शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथा : छोरी खोई त ?

शनिबार, २९ मङ्सिर २०७५, ११ : २३
शनिबार, २९ मङ्सिर २०७५

–लक्ष्मीविलास कोइराला
 

स्कुलबाट बोटानिकल शैक्षिक भ्रमणमा गोदावरी जाने कार्यक्रम छ, मम्मी । हामी स्कुल चार बजे नै आइपुग्छौँ, साढे चार बजे त घरै आइन्छ भन्दै छोरीले जानकारी दिएकी थिइन् । छोरी कतै नयाँ ठाउँमा जाने भनेपछि उषा र उत्तम दुवैजना छोरीलाई स्वरक्षाका धेरै उपाय र कलाहरू दोहोर्याई तेहर्याई सम्झाउने गर्थे । नजाऊ भन्न नसकेपछि के गरून् र विचरा । आज पनि उनीहरूले छोरीलाई धेरै सम्झाए । हस् डयाडी, हस् मम्मी भन्दै छोरी स्कुल गइन् । 

चार बज्यो । साढे चार बज्यो । भनेअनुसार छोरी घर आईसक्नुपर्ने हो । पाँच बज्यो । छ बज्यो । उत्तम र उषाले पालै पालो छोरीलाई फोन गरे । छोरीको मोबाइलमा “मोबाइलको स्विच अफ गरिएको छ”, भन्ने सन्देश आइरहयो । छोरीको मिल्ने साथी तारालाई फोन गरे । उनको फोनमा पनि घण्टी गइरहयो तर उठेन । उषा र उत्तम आत्तिन थाले । घाम अस्ताए । साँझ पर्यो । छोरी स्कुलबाट फर्किइनन् । दम्पती शङ्का उपशङ्काले निर्मित चिन्ता, पीर र पीडाको पोखरीमा खसे । 

उत्तमले टीभी खोले । कञ्चनपुर जिल्लामा एक किशोरी निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको ब्रेकिङ न्युज टिभीमा बज्यो । उषा उत्तमको होस ठेगानमा रहेन । टिभीको समाचार सुन्नै डराए । टिभी बन्द गरे । अध्याँरो बढ्दै गयो । उषा भित्र र बाहिर गर्न थालिन् । उत्तम छोरी आउने बाटोमा ओहोर दोहोर गरिरहे । 

छोरी खोई त ? उषाले पिलपिलाउँदै उत्तमलाई सोधिन् । 

हाम्री छोरी हक्की, कडा मिजासकी र बाठी छन् । बोल्न सक्छिन् । प्रतिरोध गर्न सक्छिन् । पीर नगर उषा । उत्तमले पत्नीलाई सम्झाउने कोशिस गरे । 

छोरी मान्छेको शरीर, राक्षसहरू... उषा कहालिँदै उत्तमको काखमा घोप्टिइन् । 

उत्तम थप बोल्न सकेनन् । आँखा रसिला बनाएर पत्नीको छटपटी हेरिरहेँ । मनमा छोरीमाथि हुन सक्ने हिंसाका घटनाहरू चलचित्रको पर्दामा झँै एक एक गरी आउन थाले । दुवैको मन सम्हालिन सकेन् । 
हे प्रभु ! हाम्री छोरीलाई केही नहोस् । उनीहरू भगवानको शरणमा परे । 

जति गर्दा पनि उषा र उत्तमको मनमा नराम्रा नराम्रा कुराहरू खेल्न छाडेनन् । उनीहरू मनमनै तर्कवितर्क गर्दै छोरी आउने बाटो कुरिरहे । मोबाइलमा फोन लाग्छ कि भनेर कोसिस गर्दै रहे ।   

स्कुलका शिक्षक नै बदमास हुन्छन् भन्छन् । उनीहरूले शिक्षकबाट नै छोरीलाई सुरक्षित देखेनन् । बाटोमा कुनै चिनेको छिमेकीले भेटेर नानी म घर पुर्याइदिन्छु भन्दै बेपत्ता पार्यो कि ? उनीहरूले

छिमेकीहरूलाई धिक्कारे । नातेदार पनि कम हँुदैनन् छोरीबेटीमाथि हिंसात्मक आक्रमण गर्न त ? दम्पती फतफती पाक्दै गए । छोरी आउँदै होलिन् भन्ने आशा गर्नै सकेनन् । 
चिन्ता र चिन्तन दुवैको मनमा लटारिई रहे । 

छोरी घरबाट बाहिर निस्केपछि बाबुआमा सधैँ डराइरहनुपर्छ । छोरीका लागि सधैँ असुरक्षा किन र कहिलेसम्म ? छोरीलाई स्वतन्त्रतापूर्वक सुरक्षित भएर हिँडडुल गर्न, घुम्न अनि रमाउन पाउने हक छैन र ? छोरी हुर्कंदै ठूली हुँदा बाबुआमालाई रमाइलो हुनुको बदलामा पिरलो हुने वातावरण कसले बनायो ? समाजले, संस्कृतिले, आधुनिक सभ्यताले कि सरकारले ? दम्पती भुटभुटाइरहे । “छोरी बाहिर निस्केर घर नफर्केसम्म हामी सधैँ मरेतुल्य भई बाँच्नुपर्ने” ? डरलाग्दा डरलाग्दा कुराहरू बाबुआमाको मनमा सलबलाइरहे ।

सानो किराना पसल चलाएर उषा र उत्तम आनन्दसँग बाँचेका थिए । छोरीलाई देशको ठूलो मान्छे बनाउने उनीहरूको चाहना थियो । लक्ष्य थियो ।   

लक्ष्मीको आगमन भयो घरमा भन्दै उत्तम र उषाले गाउँलेहरूसँग छोरी जन्मेको खुसी साटेका थिए । छोरी हुर्कंदै गइन, चन्द्रकलाझैँ । छोरीको थिरिथिरी, तोतेबोली र प्रश्नमाथि प्रश्नको ओइरोले उत्तम र उषा आप्mना सबै तनाव र अप्ठ्याराहरू विर्सिएर छोरीसँगै रमाइरहन्थे । छोरीलाई खाना खुवाउँदा “को खाई को खाई, नानी खाई” गर्दाको रमाइलोको त के बखान गर्नु र ? छोरीसँग खेल्न जोईपोइबीच तँछाडमछाड नै हुने गथ्र्यो । छोरी हुर्कंदै जाँदाको रमाइलो र खुसीले गगन चुम्न खोज्दथ्यो । एउटा छोरी भएपछि उत्तम र उषालाई अर्को बच्चा जन्माउने खासै इच्छा र रहर कहिल्यै भएन । आफ्नो सम्पूर्ण माया र समय छोरीमाथि नै न्यौछावर गरेका थिए, उनीहरूले । कविमनका उत्तमले छोरीको प्रशंसामा “घरकी लच्छिन्, घरकी शोभा, रङ्गीचङ्गी छोरी, लाग्छ छोरी खेल्न घर, स्वर्ग नै पो हो कि” भन्दै कविता नै लेखेका थिए ।
छोरी हुर्कंदै जानु र त्यहीबेलामा सञ्चार माध्यमहरू रेडियो टेलिभिजन, पत्रपत्रिका र अनलाइन मिडियामा छोरीमाथि हुने विभिन्न खाले हिंसाका घटनाहरू आइरहनु संयोग मात्र थिएन । हाम्रो समाजको यथार्थ थियो । समाचार पढ्दा, सुन्दा र हेर्दा उत्तम र उषाको आङ सिरिङ्ग गथ्र्यो । दम्पती डराउँथे । जे–जे सोचेर डराए पनि डराएको भावना दम्पतीबीच नै पनि उनीहरूले बाँडन सकेका थिएनन् । 
छोरीलाई स्वच्छन्द भएर खेल्ने र घुमफिर गर्ने वातावरण कसरी बन्छ ? कसरी छोरीको क्षमताको प्रष्फुटन हुन सक्छ ? छोरीलाई कसरी हुर्काउने, बढाउने र सवल नागरिक बनाउने ? भन्ने भय र चिन्ता उषा उत्तममा छोरीसँगै हुर्कंदै गइरहेको थियो ।

स्वदेशी विदेशी मिडियाहरूमा महिला हिंसा र मिटुका बहसहरू एकनासले बजिरहेका हुन्थे । मिडियाको समाचारले सूचना दिएको हो कि ? पीडा दिएको हो ? उषा र उत्तमले बुझन सकिरहेका थिएनन् । समाचार लेखनलाई बुद्धिमत्ताढङ्गले लेखिएन वा सम्पादन गरिएन भने त्यो समाचारले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ । नराम्रो एउटै समाचार बारम्बार आइरहँदा पनि त राम्रो लाग्दो रहेनछ । दम्पती मिडियामा आउने समाचारप्रति गम्भीर बनेका थिए ।

हाम्रा धर्मशास्त्रहरू नारीको सम्मान गर्नुपर्ने पक्षमा वकालत गर्छन् । जहाँ नारीको सम्मान र पूजा हुन्छ त्यहाँ नै देवताको बास हुन्छ । नारी प्रसन्न भए घर सुखी हुन्छ भन्ने मनुको उक्ति छ । हामी छोरीबहिनी आमाको कुनै नै कुनै रूपमा पूजा गर्छौं । तर तिनै दिदीबहिनी र छोरीमाथि समाज किन हिंस्रक बनेको होला ? किन दिदीबहिनीको सम्मान गर्न नजानेको होला ? नारीको सम्मान गर्नु आफ्नै आमा छोरीबहिनी र श्रीमतीको अस्मिताको सम्मान र रक्षा गर्नु हो नि । किन पुरुषहरूले ज्ञान ग्रहण गर्न नसकेको होला ? उषा र उत्तम आपसमा छलफल गर्दथे । 

पढाइप्रति छोरीको लगाव आशाअनुरूप नै थियो । किताबी ज्ञान र बाह्य ज्ञान दुवै थियो उनलाई । छोरी स्कुल जान थालेपछि उत्तम र उषाले नित्य स्कुल लाने ल्याउने गर्थे ।
ड्याडी ! अब म ठूली भइसकेँ । एघार पढ्दैछु । अब हजुरहरूले ल्याउन पुर्याउन पर्दैन क्या, स्कुल । मलाई त लाज लाग्छ, साथीहरूको अगाडि । छोरीले आफनो अप्ठ्यारो बताइन् । 
हो र नानु ? उषाले हाँस्दै सोधिन् । 

मम्मी ! अब म इन्डिपेन्डेन्टली हिँड्नु परेन भन्या ? छोरी झर्कंदै आफ्नो कोठाभित्र छिरिन् । 

छोरीको आग्रहअनुसार उषा उत्तमले छोरीलाई एक्लै स्कुल जान आउन दिएका थिए । तर मिडियामा आउने महिला र बालिकामाथि भएका हिंसा र बलत्कारका समाचारहरूले उनीहरू कुनै दिन पनि निर्धक्कसँग बस्न भने सकेका थिएनन् । बिहान छोरी स्कुल पुगिन् कि पुगिनन् भन्ने चिन्ता र बेलुका छोरी समयमा फर्किन्छिन् कि फर्किनन् भन्ने पीरले सताइरहन्थ्यो । छोरीको चाहना अगाडि आफ्नो

संरक्षण गर्ने दायित्व र जिम्मेवारीलाई दबाउनुपर्ने बाध्यता उनीहरूले खेपिरहेका थिए । 

छोरी एक्लै स्कुल जान थाले पनि उषा र उत्तम चनाखो बनेर छोरी आउने जाने समयको मिनेट मिनेट हिसाब गर्थे । छोरी फर्किएपछि मात्र उनीहरूको अनुहार चम्किलो देखिन्थ्यो । 

नानी ! एकान्त बाटो हिँड्नु हुँदैन । बाटोमा कसैसँग बोल्नु हुँदैन । उनीहरूले माया गरेझैँ गरेर दिएको चीज लिनु हुँदैन र खान पनि दिनु हुँदैन । उत्तमले छोरीलाई कण्ठ बनाएका थिए । 
किन ड्याडी, हामी बाटोमा हिँड्दा पनि डराएर हिँड्नु पर्ने ? छोरीको बालसुलभ जिज्ञासा हुन्थ्यो ।

एक्लै भएको बेलामा बोल्न र माया गर्न खोज्नेहरू सबै “ब्याड म्यान” हुन् । फकाएर लैजान्छन् । हाम्रो पेट चिरेर लिभर, किड्नी निकाल्छन् र बेच्छन् । हाम्रो इज्जत लिलाम गर्छन् । जिस्क्याए भने पनि वास्ता गर्नु हँुदैन । उत्तमको कुरा सुनेर छोरी बेस्सरी तर्सिन्थिन् । 

म त कसैसँग पनि बोल्दिनँ र कतै पनि नहेरी आफ्नो बाटो हिँडिरहन्छु । छोरीले मम्मी ड्याडीलाई भरोसा दिन्थिन् । 

लोग्ने मान्छेहरू नि नानी, केही न केही निहँुमा छोरी मान्छेको शरीर छुन खोज्दछन्, एकोहोरो हेर्छन् । बसमा चढ्दा, भीडमा हिँड्दा, जात्रा जाँदा, एक्लै हिँड्दा, घर, स्कुल र अफिसमा रहँदा हामी चनाखो बन्नुपर्छ । कसैले एक्लै भएको बेलामा पछ्याएको जस्तो लाग्यो भने कि पसलभित्र छिर्नु पर्छ कि कसैको घरछेउ जानुपर्छ । उषा छोरीलाई रटाइरहन्थिन् । 

केटा मान्छेहरू सबैलाई सानै उमेरदेखि केटी मान्छेहरूलाई रेस्पेक्ट गर्न सिकाए त हामीलाई जथाभावी जिस्काउँदैनन् नि मम्मी । छोरीले गम्भीर तर्क राखिन् ।

हो त नि छोरी । सबैको घरमा छोरीबहिनी छन् नि । आफ्नो छोराहरूलाई सानै उमेरदेखि नैतिक शिक्षा दिने, सभ्य हुन सिकाउने काम त हरेक बाबुआमाको कर्तव्य नै हो । तर खोई कसैले बुझेको नै छैन् ।

घटना भैसकेपछि पछुताएर के गर्ने ? उषाले दिक्दारी प्रकट गरिन् । 

सोसाइटी नै चेन्ज हुनु पर्यो, पूरै । छोरी सधैँ गम्भीर कुरा गर्थिन् ।   

अँध्यारो बाक्लिँदै गयो । आकाश बादलिँदै गयो । हावा चल्यो । गड्याङ गुडुङ गर्दै पानी छिट्याउन थाल्यो । अँध्यारो बढ्दै जाँदा शङ्का उपशङ्का र डरको पारो पनि चढ्दै गइरहेको थियो । छोरी भने अझै फर्केकी थिइनन् । 

छोरी खोई त ? छोरी नफर्केको पीडामा उषा उत्तम छटपटाइरहे । बाहिर आँखा तानी तानी हेरिरहे । फोन गर्ने कोसिस गर्दै रहे । 

राति भई सक्यो दुवै दम्पती एकै पीडामा पिल्सिरहे ।

मम्मी ! छोरीको आवाज सुनेर उषा उत्तम दौडेर ढोकामा पुगे । छोरीलाई देखेर दुवैले लामो सास फेरे ।  

किन ढिला भयो छोरी ? उषा उत्तमले एकैसाथ प्रश्न गरे । 

पहिले त प्रोग्राम नै ढिला सुरु भयो । ढिलो हिँडेको बस जाममा पर्यो । फोन गर्छु भनेको मोबाइल त अफ रहेछ । राति चार्ज गर्न बिर्सेंछु । फोटो खिच्दा खिच्दैमा ब्याट्री सकिएछ । ताराको त मोबाइल नै हरायो, गार्डेनमा खेल्दा । अरू साथीहरू बसको पछाडि बसेका थिए । भीड भएकाले पछाडि जानै सकिनँ । केटाहरूसँग मोबाइल मागेर फोन गर्न मन लागेन । हजुरहरूले केटा मान्छेहरू सबै खराब हुन्छन् पनि भन्नुहुन्थ्यो । छोरीले एकसासमा आध्योपान्त सुनाइन् । 

उषा र उत्तम छोरी सकुशल फर्केकोमा प्रसन्न भइरहे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप