शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सम्मान, खानामा ३६ प्रकारको ब्यञ्जन

बुधबार, २६ मङ्सिर २०७५, १४ : ५९
बुधबार, २६ मङ्सिर २०७५

जनकपुरधाम– सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । 

मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका लागि आग्रह गरे । 

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नं २ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो । 

यसैबीच भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश नं २ को सरकारद्वारा आयोजित भण्डारा (दिवा भोज) मा सरिक भए । मधेश भवनमा आयोजित भण्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो । ब्यजनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाँजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारी लगायतका विभिन्न परिकार पस्किइएको थियो । 

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्रीको सम्मानमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पर्यटनमन्त्री अधिकारी, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी मन्दिरमा स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप