाहुवली  थियो । उसका पाखुरामा हजार हातका उर्जा थिए । उ आफ्नो समयको बेजोड योद्धा थियो ।

हाम्रा पुराणहरुमा वाणासुरका अनेकौं कथाहरु छन् । कथाअनुसार सीतास्वयम्वरमा वाणासुर राजा जनकको राजधानी जनकपुर पनि पुगेको थियो । उसले शिवधनुषतिर हात बढाएन । वाणासुर शिवको परिपक्व उपासक थियो । यसैले उ त्यहाँ संयमी देखिन्थ्यो । भागवत पुराणअनुसार बुढेसकालमा वाणासुरले कृष्णलाई पनि युद्ध मैदानमै भेट्यो । वाणासुरलाई भेट्न कृष्ण द्वारकाबाट शोणितपुर आइपुगेका थिए । उमेरमा वाणासुर प्रायः लडाइँमै लागिरहन्थ्यो । योद्धाहरु उसको अगाडि पर्न हिचकिचाउँथे । एक पटक आफ्ना उपास्यदेव शिवसँग उसले भनेको थियो— 
    “साँच्चै लड्न नपाई वाहुली हजार् मेरा चिलाए यहाँ । 
    जोडी छैन मलाई लड्न गरुँ के सारा त्रिलोकीमहाँ ?”
 

  शिवले जवाफमा मुस्कुराउँदै सोधेका थिए, “त्यसोभए तिमी मसँगै लड्छौ त ?” शिवको यस सोधाइमा वाणासुर तत्काल नतमस्तक बनेको थियो । 
 

  पुराणविद्हरु भन्छन्, ‘विकट उर्जावान् वाणासुरमा पनि आवश्यक विनम्रता थियो । उ आफ्ना विधाता शक्तिका अगाडि सरलतासाथ झुक्न पनि सक्थ्यो । यसैले उ बुढेसकालसम्म सत्तासीन रहेरै बाँच्यो ।
    अहिले हामीकहाँ प्रधानमन्त्री बडो चर्चामा हुनुहुन्छ । वहाँभन्दा बढी वहाँका बोलीवचन चर्चामा छन् । वहाँ कहिले मुलुकका जागरुक महिलाहरुलाई ट्याउँट्याउँ नबोल्न सल्लाह दिनुहुन्छ त कहिले मुलुकका विद्वान् बुद्धिजीवीहरुलाई आफुसँग आमनेसामने भएर भिड्न आह्वान गर्नुहुन्छ ।

    पुराणका वाणासुरलाई वाहुली चिलाएजस्तै हाम्रा प्रधानमन्त्रीज्यूलाई बुद्धि चिलाउँछ र बुद्धिजीवीहरुसँग आमनेसामने भएर भिड्ने हौसला जाग्छ । हाम्रा बुद्धिजीवीहरु पनि बढी नै विनोदप्रिय छन् । यसैले प्रमको हौसला बढाउन मिडियामा हजारौं प्रश्न गरिबस्छन् ।
    लाग्छ, हामी अझै पुराणकै युगमा छौं ।

२) होचा मान्छेको खोजी
    प्रसङ्ग मध्ययुगीन हुनुपर्छ । एउटा राजाको प्रसङ्ग । मैले यो दन्त्यकथाका रुपमा सुनेको हूँ । एकादेशका त्यस राजाका राज्यमा पनि विभिन्न किसिमका मानिसको बसोबास थियो । राजाका भाइभारदारहरुको रमझम आफ्नै थियो । साहू सामन्त   जमीनदारहरु मालिकका दर्जामा थिए । बाँकी रैती थिए ।  रैतीलार्ई प्रजा पनि भनिन्थ्यो । प्रजाहरु सुखी थिएनन् । , जसोतसो बाँचेका थिए । 

    यसैबीच एक पटक राज्यमा केही डाँकाहरुले भयङ्कर लुटपाट र हत्याकाण्ड मच्चाए । प्रजामा हाहाकार मच्चियो । राजाकोमा बिन्ती बिसाए । राजाले अपराधीहरु पहिल्याउन र सजाय दिन प्रहरीहरु खटायो । व्यापक खोजबीनपछि प्रहरीहरुले अपराघीहरु समाते । दस्तूरअनुसार राजाका समक्ष पेश गरे । राजाले ‘यी अपराधीहरुलाई फाँसीको सजाय दिनू’ भन्ने हुकुम सुनायो ।

    हुकुमबमोजिम राजाका प्रहरीहरुले अपराधीहरुलाई फाँसीका तख्तहरुमा पु¥याए । फाँसी दिन लाग्दा थाहा भयो अपराधीहरु  अग्ला थिए । तिनीहरुका लागि मौजुदा तख्तहरु होचा भए ,। प्रहरुीहरुले राजाकहाँ गएर व्यहोरा जाहेर गरे । राजाले तत्काल अर्को हुकुम दिँदै भन्यो, यी अपराधीहरु अग्ला छन् भने यिनीहरुलाई छोडिदिनू । ठिक्कका होचा मान्छे कता छन् तिनलाई ल्याएर फाँसी दिनू । त्यसपछि प्रहरीहरु अग्ला अपराधीहरुलाई फुक्का छोडिदिएर होचा सर्वसाधारणको खोजीमा निस्के । निरपराध भए पनि जो होचा थिए तिनले फाँसीको सजाय पाए ।

    यो कथा आजको नेपालमा पनि सान्दर्भिक लाग्न थालेको छ । वहुचर्चित निर्मला पन्त बलात्कार तथा हत्याका जघन्य अपराधीहरु पहिचान गर्ने र पक्राउ गर्ने क्रममा प्रहरीबाट अहिले कुखुराचोरहरु पक्राउ पर्न थालेका सुनिन्छन् । सुनचोरहरुभन्दा कुखुराचोरहरु धेरै नै होचा हुन सक्छन् । खास अपराधीभन्दा पनि यी कुखुराचोरहरु होचा भेटिएका हुनसक्छन् । समाजमा जो सत्तामा छैन, सत्ताको वरदानप्राप्त पनि छैन त्यो स्वतः होचो मानिन सक्छ ।

सत्तासीनहरु अग्ला हुन्छन् । चोरहरुमै पनि सवैभन्दा होचा चोरहरु शायद कुखुराचोरहरु नै हुन् । अनि ती पक्राउ नपरेर अग्लाहरु कसरी पक्राउ पर्ने ? ‘जो होचो त्यसको मुखमा घोचो !’ चल्तीको उखान पनि छ । उखान तुक्काले महत्ता पाएको मौसम पनि छ ।
 

  यो सवै देख्दा सुन्दा कहिले त लाग्छ आजको हाम्रो नेपाल पनि दन्त्यकथाको एकादेश नै हो ।
    
  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...