शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१ लाख कोसा केरा बेच्ने कार्कीको लक्ष्य

बिहीबार, २७ मङ्सिर २०७५, १२ : ४२
बिहीबार, २७ मङ्सिर २०७५

खोटाङ । बाहुनीडाँडा, कदुवा (खोटाङ) का फौदसिं कार्कीले १८ महिनाअघि पाँच सय बोट केरा रोपेका थिए । हिजोआज कार्कीको केरा बगानमा दैनिक एक सयदेखि डेढ सय कोसा केरा पाकिरहेका हुन्छन् । लसी व्यापारीसमेत रहेका उनले त्यही केराबाट लसी बनाएर बेच्ने गरेका छन् । 

दुई वर्षअघि उनले परीक्षणका लागि ५० बोट केरा रोपेका थिए । केरा संसारको सबै ठाउँमा पाइने फल हो भनेर विकिपिडिया (एक स्वतन्त्र विश्वकोश) मा उल्लेख छ । परीक्षणका लागि रोपेको केराले आस जगाएपछि उनले पाँच सय बोट केरा रोपेका हुन् । त्यतिबेला ९० हजार रुपैयाँजति लगानी गरेर रोपेको केराले उत्पादन दिन थालेपछि उनी कम्ती खुसी छैनन् । मिहिनेतको फल फलेपछि नरमाउने किसान को होलान् र ।

बाहुनीडाँडाको लुलिमाबेंसीमा रहेको बाँझो खेत खनजोत गरेर केरा रोप्दासम्म ९० हजार रुपैयाँ खर्च भए पनि लगानी र मिहिनेतले आम्दानी दिन थालेको छ । ‘अब पाँच सय बोट केरा थप्दै छु,’ उनले भावी योजना सुनाए, ‘एक वर्षमा एक लाख कोसा केरा बेच्ने उद्देश्य लिएको छु । उद्देश्य पूरा नभइन्जेल केरा थप्दै जान्छु ।’

सम्बन्धित किसानमात्रै मिहिनेती भएर नपुग्ने उनको भनाइ छ । ‘नमुना किसानका लागि हलेसी तुवाचुङ नगरपालिकाबाट आर्थिक सहयोग पाए धेरै काम गर्न सकिन्थ्यो,’ उनले भने, ‘सुलभ कृषि कर्जाका लागि नगरपालिकाले सहजीकरण गरिदिए मजस्ता किसान लाभान्वित हुने थियौं ।’ 

त्यतिले मात्रै पुग्दैन । त्यसो भए के गरिदिनुपर्छ त ? ‘हलेसीबाट हप्तैपिच्छे प्राविधिक ल्याएर मैले रोपेको केरा देखाउन सक्दिनँ,’ उनको अपेक्षा छ, ‘नगरपालिकाले निःशुल्क प्राविधिक सुविधा दिए मजस्ता किसान लाभान्वित हुने थियौं ।’

फौदसिं कार्कीले आफ्नै बलबुताले केरा खेती गरिरहेका छन् । केरामा केही समस्या देखिए कृषि प्राविधिक विशेषज्ञको सल्लाह लिन चितवनमा टेलिफोन गर्छन् । त्यतिले मात्रै समस्या समाधान हुँदैन । अनि वागबानीतिर धाउँछन् । वागबानीको अध्ययन अवलोकन गर्छन् । 

किसानलाई प्राकृतिक विपत्तिले दुःख दिनु अस्वाभाविक होइन । हावाहुरी चल्यो भने लगाइएका बालीनाली सखाप पार्छ । हावाहुरी चल्नसाथ उनको निद्रा भंग हुन्छ । हावाहुरीले केरा ढालिदिन्छ । ‘समाधानको उपाय पनि छ,’ उनले सुनाए, ‘इन्सुरेन्स गर्न चाहेर पनि पाएको छैन । इन्सुरेन्स गर्नमात्रै पाए पनि घाटैघाटा सहन पर्दैनथ्यो ।’ 

गाउँठाउँमा बजार अभाव छँदै छ । बजार व्यवस्थापनका लागि नगरले पहल गर्नुपर्ने उनको ठम्याइ छ । सम्भव भए त नगरले नै किसानको उत्पादन बजारसम्म पु¥याउन निःशुल्क यातायात व्यवस्था गरिदिनुपथ्र्यो । 

लसी व्यापारीका रूपमा समेत परिचय बनाएका उनले दैनिक १० हजारको लसी बेच्दै आएका छन् । उनले केरा खेती थालेपछि एकजनालाई प्रत्यक्ष र चारजनालाई अप्रत्यक्ष रूपमा रोजगारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप