शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रामजानकी विवाहपञ्चमी: धोती, कुर्ता र बाटो खर्च दिएर जन्तीको विदाई

बिहीबार, २७ मङ्सिर २०७५, १७ : ५५
बिहीबार, २७ मङ्सिर २०७५

जनकपुर– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज (विहिबार) रामकलेवा कार्यक्रम सम्पन्नपछि जन्तीलाई विदाई गरिएको छ । त्रेता यूगामा रामजानकी विवाहमा अयोध्याबाट आएका जन्तीलाई विधिवतरुपमा विवाह सम्पन्न भएपछि जन्तीलाई स्वागत सत्कारपछि दान दक्षिणा दिई विदाई गरिएको हो । प्राचिन धार्मिक सांस्कृतिक परम्परागत अनुसार अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरबाट भोजन गराई स–सम्मान रुपमा बिदाई गरिने चलन छ । बिदाईको क्रममा मिथिला परम्पराअनुसार हरेक जन्तीलाई धोती, गम्छा र कुर्ता तथा बाटो खर्च स्वरुप मन्दिरले दक्षिणा समेत दिई बिदाई गरेका छन् ।

अयोध्याबाट आएका करिब ५ सय जन्तीलाई आज रामकलेवा कार्यक्रम पश्चात स–सम्मान विदाई गरिएसँगै रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको मानिन्छ ।  त्रेतायुगमा अयोध्याका दशरथको सुपुत्र पुरुषोत्तम रामलाई राजा जनककी पुत्री एवम् मिथिलाकी सिताले बरको रुपमा स्वीकारेकी थिइन् ।

यसैलाई धार्मिक सांस्कृतिक परम्परालाई एक सुत्रमा बाँध्नका लागि जनकपुरमा चलिरहेको रामजानकी विवाहपञ्चमी महोत्सवमा पहिलो दिन जनकपुर नगर दर्शन, दोश्रो दिन फूलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिलक उत्सव, पाँचौ दिन मटकर र सितारामको स्वयम्वर र अन्तिम दिन विवाह सम्पन्न गर्ने चलन छ । आज अन्तिम दिन जन्तीको विदाईसँगै औपचारिकरुपमा विवाह पञ्चमी महोत्सव विधिवतरुपमा सम्पन्न भएको छ ।

रामजानकी दर्शनपश्चात फर्किदै तिर्थालु

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव समापन भएपछि श्रद्धालु तथा भक्तजनहरु फर्किन थालेका छन् । विगत ४ दिनदेखि जटही मार्ग हुँदै प्रवेश गरेका करिब ५ हजार ठुला चारपांग्रे तथा साना सवारी साधन भित्रिएको जनकपुर भन्सार कार्यालय धनुषाले जनाएको छ ।

करिब ३ हजार साना तथा ठुला सवारी साधन महोत्तरीस्थित जलेश्वर भन्सार कार्यालय, मलिवारा हुँदै भारतबाट नेपाल प्रवेश गरेका थिए । त्यसमध्ये बुधबार बेलुकादेखि अहिलेसम्म जनकपुरबाट भारत तर्फबाट आएका सवारी साधनसहित भक्तजनाहरुको फर्किने क्रम जारीनै छ ।

धनुषाको जटही नाकाबाट प्रतिबस करिब १ सयदेखि १ सय ५० जना सम्म यात्रुहरु फर्किने क्रम जारी छ । त्यसैगरी महोत्तरीको मिठ्ठामोड नाकाबाट सोहि संख्यामा बसमा यात्रु फर्किने क्रम जारी छ । जनकपुर यातायात तथा बस व्यवसायी संघकाअनुसार भारत नाकाबाट मेला भर्न आउनेको संख्या करिब ४ लाख थियो । अधिकांश श्रद्धालु भक्तजनहरु भने पैदल यात्रा गरेर जनकपुर आएका थिए भने पैदल यात्रुहरुको चाप बढ्दो रहेको बसका चालक भोगेन्द्र झाले बताए ।

जनकपुर सडक पहिलेभन्दा धेरै फराकिलो र व्यवस्थित भएकोले तिर्थालुलाई अघिल्लो वर्षको तुलनामा यसपालि हिँड्डुल गर्न सहज भएको जानकी यूवा क्लबका अध्यक्ष विट्टू पजियारले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएपछि एकाएक जनकपुरमा भारतीय तथा अन्य मुलुकका पर्यटकीयहरुको जनकपुर आउनेको संख्यामा वृद्धि भएको हो ।

त्यसैगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणको व्यापक प्रचारप्रसारको कारणले भारतबाट मात्रै अनुमानित ४ लाखभन्दा बढि तिर्थालु विवाहपञ्चमी महोत्सवमा सरिक भएको अनुमान गरिएको छ भने आन्तरिक तिर्थालुहरुको संख्या करिब २ लाख गरि करिब ६ लाखको हाराहारीमा तिर्थालुहरुको सहभागिता रहेको अनुमान टुर्स एण्ड ट्राभल्स एशोसिएसनको छ ।

फर्किने सवारी साधनको संख्या अत्यधिक भएपछि जनपथ प्रहरी र शसस्त्र प्रहरीको टोलीले यात्रीहरुलाई सिमा पारसम्म गस्ती गरी सुरक्षा दिइरहेको छ ।

करिब सय चोर पक्राउ 
रामजानकी विवाहपञ्चमी महोत्सवको स्वयम्वर तथा विवाह कार्यक्रममा अत्यधिक भिडमा चोरी गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले प्याकेट मारेको  आरोपमा ७५ जनालाई नियन्त्रणमा लिएको हो ।

 पक्राउ परेका प्याकेटमारहरुलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप