शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

शुक्रबार, २८ मङ्सिर २०७५, १३ : ४४
शुक्रबार, २८ मङ्सिर २०७५

बैतडी– मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । 

यस्तै बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबीसपाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाको माथिल्लो भेगमा हिमपात पनि भएको छ । दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउँमा समेत हिमपात भएको स्थानीय प्रेम चुनाराले जानकारी दिए । उनले भने, ‘दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ।’ 

डडेल्धुराको भीमदत्त राजमार्गको शाहुखर्क, हगुल्टेलगायतका स्थानमा हिमपात भएको स्थानीय प्रकाश पार्कीले जानकारी दिए । उता बाजुराको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । वर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरू खुशी भएका छन् । 

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । बुधबारदेखि एक्कासी मौसम बदली भई पानी परेपछि विहीबार हिमपात भई यहाँका साधारण तथा स्थानीयवासी चिसोले प्रभावित बनेका हुन् । 

लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली बिग्रने चिन्तामा रहेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत पु¥याएको छ । लामो समयको खडेरीपछि पानी परेकाले बाली सप्रिने दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप