शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मेरा सरकारका इन्द्रियहरू

शनिबार, २९ मङ्सिर २०७५, ११ : १९
शनिबार, २९ मङ्सिर २०७५

लोकेन्द्र भण्डारी

ऊसँग
इन्द्रियहरू छन्
सुन्नका लागि
सँुघ्नका लागि
देख्नका लागि
उसका इन्द्रियहरूले
छामेरै पनि दुनियाँ 
चिन्न सक्षम हुनुपर्छ 
तर
उसका हरेक इन्द्रियहरू
निष्क्रिय छन्
सुस्ताएका छन्
निदाएका छन् 
ऊ जीवित जस्तो छैन
यद्यपि 
निर्जीव पनि होइन,


उसले सुन्नुपर्ने कुरा
धेरै छन्
रोगले चिच्याएका मान्छेहरू
भोकले चिच्याएका मान्छेहरू
शोकले चिच्याएका मान्छेहरू
मेचीका मन्थनहरू
सुनकोशीका सुस्केराहरू
कर्णालीका कहरहरू
धोती टोपीका उपन्यास
मेचेकोचेका लघुकथाहरू
हिमालका कुरा
धिमालका कुरा
तराईका कुरा
पराइका कुरा
उसले सुन्नुपर्ने धेरै छन्
तर 
ऊ सुतेको कुम्भकर्ण हो
जोड्जोडले चिच्याउँदा पनि
ऊ सुन्दैन
ऊ बहिरो जस्तै छ


उसले हेर्नुपर्ने कुराहरू धेरै छन्
आमाको च्यातिएको मन
धुजा धुजा भएर फाटेका
शीर र पाउ 
अनगिन्ती पीर 
र 
आँशुका तलाउ
आमाको खुस्किनै लागेको
फरियालाई
बलियो पटुकाले बाँध्नु छ
आत्महत्या गर्न तयार भएका
लक्षमणपुरहरू
कालापानीहरू
सुस्ताहरू हेर्नुछ
उसकै बाटो कुरेर बसेको
बिचरो लिपुलेक 
चिसो कर्णालीमा
नाङ्गै सुतेका मान्छेहरू 
उसको एक नजर
मेरो ख्वाउटे
अनुहारतिर पनि परोस् भनेर
युगौँयुगदेखि
पर्खिएका जनता नामका
विचराहरू हेर्नु छ
अझ धेरै हेर्नु छ
तर
ऊसँग आँखा भएर पनि
हेर्दैन
उसले आफूबाहेक 
आजसम्म कसैलाई 
देखेको छैन 
यद्यपि ऊ अन्धो छैन


उसले शीरदेखि पाउसम्म 
स्पर्ष गर्नुपर्छ
राज्य नामको अस्थिपन्जरमा
कताकता
राष्ट्रियताको रगत बग्न छाडेको छ
कतातिर हड्डी हड्डी मात्र भयो
कतातिर मासुमासु मात्र भयो
छामेर छुट्ट्याउनु छ
बालखैदेखि कुपोषणले
ग्रस्त मेरो देशलाई
खुवाउनु छ
भिटामिनका ट्याब्लेटहरू
बनाउनुछ
चिल्लो चुपिल्लो 
मोटोघाटो
हृष्टपुष्ट ।

आमाका मुटु कलेजा
लुछेर खाने
काला ब्वाँसाहरू 
स्वाधीनताको किमा बनाएर
राष्ट्रियताको मम बनाएर
स्वादमा रमाउनेहरूलाई
उसले
छामेर पत्ता लगाउनुपर्छ
चाटेर पत्ता लगाउनुपर्छ
सुँघेर पत्ता लगाउनुपर्छ
सुनेर पत्ता लगाउनुपर्छ
तर थाहा छैन 
कहिले चल्छन् 
उसका इन्द्रियहरू
मेरो सरकारका
इन्द्रियहरू ।

पश्चिम रुकुम
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप