बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महासमिति सदस्य भन्छन्, ‘नेताहरुको व्यक्तिगत स्वार्थ देख्दा लज्जाबोध हुन्छ’

शुक्रबार, २८ मङ्सिर २०७५, २० : १४
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं— काँग्रेस महासमिति बैठकमा उपस्थित हुन आएका महासमिति सदस्यहरुले  पार्टी प्रमुख नेताहरुको व्यक्तिगत स्वार्थ देख्दा लज्जाबोध भएको बताएका छन् । महासमिति बैठकमा करिब १ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन् ।  प्रमुख नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ हेरेर पार्टी संशोधित विधानका प्रस्तावित प्रावधानमा अहिलेसम्म सहमति गर्न नसकेको भन्दै अछाम जिल्लाका काँग्रेस सभापति भरतकुमार स्वाँरले आक्रोश व्यक्त गरे । 

उनले भने, ‘प्रमुख नेताहरुलाई पार्टी र तल्ता तहका कार्यकताको मतलब छैन । आफू कसरी पार्टीमा शक्तिशाली बन्ने भन्नेमा होडबाजी छ । यसले हामीजस्ता कांग्रेसका तल्ला तहका लिडरलाई लज्जाबोध बनाएको छ । बारम्बर महासमिति बैठक सारेर पनि यो अवस्थासम्म प्रमुख नेताहरुले विधानमा सहमति जुटाउन सकिहेका छैनन् । यसले नराम्रो सन्देश गएको छ ।’ 

यस्तै नेपाली काँग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले पार्टीका शीर्ष नेताहरुबीच व्यक्ति तथा गुटगत स्वार्थ हावी भएको भन्दै यसले महासमिति बैठकमा उत्साहको भर्न नसकेको दाबी गरे ।  उनले भने, ‘हामीहरु विभिन्न जिल्ला र क्षेत्रका काँग्रेसजनको भावना बोकेर काँग्रेसको सर्वोच्च निकाय (महासमिति बैठक)मा आएका छौँ । तर, यहाँ प्रमुख नेताहरुले कांग्रेसलाई नयाँ उर्जा दिनुको साटो संशोधन हुन लागेको विधानलाई व्यक्तिगत स्वार्थमा अल्झाउने प्रपञ्चमा रहेको देखिएको छ । यसले पार्टीलाई कार्यकर्तामुखी बनाउन खोजेको देखिदैन । आशा गरौँ नेताहरुले संशोधित विधानमा सहमति जुटाउने छ ।’

बर्दियाका कांगे्रस सभापति एवं प्रतिनिधि सांसद सञ्जय गौतमले महासमितिबाट कांग्रेसमा नयाँ सोच र जागारण पैदा हुने तर्क गरे । विभिन्न ठाउँबाट आएका काँग्रेस कार्यकर्ता, शुभेच्छुकको सुझाव र सल्लाहबाट पार्टी नयाँ बहस र विचार पैदा हुने भन्दै उनले काँग्रेस सही गन्तव्यमा मोडिने दाबी गरे । ‘हामी सबैको जोड नै पार्टीलाई गुट उपगुटबाट थला पर्ने काम हुनु हुँदैन भन्ने हो । पहिले आफूभित्रको द्धन्द्ध अन्त्य गरे मात्र काँगे्रसले देश र जनताबारे सोच्ने फुर्सद पाउँछ । हाम्रो जोडनै पार्टीभित्रको द्धन्द्ध हल गर्नमा हुनेछ । महासमितिले यसलाई सम्बोधन गर्नेमा विश्वस्त छु ।’, नेता गौतमले भने ।

सानेपामै जिल्ला सभापतिको गोप्य भेला पनि चलिरहेको छ । ९ जना जिल्ला सभापतिहरु आफ्ना मागबारे महासमिति बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल गरिरहेका छन् । उक्त बैठकमा सहभागी जिल्ला सभापति लामिछानेले आफूहरुको मागनै केन्दीय नेताहरु पनि स्थानीय तहबाटै चुनिएर आउनपर्ने, निवार्चन टिकट वितरणको अधिकार सम्बन्धित ठाउँका पार्टी पंक्तिलाई दिनुपर्ने लगायतका माग गरेको बताए । उनले भेलाको कुनै फरक उदेश्य नरहेको पनि प्रष्ट पारे । 

काठमाडौंको रामशाहपथस्थित एक प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन हुने कार्यक्रम छ । शनिबारनै अपरान्हबाट बन्द सत्र सूरु हुने कार्यक्रम पनि तय गरिएको छ । बन्द सत्रमा पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा.प्रकाशशरण महतले अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवले पार्टीको आय÷व्यय विवरण समेटिएको प्रतिवेदन पेस गर्नुहुने कांग्रेसले जनाएको छ । जसका विषयमा छलफल गरे सहमति जुटाउन मंसिर १३ गतेदेखि बसको केन्द्रीय कार्यसमितिको बैठक असफल भएको छ ।

सहमतिको पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिइएको छ । उनीहरु सहमतिको लागि आ–आफ्नो कार्यकक्षमा आफू निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । उनीहरुले सहमति जुटाएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । बैठक दिउँसो २ बजेलाई बोलाइए पनि उनीहरुबीच सहमति हुन नसक्दा अहिलेसम्म बस्न सकेको छैन ।

पौडेल समूहको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले सहमतिका लागि घनिभूत छलफल भइरहेको जानकारी दिए । तर, उनका अनुसार सहमतिको वातावरण बन्ने संकेत देखिँदैन । उता, सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा भाग लिन आएका सदस्यहरुलाई स्वागत गरेका छन् । उनले शुक्रबार ट्वीट गर्दै महासमिति सदस्यहरुलाई स्वागत गरेका हुन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप