शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीनवटा सभाहल बनाउने सभामुख महराको चाहनापछि नयाँ संसद भवन निर्माण सुस्त

बिहीबार, २७ मङ्सिर २०७५, १३ : ४८
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– सङ्घीय संसदमा कतिवटा सभाहल राख्ने भन्ने विषयमा निर्णय नहुँदा नयाँ संसद भवन बनाउने काम सुस्त भएको छ । यसअघि २ वटा सभाहल, संसद सचिवालय, क्यान्टिनसहितको संसद भवन बनाउने गरी तयार भएको डिजाइन पुनरावलोकन गर्न थालिएको छ । संसद भवन निर्माणका लागि नक्साङ्कन गर्ने जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभागले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त सभाका लागि अर्को हल थप्नेगरी डिजाइनको काम गरिरहेको छ । 

यसअघि २ वटा सभाहल बनाउने गरी डिजाइन तयार गरिएको थियो । तर प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संयुक्त हल पनि चाहिने भनेपछि डिजाइन पुनरावलोकन गर्न लागिएको सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक द्वारिका श्रेष्ठले जनाकारी दिए । उनले भने– ‘हामीले १ चरणमा डिजाइनको काम सकिसकेका थियौँ, फेरि दुई सदनको संयुक्त बैठकका लागि अर्को पनि हल चाहिन्छ भनेपछि त्यसबारेमा छलफल चलिरहेको छ, निर्णय भइसकेको छैन ।’

भारतलगायका कतिपय देशका संसद भवनमा दुवै सदनको संयुक्त बैठकका लागि छुट्टै सभाहल पनि रहेको भन्दै सभामुख महराले अर्को हल पनि बनाउन भनेको उनले बताए ।  संयुक्त सभाका लागि छुट्टै हल बनाउने वा नबनाउने विषयमा आइतबारसम्म निर्णय हुने उनले बताए । 

सिंहदरबार हाताभित्र रहेको पुतली बगैंचामा नयाँ संसद भवनबारे  २०५७ सालमै निर्णय भएको थियो । यस वर्षदेखि बहुवर्षीय योजनाका रूपमा संसद भवन बनाउन सुरु गर्ने भने पनि अझै नक्साङ्कनले अन्तिम रूप लिन सकेको छैन ।

सङ्घीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ५७ सालमै संसद भवन नयाँ संसद भवन बनाउनका लागि नक्सा डिजाइनको काम भइसकेको थियो । फेरि सहरी विकास मन्त्रालयले नयाँ नक्सा बनाउन थालेको थियो । 

संयुक्त सभाहल बनाउँदा लागत बढ्ने

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक वर्षमा प्रायः दुई तीन पटक बस्ने गर्छ । नयाँ आर्थिक वर्षका लागि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै पनि देशसँग सन्धि सम्झौता गर्दा मात्र बिरलै संयुक्त सदन बस्ने गर्छ । नियमित नहुने यस्तो प्रकारको सभाका लागि छुट्टै हल निर्माण गर्नु अनावश्यक आर्थिक भार मात्र हुने सचिवालका कर्मचारीहरू बताउँछन् । एक कर्मचारीले भने– ‘हल मात्र बनाएर भएन, त्यहाँ टेबल, कुर्सी, माइक, साजसज्जा सबैथोक गर्नुपर्यो, थप कर्मचारी खटाउनुपर्यो, यसले खर्च बढाउने बाहेक केही गर्दैन । बरु प्रतिनिधिसभाको हल ठूलो बनाएर एउटै हलले काम चलाउन सकिन्छ ।’

संयुक्त सदनका लागि अर्को हल पनि बनाउने हो भने लागत बढ्ने उपमहानिर्देशक श्रेष्ठले बताए । ६ सय सिटको प्रतिनिधि सभाहल बनाउने हो भने अर्को छुट्टै हल नचाहिने कर्मचारीहरू बताउँछन् । 

अनुमानित लागत ६ अर्ब : माघ १५ सम्म टेन्डर

सिंहदरबारस्थित रक्षा मन्त्रालय पछाडि १ सय ४० रोपनी क्षेत्रफलमा रहेको पुतली बगैँचामा नयाँ संसद भवन बनाउन लागिएको हो । भवन निर्माणका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ । आउँदो माघ १५ सम्म डिजाइन फाइनल भएर भवन निर्माणका लागि बोलपत्र आह्वान गर्ने सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले रातोपाटीलाई जानकारी दिए । आर्किटेक्चरल डिजाइन पूरा भए पनि स्ट्रक्चरल डिजाइन बाँकी रहेको र त्यसलाई छिट्टै अन्तिम रूप दिने उनले बताए । 

सचिव सिंहले समयसापेक्ष ढङ्गले संसद भवन निर्माण गर्ने बताउँदै कस्तो र कसरी बनाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।  नयाँ बन्ने संसद भवनमा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको हल, संसद सचिवालय, संसदीय दलको कार्यालयहरू, पुस्तकालय, क्यान्टिन तथा पार्किङस्थल हुनेछ । हलमा दर्शकदीर्घा, कर्मचारी र सांसदहरू बस्ने सिट निर्माण हुनेछ । यसअघिको भवन डिजाइनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था राखिएको भए पनि सुरक्षाका कारण सवारी साधन बाहिरै पार्किङ गर्ने व्यवस्था गरिने भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप