शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिँडेको जन्ती, बन्नुपर्‍यो मलामी !

बिहीबार, २७ मङ्सिर २०७५, १५ : २३
बिहीबार, २७ मङ्सिर २०७५

बुटवल– गएराति दुई बजेअघिसम्म बेहुलाको घरबाट फोनमा बेहुली लिएर आउँदै गरेका जन्तीलाई सोधिँदै थियो– कहाँ आइपुग्यो ? भनेर । 

जवाफ हुन्थ्यो– मौरीघाटमा खाना खाँदैछौँ, अब छिट्टै आउँछौँ । तयारी गर्दैगर्नु । बेहुला बेहुली भित्र्याउन आतुर र हर्षित थिए आफन्तजनहरू  । 

रत्यौली पनि चल्दै थियो ।  बेहुलाका बाबु साकाहारी भएकाले पूर्णतः भेज आइटम बनाइँदै थियो ।  

त्यसको करिब १ घण्टापछि फोन आयो, जुन फोनले सबै आफन्तजनलाई छाँगाबाट खसाइदियो ।  

क्षणभरमै बिहेको रमझम र खुशी रुवाबासीमा  परिणत बन्यो । 

प्रसङ्ग बिहीबार बिहान लमही नगरपालिका–९ रिहार भन्ने स्थानमा जन्ती बोकेको स्कारपियो जिप दुर्घटनाको हो ।

दुर्घटनामा परी बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वडानम्बर ९, समशेरगञ्जका २७ वर्षीया बेहुला यज्ञबहादुर केसीका पिता ५३ वर्षीय मनबहादुर केसी र उनकी धर्मपत्नी ४२ वर्षीया  विमला केसीसहित ६ जनाको ज्यान गयो ।

यो दुखद् घटनापछि मृतकहरूको शव लमही अस्पतालमा पोस्टमार्टमपछि दाहसंस्कारका लागि राप्ती नदी किनारमा लगिएको बेहुला परिवारका भानिज नाता पर्ने दीपक केसीले बताए ।

‘हामी घाइते दुईजना उपचारमा कोहलपुरतिर छौँ’, केसीले भने– ‘बेहुलाबेहुली बोकेको गाडी घर पुगिसक्यो भन्ने सुनेका छौँ । यस्तो बेलामा बेहुली भित्र्याउने त कुरै भएन । अन्त्येष्टितर्फ नै लागिँदै छ ।’ उनले शमशेरगञ्जमा मात्र नभई सिङ्गो बाँके र दाङ जिल्लासम्म सन्नटा छाएको बताए ।

केसीका अनुसार चितवनको गीतानगरबाट बेहुली ल्याएर मौरीघाटमा रमाइलो गर्दै खान खाइसकेपछि ८ जना सवार बेहुलाका आमाबुबा चढेको गाडी घरमा पर्सिने तयारीका लागि सबैभन्दा अगाडि लागेको थियो ।

उनका अनुसार बेहुली  लिएर हिँडेका केसी परिवारका जन्तीमध्ये करिब ५० जना बसमा र अरू चारवटा स्कारपियो गाडीमा थिए । 

शमशेरगञ्जस्थित घाइते गीता खत्रीका देवर पर्ने यामबहादुर खत्री भन्छन्– ‘अरू गाडीहरू पछाडि  थिए, घर छिटो पुगेर तयारी गर्न भन्दै उहाँहरूको गाडी अगाडि हिँडेको थियो ।’

मृतकका भानिज पर्ने केसीका अनुसार नारायणघाटबाट त्यहाँका चर्चित बाजा लिएर चितवनको गीतानगरस्थित बेहुलीको घर पुगिएको थियो । विधिवत विवाह सम्पन्न भएपछि नाचगान गरी दिउँसो चार बजेको समयमा जन्ती बेहुली लिएर बेहुलाको घरतर्फ लागेका थिए ।

२७ वर्षीय बेहुला यज्ञबहादुर केसी सुर्खेतस्थित शिद्धार्थ बैङ्कमा अधिकृत तहको जागिरे हुन् । २४ वर्षीया बेहुली लक्ष्मी पौड्याल मास्टर डिग्री सेकेर लोकसेवा आयोगको तयारी गर्दैछन् ।  ती दुई बीच काठमाडौंमा सँगै पढ्दादेखि नै प्रेम सम्बन्धमा बाँधिदै आएका थिए ।  भानिज केसीले थपे, ‘उहाँहरू  दुवै जना काठमाडौंमा सँगै पढ्नु भएकोले सम्बन्ध लामै हो ।’ 

                                                                      बेहुला बेहुली जाे अर्काे गाडीमा रहेकाले सकुशल रहे ।

बेहुलाका मृतक बाबु मनबहादुर केसी शक्ति माध्यमिक विद्यालय पेरानीका शिक्षक थिए । उनी त्यस भेगकै प्रतिष्ठित समाजसेवी पनि थिए । उनकी धर्मपत्नी विमला पनि समाजसेवीका रूपमा क्रियाशील थिइन् । उनको काखमा रहेकी ५ वर्षीया नातिनीको पनि ज्यान गएको छ ।  केसी दम्पत्तीका तीन भाइ छोराहरूमध्ये कान्छो छोराको बुधबार विवाह भएको हो ।

घट्नामा शमशेरगञ्जकै ४९ वर्षीय विश्वनाथ अधिकारीको पनि ज्यान गएको छ । उनी पनि त्यस भेगमा प्रतिष्ठित समाजसेवीका रूपमा परिचित थिए । कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय समाज  सेवी दत्तबहादुर खत्री र शमशेरगञ्जका ३१ वर्षीय होनाहार युवा दीपककुमार खड्कालाई पनि त्यस गाउँले गुमाएको छ ।

सिँगारेर रङ्ङ्गी विरङ्गी पारिएको केसी परिवारको घरमा यतिबेला  रुवाबासी चलेको छ । 

लमही अस्पताल बाहिर आफन्तजन भक्कानो छाडेर बिहीबार अपरान्हसम्म रोहिरहेका छन् । २१ वर्षीया चालक यामबहादुर बुढा र  गीता खत्रीको कोहलपुरमा उपचार भइरहेको छ ।

उनीहरू दुवै खतरामुक्त भएको र स्वास्थ्य अवस्था सुध्रिँदै गएको आफन्तजनले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप