शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा अधिकांश औषधी पसल दर्ताबिना सञ्चालन

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ०५
बिहीबार, २७ मङ्सिर २०७५

भक्तपुर । भक्तपुरमा सञ्चालित अधिकांश औषधी पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ । 

भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज कमलविनायक र जगातिमा सञ्चालित औषधी पसलको अनुगमन गर्दा अनुमतिपत्र नभएका व्यक्तिले औषधी बिक्री गरेका र पसलसमेत दर्ता एवं नवीकरण नगरी सञ्चालन भएको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । 

नगरपालिकाले गरेको अनुगमनमा हेलो जनस्वास्थ्य फर्माले नगरपालिकामा औषधि पसल भनेर दर्ता गरे पनि कर कार्यालय र औषधि विभागमा भने हेलो जनस्वास्थ्य भनी फरक नाममा दर्ता गरेको पाएको छ । 

यसले फरक नाममा दर्ता गरि कर छलि गरेको आशङ्कामा एउटै नाममा तीनवटै निकायमा तत्काल दर्ता गर्न निर्देशन दिएको छ । यो औषधि पसलले नसासम्बन्धी औषधि जथाभावी बिक्री गरेको पाइएकाले बिक्री भएको औषधिको विवरण पूर्जी सुरक्षित राख्न निर्देशन दिएको छ । 

त्यस्तै कमलविनायक फर्माले दर्ता नवीकरण नगरेको र अनुमतिपत्र नभएका व्यक्तिलाई औषधि बिक्री गर्न राखेको पाइएपछि अनुगमन टोलीले दर्ता नवीकरण गर्न र अनुमतिपत्र प्राप्त व्यक्तिलाई मात्रै पसलमा राख्न निर्देशन दिएको छ । 

कमलविनायककै विनायक फर्माले नवीकरण नगरेको र सरसफाइमा ध्यान नदिएको पाएको छ भने भक्तपुर हेल्थ कन्र्सनले ल्याबको मूल्यसूची नराखेको र क्लिनिकमा बस्नेको परिचयपत्रसहित अनुमतिपत्र प्राप्त नभएको पाएको छ । 

खोपो फार्मेसी एण्ड क्लिनिकले पसल नवीकरण नगरेको, औषधि पसल र क्लिनिकको छुट्टाछुट्टै दर्ता नगरेको, ख्वप डाइग्नोष्टिक सेन्टरले ल्याब टेक्निसियनको प्रमाणपत्र नपाएकाले सो क्लिनिकलाई प्रमाणपत्र भएको व्यक्तिलाई मात्रै राख्न, पसल नवीकरण गर्न, सरसफाइ गर्ने निर्देशन दिएको छ । 

अनुगमनमा समितिका रोशन मैया सुवाल, दिलीपकुमार सुवाल, रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा, जिल्ला जनस्वास्थ्य कार्यालयका धनञ्जय आचार्य, नगरपालिका जनस्वास्थ्यका कमल केशरी राजचल र उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छेको सहभागी थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप