शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले मित्रशक्ति नै चिनेन: चुनौतीको सामना गर्ने कि इतिहासको गौरव ?

शुक्रबार, २८ मङ्सिर २०७५, १३ : ३७
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस बहुप्रतीक्षित महासमिति बैठक औपचारिक रूपमा शनिबारबाट सुरु हुँदैछ ।  महासमिति बैठकमा प्रस्तुत गर्ने विधान मस्यौदा, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठानिक प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत भएर छलफलसमेत भइसकेका छन् । 

तर यी चारवटा प्रतिवेदनमध्ये आर्थिक प्रतिवेदनबाहेक अरू कुनै पनि प्रतिवेदन सर्वसम्मत पारित हुन सकेन । बाँकी प्रतिवेदन र दस्तावेजमा सहमति जुटाउन काँग्रेसका दुई शीर्ष नेता अहिलेसम्म प्रयासरत छन् ।

खासगरी स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा कम्युनिस्ट गठबन्धनले दुई तिहाइनिकट विजय हासिल गरेपछि खुम्चिन बाध्य बनेको काँग्रेस त्यसपछि लगातार कमजोर र शिथिल बन्दै आएको छ । नेतृत्व तहमा विवादैविवाद र गुटउपगुट मौलाएका कारण केन्द्रदेखि गाउँसम्मै यो पार्टी धु्रवीकृत बनेको छ ।

महासमितिले सङ्घीयताअनुसारको उपयुक्त विधान अनुमोदनसँगै भावी कार्यदिशा समेत तय गर्ने आम काँग्रेसी अपेक्षा भए पनि त्यसअनुसारका दस्तावेज नै नआएकाले काँग्रेस सुधारतर्फ नगएको विश्लेषण हुन थालेको छ । 

‘तीनवटै निर्वाचनमा पराजय भोगेपछि काँग्रेसको भविष्यबारे धेरै नेता कार्यकर्ताले प्रश्न उठाए । तर त्यो प्रश्नको जवाफ अहिलेसम्म कुनै पनि नेताले दिन सकेनन् । बरु नेतृत्व आफै एकले अर्कालाई दोष देखाउने र आफू उम्कने प्रयासमै देखिन्छ । यस्तोबेला हुन लागेको महासमिति बैठकले कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । तर, काँग्रेस नेता कार्यकर्ता, सुभेच्छुक र समर्थकहरूले त्यसको जवाफ नपाउन सक्छन्’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइ छ । 

विश्लेषक आचार्यका अनुसार महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक दस्तावेजले नै काँग्रेसको आगामी यात्रा र भविष्य निर्धारण गर्छ । तर प्रस्तुत दस्तावेजहरूको अध्ययन गर्दा महासमिति बैठकले उही पुरानै कर्मकाण्डीबाहेक निश्चित दिशा दिन नसक्ने देखिन्छ । 

काँग्रेसको मित्र शक्ति को ?

काँग्रेसले देशभित्र र बाहिरको आफ्नो मित्र शक्ति नै छुट्याउन सकेको छैन । मङ्सिर २५ गते बसको काँग्रेस केन्द्रीय समिति बैठकमा काँग्रेस उपसभापति विमलेन्द्र निधीले प्रस्तुत गरेको उक्त राजनीतिक प्रस्ताव निकै लामो र गोलमटोल भएको विश्लेषक आचार्यको भनाइ छ । 

‘मूलतः यस्तो बेलामा ल्याइएको राजनीतिक प्रस्ताव प्रष्ट हुनुपर्छ, जुन चुनौतीलाई परास्त गर्ने किसिमको हुनुपर्छ । तर प्रस्ताव हेर्दा त्यस्तो लाग्दैन, चुनौतीको सामना गर्नेभन्दा पनि इतिहासको गौरव गर्नमै प्रतिवेदन केन्द्रित देखिन्छ । यसले गर्दा काँग्रेस आफैं अलमलिएको भान हुन्छ’, आचार्यले प्रतिवेदनप्रति सङ्केत गर्दै भने, ‘सत्ताको च्याँखे थाप्नेजस्तो छ । नयाँ डिपाचर केही छैन । काँग्रेसको मित्रशक्ति को हो भन्नेसम्म खुलाइएको छैन ।’

उनले कम्युनिस्टहरूसँग सहकार्य गर्ने हो वा सम्बन्ध विच्छेद गर्ने भन्ने प्रष्ट नहुँदा काँग्रेसकै नेता कार्यकर्ता राजनीतिक प्रतिवेदनप्रति निराश बन्नसक्ने बताए । उनले मधेसवादी दल वा राप्रपा, काँग्रेसका मित्रशक्ति हुनसक्ने भए उनीहरूलाई त्यही किसिमले परिभाषा गर्न कञ्जुस्याइँ गर्न नहुने बताए । भने, ‘मधेसवादी दल मित्रशक्ति हुनसक्छन् भने कुन मधेसवादी दल वा कुन राप्रपा ? त्यो पहिचान गर्न जरुरी भए पनि प्रस्तावमा त्यो नखुलाइएकाले गोलमटोल छ ।’ यद्यपि महासमिति बैठकले त्यस्ता प्रस्ताव या प्रतिवेदन परिमार्जन गरेर अनुमोदन गर्नसक्ने अवस्था भने कायमै रहेको आचार्यको भनाइ छ ।

 वैदेशिक नीति अस्पष्ट

काँग्रेसको प्रस्तावित राजनीतिक प्रतिवेदनमा पार्टीले लिने वैदेशिक नीतिका बारेमा पनि कुनै ठोस नीति नबनाइएको विश्लेषकहरूको ठहर छ ।

‘नेपालको भूराजनीतिक अवस्था र छिमेकी देशसँगको सम्बन्धमा पनि काँग्रेसको राजनीतिक प्रस्ताव गुमनाम जस्तै छ । ‘काँग्रेस चीनसँग नजिक हो वा भारतसँग ? त्यो प्रष्ट छैन, जसले गर्दा काँग्रेस अवसरवादी त होइन भन्ने प्रश्न गर्न मिल्छ’, विश्लेषक आचार्य भन्छन्– ‘यसले काँग्रेसको धारणा बुझ्न कठिनाइ हुन्छ ।  

प्रस्तावित काँग्रेसको राजनीतिक दस्तावेजमा विदेश नीतिबारे आठवटा बुँदामा समेटेको छ ।

विदेश नीतिबारे काँग्रेसको प्रतिवेदनमा भन्छ:

‘नेपालको राष्ट्रिय एकता,भौगोलिक अखण्डता, सार्वभौमिक स्वतन्त्रता,पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता, नेपालको राष्ट्रिय हितको संवद्र्धन, नेपाली मूल्य र  मान्यताको संरक्षण नेपालको परराष्ट्र नीतिका मार्गनिर्देशक सिद्धान्तहरू हुन् । नेपाली काँग्रेसले स्थापनाकालदेखि अङ्गीकार गर्दै आएको यिनै मार्गनिर्देशक सिद्धान्तको आधारमा नेपालको राष्ट्रहित स्वार्थअनुरूप परराष्ट्र नीति अनुसरण गर्दै आएको छ र भविष्यमा पनि गरिरहने छ’ काँग्रेसको प्रस्तावित मस्यौदामा भनिएको छ ।

त्यस्तै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिक स्वतन्त्रता र राष्ट्रहितको संरक्षण गर्दै बहुलवादमा आधारित लोकतान्त्रिक प्रक्रियामा प्रतिबद्ध रहेर छिमेकीका साथै वृहत्तर अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सम्मान, हित र समानताको आधारमा सबै मित्रराष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध कायम गरी उनीहरूको सद्भाव, समर्थन र सहयोग अभिवृद्धिबाट नै देशको गरिबी, पछौटेपनको समाधानसहित चुनौतीको सामना गर्न सकिन्छ  भन्ने काँग्रसको ठहर छ ।

काँग्रेसले अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व राजनीतिमा जटिलता र तरलताबाट  अस्तव्यस्त भइरहेको सन्दर्भमा नेपालले बहुधु्रवीय र अन्तरनिर्भर गतिशीलतालाई बुझेर बढ्दो आतङ्कवाद, उग्रराष्ट्रवाद, हिंसात्मक गतिविधिले विखण्डनशील प्रवृत्तिलाई बुझ्ने सामथ्र्य, सूचना र ज्ञान राख्नुपर्ने भन्दै राष्ट्रहरू अन्तर्मुखी हुने प्रवृत्ति बढ्दो भएकाले देशको परराष्ट्रनीतिमा सबैको एउटै आवाज, एउटै व्यवहार कायम गरेर कूटनीतिक मर्यादाको पालना गर्ने आन्तरिक राजनीतिमा बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय सिद्धान्तप्रति नेपाली काँग्रेसले विश्वास प्रकट गरेको छ । 

गुट व्यवस्थापनामा बेवास्ता 
काँग्रेसका लागि चुनौतीको अर्को विषय हो पार्टीभित्रकै गुट व्यवस्थापन । गत निर्वाचनयता काँग्रेसका नेतापिच्छे गुट मौलाउँदै आएका छन् । यसरी गुट बढ्दै जाँदा काँग्रेसको नीति कार्यक्रम र कार्यदिशा र सङ्गठनमा नकारात्मक प्रभाव परेको स्वयम् शीर्ष नेताहरूले नै बताउँदै आएका छन् । तर राजनीतक प्रतिवेदनमा गुट व्यवस्थापनबारे कुनै चर्चा गरिएको छैन । 

‘जसले गर्दा काँग्रेस कमजोर भएको छ, त्यसैको उपचार नखोजेसम्म कसरी सबल र सक्षम हुन सकिन्छ ?’ विश्लेषक आचार्यको भनाइ छ । अर्का विश्लेषक कृष्ण खनाल काँगे्रसको राजनीतिक प्रस्तावभन्दा पनि व्यवहार बदल्न सक्नुपर्ने बताउँछन् । खनाल भन्छन्– ‘नारामा सरकारको विरोध गर्नुको मात्र कुनै तुक छैन । काँग्रेसको आन्तरिक जीवन खासगरी सङ्गठन र जनतासँगको सम्बन्ध र संवादलाई नयाँ दिशा दिन सक्यो भने महासमितिको बैठक र राजनीतिक प्रतिवेदनहरू सफल हुनेछन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप