बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : सम्पत लालको अटुट माया

शनिबार, २९ मङ्सिर २०७५, ११ : १२
शनिबार, २९ मङ्सिर २०७५

‘तपार्इंले रङ्ग नम्बर डायल गरिरहनुभएको छ, म यस्तो, उस्तो केटी होइन । तपार्इंले मेरो बारेमा जे सोच्नुभएको छ, म त्यस्तो होइन । तपाईं छिट्टै यहाँबाट गइहाल्नोस् । मेरी आमा आइहाल्नुहुन्छ ।’
मैले सासै नरोकी एकै पटक सबै कुरा उनलाई भनिसकेकी थिएँ । उनी मलाई फिटिक्कै मन परेको थिएन तर पनि पछ्याइरहेको म सहजै बुझिरहेकी थिएँ । 

उनी जतिखेरै मसँग कुरा गर्न मौका खोजिरहेका हुन्थे । म चाहिँ उनको नजरमा नपरूँ भनी लुकीलुकी बस्थेँ । उनी कतैबाट आएको भेउ पाउने वित्तिकै घरभित्र पस्थेँ । भरसक उनीसामु जानु नपरे हुन्थ्यो भनी सतर्क हुन्थेँ । 

तर उनले कुनै न कुनै बहानामा मेरो समीप आउन चाहन्थे । त्यो पहिलो दिन थियो, जुन दिन उनले घरको छतमा मलाई भेटेर ‘मुझ से दोस्ती करोगें’ भनेका थिए । 

उनलाई यस्तो भन्ने आँट कहाँबाट आयो । यस्तो भन्ने अधिकार उनलाई कसले दियो । यो सोचेर मेरो अनुहार रातो न पीरो भएको थियो र पैताला मुनिदेखि रिस उठेर आयो अनि मैले पनि भनेँ, ‘तपाईंले रङ्ग नम्बर डायल गरिरहनु भएको छ । तपाईंले जे सोच्नुभएको छ, त्यो कदापी हुनसक्दैन ।’

मेरो कुरा सुनेर उनी सरासर तल झरे । तल गएर के–के गरे थाह भएन । सायद मेरो कुराबाट चित्त दुखेर होला, कोठा छाडेर धनकुटा गएर बस्ने रे भनी मैले त्यही दिन साँझमा सुनेकी थिएँ ।
मलाई बालै भएन । म पनि यही चाहन्थे । म उनको अनुहार पनि हेर्न चाहन्नथँे । 

मलाई ड्राइभर फिटिकै मन पर्दैन । त्यो पनि ट्रक ड्राइभर । ट्रक ड्राइभरको नाम सुन्दा रिस उठ्थ्यो । मैले ट्रक ड्राइभरको बारेमा धेरै सुनेको र बुझेकी थिएँ ।

हामी एउटै घरमा बस्थ्यौं । उनको एउटा कोठा थियो । दिनभरि गाडी चलाउँथे । राति सुत्न मात्र कोठामा आउँथे उनी । म पढ्नका लागि कोठा लिएर बसेकी थिएँ, साथमा मेरा भाइ र आमा पनि हुनुहुन्थ्यो ।

पान, गुट्खा, सुपारी खाएर दाँत कालो न कालो थियो उनको । हेर्दै डर लाग्लदो खालको । रक्सी खाएर नआउने कुनै दिन नै थिएन । घर छिर्दा पर्खाल समातेर छिर्थे उनी, मेरै आँखाले कति दिन हेरेको थियो ।

बाहिर किराना पसलमा चुरोटको धुवाँ उडाउँदै मेरो बारेमा कुरा गरेको यही कानले कति सुनेको थियो । जाँड, रक्सी, खैनी, चुरोट खाएको यही आँखाले देखेको छ भने बाहिर अरू के–के गर्थें उनी भनी सहजै बुझ्न सकिन्छ ।

‘तेरे नाम’ हिन्दी फिल्मको सलमान खानजस्तै कपाल पालेका थिए उनले । दिनदिनै नयाँ नयाँ लुगा लगाउनु, अङ्ग्रेजी अखबार पढ्नु, मेरा भाइका लागि चकलेट ल्याइदिनु, यी सब उनले मेरै लागि गर्थे भनी मलाई बुझ्न गाह्रो थिएन । तर उनले जति स्टाइल दिन्थे, मलाई त्यति रिस उठ्थ्यो ।

यता मेरी घरभेटी काकीको नजर उनीमाथि थियो । काकीको श्रीमान जागिरको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । महिनामा कहिले काहीँ आउनुहुन्थ्यो । काकी एक्लै भएकाले सायद उनीमाथि काकीको नजर थियो । साँझ फर्केपछि सीधै काकीको कोठामा जान्थे उनी या काकी पनि उनकै कोठामा आउनुहुन्थ्यो । कुरा गर्दै सँगै बसेर टीभी हेर्नुहुन्थ्यो ।

त्यसमा मेरो कुनै चासो थिएन, बरु म खुशी थिएँ । उनी ती काकीसँगै भागोस् जस्तो पनि लागि रहेको थियो ।

तर उनको रोजाइ काकी होइन, म थिएँ ।

पछि ट्रक चलाउन जान पनि छाडेका थिए उनी । कहिले काहीँ मात्र जान्थे । प्रायः कोठामा नै बस्थे, सायदै मेरै लागि होला । मेरो पनि ब्याक पेपरको परीक्षा थियो । त्यसका लािग लागि घरमै पढ्थँे । 
किन हो कुन्नि उनी कोठामा हुँदा म डिस्टर्ब हुन्थे । उनी आफ्नो कोठामा न आइदियोस् जस्तो लाग्थ्यो मलाई । भाइ कतै बाहिर गयो वा आमा बजारतिर जानुभयो भने म आफूलाई कतै लुकाउँथे उनको नजरबाट ।

सायद मलाई नै आकर्षण गर्न लागि गुट्खा चबाउँदै बेलाबेलामा अङ्ग्रेजी पत्रिका र उपन्यास पढ्थे उनी । साँच्चै पढ्न आउँछ कि मलाई देखाउनका लागि मात्र त्यस्तो गर्छन् भनी ती ट्रक ड्राइभरलाई एक दिन टेस्ट गर्ने मन भयो । म पनि अङ्ग्रेजीकै विद्यार्थी थिएँ ।  

एउटा प्रश्नको जवाफ लेखिदिनका लागि मैले आफ्नो भाइलाई दिएर पठाएँ । उनले पनि सजिलैसँग जवाफ लेखेर पठाए । उनले जवाफ लेखेर दिने वित्तिकै म साइकल लिएर आफ्नो अङ्ग्रेजी टिचरको घरमा गएँ । वास्तवमा उनले जवाफ सही लेखेका छन् कि मलाई देखाउनैका लागि मात्र अङ्ग्रेजी उपन्यास पढ्ने गर्थे भनी जाँच्नका लागि टिचरको घर पुगेका थिए । 

मलाई अङ्ग्रेजी पढाउने शिक्षक पनि छक्क पर्नुभयो । उहाँले भन्नुभयो, रिया तिमी यति राम्रो लेख्ने भइसक्यौं । यस पटक तिमी अवश्य पास हुनेछ्यौ ।’

म पनि छक्क परेँ, एउटा ट्रकड्राइभरले यति राम्रोसँग कसरी अङ्ग्रेजी लेख्न सक्छन् । म सोचमा परेँ । शिक्षकको घरबाट म आफ्नो डेरा कतिखेर फर्कें थाहै पाइनँ । मलाई विश्वासै लागिरहेको थिएन उनको लेखाइमाथि । 

मैले एक दुई पटक पुनः टेस्ट गरेँ । साँच्चै नै मैले सोचेभन्दा उनको अङ्ग्रेजी राम्रो थियो । उनले मेरी आमा भन्नुभएको थियो, ‘रियालाई अङ्ग्रेजीमा ब्याक लागेको छ, केही समस्या भयो भने म कहाँ आउँदा हुन्छ ।’

त्यतिबेला उनले भनेको यो कुरा मलाई फिटिक्कै मन परेको थिएन । एउटा ट्रकड्राइभरले यस्तो भन्ने साहस कसरी गर्न सक्छ जस्तो लागेको थियो । उनको गालामा एक चट्कन्न हानौँ जस्तो भएको थियो त्यतिबेला । उनले आफ्नो नजरमा कमजोर देखेको मलाई मन परेको थिएन । 

तर अब उनीबाट मैले आफूलाई लुकाउन छाडिसकेको थिए । भय, त्रास हराउँदै गइरहेको थियो । 

मैले आमालाई भन्न थालेकी थिएँ, ‘आमा सबै ड्राइभर खराब हुँदैन है’ । तर उनको बानी व्यहोरा मलाई अझै मन परिरहेको थिएन । अझै उनी मेरो समीप नआइदिए हुन्थ्यो जस्तो लागिरहेको थियो । 

एक दिन छतमा म एक्लै भएको मौका छोपी उनी अचानक मेरो छेउमा आएर कानमा विस्तारै भने, ‘आई लभ यू’ । मेरो पारो तात्यो । यस्तो भन्ने हिम्मत उनले कसरी गरे । कसरी आँट आयो । मैले आफ्नो रिस पोख्नै लागेका थिए कि उनी सरासर तल झरे ।

मेरो दिमागमा फेरि उही ट्रकड्राइभर नाच्न थाले । एकातिर उनको घिन लाग्दो पेसा । अर्कोतिर उनीभित्र रहेको शिक्षाको ज्ञान । यी दुईको बीचमा आफूलाई थिचिएको पाए । दुईले मेरो एउटा एउटा हात समातेर तानिरहेको थियो । तर म कता ढल्कुँ निर्णय गर्न सकिरहेकी थिइनँ ।

मलाई छतमा आई लभ यू भनेर झेरेको मान्छेलाई हेरेको तीन दिन भइसकेको थियो । म अनायस उनलाई पर्खिन थालेकी थिएँ । जति जति ढिलो हुँदै गइरहेको थियो त्यतित्यति मेरो ढुकढुकी बढ्दै गइरहेको थियो । म बेचैन थिए । तर किन थाह मलाई नै थिएन । 

घृणा गर्ने मान्छेलाई अचानक मैले किन बाटो पर्खिन थालेँछु, त्यसको जवाफ मसँग थिएन । घरबेटी काकीले पनि उनको बारेमा मलाई पटक पटक सोध्नुभयो, ‘आज चार दिन भइसक्यो सम्पतलाल किन आउनुभएन । उहाँको लुगा चार दिनदेखि छतमै सुकिरहेको छ ।’ 

मलाई काकीमाथि पनि डाह हुन थाल्यो । 

मैले उनको बारेमा किन यति सारो चासो लिएको होला, हैट ! 

पाँच दिनपछि उनी बल्ल डेरामा देखिए । म सुतिरहेकी थिएँ । त्यति राति उनलाई भेट्न जाने कुरै भएन । बिहानलाई पर्खिनुभन्दा मसँग अरू कुनै उपाय नै थिएन ।

बिहान पाँचै बजे उनी धारामा पानी लिन गएको चाल पाएँ । तर त्यति बिहानै म उनलाई भेट्न किन जाऊँ । यति छिट्टै किन पग्लिहालुँ । सात बजे म कोठाबाट निस्किँदा उनी निस्किसकेका थिए । मेरो धड्कन तेज भयो, म छटपटिएँ । आखिर किन यस्तो भयो । उनको बारेमा मैले कसैलाई सोध्ने कुरै भएन । बाहिर किराना पसलवालालाई सबै थाह थियो होला तर सोध्ने आँट भएन, उफ !

म फेरि साँझको पर्खाइमा बसेँ तर त्यो दिन साँझ परिरहेको थिएन । दिन पहाड थियो, कतिखेर सूर्यास्त होस् र उनी टुप्लुक्क आइपुगोस् जस्तो लागि रहेको थियो ।

राति कतिखेर उनी आए थाह भएन । बिहान मात्र उनको दर्शन भयो । मैले हतार हतार एउटा प्रश्न दिएर आफ्नो भाइलाई पठाएँ तर आज उनले जवाफ पठाउन ढिलो गरिरहेका थिए । किन ढिलो भइरहेको थियो थाह थिएन । म बेचैन भए । म जवाफको पर्खाइमा बाहिर घाममा आमासँग बसिरहेकी थिएँ । एकछिनपछि उनी आफै आएर मेरो कापी मलाई दिए । उनको हात एक पटक स्पर्श गरिहालौँ जस्तो भएको थियो तर उनले मेरो अनुहारसम्म हेरेनन् । त्यसले मेरो मन खिन्न भयो ।

आमाले भन्नुभयो, ‘तिमी बेकारमा यति टाढा पढ्नका लागि जान्छौं, उहाँ (सम्पतलाल) सँग पढे भैगो नि ।’ 

‘हुन्छ आमा, त्यसै गर्छु’ भनेर लजाउँदै म घरभित्र छिरेँ ।

भर्खरै चिसो सुरु भएको थियो । न्यानो घाम ताप छतमा बसिरहेकी थिएँ । कान ठाडो पारेर बसेकी थिएँ, कतिखेर उनी आएर मेरो कानमा भनुन् आई लभ यू तर उनी आइरहेका थिएनन् । मैले बोलाउने कुरै भएन । 

मेरो इच्छा पूरा भयो, उनी माथि आए । ‘रिया केही समस्या छ, मैले भनी दिनुपर्ने ?’, ज्यादै भलाद्मी पाराले मलाई सोधे । मैले ‘अहँ’ भनी टाउको हलाएँ । उनी मेरो नजिक बसे । अरू दिन ड्राइभरको गन्ध आउने उनमा त्यो दिन मगमग बास्ना आएको महसुस गरिरहेकी थिएँ । व्यक्ति उही, पेसा उही तर अचानक मलाई किन त्यस्तो मसुस भयो थाह थिएन । 

मैले भने, ‘हामी बिहे गर्न सक्छौँ’ । ‘अफकोर्स, क्युँ नही’ उनको जवाफ थियो । तर उनको त्यो भन्ने अन्दाज मलाई मन परेको थिएन । उही खले, ड्राइभरको स्टाइल थियो । उनी मसँग प्रेम गर्न चाहन्थे भने म उनीसँग बिहे गर्न चाहन्थेँ । मलाई प्रेममाथि विश्वास थिएन । म एकैचोटि विवाह गरेर घरजम बसाएर उनीसँग जीवन बिताउन चाहन्थेँ तर उनी मसँग प्रेम गरेर रोमान्स गर्न चाहन्थे । जो मेरो सोचभन्दा धेरै परको कुरा थियो ।

मैले उनको आमालाई पनि भेटिसकेको थिए । उनको आमालाई भेट्दा निकै प्रभावित भएको थियो । कहाँ समतलाल, कहाँ उनको आमा । संस्कारी परिवार जस्तो लाग्यो । उनकी आमाले पनि मलाई मन पराइसक्नु भएको थियो । 

म जे चाहन्न थेँ त्यही भइरहेको थियो । हाम्रो रोमान्स टोलभरि फैलियो । चौक, चिया पसलदेखि ट्युसन साथीसम्म पुग्यो । मलाई घरबाट निस्किन गाह्रो भइरहेको थियो । टोल छरछिमेकले थाह पाइसकेपछि उनी डेरा छाडेर गइसकेका थिए । तर उनी कुनै नकुनै बहानामा मलाई भेट्न आइरहन्थे । कहिले बाटैमा भेट्थ्यौँ, कहिले घरमै । 

मैले उनलाई विवाहका लागि राजी गराएँ । विवाहको कुरा घरसम्म पुग्यो तर दुईटै परिवारले हाम्रो विवाहको प्रस्तावलाई स्वीकार गरिरहेको थिएन । आमाले हामीलाई स्वीकार गरिसक्नुभएको थियो । 
तर बुबालाई मन परेको थिएन । बुबाले उनलाई धेरै पटक रक्सी खाएर झल्लु भएर कोठामा आएको देख्नुभएको थियो । चुरोट खाँदै धुवाँ उडाएको देख्नुभएको थियो । त्यस्ता केटालाई छोरी दिन कसले चाहन्छन् । 
फेरि यता, उनका बुबालाई चाहिएको थियो दहेज । बिहेको कुरा छिन्दा उनका बुबाले दहेज कति दिनुहुन्छ भनी सीधै प्रस्ताव गर्नुभएको थियो तर मेरो बुबालाई केटा मन नपरेको कारण दहेजको कुरा नै गर्न चाहनु भएन । तर बुबाले मसँग दहेजको बहाना बनाउनु भएको थियो । तिमीले मन पराएको केटाको बुबाले यति दहेज माग्नुभएको छ, म कहाँबाट दिनसक्छु । यो बिहे हुनसक्दैन भन्नुभएको थियो ।
यो कुराले दुई परिवारबीच मन मुटाव सुरु भएको थियो । 

यता, हामी एक अर्काविना बाँच्न नसक्ने अवस्थामा थियौं । जसरी पनि बिहे होस् भने हाम्रो चाहना थियो । पहिला जस्तो हाम्रो भेट हुँदैनथ्यो । कहिले काहीँ काकीको घरको फोनमा कुरा हुन्थ्यो । काकीले फोनमा बोलाउन पनि झर्को मान्नुहुन्थ्यो । कहिले काहीँ भेट भएपछि हामी घण्टौँ एक अर्कामा डुब्थ्यौँ । सायद यही हो माया ।
उनको बुबाले २० तोला सुन र १० लाख नगद र बाँकी समानहरू माग गर्नुभएको थियो रे । तर मेरो बुबाले एक पैसा दिने पक्षमा हुनु हुन्थेन । कारण थियो, बुबालाई केटो मन परेको थिएन । केटो मन परेको भए बुबाका लागि यी सब कुरा सामान्य थिए । 

हामी चाहन्थ्यौँ लेनदेन गरेर भए पनि हाम्रो बिहे होस् । त्यसको जोगारमा हामी पनि लागेका थियौँ । 

५ तोला सुन, डेढ लाख नगद र अरू समान दिने कुरामा बिहेको फिक्स भयो । तैपनि दुई परिवारको मनमुटाव अन्त्य भएको थिएन । बिहे नहुने खतरा अझै थियो । 

‘मलाई जसरी पनि यहाँबाट लग्नुस्, तपाईंसँग बिहे भएन भने म बाँच्न सक्दिनँ ।’ मैले भनेकी थिएँ । दुवैै पक्षलाई बिहे गर्ने मन नभए पनि हाम्रो जिद्दीका कारण केही चलेन । बिहे हुने भयो । हामी निकै खुशी थियौँ, बिहेकै दिन यस्तो मुसलधारे पानी पर्यो कि जन्ती आउनलाई पनि गाह्रो थियो । सबै कुरा अस्त व्यस्त भयो । सायद वर्षालाई हाम्रो प्रेम मन परेको थिएन भन्ने लागिरहेको थियो ।

तैपनि रुझ्दै भिज्दै हाम्रो बिहे भयो । हामी खुशी थियौँ तर हाम्रो परिवारमा कोही खुशी थिएनन् । कचकच भइरहेको थियो । दुई पक्षको बीचमा ै बेलाबेला गाली गलौज भएको पनि मैले सुनिरहेकी थिएँ । 
तर म उनको साथ उनको घर जान लागेकोमा नै खुशी थिएँ । मेरा लागि त्यति नै काफी थियो ।

बिहे गरेर उनको घर पुगे पनि कचकच अन्त्य भएको थिएन । उनको घरमा बिहेको विषयलाई लिएर झगडा भइरहेको थियो । दहजेजमा यो दिएन, त्यो दिएन । उहाँहरूले मेरो आमा बुबालाई गाली गरिरहनुभएको थियो । 

केटी कस्तो अलच्छिनी छे, मेरो छोराको मन मोहित पारेर हाम्रो घरपरिवार बर्बाद पारेकी छे, यस्ता अलच्छिनीलाई एकछिन पनि घरमा रहन दिनु हुँदैन । कपाल समातेर घरबाट बाहिर निकालिदिनुपर्छ जस्तो कुरा मेरो कानले सुनिरहेका थिए ।  

प्रेम भनेको दुई दिलको मिलन मात्र नभएर दुई परिवारको मिलन पनि हो । तर यहाँ प्रेमकै कारण परिवारमा विग्रह आएको छ । त्यो सोचेर मेरो मन रोइरहेको थियो । कुनै केटीका लागि दुई दिन खुशीको दिन हुन्छ । एउटा जन्मेको दिन र अर्को बिहेको दिन । 

जन्मेको दिन कस्तो थियो थाह छैन तर बिहेको दिन मेरो सुखद रहेन । बिहे नै मलाई अभिसाप जस्तो लागिरहेको थियो । बिहे गरेर घरमा आए पनि मेरो नजिक कोही आएनन् । सबैले घृणा गरिरहेका थिए । नयाँ दुलहीको वरिपरि केटीहरू झुमिने गरेका हुन्छन् । नन्द तथा देवरहरू जिस्किरहेका हुन्छन् तर म घरमा जिउँदो मूर्दा सरह थिएँ ।

तर म उनीमाथि विश्वास गरेर बसेका थिएँ । घरका जसले जे भने पनि उनले मलाई माया गरे पुगिहाल्यो भनी आशमा बसेकी थिए । 

सायदै कुनै नारीको जीवनमा यस्तो दिन आएको होला । प्रेममाथि मलाई विश्वास थिएन र अब झन् टुक्रा टुक्रा भयो । म उनीसँग प्रेम गरेर बिहे गरेका कारण मेरो बुबा खुशी हुनुहुन्न थियो, जसले मलाई आफ्नो ज्यानभन्दा बढी माया गर्नुहुन्थ्यो । मसँग कोही थिएन, म विल्कुलै एक्लो भएँ । सायद प्रेमके कारणले होला । 

श्रीमानको आशमा बाँच्छु भनी सोचेको थिए तर उनले पनि घृणा गर्न थालेँ । मेरै कारणले उनको घरमा झगडा भएको रे । त्यसैले उनले मलाई घरबाट निकाल्न खोजेका थिएँ । जिउभरि नीलडाम हुने गरी सुहागरातकै दिन पिटे उनले । 

उनले कुटपिट गरे पनि बिहेको पहिलो रात भएको कारण हामीसँगै सुत्यौं । ओछ्यानमा उनले दिएको मायाभन्दा जिउमा दिएका नीलडाम पीडादायी थिए । त्यो रात जीवनका सबैको कुरा मेरा लागि पहिलो थियो । 

बिहान उठ्ने वित्तिकै घरमा फेरि कचकच सुरु भयो । त्यही दहेजको कुरा लिएर । यति ऋण छ, त्यति ऋण छ । छोरालाई बिहे गरेपछि सबै ऋण चुक्ता हुन्थ्यो सोचेको थिएँ तर सबै बर्बाद भयो, मलाई सुन्ने गरी बोलिरहेका थिए ।  

तर म यो घर छाडेर कहाँ जाउँ के गरौँ । यो सब मैरै कारणले भएको हो जस्तो लागिरहेको थियो । यसबेला मलाई उनको साथ चाहिएको छ तर उनी मबाट टाढिएँ । 
मेरो पेटमा चार महिनाको बच्चा हुँदा उनी मलेसिया गए । 

मेरो पेटमा बच्चा हुर्किरहेको थियो तर उनले विदेशबाट एक पटक पनि फोन गरेनन् । त्यही व्यक्ति हुन् जो मलाई हेर्नका लागि कहाँ कहाँबाट के–के उपाय निकाल्थेँ तर आज न उनका घरका मान्छेले मलाई मन पराएको छ न उनले नै । 

उनले फोन गरेर आफ्ना बुबालाई भन्ने गर्थे, त्यो अलच्छिनी अझै घरमा छे, उनलाई घरबाट निकाल्नुस् अनि म मात्र आउँछु । नभए म आउँदिनँ’ उनले यति घृणा किन गर्न थालेका थिए मलाई थाह थिएन । तर मलाई यति थाह थियो कि मेरो बुबा दहेज नदिएको कारण घरमा झगडा थियो र त्यही  ऋण तिर्नका लागि पैसा कमाउन उनी खाडीमुलुक गएका थिए । बैङ्कबाट ऋण लिएर ट्रक लिएका थिए । बैङ्कको पनि थुप्रै पैसा बाँकी थियो । त्यसले गर्दा घरमा झन् तनाव थियो ।

उनी विदेशबाट फर्के पनि मेरो वास्ता गरेनन् । तीन वर्षकी छोरी मेरो काँखमा थियो तैपनि उनलाई माया जागेन । कुनै न कुनै बहानामा मलाई हरेक दिन कुट्ने मात्र गर्थे उनले । 

विदेशबाट फर्केपछि उनी फेरि ट्रक चलाउन थालेका थिए । रक्सी, चुरोट, गाँजा, खैनी सबै उनको अम्मल भयो । दाह्री कपाल यसरी पालेकी चिन्नै नसक्ने । जहिले घर आउँदा रक्सी खाएर आउँथे उनी । म सोध्थँे, ‘तपाईं किन यस्तो गर्नुहुन्छ, मेरो दोष के हो भन्नुस् न, मलाई माया गरेर बिहे गरी यसैका लागि ल्याउनुभयो’, यो कुरा सुनेर उनले मुखमुखै लाग्छस् भन्दै कुट्न थाल्थे उनी । 

मेरो पेटमा अर्को बच्चा पनि हुर्किन थालेको थियो । पेटमा बच्चा भए पनि उनले मलाई वास्ता कहिले गरेनन् । पेटमा बच्चा हुँदा पनि कतियौं पटक गाली र कुटाइ खाएँ । घरबाट घिसारेर बाहिर कतियौँ दिन फ्यालिन्थे । घरका मान्छेले त मतलबै गर्न छाडेका थिए । कहिलेकाहीँ सासू आमाले मीठो बोल्नु हुन्थ्यो तर घरमा उहाँको धेरै चल्दैन्थ्यो । बुबा र ठूलो दाजु घरको हर्ताकर्ता हुन्थ्यो । भाउजू त झन मेरा लागि चण्डाल्नी नै थिइन् । 

पेटमा बच्च हुर्कंदै थियो । समय पुगिसकेको थियो । पेट दुख्न थालेपछि सासूआमा जेठी बुहारीलाई भनेर अस्पताल भर्ना गराउनुभएको थियो । त्यतिबेला उनी ट्रक लिएर बाहिरै थिए । बच्चा जन्मियो । 
उनले थाह पाउने वित्तिकै अस्पतालमा मलाई भेट्न मलाई आए । जुन कुरा मैले कल्पना नै गरेको थिइनँ । म त्यतिबेला पीडामा थिएँ तर उनलाई देख्ने वित्तिकै मेरो सबै पीडा हरायो । 

छोरीतिर एक नजर हेर्दै मेरो कपाल उनले सुमसुमाए । ‘रिया मलाई माफ गर है ।’ उनले भनेको यो कुरामा पीडा थियो । पश्चाताप थियो । उनको आँखामा मैले पहिलो पटक आँसु देखेको थिएँ । उनको ओठ कामी रहेको थियो । अरू केही केही भन्न खोजेका थिए तर सकेनन् । 

मैले भने, हजुरले यस्तो किन भन्नुभएको, म हजुरलाई सधैँ माया गरिरहेकी छु । हजुरले नै बाटो बिराउनु भएको थियो । तपाईं आउनु भयो अब मेरो कुनै गुनासो छैन ।’

बच्चा जन्मेको आठ दिन मात्र भएको थियो । घरमा कसैले मलाई वास्ता गरिरहेका थिएनन् । औषधीमूलो पनि थिएन । उनले ट्रक चलाएर ल्याएको पैसा घरमा दिन्थे । त्यसैबाट सबै मौजमस्ती गरिरहेका थिए । तर मेरो बच्चामाथि कसैको ध्यान थिएन । उनले आठ दिनको बच्चा र मलाई ट्रकमा राखेर घरबाट निकै टाढा एकान्तमा लगे । 

जहाँ परिवारको छायाँसमेत परिरहेको थिएन । उनको उहिलेको पुरानो माया फर्केर आयो । एउटा अर्को छोरा पनि भयो । मैले त्यहाँ आफ्नो पढाइलाई पनि निरन्तरता दिएँ । आज पाँचजनाको सुखी परिवार छ र सम्पतलालको अटुट माया पनि ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेशकुमार यादव
सुरेशकुमार यादव

यादव पत्रकार हुन् ।

लेखकबाट थप