बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वडा सोलुखुम्बुमा : सेवा कार्यालय काठमाडौँमा

शुक्रबार, २८ मङ्सिर २०७५, १४ : ३१
शुक्रबार, २८ मङ्सिर २०७५

–भोजराज कार्की 

सोलुखुम्बु– यहाँको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान गरिएको हो । 

काठमाडौँलाई कार्यथलो बनाएर बसेका वडावासीलाई लक्षित गरी हरेक महीनाको अन्तिम दुई दिन लोखिम हाउसले काठमाडौंबाट सेवा दिँदै आएको छ । गत भदौ महीनामा कोठा भाडामा लिएर सेवा थालिएको वडाध्यक्ष भूपाल सिंह राईले जानकारी दिए । लोखिम हाउसबाट हालसम्म चार पटकमा १३० जनालाई सेवा प्रदान गरिसकिएको छ जसमध्ये सबैभन्दा धेरै पञ्जीकरण सम्बन्धी सेवा रहेको लोखिम हाउस काठमाडौँले जनाएको छ । 

वडा कार्यालय र वडाध्यक्ष स्वयंको पहलमा महीनाको अन्तिम दुई दिन वडाका सम्पूर्ण सेवा काठमाडौँबाटै प्रदान गर्ने सो वडा जिल्लाकै एक मात्र वडा हो । 

‘सेवा सञ्चालनका लागि मेरो आफ्नै निजी खर्चमा काठमाडौं जाने र आउने गर्छु ।’ वडा अध्यक्ष भुपाल सिंह राईले भने, ‘वडावासी जनतालाई सहज सेवा प्रदान गर्नु हाम्रो दायित्व हो ।’ लोखिम हाउसमार्फत वडाबाट हुने सबैखाले सेवा प्रदान गरिने वडा अध्यक्ष राईको भनाइ छ । ‘काठमाडौं रहेका लोखिमवासी जनतालाई लोखिम हाउसले सजिलो बनाएको छ ।’ 

एक सेवाग्राही दावा गेल्जे शेर्पाले भने, ‘वडा कार्यालयको कदमका कारण समय र पैसाको बचत भएको छ, हाम्रा जनप्रतिनिधिदेखि हामी सन्तुष्ट छौ ।’ काठमाडौं सञ्चालन गरिने लोखिम हाउसबाट विवाह, जन्म, मृत्यु दर्ता र जग्गाको कागजात मिलाउनेलगायत सेवा लिनेको सङ्ख्या अधिक रहेको वडा अध्यक्ष राईको भनाइ थियो । आफू निर्वाचित भइसकेपछि जनतामा गरेको प्रतिबद्धता पूरा गर्नको लागि नै लोखिम हाउसको स्थापना गरिएको वडाध्यक्ष राईको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप