शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई पूर्वलडाकुको पत्र

शनिबार, २९ मङ्सिर २०७५, ११ : ०३
शनिबार, २९ मङ्सिर २०७५


प्रिय सुप्रिमो प्रचण्डसँग मनका कुरा 
प्रिय सुप्रिमो, 

किन किन यही ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाईंका हर काम प्रिय लाग्छ । जब तपाईं कुनै मञ्च र रोस्टममा उभिएर धाराप्रवाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुवै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले शिर निहुराइरहुँ, हृदयबाट आभारका सारा आँशुहरू बगाऊँ र तपाईंलाई एकोहोरा लालसलाम गरिरहुँ । 

तपाईं त्यही पात्र हो जो कुनै दिन दुनियाँका लागि अलौकिक जादुगर जस्तो मान्छे थियो । जो दुनियाका मानवजातीको मुक्तिका लागि आफ्ना हज्जारौँ सिपाहीहरूलाई मर्न र मार्नपछि नहट्ने काशन गथ्र्याे ।

जो अप्ठ्यारोमा परेका गरिब, सीमान्तकृत असाहाय, उत्पीडनको जाँतोमा पीसीएका मधेशी, दलित र महिलाहरूको पक्षमा अहोरात्र चिन्तन, मनन गर्दथ्यो । जो कुनै सपनाको राजकुमार जस्तो सुन्दर र प्रिय थियो, जसका कल्पनाहरूले मात्र पनि जीवन जीवन्त बनाउँथ्यो । जो हितैषी थियो मजदुर र किसानहरूको, शासकका दारा र नङ्ग्राहरू निकालेर जनतालाई मुक्त पार्ने महान अभियानको एक अभियात्री थियो । 
जमिनदारका झुठा तमासुक जलाएर नक्कली ऋणबाट जनता मुक्त बनाउने, मानिसलाई एकमुठी सास रहेसम्म न्याय र समानताको पक्षमा लामबद्ध हुन प्रेरित गर्ने, स्वतन्त्रताका लागि प्राण रहेसम्म वर्गवैरीसामु झुक्दै नझुक्न निर्देशन दिने, प्वाँख जस्तो हलुका मृत्यु होइन, हाँसी हाँसी पहाड जस्तै अटल र गह«ौं मृत्यु रोज्न सिकाउने त्यो महान मान्छे तपाईं नै त हो । 

प्रिय सुप्रिमो, मलाई गर्व छ कि म तपाईं जस्तो एउटा जुझारु, स्वप्नशील, दूरद्रष्टा र आम मानिसको मुक्तिका लागि एकबारको जीवन बलिदान गर्न पछि नपर्ने योद्धाले नेतृत्व गरेको पार्टी र सङ्गठनको सङ्गतमा थिएँ । 

म राजनीतिको ‘र’ सँग परिचित हुँदा नहुँदै एउटा त्यस्तो भूमिगत पार्टीको कार्यकर्ता बनिसकेकी थिएँ, जसको कमान्डर तपाईं हुनुहुन्थ्यो र राज्यले तपाईंलगायत धेरै नेताको टाउकोको मूल्य तोकेको थियो ।

उसो त मैले तपाईंलाई चिन्नुअघि नै म ‘माओवादी विद्रोही’ भइसकेकी थिएँ र आफ्नो स्कुले पढाइलाई बीचैमा थाँती राखेर मुक्तिको बलिवेदीमा होमिइसकेकी थिएँ । मैले मानव जातिको मुक्तिका लागि बाँचे सिङ्गो संसार जित्ने र मरे सहिद हुने सपना देख्दै सर्वहारावर्गको अन्तराष्ट्रिय गीत गाउन सुरु गरिसकेकी थिएँ । 

युद्धका भीषण मोर्चामा कहिल्यै तपाईंलाई भेट्ने मौका मिलेन । भेटै हुनुपर्ने आवश्यकता पनि केही थिएन । किनभने त्यतिबेला पार्टीको निर्णय नै सर्वोपरि हुन्थ्यो । पार्टीका निर्देशनहरू शिरोधार्य गरेर आफ्ना व्यक्तिगत सपना र योजनाहरूलाई तपशीलमा राखेर हामी बस पार्टीलाई सफल पार्न कुँदिरहेका थियौँ । 

‘तिनको अदालतवाट शासित हुन हामी चाहन्नौँ, 
तिनको कृपालाई कुल्चँदै बरु एक भई सल्लाह गरौँ 
लुटाहाबाट आफ्नो धन खोसी लिन,
शोषणबाट मुक्त हुन,
आफ्नो कर्तव्य आफैले निर्णय गरी पूरा गर्न
यो अन्तिम युद्ध हो, आआफ्नो ठाउँमा डटौँ
अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ ।’ 

कति उदात्त थियो, युँजे प्योँत्तरले सर्वहारावर्गका लागि लेखेको यो अन्तराष्ट्रिय गीत । कति महान थिए ती सपनाहरू, कति उदार थियो हाम्रो हृदय र कति दृढ निश्चयी थिए ती मुक्तिका अभिलाषाहरू । 

व्यक्तिगत भन्ने त केही छँदै थिएन । हामी सबैजना एउटै मेसमा खाना खान्थ्यौँ । जाडो छल्नका लागि सबैका लागि उस्तैखाले ज्याकेट र जुत्ताहरू आउँथे । सबैका उस्तैउस्तै झोलाहरू हुन्थे । सबैका झोलामा केही दर्शनशास्त्र र केही साहित्यका किताब हुन्थे । एउटा ब्रस, मञ्जन र साबुन हुन्थ्यो । केही बिस्कुट र चाउचाउ अथवा कहिलेकाहीँ सातु, भुटेको मकै वा भटमास पनि हामीसँग हुन्थ्यो । भरे कहाँ बास बस्ने भन्ने कुरा बिहानै बैठक बसेर तय गरिन्थ्यो । बीचमै दुस्मनसँग जम्काभेट भए कहाँ कसरी भेट्ने भनेर आरभी प्वाइन्ट र पासकोडहरू पहिल्यै तय हुन्थ्यो । 

अप्ठ्यारो थियो यात्रा, दुःखमय थिए दिनहरू, कष्टकर थियो जिन्दगी तर अहँ कसैलाई कष्टकर महशुस हुन्थेन । सङ्गठन निर्माणका लागि गाउँगाउँमा उकाली ओराली गर्दा भोकले हाम्रा खुट्टाहरू लर्बरिन्थे तर पनि हामी प्रचण्डपथको गीत गाउँदै र नाच्दै एकले अर्कोलाई भरथेग गर्दै यसरी यात्रा गरिरहेका हुन्थ्यौं कि कहिलेकाहीँ त लाग्थ्यो हामी लडाइँमा होइन पिकनिक गर्न गइरहेका छौं । सम्झनोस् त, कति रोमाञ्चक थिए ती पलहरू । लडाइँ लडाइँ जस्तो नलाग्ने, अभाव अभाव जस्तो नलाग्ने, मृत्यु मृत्यु जस्तो नलाग्ने । 

प्रिय सुप्रिमो, कति रात हामी अनिदै बितायौँ, त्यसको कुनै हिसाब राखिएन, कति छाक हामी भोकै बस्यौं । त्यसको पनि कुनै लेखाजोखा गरिएन तर हामीले कति सङ्गठन निर्माण गर्यौं र कति सदस्यता वितरण गर्यौं भन्ने कुराको हामीसँग हमेसा हिसाब किताब हुन्थ्यो ।

कति जनताका कोठे भेला गर्यौं र कति टोलभेला गर्यौं भन्ने कुराको दुरुस्त विवरण हुन्थ्यो । कसले पार्टीविरुद्ध सुराकी गरिरहेको छ र कसले जनताका विरुद्ध तमसुक बनाइरहेको छ भन्ने कुरा बैठकको एजेन्डा बन्थ्यो । हिजो के–कस्ता योजना सफल हुन सकेनन् र किन भनेर समीक्षा हुन्थ्यो । आलोचना र आत्मालोचना हुनथ्यो । भोलि कसरी जाने भनेर एउटा मार्गचित्र तय गरिन्थ्यो । आआफ्नो स्तरका बैठक र भेलाहरू गरिन्थे र हामी २४सै घण्टा बेफुर्सद थियौं । हामीले आफूलाई, आफ्ना व्यक्तिगत आकाङ्क्षा र सपनालाई विर्सिदिएका थियौं र यसका लागि हामीलाई कसैले बाध्य बनाएको थिएन । तपाईंको विचारले प्रभावित भएर हामी जानाजान रहरमा आफूलाई बिर्सिएर पार्टी र क्रान्तिका लागि समर्पित भएका थियौं । 

प्रिय सुप्रिमो, १५ वर्षको कलिलो उमेरमा जनयुद्धमा होमिएकी त्यही सानी केटी आज ३४ वर्षकी पाकी महिला भएकी छु र तपाईंको ६५औं वर्ष प्रवेशको यो गौरवशाली क्षणमा केही प्रश्नहरू सोध्ने हिम्मत जुटाएकी छु ।

मलाई थाहा छ, यो पत्रको जवाफ आउने छैन तर पनि तपाईंलाई प्रश्नहरू सोधेका दिन म एक निद्रा आनन्दले निदाउन सक्नेछु । मलाई लाग्ने छ कि कमसेकम म तपाईंसम्म पुगेकी छु । तपाईंले आफ्नो उज्यालो अनुहारमा आनन्दको एक आत्मविश्वासी हाँसो हाँसेर मलाई सुनिरहनुभएको छ । तपाईं मेरो नजिकै बसेर मलाई धाप मारिरहनुभएको छ र बेला बेला ठीक छ भने जस्तो गरी टाउको हल्लाई रहनुभएको छ । म मेरो हृदयका सारा उच्छवासहरू बिर्सेर आनन्दले मुस्कुराउँदै तपाईंलाई आफूलाई लागेका कुरा सुनाइरहेकी छु । 

प्रिय सुप्रिमो, बलिदान र त्यागको त्यस्तो गौरवशाली इतिहासको जगमा उभिएका हामी आज किन धरमर धरमर बन्दै गइरहेका छौँ ? नेपाललाई समृद्धिको दिशातिर लैजानका लागि खास बाधक को हो ? किन हामी नयाँ सुरुवात गर्न सकिरहेका छैनौ ? किन मानिसहरू दिनानुदिन निराशाको दलदलमा भासिँदै गइरहेका छन् ? किन आज पनि दलाल र बिचौलियाहरू झनझन खुशी र इमानदार पार्टी कार्यकर्ता र जनताहरू झनझन दुःखी बनिरहेको देख्नुपरिरहेको छ ? किन सरकारले गति लिन सकिरहेको छैन र सरकारका प्रवक्ता मेरै गोरुको बाह्रै टक्का भन्दै मिडिया र आम मानिसलाई गाली गर्नमै व्यस्त देखिन्छन् ?
तपाईं आफ्नो घरका छोराछोरी छोडेर किन अर्काका छोराछोरी आफ्नो बनाउन पट्टिी लाग्नुभएको छ ? वर्षौंदेखि पार्टी र क्रान्तिका लागि जिउज्यान अर्पिने हजारौँ जनमुक्ति सेनाहरू र पार्टी कार्यकर्ताहरू बिलखबन्दमा परेका छन् तर तपाईंले किन तिनको एजेन्डालाई बैठकको पुछारमा पनि समेट्न सकिरहनुभएको छैन ? आज काम गर्ने कालु मकै खाने भालु भन्ने उखानलाई चरितार्थ गर्दै, लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेँडुको शैलीमा मानिसहरू अवसरका लागि किन हानथाप गरिरहेका छन् ? 

हिजो हामीलाई एक रात सेल्टर दिन नसक्नेहरू आज महान क्रान्तिकारी भइटोपलेका छन् । केही झरिहाल्ला र ट्याप्प टिपेर खाम्ला भनेजस्तै गरी केही अवसरवादी दलालहरू पनि तपाईंकै दैलो ढुक्न आइपुगेका छन् । भित्रभित्र मनमा अनेक गाली गर्दै, दाह्रा किटेर भए पनि कतिपय प्रतिकृयावादी र विरोधीहरू तपाईंसँग सल्लाह लिन आइपुगेका छन् । ताक परे तिवारी नत्र गोतामेवालाहरू पनि आज कतै न कतै नियुक्तिका लागि किच्च दाँत देखाएर हात मल्दै महान क्रान्तिकारी बनेर हेडक्वाटरकै अगाडि पछाडि गरिरहेका छन् । हुन त यो हाम्रा लागि गौरवको कुरा हो कि हाम्रो सुप्रिमोले सबै सबैको तेजोवध गरिरहेछ । तर प्रिय अध्यक्ष, आफ्नाहरूलाई पाखा लगाएर परकालाई काखमा लिँदा खुच्चिङ भन्नेहरू पनि तिनै परका त हुन्छन् नि है । 

प्रिय सुप्रिमो, म हिजो क्रान्तिकालमा जस्तै आज पनि तपाईंको अनुहारमा त्यो संसार जित्ने आभा प्रज्ज्वलित भएको देख्न चाहन्छु । एउटा त्यस्तो नायकका लागि हृदयका कुना कुनामा  त्यस्तो स्धिग्न प्रेम र आभार फैलाउन चाहन्छु, जसलाई मैले बितेका १९ वर्षदेखि आफ्ना पितालाई जत्तिकै आदर गरेकी छु । 

आफ्ना अभिभावकको चिन्तालाई बेवास्ता गर्दै आफ्नो गुरिल्ला सुप्रिमोको नयाँ नेपाल बनाउने सपनाका खातिर आफूलाई बलिदानको कोटा चुक्ता गर्न तयार पारिराखेकी एउटी केटी कमरेड प्रचण्डलाई घृणा होइन प्रेम गर्न चाहन्छे । अनेक अभावहरूका बीचमा तपाईंकी त्यो चेली तपाईंकै पछाडि पछाडि हिँडिरहेकी छे, तपाईंका विरोधीहरूसँग भिडिरहेकी छे, कतिपय अवस्थामा तपाईंको अत्याधुनिक गाडीले छ्यापेको हिलो सहेरै पनि ऊ तपाईंलाई पछ्याइरहेकी छे, नयाँ नेपाल निर्माणका लागि तपाईंको एउटा आदेश र निर्णयका लागि ऊ वर्षौंदेखि तपाईंलाई पर्खिरहेकी छे जसरी अरू हज्जारौँ पार्टी कार्यकर्ता, शुभचिन्तक र जनताहरूले तपाईंलाईं पर्खिरहेका छन् । 

प्रिय अध्यक्ष, उठ्नोस र एउटा आँट गर्नोस् । तपाईंका विरोधीहरूलाई एउटा गतिलो झापड दिनुछ तपाईले, आशावादी नयन बाटोभरी बिच्छ्याएर बसेका जनतालाई एउटा नयाँ बिहानी दिनु छ, तपार्इंले, सारा नातावाद,  कृपावाद, गुटवादको अन्त्य गर्दै पार्टीभित्रैबाट न्याय र समानताका लागि एउटा नयाँ परम्पराको थालनी गर्नु छ तपाईंले । एउटा युगपुरुष हो तपाईं, थाक्ने र भाग्ने छुट छैन, प्रिय सुप्रिमो । 

तपार्इंकी स्नेही
आस्था केसी
शङ्खमूल काठमाडौँ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आस्था केसी
आस्था केसी

केसी साहित्य, राजनीति र समसामयिक विषयमा कलम चलाउँछिन् ।

लेखकबाट थप